भद्रगोलमै सकियो बुद्ध जयन्ती
काठमाडौं । निकै होहल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती अस्तव्यस्त र भद्रगोल तरिकाले समापन भएको छ । वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा आयोजित सम्मेलन तथा जयन्तीलाई अव्यवस्थित र खल्लो बनाउने कार्यमा लुम्बिनी विकास कोषका पदाधिकारीहरूकै भूमिका रहेको बताउन थालिएको छ ।
कोषका कार्यरत कर्मचारीहरूलाई उचित रूपले परिचालन नगरी कोषका पदाधिकारीहरू र बोर्ड सदस्यहरूले नै सबै व्यवस्थापनको जिम्मा लिएको हुँदा सम्मेलन र जयन्तीको व्यवस्थापन पक्ष फितलो बन्न पुगेको हो । सबभन्दा लाजमर्दो त, प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दा हुन पुगेको थियो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दागर्दै विद्युत् प्रसारण बन्द हुन पुगेको थियो । विद्युत् प्रसारण करिब पाँच मिनेटसम्म बन्द भएपछि प्रधानमन्त्री ओली असिनपसिन हुँदै मञ्चमै बस्नुपरेको थियो ।
कार्यक्रम पनि करिब ४ करोड रुपियाँ खर्च गरेर बनाइएको हलमा नगरी ४ सय जना अट्ने चाइना हलमा गरिएको थियो । सम्मेलन र बुद्ध जयन्ती मनाउने भनेरै सेनालाई ४ करोडमा हल बनाउने जिम्मा दिइएको थियो । तर, त्यो हलमा कार्यक्रम नभई अन्यत्रै कार्यक्रम भएपछि झनै अस्तव्यस्त बन्न पुगेको थियो । चाइना हलमा ४ सय कुर्सी राखिए पनि करिब ६ सय जनाजति मानिस उपस्थित भएका थिए । कुनै पंखाको व्यवस्था नभएको हुँदा आगन्तुकहरू असिनपसिन हुन पुगेका थिए ।
यसैगरी, विदेशी पाहुनाई लक्षित गरी तयार पारिएको खाना पनि गुणस्तरहीन भएपछि विदेशी पाहुनाहरूले अघोषित रूपमा बहिष्कारजस्तै गरेका थिए । करिब ५ सय आगन्तुकहरूलाई बनाइएको खाना नमीठो भएपछि अधिकांशले खाना खाएनन् । विदेशी पाहुनाहरूले बाहिर गएर खाना खाएका थिए ।
बुद्ध जयन्तीको दिन बिहान आगन्तुकहरूका निम्ति तयार पारिएको प्रसाद (खाजा) पनि समयमै नआइपुगेको हुँदा आगन्तुकहरूले खान पाएनन् । खासगरी बुद्ध जयन्तीको दिन रूपन्देहीका विभिन्न विद्यालयबाट विद्यार्थीहरूलाई निम्त्याइएको थियो । विद्यार्थीहरूलाई बिहानको खाजाका रूपमा मिठाई र फलफूल दिने उद्देश्यले खाजाको व्यवस्था गरिएको थियो । तर, आयोजकको लापरबाहीका कारण खाजा समयमै नआइपुग्दा टाढाटाढाबाट आएका विद्यार्थीहरू भोकै परेका थिए । एउटा प्याकेट खाजाको २ सय रूपैयाँ खर्च गरिएको थियो ।
करिब २ करोड खर्च गरिएको अन्तर्राष्ट्रिय सम्मेलन र बुद्ध जयन्ती निकै तामझाम र व्यवस्थित रूपले सम्पन्न गर्ने आयोजकको चाहना रहे पनि सो पूरा हुन सकेन । भद्रगोल व्यवस्थापनका कारण सम्मेलन र बुद्ध जयन्ती खल्लो हुन पुगेको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply