राजविराज घटनामा जे देखें
फागुन २१ देखि पूर्वको काँकडभिट्टाबाट नेकपा (एमाले) ले निकै उत्साहका साथ सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान सप्तरीसम्मको यात्रा तय गरेपछि निकै पीडादायी बन्न पुग्यो । तत्कालीन पञ्चायती शासकले झापा आन्दोलनका पाँच योद्धालाई हत्या गरेकै दिन पारेर ती सहिदहरूका स्मृतिमा प्रारम्भ भएको अभियान सप्तरीको राजविराजमा केहीको मृत्यु भएपछि तीन दिनका लागि स्थगन भएको छ ।
तराई–मधेसमा एमाले कमजोर बनेको र मधेसका जनताको हृदयबाट एमाले धुमिल बन्दै गएको भन्ने भ्रमले व्यापकता पाइरहेकै बेला एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सुरुवात गरेको थियो । र, इनरुवामा मधेसी मोर्चाका केही कार्यकर्ताहरूले कालो झन्डा देखाउनुबाहेक कोसी ब्यारेज कटेर पश्चिम नकटुन्जेल एमालेको अभियानले मधेसको भूभागमा बेग्लै रौनकता र चमकसमेत दिलाएको थियो ।
त्यति मात्र होइन, चरम गुटबन्दीका कारण एमाले कमजोर बन्दै छ भन्ने हल्ला अनावश्यक रूपमा तन्किरहेकै बेला शीर्षस्थ नेताहरूसहितको टोली मधेस झरेपछि एमालेलाई माया गर्ने लाखौं कार्यकर्तामा उत्साह छाएको थियो, उनीहरूले खुसीको सास फेर्न पाएका थिए ।
अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरू वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोख्रेल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतको टोली एउटै मञ्चमा हाँसीखुसी बसेका देख्दा कार्यकर्ताहरू पनि पुलकित भएका थिए ।
जनताकै गाँस, जनताकै घरको बास गर्दै काँकडभिट्टादेखि इटहरीसम्म आइपुग्दा चोक–चोक, गल्ली–गल्लीमा हँसिया–हथौडा र सूर्यअंकित झन्डा फहराइएको थियो । ती माहोललाई फलदायी बनाउन बालबालिका, युवायुवती, वृद्धवृद्धा लामबद्ध बसेर स्वागत गरेका थिए र शीर्ष नेताहरू पनि आफू सवार गाडीको गतिलाई कम गराउन लगाउँदै र हात हल्लाउँदै अघि बढेका थिए । सडकमा स्वागतका लागि लामबद्ध सबै माइत आएकी चेलीलाई बिदाइ गरे जसरी भावुक हुँदै लामबद्ध गाडी देखुन्जेल हात हल्लाइरहेका देखिन्थे । ‘क्याराभान’ शैलीको अभियानलाई लाखौँ जनताले इटहरीसम्म धुमधामसँग साथ दिए ।
काँकडभिट्टादेखि इटहरीसम्मको यात्रामा कालो झन्डाको नामोनिसान नै देखिएन । अभियानका क्रममा दोस्रो दिनको बास इटहरीमा भयो । त्यसपछि भने नेताहरू पनि केही सर्तक बन्न थाले । प्रदेश नम्बर दुई प्रवेश गर्ने अन्तिम कार्यक्रम सुनसरीको इनरुवामा आइपुग्दा त्यहाँ छिटफुट रूपमा काला झन्डाहरू देखिन थाले । सुरक्षाकर्मीहरूको पनि बाक्लो उपस्थिति देखिन थाल्यो ।
त्यसअघिसम्म सामान्य स्कर्टिङमा आएका नेताहरूलाई पनि सुरक्षाकर्मीले विशेष स्कर्टिङको व्यवस्था गर्न थाले । इनरुवामा कार्यक्रम सम्पन्न गरेर अघि बढ्ने क्रममा त्यहाँ केही ढुंगा प्रहार गर्ने प्रयास भएपछि सुरक्षा फौज अझै सतर्क हुन थाल्यो ।
सुरक्षाकर्मीको रिपोर्टिङकै आधारमा २२ गते इटहरीमा बसेको एमाले स्थायी कमिटी बैठकले समेत मधेसी मोर्चाको बाहुल्य रहेको राजविराजमा कार्यक्रम गर्दा भने संयमपूर्वक उपस्थित हुने निष्कर्ष निकालेको थियो । पटक–पटक भाषण गर्दा पनि एमाले नेताहरूले एमालेले मुठभेड नचाहेको अभिव्यक्ति दिइरहेका थिए । एमालेको नीति र मधेसी जनताका पक्षमा एमालेले गरेका सकारात्मक कामबारे जानकारी दिनकै लागि अभियान सुरु गरेको भन्दै शान्तिपूर्ण अभियानमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिएको थियो ।
अरू बेला निकै उत्तेजित मुद्रामा पेस हुने अनेरास्ववियु, युवा संघलगायतका एमाले कार्यकर्ता मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भने निकै संयमित बनेका थिए । इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालो झन्डा खोस्ने प्रयास गरे पनि उनीहरू तुरुन्तै संयमित बनेका थिए । उनीहरूको त्यो संयमले पनि मुठभेड हुने सम्भावना निकै कम देखिएको अनुमान सहज रूपमा गर्न सकिन्थ्यो ।
प्रदेश नम्बर दुई प्रवेश गर्दाको उत्साह
करिब १ हजार मोटरसाइकल र ५ सय बढी अन्य सवारीसाधनसहित इनरुवाबाट अघि बढ्दा एमालेका शीर्ष नेताहरू दुई नम्बर प्रदेश प्रवेश गर्ने बेला निकै उत्साहित देखिएका थिए । जब सप्तकोसी नदी पार गरेर एमाले टोली दुई नम्बर प्रदेशमा प्रवेश ग¥यो, एमाले नेता र आम कार्यकर्ताले आफूले एक प्रकारको विजयी उत्सव मनाएको अनुभूति गरेका थिए । भारदह हुँदै रूपनीसम्म आइपुग्दा कतै कालो झन्डा त कतै राष्ट्रिय र सूर्य अंकित झन्डाद्वारा स्वागत र विरोध भइरहेका थिए ।
एमालेको पकड रहेको रूपनीबाट करिब सात किलोमिटर दक्षिणतर्फ एमालेको अभियान अघि बढ्दै गर्दा त्यहाँ पनि थेग्नै नसक्ने खालको अवरोध भने थिएन ।
कार्यक्रम भव्य रूपमा सम्पन्न सामान्य अवरोधलाई चिर्दै कार्यक्रम स्थलमा एमालेका कार्यकर्ताहरू सयौंको संख्यामा ट्र्याक्टर, ट्रक र बसमा यात्रा गरेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमाले शीर्ष नेताको प्रतीक्षामा थिए । सयौंको संख्यामा रहेका सुरक्षाकर्मीले त्यहाँ सुरक्षाको निकै राम्रो प्रबन्ध मिलाएको सहज अनुमान गर्न सकिन्थ्यो । २०–३० जनाको हुल बाँधेर बसेका केही समूहका प्रदर्शनकारीले कार्यक्रमस्थलभन्दा करिब एकाध किलोमिटरको दूरीमा रहेको गहुँबारीबाट ढुंगा हानेको दृश्य भने पटक–पटक देखिन्थ्यो ।
एकैपटक आक्रमण गर्दा पनि त्यो हुलले त्यहाँ सभामा उपस्थित नेताहरूलाई आक्रमण गर्न सक्ने अवस्था थिएन । त्यही भएर पनि प्रहरीले निकै संयम अपनाएको थियो र प्रदर्शनकारीलाई अल्मल्याइरहेको थियो । तर, जब आन्दोलनकारीले पेट्रोल बम प्रहार गरे, त्यसपछि भने प्रहरीले संयम गुमायो र गोली प्रहार गर्ने तहसम्मै पुग्यो । त्यसपछि त्यहाँको दृश्य अचानक बदलियो र सिंगो गहुँबारी रणभूमिमा परिणत भयो ।
ओली बोल्दै गर्दा पेट्रोल बम प्रहार
कार्यक्रम स्थलमा वरिष्ठ नेता माधवकुमार नेपाल बोल्दासम्म सामान्य नै थियो । तर, जब पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थाले, त्यसपछि बाहिर प्रदर्शनकारी बढी नै उत्तेजित भए । ओलीले बोल्दै गर्दा बाहिर गोली चलिसकेको थियो । त्यो कुराको संकेत मञ्चमा रहेका सचिव योगेश भट्टराईले पनि पाइसकेका रहेछन् । उनले ओलीलाई त्यही संकेत गरेपछि ओलीले आफ्नो मन्तव्य टुंग्याए । त्यतिबेलासम्म एक कान–दोकान मैदान भनेझैं गोली लागेको हल्ला व्यापक बनिसकेको थियो ।
घटना गराएरै छाड्ने मोर्चाको तयारी
मोर्चालाई एमालेले तराई–मधेसमा अभियान सञ्चालन गरेको त्यति मन परेको थिएन । मधेसमा मोर्चाको वर्चस्व देखाउने होडबाजीमा आफूलाई एक्लो देखाउने मोर्चाको रणनीतिलाई एमालेले असफल बनाउन खोजेपछि जसरी पनि अभियान भाँड्ने तयारीमा मोर्चा थियो । सकेसम्म प्रहरीलाई उत्तेजित बनाएर केहीको हत्या होस् भन्ने मोर्चाको रणनीतिअनुसार नै घटना भएको एमालेको दाबी छ ।
एमालेमा संयम नभएको भए ठूलो दुर्घटना
एमालेले पहिलादेखि नै आफ्ना कार्यकर्तालाई संयम रहन आग्रह गर्दै आएको थियो । ‘हामीले पनि कार्यकर्तालाई मोर्चाका कार्यकर्ता जसरी नै उत्तेजित बन्न उक्साएका थियौँ भने त्यहाँ ठूलै दुर्घटना हुने थियो,’ एमालेका एक नेताले भने, ‘हामीले मुठभेड नहोस् भन्नकै लागि स्थान र रुट परिवर्तन गरेका थियौं ।’
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply