18th November 2017, Saturday

E-budhabar

बैंकको ब्याज खाएर देश बन्दैन



बैंकको ब्याज खाएर देश बन्दैन

देशमा कमजोरी हुन्छन् । कमजोरी नभएको कुनै नेता हुँदैन । कमजोरी नभएको कुनै मुलुक हुँदैन । प्रत्येकका कुनै न कुनै कमजोरी हुन्छन् । कुन देशमा कति भ्रष्टाचार छ भन्ने अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले नेपाल सानो ठाउँ भएकाले सजिलै देख्छ । अमेरिका ठूलो ठाउँ भएकाले त्यहाँको च्रष्टाचार देख्दैन र कुनै अनुसन्धान पनि गर्दैन । जुन देशमा सबैभन्दा बढी चन्दा जसले उठाउँछ, त्यसले चुनाव जित्छ, के त्यो देश भ्रष्टाचारमुक्त होला ? आज भारतमा जुन तरिकाले कर्पोरेट हाउसहरू विकास भइरहेको छन्, जसरी पुँजीको विकास भइरहेको छ, यहाँ जनताले स्वतन्त्रतापूर्वक जनताले भोट हालेर मात्र प्रधानमन्त्री बन्दैनन् । यहाँ ठूला कर्पोरेट हाउसहरूले जता आँखा सन्काउँछन्, भोट त्यता प्रभावित हुन्छ । तर नेपालमा केही अपवादबाहेक अधिकांश ठाउँमा जनताले भोट नहालीकन जित्ने अवस्था हुँदैन भरतपुरबाहेक । ठूलाठूला उद्योगी, व्यवसायी, कर्पोरेट हाउसहरूले आँखा सन्काउँदैमा नेपालमा चुनाव जितिँदैन ।
हाम्रौ पार्टी एमाले, कांग्रेस माओवादीले पनि व्यापारीलाई टिकट दियो भने चुनाव जितिन्छ भनेर टिकट पनि दियौं तर त्यो व्यापारी सबैभन्दा नराम्रोसँग चुनाव हार्दो रहेछ । उसले पैसा त करोडौं खर्च गर्छ तर चुनाव जित्दैन । यी कतिपय आजको बजार, कतिपय कर्पोरेट हाउसहरू बन्दै गरेका मुलुकहरू, ठूला आर्थिक समूहहरूले त्यहाँको राजनीतिलाई प्रभावित गरिदिन्छन् । त्यस्ता ठाउँमा कति भ्रष्टाचार होलान् । त्यसैले देशभित्र केही कमजोरी अवश्य हुन्छन् । तर त्यो भन्दैमा देशको नकारात्मक प्रचार गर्नुहुँदैन । आज ६÷७ प्रतिशतको विकास दर नेपालले कायम गरिराखेको छ । यो विकासदर भनेको आजको दिनमा राम्रो हो । धेरै कम मुलुकमा मात्र विकासदर ८÷९ प्रतिशत होला । अधिकांश युरोपियन मुलुकको विकासदर ५ प्रतिशतभन्दा मुनि छ । तर नेपालले आज झन्डै ७ प्रतिशतको विकासदर कसरी कायम गरेको छ ? केही नभईकन कसरी त्यो भयो ? केही न केही त भएकै छ । आर्थिक क्रियाकलाप त बढेकै छन् नि । त्यसैले नेपाल अब नयाँ सम्भावनाबाट अगाडि बढ्दै छ । कर्मचारी प्रशासनमा देखिएका समस्या, राजनीतिक क्षेत्रमा देखिएका समस्या पनि समयक्रमअनुसार हल गर्दै जानुपर्छ ।
नेपालमा स्थानीय चुनाव भयो । संसदीय चुनाव हुँदै छ । संविधान बन्यो । झन्डै ६०÷७० वर्षदेखिको राजनीतिक विवाद संविधानमार्फत हामीले हल गरेका छौं । अब नेपालमा भन्नेमा कुनै पनि राजनीतिक विवाद छैन । कस्तो व्यवस्था ल्याउने भन्नेमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो । संसदीय प्रणालीको व्यवस्था ल्याएका छौं । अब नेपालमा कुनै राजनीतिक व्यवस्था, प्रणालीको विवाद छैन । अब देशमा कुनै राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा छ भने नेपाललाई दुनियाँका अगाडि कसरी समृद्ध र सम्पन्न मुलुक बनाउने भन्नेमा छ । म देख्दै छु, आउने १० वर्षभित्र नेपालमा एप्पल कम्पनीको कारखाना खुल्यो भने आश्चर्य नमाने हुन्छ, त्यो नेपालमा खुल्नेवाला छ । सोसल साइटमा सबैभन्दा ठूलो व्यापार गर्ने देश कुन ? यसपटकको स्थानीय चुनावमा फेसबुक कम्पनीका मानिसहरू बजार खोज्दै नेपालसम्म आए । नेपाल सानो जनसंख्या भएको देश हो । तर उनीहरूले के देखे भने विश्वका १ सय ९६ मुलुकमध्ये अनुपातमा सबैभन्दा बढी फेसबुक चलाउने नेपाल रहेछ । उनीहरू फेसबुकको व्यापार गर्न चुनावका बेला हाम्रो पार्टी कार्यालय पनि आए । फेसबुकको कन्ट्री अफिस नेपालमा छैन, दिल्लीबाट नेपाल हेर्दो रहेछ । तर अहिले उनीहरू कन्ट्री अफिस नेपालमा खोल्दै छन् । सम्भावना नदेखेर जुकरबर्ग रक्सीको मातमा दिल्लीबाट काठामाडौं जान लागेका होइनन् । त्यहाँ सम्भावना देखेरै जाँदै छन् । गुगगलको अफिस नेपालमा खोलिनेछ । त्यतिबेला एउटा सोसल साइटको कार्यालयमा कतिजना सीए चाहिँदो हो, तपाईंहरू भटाभट पढ्नुस्, कोही बेरोजगार बन्नुहुन्न । यो देशमा यस्तो छ, उस्तो छ भनेर लक्ष्मीनगरतिर चुरोट खाँदै नकारात्मक कुराको हल्ला गर्दै हिँड्नुचाहिँ राम्रो होइन । न्युयोर्कमा आइफोन सेभेन प्लस लन्च भएको भोलिपल्ट नेपालको बजारमा आउँछ । हाम्रा नेपालीहरू लाइन लागेर किन्छन् । गरिब मात्र छैनौं नि त हामी । अमेरिकामा आइफोन किन्नेले तीन महिनादेखि योजना बनाउँछ । नेपालीले केहि योजना बनाउँदैन, गोजीमा पैसा छ, गएर किन्छ ।
तपार्इंहरू दिल्लीमा बसेर यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेपालप्रतिको दिमाग मात्र अलिकति बदलिदिनुस्, एकसेएक अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा खुल्नेवाला छन् । यति मात्र डर छ, नेपालमा माल त उत्पादन गरिन्छ हाम्रो नरेन्द्र मोदीजीको दिमाग सुध्रेन भने त्यो वस्तु कसरी समुद्र हँुदै बाहिर पठाउने भन्ने मात्र तनाव हुन्छ । यो अलिकति २२ किलोमिटर बाटो मोदीजीले जहिले पनि दिन तयार हुनुभयो भने नेपालमा एक से एक कम्पनी आउँछन् । किनभने सस्तो बजार, सस्तो श्रम, कच्चा पदार्थ, सेक्युरिटी सबै नेपालमा छ । नेपालमा सुरक्षा छैन भनिन्छ । के अफगानिस्तानमा सुरक्षा छ, नेपालमा छैन ? पाकिस्तानमा सुरक्षा हुने, नेपालमा नहुने ? जहाँ हरेक दिन बम पड्किरहेको छ, त्यहाँचाहिँ सुरक्षा हुने, हाम्रोमा चाहिँ नहुने । हाम्रोमा त बम पड्काएको माओवादीले हो, त्यो अब एकादेशको कथा भइसक्यो । अर्को पुस्तालाई त्यो थाहा नै हुँदैन । अब कसैले बम पड्काउनेवाला छैन । किनभने अब बम पड्काउने, गोला बारुद गर्ने, कालो झन्डा देखाउने, चक्काजाम गर्ने काम हुनेवाला छैन । हामी एमालेले त घोषणापत्रमा लेखिसक्यौं । एमालेले त जनै छोएर कसम खाइसक्यो, अब एमालेले बन्द, हडताल, चक्काजाम गर्दैन । तसर्थ नेपालमा लगानीका धेरै सम्भावना छन् । जब लगानी बढ्छ, उद्योगधन्दा खुल्छन्, व्यापार हुन्छ, अनि सीए विद्यार्थीहरू बेरोजगार हुनुपर्दैन ।
स्थानी तहको हामीले चुनाव ग¥यौ । ७ सय ४४ स्थानीय तह बनायौं । एमाले मंसिर÷पुसबाट फेरि सरकारमा जाँदै छ । मंसिरमा चुनाव हुन्छ, त्यसपछि हामी बहुमतसहित सरकारमा जाँदै छौं । बहुमतसहित सरकारमा गएको भोलिपल्ट तपाईंहरूले पनि एउटा ज्ञापनपत्र पठाउनुहोला । त्यसका आधारमा प्रत्येक स्थानीय तहमा एउटा चार्टर्ड एकाउन्टेन्ट राखिनेछ । केही पैसा नभएको गाउँपालिकामा पनि कम्तीमा ५० करोड केन्द्रीय सरकारले अनुदान दिन्छ । त्यसको स्थानीय स्रोत हुन्छ । कमसेकम सय करोड बजेट कमजोर गाउँपालिकाको पनि हुन्छ । महानगरपालिकाले १÷२ सय अर्बको बजेट चलाउँछन् । जनतालाई सेवा दिने यी निकायमा समेत अब सीए चहिन्छ । त्यहाँको अडिट गर्नुपर्छ । यो कुनै व्यावसायिक घरानाको कुरा मात्र होइन । डा. पुष्प कँडेल हाम्रो पार्टीको लेखा आयोगको अध्यक्ष हुनुहन्छ । उहाँले पाँच वर्ष महाधिवेशनमा झन्डै २५–३० अर्बको आयव्यवको हिसाब सुनाउनुहुन्छ । त्यत्रो बजेट चलाउने उमाले पार्टीलाई पनि त एकदुई जना सीए चाहिएला नि त । कांग्रेस, माओवादीले राख्छन् राख्दैनन् त्यो शेरबहादुर देउवा, प्रचण्डलाई सोध्नुहोला । तर लेखामा सबैभन्दा व्यवस्थित पार्टी एमाले हो, एमालेलाई चाहिन्छ । एमाले एउटा विशेष विङ बनाउँदै छ । पोलिसी एन्ड रिसर्ज डिभिजन एमालेले बनाउँदै छ । नेपालबारे कसैले कुनै तथ्यांक खोज्न आयो भने एमालेको रिसर्च डिभिजनमा आयो भने त्यो पाउँछ । त्यो एकेडेमीभित्र हाम्रो वित्तीय डिभिजन त हुन्छ नै, त्यो विभाग अन्तर्गत एउटा चार्टर्ड एकाउन्टेन्ट विभाग पनि हुनेवाला छ । एमालेले यसरी संस्थागत ढंगले काम गर्दै जान्छ ।
बाहिर पढेका सीए विद्यार्थीले फेरि नेपालमा एक वर्ष तालीम गर्नुपर्ने, त्यहाँको परीक्षा दिनुपर्ने कुरा बोझ भयो, झन्झट भयो भन्ने कुरा पनि उठेको मैले पाएको छु । यी कुरा जायज हुन् । म एमालेका तर्फबाट भन्न चाहान्छु, सम्बन्धित सबै निकायमा यो कुरा राखेर यो बोझलाई कम गर्न पहलकदमी लिइनेछ । हाम्रो देश कस्तो छ भने प्रधानमन्त्रीहरू विदेश भ्रमणमा आउँछन्, ठूलाठूला जम्बो टोली ल्याउँछन् । कसैले सालो लगे, कसैले भान्जाभान्जी लगे भन्ने कुरा पत्रपत्रिकामा आउँछ । कमसेकम पछि हाम्रो पुस्ता प्रधानमन्त्री भयो भने यी ठूला कम्पनी चलेका रहेछन्, यिनीहरूको स्रोत के रहेछ, खर्च कसरी गर्छन्, हामीले सिक्नुपर्ने के रहेछ भनेर त्यो टोलीमा एकजना सीए राखिदियो भने त्यसले कमसेकम सिकेर आउँछ । हामी आफ्नै लगानीमा ठूलाठूला आयोजना सम्पन्न गर्ने ठाउँमा आइपुगेका छौं । झन्डै १० खर्बभन्दा रेमिट्यान्स नेपालमा भित्रिरहेको छ । मोदीजी प्रधानमन्त्री हुनुभयो । अमेरिकादेखि जापानसम्म पुगेर भारतीय समुदायलाई ‘भारत आऊ लगानी गर’ भन्नुभयो । नेपालीहरू पनि विश्वभर छन् । कोही मजदुरीका रूपमा काम गरेका होलान्, कोही साना व्यवसायी छन्, कोही विदेशका ठूला व्यापारी पनि छन् । अब हामी दुनियाँभरका नेपालीहरूलाई अपिल गर्छौं, आउनुस्, लगानी गर्नुस् ।
हामी नेपालीहरूको एउटा चलन छ, बैंकमा डिपोजिट गरेर ब्याज खाने । ब्याज खाएर देश बन्दैन । नेपालीसँग पैसा छ, त्यो लगानी गरेर हामी देश बनाउँछौं ।
भारतमा रेमिट्यान्स पठाउने ठूला पाँच देशमध्ये एक नेपाल हो । नेपालमा काम गर्ने भारतीयहरूले यहाँ पैसा पठाइरहेका छन् । त्यसकारण नेपालसँगको सम्बन्धमा निहुँ खोजेर मात्र भारत चल्दैन । काठमाडौमा धेरैपटक भनियो, आज म दिल्लीबाट यो कुरा भन्दै छु, अरू थुप्रै कुरामा नेपाल–भारतको सम्बन्ध होला तर तपाईको देशमा विदेशमा काम गर्ने भारतीयले पैसा पठाउने उत्कृष्ट पाँच देशमध्ये नेपाल हो । झन्डै ५० लाख भारतीयहरूले नेपालमा काम गर्छन् । हामीले भारतसँग कुनै नाजायज सम्बन्धको खोजी गरिराखेका छैनौं । हामीले पारस्परिक हितको कुरा खोजेका हौं । एकअर्काको सार्वभौम स्वतन्त्रलाई सम्मान गरौं भन्न खोजेका हौं । नेपाल त्यस्तो एउटा जियोपोलिटिकल अवस्थामा बसेको छ, जहाँ आज विश्वको सुपर पावर कहलिएका मुलुकहरू हाम्रो छिमेकी छन् । उन्नाइसौं शताब्दी युरोपमा बुम भयो, अमेरिकामा बुम भयो । एक्काइसांै शताब्दी एसियाअगाडि आउँछ भन्ने आँकलन गरिदैछ । त्यो भनेको निसन्देह चीन, भारत, जापानलगायतका मुलुक हुन् । एक्काइसौ शताब्दीका सुपर पावरहरू हाम्रा छिमेकी छन् । पक्कै पनि हामी अनन्त सम्भावना र त्यत्तिकै ठूलो चुनौतीका बीचमा छौं । यी दुइटा मुलुकले नेपालप्रति थोरै पनि नकारात्मक धारणा राखे हामीलाई अगाडि बढ्न गाह्रो छ । तर यी दुई मुलुकले नेपालप्रति थोरै पनि सकारात्मक धारणा राखे हामीलाई धेरै फाइदा हुनेवाला छ । हामी कसैलाई चिढ्याउन चाहँदैनौं । चीनका विरुद्ध दिल्ली कार्ड खेल्ने, दिल्लीका विरुद्ध बेङजिङ कार्ड खेल्ने कुरा एमालले चाह“दैन । एमाले दुवै मुलुकसँग समदूरीको सम्बन्ध स्थापित गर्न चाहन्छ ।
(अभानेस्ववियु सीएले दिल्लीमा गरेको कार्यक्रममा गरिएको सम्बोधनको एक अंश)

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा