24th June 2018, Sunday

E-budhabar

लाखौंको सहभागितामा एकता घोषणासभाको तयारी



काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २२ अप्रिल अर्थात् आगामी ९ वैशाखमा पार्टी एकता घोषणासभाको भव्य तयारी सुरु गरेका छन् । कोलकाताको श्यामबजारमा २००६ साल २२ अप्रिलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएकै दिन विश्वलाई सन्देश दिने गरी दुवै पार्टीले एकता घोषणासभालाई भव्य बनाउने आन्तरिक तयारी सुरु गरेका हुन् ।
काठमाडौंको टुँडिखेलमा हुने एकता घोषणासभामा कम्तीमा ५ लाखको सहभागिता गराउने दुवै पार्टीको लक्ष्य छ । यद्यपि, अहिलेसम्म एकता घोषणासभास्थल भने सार्वजनिक गरिएको छैन, तर दुवै पक्षका नेताहरूले असंख्य भीड हुने भएकाले टुँडिखेललाई नै ‘टार्गेट’ बनाएर आन्तरिक तयारी सुरु गरिसकेका छन् । एकता घोषणासभाको अध्यक्षता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्ने गरी तयारी भइरहेको एकता घोषणासभाको तयारीमा जुटेका नेताहरूले जनाएका छन् । गत २२ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले एकता घोषणासभाको मिति तय गरिसकेको छ । एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा एमाले र माओवादी केन्द्रका तर्फबाट केन्द्रीय कमिटीसहित तल्ला कमिटीहरूमा संख्या अनुपात कसरी मिलाउनेसहित केही प्राविधिक विषय टुंगिनेबित्तिकै तयारी तीव्र बन्ने एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।
‘लाखौंको जनसहभागितामा एकता घोषणासभा भव्य बनाउने तयारी छ, एकतालाई स्वागत गर्दै कम्तीमा ५ लाख जनता त्यस दिन सडकमा आउनेछन्,’ एकता प्रक्रियामा निरन्तर संलग्न उपमहासचिव पौडेलले भने, ‘काठमाडौंका गल्लीहरू जनताको सागरले भरिनेछन्, त्यसैले एकता घोषणाको सन्देश सम्प्रेषण गर्न हामी प्राविधिक पक्षलाई पनि व्यवस्थित बनाउने प्रयासमा छौं ।’ नेपाली कम्युनिस्ट आन्दोलन दोस्रो महाधिवेशनपछि विभाजन र फुटको दिशामा अघि बढ्दै अहिले एकीकरणको अन्तिम संघारमा छ । माले धारको प्रतिनिधित्व गर्ने अहिलेको एमाले र न्युक्लियस एकता केन्द्र धारको प्रतिनिधित्व गर्ने अहिलेको माओवादी केन्द्रबीच एकीकरण हुन लागेको छ । कम्युनिस्ट आन्दोलनमा फरक धारको प्रतिनिधित्व गर्ने यी दुईबीच एकता हुन लागेकाले पनि नेताहरूले पार्टी स्थापना दिवसलाई नै एकता घोषणासभा गर्ने मिति बनाएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश प्रवाह गर्न पनि उक्त मिति उपयुक्त हुने नेताहरूको निष्कर्ष छ ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकताका सबै काम टुंगो लगाइसक्ने समझदारी भएको थियो । तर, एकतासम्बन्धी राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन तयार पार्न गठित कार्यदलले केही प्राविधिक विषय टुंग्याउन नसकेपछि सहमति प्रक्रिया केही दिनका लागि लम्बिएको छ । संख्या, चुनाव चिह्न र विधानको प्रस्तावनाको विषय नटुंगिएको बाहिर प्रकाशमा आए पनि नेताहरूले त्यस्ता सामान्य प्राविधिक विषयकै कारण ९ गतेको समयसीमा नलम्बिने प्रस्ट पारेका छन् । ठूलो दल एमालेले त एकता प्रस्ताव अनुमोदनका लागि ६ वैशाखमा पोलिटब्युरो र भोलिपल्ट केन्द्रीय कमिटीको बैठक नै बोलाइसकेको छ । माओवादी केन्द्रले पनि एकता अनुमोदनका लागि बैठकको तयारी गरिरहेको छ । यसबीचमा बढीमा दुईपटकसम्म पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएपछि दुवै दलले केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्नेछन् । त्यसलगत्तै ९ वैशाखअगावै दुवै पार्टीको संयुक्त बैठक बस्नेछ । एकीकरणको निर्णयसहितको माइन्युटिङ निर्वाचन आयोगमा पठाएको केही दिनमा वैधानिकता प्राप्त गरेपछि संसद्मा पनि दुवै दल एउटै दलका रूपमा सहभागी हुनेछन् ।
दुवै दलले पार्टी एकतापछि केन्द्रीय अध्यक्षहरूको हैसियत, क्षेत्राधिकार, तल्ला कमिटी र भ्रातृ संगठनहरू समायोजनको मोडालिटी पनि लगभग टुंगो लगाएका छन् । एकीकृत पार्टीको अध्यक्षता दुवै अध्यक्षले आलोपालो प्रणालीबाट गर्नेछन् । बैठकको अध्यक्ष जो हुन्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ भने पहिलो वरीयता पनि उसैको रहनेछ । अर्थात्, एकीकृत पार्टीमा दुवै अध्यक्षको हैसियत समान रहनेछ । त्यस्तै, औपचारिक पत्राचारहरूमा दुवै अध्यक्षको हस्ताक्षर रहनेछ ।
६ महिनाभित्र सांगठनिक एकतासम्बन्धी सबै काम सकेर बढीमा दुई वर्षभित्र एकता महाधिवेशन गर्ने तयारी छ । ९ वैशाखमा पार्टी एकता सम्पन्न हुनेबित्तिकै पहिलो चरणमा स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूको अन्तरिम कार्यविभाजन हुनेछ । त्यसलगत्तै शक्तिशाली संगठन विभागको नेतृत्वमा तल्ला कमिटी र भ्रातृ संगठनहरूको समायोजन प्रक्रिया अघि बढाउने गरी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन तयार पारेको छ । तल्ला कमिटीमा समान्यतया केन्द्रीय कमिटी जुन अनुपातमा एकीकरण हुन्छ तल पनि संख्यात्मक एकीकरण सोही अनुपातमा हुन सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले बताए । त्यस्तै, दुवैतर्फका भ्रातृ संगठनहरू मिलाएर २४ ओटा भ्रातृ संगठन बनाउने तयारी छ । अहिले एमालेका २२ र माओवादी केन्द्रका २६ वटा भ्रातृ संगठन छन् । पार्टीको संगठन विभाग प्रमुखको नेतृत्वमा सम्बन्धित जनसंगठनहरूका इन्चार्ज र भ्रातृ संगठनका अध्यक्षहरू राखेर एउटा छुट्टै कार्यदल बन्नेछ । त्यही कार्यदलले भ्रातृ संगठन एकीकरणको अन्तिम टुंगो लगाउनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा