18th November 2017, Saturday

E-budhabar

भावी आईजीपीमा अस्वस्थ खेल



काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पद रिक्त हुन २० दिन मात्र बाँकी रहेको अवस्थामा नेपाल प्रहरीको २५औं आईजीपी पद हात पार्न तीव्र प्रतिस्पर्धा चलेको छ । आईजीपी उपेन्द्रकान्त अर्याललगायत अन्य एआईजीहरू ३० वर्षे सेवाहदका कारण अवकाश हुने भएपछि अहिले कार्यरत डीआईजीहरूमध्येबाट आईजीपी हुनेछन् । आईजीपी अर्यालसँगै एआईजीहरू राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठलगायतले पनि अवकाश पाउनेछन् ।
आईजीपी अर्याल अवकाश भएपछि आईजीपीका दाबेदारहरूमा डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । त्यसो त नेपाल प्रहरीमा भावी आईजीपी नियुक्ति हुन धेरै समय बाँकी रहँदैदेखि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको थियो । अहिलेका डीआईजीमध्ये वरिष्ठताको रोलक्रममा १ नम्बरमा रहेका नवराज सिलवाल, २ नम्बरमा रहेका प्रकाश अर्याल, ३ नम्बरमा रहेका जयबहादुर चन्द र ४ नम्बरमा रहेका बमबहादुर भण्डारीबीच नयाँ आईजीपी बन्न तीव्र प्रतिस्पर्धा चलेको बताइन्छ ।

चार महिनाअघिबाटै फेसबुके लडाइँ

प्रतिस्पर्धामा रहेका दुई डीआईजीबीच चार महिनाअघिबाटै आरोप–प्रत्यारोप चलेको थियो । प्रहरी प्रमुख बन्न खुलेयाम रूपमा संगठनभित्रका एकअर्कालाई हिलो छ्याप्ने काम वरिष्ठ प्रहरी अधिकारीहरूबाटै विगतदेखि नै हुँदै आएका थिए । उनीहरूले एकअर्काको नाम नतोकी फेसबुकमार्फत प्रतिस्पर्धीलाई लक्षित गर्दै स्टाटससमेत लेखेका थिए । डीआईजी नवराज सिलवालले कसैको नाम नतोकी आफूविरुद्ध मिडियाबाजी गर्नेहरूका लागि घुमाउरो तरिकाले गाली गरेका थिए । उनले भनेका थिए, ‘आफ्नो क्षमता प्रमाणित गर्न नसक्ने अनि मिडिया ट्रायल गरेर अरूलाई निचा देखाउने गलत संस्कारको पृष्ठपोषण गर्नेहरूलाई आउँदो पुस्ताले धिक्कार्नेछ ।’
उनको स्टाटस आएको करिब साढे तीन घन्टापछि अर्का डीआईजी जयबहादुर चन्दले जवाफी हमला गर्दै यस्तो स्टाटस लेखेका थिए । उनले भनेका थिए, ‘छोटो बढ्यो भने ज्यादा फुर्ती ढाँचा बढाउँछ, उर्लंदो खहरे हेर कत्तिको गडगडाउँछ ।’

पेसामा दुवै अब्बल

हाल केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत डीआईजी नवराज सिलवाल प्रहरीभित्र इमानदार र सरल अधिकृतका रूपमा परिचय बनाउन सफल छन् । उनले पछिल्लो समय सीआईबीमा धेरै राम्रो काम गरेर संगठनको साखसमेत उठाउने काम गरेका छन् । त्यसो त लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत जयबहादुर चन्द पनि कार्यक्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याउने र जोखिम मोल्न सक्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । तर, दुवै डीआईजीहरू विभिन्न आरोपबाट अछुतो भने छैनन् ।

आरोपमुक्त रहन सकेनन् दुवै

अहिलेका वरीयतामा दोस्रो नम्बरमा रहेका डीआईजी प्रकाश अर्याल ३५ किलो सुन तस्करी प्रकरणमा परेर बदनाम भइसकेका पात्र हुन् । त्यसैले, उनको त्यत्ति चर्चा छैन । ट्राफिक महाशाखामा अर्यालमाथि अनुसन्धान ब्युरोमा कार्यरत रहँदा ३५ किलो सुन पक्राउ गरेबापत पाइने कमिसन दुरुपयोगमा मुछिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको थियो ।
त्यस्तै, चौथो नम्बरका बमबहादुर भण्डारीे पनि आईजीपीका स्वाभाविक दाबेदार मानिएका छैनन् । तर, मुख्य प्रतिस्पर्धामा रहेका सिलवाल र भण्डारी भने विवादको घेराभित्र पर्दै नपरेका व्यक्ति होइनन् । गुनबहादुर थापा भन्ने एक व्यक्तिले डीआईजी सिलवालले अत्यधिक ब्याज लिने गरी ‘मिटर ब्याज’ मा ऋण दिने गरेको आरोप लगाएका छन् । उनले सिलवालसँग यसरी ऋण लिँदा आफूले जग्गा–जमिन गुमाउनुपरेको भन्दै पत्रकार सम्मेलन नै आयोजना गरे । तर, उक्त पत्रकार सम्मेलन प्रायोजित भएको डीआईजी सिलवालको आरोप छ । उक्त आरोपलाई मान्न सिलवाल तयार छैनन् । उनले भने, ‘हामीबीच पुस्तौंदेखि दुश्मनी छ । त्यही दुश्मनीका कारण यी व्यक्तिले ममाथि झूटो आरोप लगाएका हुन् । आरोप सत्य भए प्रमाणित गरेर देखाउन चुनौती दिन्छु ।’
त्यस्तै, प्रहरी नायब महानिरीक्षक चन्दमाथि लागूऔषध मुद्दामा विवादास्पद व्यापारी पवन संघाईसँग मिलेमतो गरेको आरोप लागेको छ । तर, यो आरोप आईजीपी बन्नबाट रोक्नका लागि प्रतिस्पर्धीले चलाएको हल्ला मात्रै भएको चन्दको दाबी छ ।

आईजीपी बन्ने फोहोरी खेल विगतदेखिकै हो

२०४६ सालको राजनीतिक परिवर्तनपछि दलहरूले प्रहरी सेवामा हस्तक्षेप गरेर आफूअनुकूलको आईजीपी राख्न थालेका थिए । लोकतन्त्र आएपछि राजनीतिक हस्तक्षेप कम भई कार्यक्षमता मूल्यांकनका आधारमा हुन थालेको छ । उपेन्द्रकान्त अर्याल नै आईजीपी बन्दा पनि यस्तो प्रतिस्पर्धा चलेको थियो । राजेन्द्रसिंह भण्डारी र अर्यालबीच खिचातानी चलेको भए पनि कुवेरसिंह रानाले वरिष्ठताका आधारमा अर्याललाई आईजीपी बनाएका थिए । कुवेरसिंह रानाभन्दा अगाडि रमेश चन्द ठकुरीले रवीन्द्रप्रताप शाहलाई पछि पार्दै दुई नम्बरको एआईजीबाट उछिनेर प्रहरीको नम्बर एकमा पुग्दा विवाद भएको थियो । चन्द सुडान काण्डमा मुछिएपछि शाहलाई प्रहरी प्रमुख बनाइएको थियो । शाहले वरिष्ठता र कार्यक्षमताकै आधारमा कुवेरसिंह रानालाई आईजीपी बनाएका थिए । रानाको पालादेखि प्रहरीभित्र एउटा परम्पराको विकास भएको थियो । त्यसैले, अहिले आईजीपी बन्नका लागि एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने खेलमा भएको अहिलेको शृंखलालाई नौलो मानिएको छैन ।

अन्ततः आईजीपी अर्यालले हप्काए सबैलाई

डीआईजीबीचको अस्वस्थ प्रतिस्पर्धाको फलस्वरूप एकले अर्कोलाई खुइल्याउने गरी अहिले सञ्चारमाध्यममा एकतर्फी रूपमा समाचार प्रवाह भइरहेका छन् । प्रतिस्पर्धा अस्वस्थ बन्दै गएपछि केही महिनाअघि नै आईजीपी अर्यालले रोलक्रममा रहेका चारैजना डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएर सामूहिक रूपमा हकारेका थिए । आईजीपी अर्यालले एक डीआईजीले अर्काविरुद्ध उसका गतिविधि नियाल्न सुराकी परिचालन गर्ने गरेको, फोनको विवरण संकलन गर्ने गरेको, सञ्चारमाध्यममा गलत सूचना दिने र आफ्नै लगानीमा अनलाइन सञ्चालन गरी प्रतिस्पर्धीको उछित्तो काढ्ने गरेको सूचना आफूकहाँ पुगेको भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए ।
उनले केही व्यक्तिको स्वार्थपूर्तिका लागि यस्ता गतिविधि गर्दा सिंगो संगठनकै बदनाम हुने र संगठन कमजोर बन्दै जानेतर्फ डीआईजीलाई सचेत गराएका थिए । अर्यालले यस्तो गतिविधि जारी राखे चारै जनालाई कारबाहीसम्म गर्ने चेतावनी दिएपछि यो क्रम केही हदसम्म रोकिए पनि बढुवाको मुखैमा आएर फेरि यस्तो शृृंखला सुरु भएको बताइन्छ ।

यसकारण सिलवालप्रति सद्भाव

प्रहरीको अबको आईजीपी को बन्छ भन्ने चासो प्रहरी संगठनभित्र र बाहिर बढ्न थालेको छ । प्रहरी प्रमुख आईजीपी अर्याल अवकाश हुने मिति नजिकिँदै गर्दा आईजीपी हुने दौडधुप अहिले सुरु भएको छ । तर, कामभन्दा पनि राजनीतिक र बाह्य फोर्स लगाएर आईजीपी बन्ने दाउमा केही भ्रष्ट प्रहरी अधिकृतहरू पनि खुलेर लागेका छन् । प्रहरी अधिकारीबीच विगतमा अस्वस्थ प्रतिस्पर्धा चल्दा प्रहरी प्रशासनको चेन अफ कमान्डमा नै समस्या आएकाले अहिले पनि त्यसो नहोला भन्न सकिन्न ।
केही डीआईजी आईजीपीको चक्करमा भारतसम्म पुगेर हारगुहारसम्म गरिआएको चर्चा छ । अर्यालपछि नेपाल प्रहरीको भावी आईजीपीमा वरीयतामा एक नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई बनाउनुपर्ने तर्क उठेको छ । अहिलेसम्म संगठनमा कुनै कारबाहीमा नपरेका, उत्कृष्ट कार्यसम्पादन गरेका र जता बस्दा पनि प्रहरीको साख उच्च राखेकाले सिलवाल एक मात्र निर्विकल्प आईजीपी बनाउनुपर्ने कुरा उठेको छ । आफैंमा स्वच्छ छवि भएको प्रहरीमा गनिने सिलवाल प्रहरी संगठनभित्र मात्र नभई नागरिक समाजमा पनि इमानदार र चुनौतीसँग जुध्न सक्ने क्षमता भएको दाबेदार मानिन्छन् ।
वन्यजन्तु, मानव तस्करी, एटीएम ठगीदेखि कल बाइपास हुँदै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुनतस्करीको पर्दाफास गरेसँगै सिलवाल जनताको नजरमा पनि हाइहाइका पात्र बनेका छन् । पूर्वी नेपालमा जनपक्षीय काम गरेर चर्चा कमाएर काठमाडौं गएका सिलवालले सीआईबीमा अहिलेसम्मकै उत्कृष्ट काम गरे । भागीभागी हिँडेका हत्यारादेखि तस्करहरूलाई पक्राउ गर्ने महŒवपूर्ण भूमिका खेलेका सिलवाल त्यहाँ पनि त्यतिकै हाइहाइ छन् । अदालतले २ अर्ब ५० करोड जरिवाना तोकेको पदमबहादुर कुँवरदेखि लामो समयदेखि लुकेर बसेका अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन निकै महŒवपूर्ण काम गर्न उनी सफल भए । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकका रूपमा काम गर्न अनुमति लिएका सबैको शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेर धमाधम पक्राउ गरे । ठूलो संख्यामा सुन मात्र पक्राउ गरेनन्, जनतालाई शान्तिसुरक्षा कायम गराउन पनि उनको उत्तिकै भूमिका रहेको बजारमा चर्चा छ ।

विदेशी लबिङमा दुवै चुके

तीन नम्बरका डीआईजी जयबहादुर चन्द गृहमन्त्री विमलेन्द्र निधिदेखि कांग्रेसका अरू नेताहरूलाई प्रभावमा पार्नका लागि केही निकट व्यक्तिका साथ भारतको राजधानी दिल्ली उडेको चर्चा चल्यो । हरिद्वारमा पितृकार्यका लागि गएका बखत भारतीय जनता पार्टीका नेता भगतसिंह कोसीयारीसँग समेत भेट गरी आफूप्रति सद्भाव राख्न अनुरोध गरिएको स्रोतको दाबी छ । डीआईजी चन्दसँग नेपाल प्रहरीका पूर्वआईजीपी रमेश चन्द ठकुरीका साला अर्जुन शाही, राजेशकुमार जोशी र एक मारवाडी व्यापारी पनि दिल्ली गएको बताइन्छ । त्यसो त भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय एक नम्बरका डीआईजी नवराज सिलवालका नातेदार भएकाले उपाध्यायले पनि सिलवालका पक्षमा भारतबाटै लबिङ गरिरहेको बुझिएको छ । २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका दुवै डीआईजीलाई कम आँक्न नमिले पनि वरिष्ठताको रोलक्रममा सिलवाल अगाडि छन् । संविधान कार्यान्वयनको चरणमा रहेको अहिलको अवस्थामा प्रहरीका उच्च अधिकारी नै राष्ट्रिय हितविपरीत नियमसंगत, पद्धतिसंगत ढंगले हुने बढुवालाई प्रभाव पार्नमा मित्रराष्ट्रतिर लाग्नु निश्चय नै विडम्बनाको कुरा हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा