25th June 2018, Monday

E-budhabar

रङका व्यसनी



रङका व्यसनी

‘पोट्रेट (मुहार चित्र) का लागि कसलाई सम्झिँदा हुन्छ ?’ तपार्इं यो प्रश्न गर्नुस्, चित्रकला क्षेत्रका कुनै पनि सिद्धहस्त वा सिकारुले तत्काल जवाफ दिन्छन्, ‘केके दाइको जति राम्रो त कसैको पनि हुँदैन । कसैको पोट्रेट बनाउनुप¥यो भने उहाँलाई सम्झिँदा हुन्छ ।’
नेपाली चित्रकलामा प्रत्येक सर्जकले आ–आफ्नै विशेषता बोकेका छन् । कसैको पानी रङमा, कसैको मुहार चित्रमा, कसैको तैल रङमा । तर, वरिष्ठ कला–सर्जक केके कर्माचार्यलाई चिनाउने आधार भनेकै ‘मुहार चित्र’ हो । उनले कसैको मुहारमाथि रङ पोत्दा त्यो कुनै महँगो क्यामेराले खिचेको तस्बिरभन्दा पनि प्रष्ट देखिन्छ । बरु, तस्बिरमा समस्या देखिएला तर कर्माचार्यको चित्रकलामा भने त्यस्तो समस्याको संकेतसम्म पाइँदैन ।
आधा शतकयता नेपाली चित्रकलाको विकास र समृद्धिमा समर्पित कर्माचार्यले मुहार चित्रमा आफूलाई खार्ने अवसर भने बीसको दशकमै हुलाक सेवा विभागमा कार्यरत रहन थालेपछि पाए । त्यो समय विभाग थियो, भोटाहिटीमा । जुन दिन नयाँ टिकट निस्किन्थ्यो, त्यो दिन विभागको परिसरमा मानिसको भीड जम्थ्यो । बारम्बार भोटाहिटीमा गइरहने उनले एक दिन त्यो दृश्य देखे र हुलाकमा जागिर खाने मन बनाए । हुलाक टिकट डिजाइनरमा दिएको जाँच उत्तीर्ण भएपछि महिनामा २ सय ५० को जागिर खान थाले । भन्छन्, ‘म प्राविधिक भएको हुँदा अरु कर्मचारीभन्दा मेरो तलब पाँच रुपियाँ बढी थियो । तर, म सबै तलब आमालाई ल्याएर दिन्थेँ ।’
हुलाकमै काम गर्थे, गोपालराज मैनाली पनि । त्यतिबेलासम्म उनले चुरोट तान्न सिकिसकेका थिए र मैनाली पनि धूमपानका सौखिन थिए । जोडी मिल्यो । त्यो समय धूमपानमा भिड्नेमा उनी र मैनालीसँगै जनकप्रसाद हुमागाईं पनि थिए । उनी भन्छन्, ‘चाहे पेन्टिङ गर्दा होस् वा डिजाइन गर्दा, टेबुल अगाडि स्ट्रे राखेर मात्र म काम गर्थें । मलाई हरेक घण्टामा एउटा चुरोट सल्काउनुपथ्र्यो । दिनमा एक बट्टा सिद्धिन्थ्यो ।’
धूमपानमा अति नै तल्लीन हुन थालेपछि उनलाई छाड्न दबाब आउन थाल्यो । र, धूमपानका सहयोद्धा मैनालीले एक दिन प्रस्ताव पनि राखे, ‘अब हामी ५५५ चुरोट खाऔं र त्यसपछि खान छाडिदिऔं ।’ ५५५ चुरोट खाएर छाड्ने सल्लाहलाई मूर्तरूप दिन भोलिपल्ट मैनालीले त्यो चुरोट लिएर पनि आए । तर, के सकिन्थ्यो र छाड्न ? पर्सिपल्टदेखि उस्तै । धेरै वर्षपछि भने उनी धूमपानको संगतबाट टाढिए ।
३८ वर्ष नौ महिनासम्म हुलाकमा काम गर्दा उनले अनेक स्मृतिहरू सँगालेका छन् । हुलाक सेवामा प्रवेश गरेकै दिन उनलाई राजा महेन्द्रको टिकट डिजाइन गर्न दिइएको थियो । त्यसअघि राजा महेन्द्रको टिकट डिजाइनका लागि एक जना पाकिस्तानीलाई दिइएको रहेछ । तर, त्यसमा इरर देखिएपछि उनले त्यो अवसर पाएका रहेछन् । उनी भन्छन्, ‘राजाको डिजाइन गरिएको टिकट छापिनुअघि दरबारबाट स्वीकृत भएर आउनुपथ्र्यो । राजाले हेरेपछि मात्र टिकट स्वीकृत हुन्थ्यो ।’
टिकट डिजाइन गर्दा केही रमाइला घटना पनि भएका छन् । एकपटक प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङल्हामु शेर्पाको टिकट छापिएर आउँदा त्यसले ठूलै हलचल मच्चायो । व्यक्तिको नाममा जारी गर्ने टिकटमा ती व्यक्तिको जन्ममिति छापिनुपर्नेमा शेर्पाको भने जन्ममिति नै छुटेछ । लाखौं प्रति छापिएको त्यो टिकटमा शेर्पाको जन्ममिति नै छुटेपछि टिकट नै रद्द गरियो र जन्ममिति उल्लेख गरेर अर्को टिकट छापिएको थियो ।
अझ, एकपटक राष्ट्रिय गान राखिएको टिकटमा त ‘सरकार’ शब्द नै छुट्न पुगेछ । त्यसले पनि हंगामा मच्चायो । उनलाई स्पष्टीकरणसमेत सोधियो । ग्रेड रोक्का गर्नेसमेत भनियो । तर, ‘अबदेखि यस्तो गल्ती गर्दिनँ’ भनेपछि उनले माफी पाए । डिजाइन–जीवनमा यस्ता अनेक घटनाका साक्षी रहे पनि उनले राम्रो डिजाइन गरेबापत प्रशंसा पनि बटुलेका छन् । प्रख्यात नाटककार बालकृष्ण समको टिकटको डिजाइन गरेबापत अस्टे«लियाको एउटा संस्थाले उनलाई ‘राम्रो डिजाइनर’को प्रमाणपत्रसमेत दिएको थियो ।
मुहारचित्रमा राम्रो दखल भएकै कारण उनले थुप्रै प्रख्यात व्यक्तिहरूका अनुहार उतारेका छन् । सम, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, बीपी कोइराला, धरणीधर कोइराला, गणेशमान सिंह, नारायणगोपाल, पारिजात, युद्धप्रसाद मिश्र, चन्द्रमान मास्के, चित्तधर हृदय, पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंह, सोमनाथ सिग्द्याल, ज्ञानी दिलदास, सिद्धिदास अमात्यलगायत कैयौं व्यक्तिका टिकट डिजाइन गरेका छन्, उनले । त्यसबाहेक नेपालका प्रसिद्ध तीर्थस्थल, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको पनि उनले डिजाइन गरेका छन् ।
जागिरे जीवनमा प्रवेश गर्दा काठमाडौं उपत्यका, भक्तपुर दरबार क्षेत्र र आमाडब्लम हिमालको डिजाइन गरेका उनले अहिलेसम्म ४ सयभन्दा बढी नै टिकटको डिजाइन गरिसकेका छन् । त्यसमा ५ पैसादेखि १ सय रूपैयाँसम्मका डिजाइन गर्न भ्याइसकेका छन् । यी त भए, व्यावसायिक पाटो । तर, उनले आफ्नो मौलिक सिर्जना पनि रोकेका छैनन् । २०२८ सालमा एकल चित्रकला प्रदर्शनी गरेका उनले अहिलेसम्म ६÷७ पटक एकल प्रदर्शनी गरिसकेका छन् । ललितकला प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका कर्माचार्य अचेल पनि टिकट डिजाइन र आफ्नो सिर्जनामा तल्लीन भेटिन्छन् । जीवनका ७० हिउँद–वर्षा पार गरिसकेका उनी कुनै बेला चुरोटका व्यसनी थिए, अहिले भने पूरै रङका व्यसनी बनेका छन् र रङकै संसारमा डुबिरहेका हुन्छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा