19th September 2017, Tuesday

E-budhabar

राजनीतिको शल्यक्रिया



राजनीतिको शल्यक्रिया

हरेक क्षेत्र विसंगतिबाट मुक्त छैन । तर, राजनीतिमा विसंगति, विकृति, चाकडी–प्रथा, गुटगत चिन्तन यति व्याप्त छ, त्यसले अरु क्षेत्र र तप्काका विसंगतिहरूलाई सजिलै माथ गर्ने क्षमता राख्छन् । अझ, परिवर्तनका रूपरेखा कोर्ने राजनीतिक दलहरूभित्रै कार्यकर्ता–पंक्तिमा भेदभाव तीव्र छ । पुराना र इमानदार कार्यकर्ताहरू पाखा लाग्दैछन् र नवप्रवेशीहरूको बोलबाला बढ्दो छ । गुटगत प्रवृत्ति पनि उत्तिकै हावी छ । संस्थापन पक्षको पुच्छर नसमात्ने हो भने राजनीतिक जीवन नै समाप्तिको गोरेटातिर लाग्छन् ।
नेपाली राजनीतिभित्र देखिएका यस्ता यावत् चरित्र र क्रियाकलापलाई लघु रूपमा केलाउने काम सर्जक सीताराम नेपालले गरेका छन् । नेपालको नयाँ लघुकथा–कृति ‘रातो डायरी’का बहुसंख्यक कथाहरू राजनीतिकै सेरोफेरोमा घुमेका छन् । सिंगो राजनीतिक वृत्तमा देखिएका विसंगत पक्ष, विचलन, गुटगत मानसिकतालाई उनले आफ्नो लेखनको विषय बनाएका छन् ।
‘पत्रे अस्त्र’ मा नेतृत्वको आलोचना गर्दा कारबाहीको सिकार भएका एक राजनीतिक कार्यकर्ताको व्यथा कोरिएको छ । हरेक राजनीतिक शक्ति–समूहमा तानाशाही प्रवृत्ति हावी हुँदै गएको छ । नेतृत्वको तानाशाहीकरण यति मौलाएको छ, आलोचनाको तीर बर्सिने बित्तिकै आलोचना गर्ने पात्रलाई कारबाहीको डन्डा बर्साइन्छ । राजनीति दलभित्र स्वस्थ र स्वच्छ आलोचनाका बिउहरू कुहिँदै गएको सप्रमाण यो लघुकथाले बोकेको छ । ‘राजनीतिक पीडित’मा भने नेताहरूले आफ्ना सन्तानलाई राजनीतिमा लगाउन नचाहेको पक्षलाई उदांगो तुल्याउन खोजिएको छ । आफू राजनीतिको कठोर मार्गमा हिँडे पनि छोराछोरीलाई भने डाक्टर, इन्जिनियरजस्ता पेसामा लगाउन नेताहरू नै उद्यत हुने कुरालाई यो कथाले समेटेको छ ।
समाजका भ्रष्ट, पतित, गैरकानुनी क्रियाकलाप गर्नेहरूलाई राजनीतिक दलका नेताहरूले संरक्षण गर्ने प्रवृत्ति व्यापक बन्दै गएको छ । कुनै गलत क्रियाकलाप गर्दा प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई राजनीतिक दलहरूले संरक्षण दिने र त्यस्ता व्यक्तिलाई छुटाउन दलका नेताहरू नै सक्रिय रहने यथार्थलाई उघिन्न ‘राजनीतिक रङ’ सक्षम देखिएको छ । ‘भोटको नातो’ मा भने चुनावका बेला मतदातालाई जीहजुरी गर्ने र चुनाव जितिसकेपछि बेवास्ता गर्ने अवसरवादी नेताको चरित्र उतार्न खोजिएको छ । मतदाताहरूलाई नेताले चुनावपछि कस्तो व्यवहार देखाउँछन्, मतदातासँग कसरी टाढिन रुचाउँछन् भन्ने पाटोलाई यो कथामा देखाउन खोजिएको छ ।
समाजका अत्यन्तै न्यून आर्थिक हैसियत भएकाहरूको गरिबी र दरिद्रता देखाएर फाइदा उठाउने तŒवहरू हाम्रै समाजमा छन् । अझ सुकुम्बासीहरूलाई मोहरा बनाएर ठगी खानेहरूको त जमात नै छ । सुकुम्बासीको दयनीय स्थितिबारे वृत्तचित्र बनाएर फाइदा उठाउनेहरूलाई लक्षित कथा हो, ‘रमिता’ । यो कथाले आर्थिक फाइदा उठाउन सदैव टाठाबाठाहरू नै सक्रिय रहन्छन् भन्ने कुरा उठाउन चाहेको छ । नेपाली समाज जातीय विभेदको साङ्लोबाट अझै उम्किन सकेको छैन । कथित उच्च र दलितबीचको भेदभाव कायम नै छ । जातीय विभेदकै कारण दलितहरूले अपहेलित, लान्छित हुनुपर्ने अवस्थाका छिद्रछिद्रलाई ‘समाधान’ कथाले पर्गेल्न खोजेको छ ।
मूलतः नेपालका लघुकथाहरू हाम्रै समाजभित्रका कुरीति, राजनीतिमा व्याप्त विसंगतिबोध, निम्न वर्गका व्यक्तिहरूले झेल्नुपरेका आर्थिक पीडाजस्ता विषयहरूमा केन्द्रित छन् । उनका लघुकथाहरूले नेपाली राजनीति, समाज, सांस्कृतिक क्षेत्रका अनेक पक्षलाई बुझ्न सहजै सघाउनेमा द्विविधा उत्पन्न हुँदैन ।
कृति : रातो डायरी
विधा :  लघुकथा सँगालो
लघुकथाकार : सीताराम नेपाल
प्रकाशक : शब्दार्थ प्रकाशन
पृष्ठ : १२०
मूल्य : २२५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा