14th August 2018, Tuesday

E-budhabar

मानिससँग संवाद



मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा टाँग्नु नै उनको कविता लेखनको मूल स्वर हो, मूल ध्येय हो ।
‘नदीसँग मनको तिर्खा’ कवि भट्टराईको सम्भवतः प्रथम काव्य–आवाज हो । पचासको दशकदेखि नै कविता लेखनमा पाइला राखेका उनले यो अवधिमा बटुलेका काव्यिक अनुभूतिलाई पस्किन चाहेका छन् । हरेक स्रष्टा जनजीवनसँग जोडिएरै यात्रारत रहन्छन् । हुन पनि, साहित्य सिर्जनाको अथाह भण्डार नै हो, जनता र उनीहरूले सँगाल्ने सुख र दुःखहरू । ‘पसिना र जिन्दगी’मा उनी दिनरात श्रमको कुण्डमा डुब्ने श्रमशील अनुहारलाई खोज्न चाहन्छन् । भारी बोकेर आफ्नो जीवनको पाङ्ग्रालाई गतिशील तुल्याइरहेका श्रमिकहरूले जति पसिनाको मूल्य र अर्थबोध जानेका हुन्छन्, त्यति अरु पेशा वा श्रममा लाग्नेहरूलाई थाहा हुँदैन । पसिनाको मूल्य र स्वाद बुझ्नेहरूका पीडालाई उनी काव्यिक डोरीमा टाँग्न चाहन्छन् ।
‘आशमाया’ पनि श्रमजीवी वर्गको अनगिन्ती पीडा र स्वप्नलाई पछ्याउने कविता हो । गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी थुप्रै महिलाहरूको प्रतिनिधित्व सायद आशमायाले गरेकी छन् । उनी लेख्छन्, ‘नित्य÷फुटाइरहन अभ्यस्त भइसकेकी छु ढुंगा÷सडक किनारमा यसरी÷ढुंगा र ढुंगा मात्र फुट्छ जहिले पनि÷ढुंगा जसरी नै÷फक्लक, फक्लक÷फुटाउन सकेकी भए पो जिन्दगीको दुःख ।’ जिन्दगीलाई विम्ब बनाएर धेरै स्रष्टाले कविता लेखिसकेका छन् । तर, जिन्दगीलाई अनेक कोणबाट हेरेर कविता लेख्ने सिलसिला भने अझै टुटेको छैन । उनले पनि जिन्दगीलाई विभिन्न कोणबाट हेर्न र जिन्दगीका बहुआयामिक सन्दर्भहरूलाई बुझ्ने प्रयत्न गरेका छन् । ‘जिन्दगीको उत्सव’ र ‘जिन्दगी ट्रलीबसजस्तो लाग्छ’ जस्ता कवितामा उनी जिन्दगीका गाँठाहरूलाई फुकाउने उपायहरू खोज्छन् । उनको नजरमा जिन्दगी हो, ‘जति हिँड्यो उति नै बाँकी÷छिचोल्नुपर्ने विस्तीर्ण कालोपत्रेहरू÷काट्नुपर्ने असंख्य घुम्ती र मोडहरू÷मेट्नुपर्ने अनावश्यक सिमाना र साँधहरू÷घ्याच्चघ्याच्च÷जिन्दगी ट्रलिबसजस्तो लाग्छ ।’
‘टुँडिखेलमा बुद्ध’, ‘पृष्ठभूमिमा अमरसिंह’ र ‘गणेशमान र देश’ राष्ट्रका शुभचिन्तकहरूलाई स्मरण गर्ने कविताहरू हुन् । व्यक्तिकेन्द्रित कविता लेख्नु त्यति सजिलो छैन । किनभने, साहित्यका अरू विधामा जस्तो कवितामा व्यक्तिको सम्यक मूल्यांकन गर्न अति नै कठिन हुन्छ । तर, उनले भने राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्तिहरूको स्केच कोर्न चाहेका छन् । र, संसारलाई नै असल मार्गमा हिँड्न उत्प्रेरित गर्ने बुद्ध, राष्ट्रियताको लडाइँमा अब्बल अमर सिंह र प्रजातन्त्रको लडाइँमा दह्रो रूपले उभिएका गणेशमानप्रति उनले काव्यिक–मूल्यांकन गरेका छन् । उनी लेख्छन्, ‘रत्नपार्कको चौरस्तामा उभिएर÷हेर्ने÷जोकोहीलाई लाग्न सक्छ÷रूपसँग ठ्याक्कै नमिलेको÷गणेशमानको सालिक÷र, देश यतिखेरको÷उस्तैउस्तै ।’
राधाकृष्णले अभिव्यक्त गरेका यी शब्दहरूले नै उनको कविताको उचाइ, आयाम र गरिमाबारे स्पष्ट पारेकोमा कुनै द्विविधा देखिँदैन, ‘नलेखे कुन ऐनामा हेर्नु आफ्नो मुहारचित्र ? कुन ऐनाको प्रतिच्छायामा विचार्नु मैले आफ्नो समय र समाज ? आफूभित्रको संवेग र आवेगलाई आफूजस्तै अर्को मान्छेको संवेदना र अनुभूतिसँग सादृश्य खोज्न संवादको कुन माध्यम पहिल्याउनु ? हरेक कविता पटकपटक आफूलाई नियाल्ने अथवा पर्गेल्ने तिनै ऐनाहरू हुन् भन्ने मलाई लागेको छ, त्यसैले लेखिरहेको छु–लेख्न र लेखिन कवितामा खोजिरहेको छु ।’
कृति ः नदीसँग मनको तिर्खा
विधा ः कवितासंग्रह
कवि ः राधाकृष्ण भट्टराई
प्रकाशक ः उन्नति बुक्स
पृष्ठ ः ११०
मूल्य ः १६५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा