18th November 2017, Saturday

E-budhabar

मृत्युबोधले जन्माएका सिर्जना



मृत्युबोधले जन्माएका सिर्जना

सन् २००४ विश्व राजनीतिक मञ्चमा उथलपुथल भरिएको वर्ष थियो । त्यसको ठीक तीन वर्षपूर्व इस्लामी अतिवादीहरूले अमेरिकामा हमला गरेपछि तिल्मिलाएको महाशक्ति राष्ट्रले दुई देशमा धावा बोले– इराक र अफगानिस्तान । दुवै देशमा सत्ता पल्टाउन अमेरिका सफल भयो । यो परिदृश्य अझै ओझेल परिसकेको छैन र आजपर्यन्त त्यसका झिल्काझिल्कीहरू देखिन्छन् । अमेरिकाले ‘विजय’ प्राप्त गरेको ती दुई देशको आकाशमा अझै पनि अशान्ति, कोलाहल, अस्थिरताका काला बादलहरू मडारिइरहेकै छन् । बम, बारुद्ध, धुवाँ र विस्फोटका अनगिन्तिका कथाहरू दोहोरिइरहेकै छन्, इराक र अफगानिस्तानका भूमिहरूमा अझै पनि । युद्धका डोबहरू रत्तिभर मेटिएका छैनन् ।
निरन्तरको हमलापछि इराकमाथि कब्जा जमाएयता अमेरिकाले पातालमुनि गए पनि एउटा पात्रलाई खोज्न छाडेनन् । सत्ताच्यूत भएर अज्ञात थलोमा लुकेर बसेका राष्ट्रपति सद्दाम हुसेनलाई इराकको हरेक भूभागमा खोजियो र अन्ततः फेला पारेरै छाड्यो । कानुनी प्रक्रिया पूरा गर्ने नाममा नाटकीय तवरले सद्दामलाई कारावासमा राख्दा उनले अमेरिकीहरूसँग एउटा अनुमति मागेका थिए । त्यो थियो उपन्यास लेख्ने । अमेरिकी सेनाले सद्दामलाई उपन्यास लेख्ने अनुमति दिए । किन अनुमति दिएका थिए भने उनले उपन्यास लेखनका क्रममा आफ्नो शासनकालमा भएका कतिपय गोप्य कुराहरू खोल्नेछन् । त्यस्तै, अमेरिकी सेनाहरूको कब्जामा परेपछि शून्यप्रायः देखिने सद्दामको ‘मनलाई शान्ति’ मिल्ने अपेक्षा राखेर पनि उपन्यास लेखनको अनुमति दिइएको थियो ।
मृत्युबोध छामिसकेका सद्दामले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुस, बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयर र इजरायलका प्रधानमन्त्री एरियल स्यारोनलाई खलनायक र आफूलाई नायकका रूपमा उभ्याएर उपन्यास लेख्ने अनुमति पाएका थिए । त्यसअघि पनि तीनवटा किताब लेखिसकेका सद्दामले जीवनको अन्तिम क्षणमा लेख्न थालेका उपन्यास गहकिलै भएको अनुमान लगाउन सकिन्छ । किनकि उनले लेखेका तीनवटै किताब इराकमा बेस्ट सेलर भएका थिए । तर, सद्दामलाई फाँसी दिएको १३÷१४ वर्ष भइसकेको छ । तर, उनले लेखेको उपन्यास अझै पनि सार्वजनिक भएको छैन । अमेरिकी सेनाको नियन्त्रणमा छँदै लेखेको सद्दामकृत उपन्यासमा उनले मृत्युबोधलाई राम्रैसँगले अनुभूत गरेका होलान् र त्यसमा आफ्नो विशिष्ट सीप पोखेका होलान् भन्ने अनुमान लगाउन सकिन्छ ।
निःसन्देह, कुनै पनि लेखक–कविले मृत्युबोध सँगालिरहेका बेला लेखेका अनुभूतिपरक लेखनको उचाइ बेग्लै नै हुन्छ । किनकि, मुटु निचोरेर नै लेखिन्छन् त्यस्तो बेला । मदन पुरस्कार प्राप्त जगदीश घिमिरेको आत्मकथात्मक कृति ‘अन्तर्मनको यात्रा’ को खँदिलोपनको पछि उनमा व्याप्त मृत्युबोध नै कारक रहेको ठान्न सकिन्छ । आफू जीवनको अन्तिम घडीमा दौडिरहेको छु भन्ने बोध भएपछि उनले अस्पतालको शøयामै रहेर सो किताब लेखेका थिए । तीसको दशकमै ‘साविती’जस्ता उपन्यास लेखेर नेपाली साहित्य वृत्तमा चिनिइसकेका घिमिरे पछिल्ला समयमा भने साहित्य लेखनबाट परै थिए । समसामयिक राजनीतिक, सामाजिक टिप्पणीहरू लेखे पनि घिमिरेको साहित्य लेखन शून्य नै थियो । तर, जब मृत्युलाई आफ्नै हत्केलामा सल्बलाइरहेको देखे, त्यसको प्रतिफल÷प्रतिक्रियास्वरूप जन्मियो– अन्तर्मनको यात्रा ।
नेपाली कांग्रेसका नेता बलदेव मजगैयाँले चारवटा उपन्यास लेखेका छन् अहिलेसम्म । तर, तीनवटा उपन्यास त उनले जेलमै लेखे । २०४६ सालको जनआन्दोलनताका जेलमा पर्दा विरक्त भएका मजगैयाँलाई लाग्यो कि निरंकुश शासकले मार्न पनि सक्छन् । एक प्रसंगमा उनले भनेका छन्, ‘जेलमा परेपछि म निकै डराएँ । कतै आन्दोलन सफल नभएर हामीलाई मार्न त मार्दैनन् ? भन्ने कुरा मेरो दिमागमा बारम्बार खेल्न थाल्यो । त्यत्तिकै मर्ने हो कि भन्ने त्रासले गर्दा समाजलाई केही कृति दिनुप¥यो भनेर मैले उपन्यास लेख्न थालेँ ।’ त्यो उपन्यासको नाम थियो– नरमणि । बहुदल आएपछि २०४८ मा प्रकाशित भएको थियो, त्यो उपन्यास । त्यसयता उनले अरू दुइटा उपन्यास पनि जेलजीवनकै क्रममा लेखे । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनलाई नक्सालस्थित प्रहरी हेडक्वार्टरमा राखिएको थियो । त्यतिबेला उनले ‘विवशता’ लेखे भने २०६२÷६३ को जनआन्दोलनका बेला महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा थुनिँदा उनले लेखे, ‘मानसी’ । तर, उनले २०४६ सालताका मृत्युबोधका कारण लेखेका उपन्यास भने निकै चोटिला छन् ।
हुन त स्रष्टाहरूले आफू मृत्युको संघारमा उभिएको छु भन्ने बोध नगर्दा पनि उत्कृष्ट सिर्जना गर्छन्, गर्न सक्छन् । तर, जब मृत्युले आफूलाई पछ्याइरहेको छ र जीवनका हरेक पल खिइँदै गइरहेका छन् भन्ने आत्मबोध हुँदा भने निख्रिएरै लेख्न चाहन्छन् स्रष्टाहरू । र, जब कुनै स्रष्टाले निख्रिएरै लेख्न खोज्छन्, त्यस्ता सिर्जनाहरू केही गहकिलै हुन्छन्, यसमा सायदै दुईमत होला ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा