16th August 2018, Thursday

E-budhabar

लीलालेखन ः एउटा सरल बोध



लीलालेखन ः एउटा सरल बोध

१९६३ मा आयामिक लेखन जुन प्रारम्भ ग¥यौं, त्यसमा चाँडै नै ‘वस्तुता’को धारणायुक्त बनेको थियो । त्यस काल दार्जिलिङमा लछेप्रै चलिरहेको भावुकता लेखनका विरुद्ध प्रवर्तित बौद्धिकतावादी आन्दोलन थियो यो लेखन ।
बौद्धिकतालाई निर्भय पाई, बौद्धिकतालाई समाई बढेको आयामिक चिन्तनाले तर चाँडै नै देख्यो ः बुद्धिमाथि सारै भर पर्न नसकिने रहेछ । यो चेतना बोकेर आएको थियो ‘वस्तुता’को धारणा । कुनै पनि वस्तुलाई हेर्नुहोस्– दृष्टान्त, एउटा ढुंगा । त्यो ढुंगाको आकार (गोलो वा लाम्चो), रङ (खैरो, सेतसेतो वा कालो–सेतो, धर्के) सबैले देख्छन् । आकार, रङ, ओजन, कठोरता इत्यादि वस्तुगत गुण वा विशेषता हुन्छन् । (यहाँ र ऐलेलाई) । ती गुणहरूको मूल्यांकन तर सधैं आत्मपरक हुन्छ । कसैलाई गोलो आकारको ढुंगा मनपर्दो लाग्छ, कसैलाई लाम्चो आकारको । कसैलाई खैरो रङको ढुंगा राम्रो लाग्छ, कसैलाई सेतो ढुंगा । मनपराइ यो मूल्यांकन हो । संसारमा बाँच्दा हामी प्रत्येक वस्तुको, व्यक्तिको, घटनाको यसरी मूल्यन गर्छौं– बाँच्नलाई गर्नैपर्छ । राम्रो वस्तु, नराम्रो वस्तु, राम्रो मान्छे, नराम्रो मान्छे, राम्रो घटना, नराम्रो घटनाको मूल्यांकन गर्दै हामी बाँच्ने र बढ्ने गर्छौं । यस्तो आत्मपरक मूल्यांकनको फेदको आधार तर के छ, के हुन्छ ? कुन आधारमा बौद्धिक बनी हामी वस्तु, व्यक्ति, घटना आदिलाई राम्रो–नराम्रो, उचित–अनुचित, सुन्दर–असुन्दर, नैतिक–अनैतिक, ठीक र भूल छुट्याउँछौं । आत्मपरक रुचि, पूर्वाग्रह र स्वार्थ नै छ त्यो तथाकथित आधार । ‘स्वार्थ’ यहाँ भनिएकोलाई राम्ररी बुझ्नुपर्नेछ । ‘स्वार्थ’ व्यक्तिगत मात्र नभई दल, जात, वर्ग, जाति, राष्ट्र, देश र मानव जातिगतसम्म हुन्छ । ‘स्वार्थ’ आर्थिक मात्र नभई धर्म, राजनीति, समाज, नैतिकता, सिद्धान्त, भाव र कलागतसम्म हुन्छ । स्वार्थको पृथक् वा मिलित बोधहरू स्वार्थका रूपहरू बन्छन् । मानिसको मूल धन्धा वा कार्य हुन्छ, बाँच्नु (सर्वाइवल) र बढ्नु । बाँच्नु र बढ्नुलाई सहायकर वस्तु, व्यक्ति, घटना हामीलाई राम्रा लाग्छन्, असहायकरहरू राम्रा लाग्दैनन् । हाम्रो स्वार्थलाई सहायकर नै हाम्रा मन र बुद्धिलाई सुन्दर र उचित लाग्छ, र स्वार्थको चाकर छ बुद्धि । बुद्धि कुनै स्वतन्त्र वा तटस्थ द्रष्टा छैन । बुद्धि रङ फेर्ने छेपारो छ र बुद्धिवादको विपरीतमा पुगेका थियौं, आयामिक हामीहरू, ‘वस्तुता’को धारणा पक्रेर । वस्तुको याथाथ्र्य, वस्तुको वस्तुता, हामीबाट अज्ञेय छ । वस्तुहरूमा हामी हाम्रै आत्मपरक विचार र भाव देख्छौं, हाम्रो स्वार्थपरक मूल्यन । मानिसका विचार र भावहरू, मानिसका बुझाइहरू र अनुभवहरू वस्तुपरक सत्य हुँदैनन्, स्वार्थपरक आत्मगत भ्रान्ति मात्र हुन्छन् ।
‘भ्रान्तिहरू र लीलालेखन मात्र’ शीर्षकको मेरो लेख २०३४ पुसको ‘रूपरेखा’ मा प्रकाशित हुँदातक लीला लेख्ता रहेछौ, चेत हामीलाई आइसकेको थियो । त्यो त्यस काल आयामिक लेखनअन्तर्गत त्यसको एक पक्ष थियो । यो स्वयंमा पूर्ण लेखन हुन्छ, पछिको विकसिति बन्यो ।
‘दायित्व’ (पूर्णाङ्क २१, २०५०) सँगको अन्तर्वार्तामा अर्कोतर्फबाट अझ स्पष्ट पारेको थिएँ, ‘लीलासत्य प्रतिदिन प्रतिक्षण यति छर्लङ्ग छ, कसैले आयामिक हुनैपर्दैन त्यो देख्न । मानिसका विचारमा, भावभावनामा, व्यवहारमा भूल, भ्रान्ति, पूर्वाग्रह, स्वार्थ नदेख्ने को छ ? लीलालेखनमा यै प्रश्न छ ः भूल, भ्रान्ति, पूर्वाग्रह, स्वार्थ किन छन् ? उत्तर पाउँछ ः आत्मपरकतापूर्वक बाँच्नुपर्ने बाध्यता । समाधान के छ ? लीलात्वको ज्ञानबाट सहिष्णुता र अनाशक्त कर्मशीलता ः खेलौं बाँच्ने खेल । लेखन समस्या ः उपदेश नतुल्याई लीलाचेतलाई लेखनगत, लेखनको मौलिक वृत्ति बनाई लेख्नु कसरी ? कुन लेखनविधि आफ्न्याइ ?
मानिसका विचारमा, भावमा, कार्यमा, सिद्धान्तमा भ्रान्ति मुस्लो नै छिरेको हुन्छ । यो साचेत्य नराखिँदा नै विचारहरूको द्वन्द्व छ, सैद्धान्तिक वैपक्ष्य छ, धार्मिक, आर्थिक, सामाजिक वैर छ । भ्रान्तिको अनावरण, स्वार्थको उद्घाटन साहित्यिकहरूको एउटा ठूलो कार्यभार एवं उत्तरदायित्व हो ।
भ्रान्ति विविध उपजको हुन्छ ।
‘कठपुतलीको मन’मा कति भ्रान्तिहरू (लीलाहरू) प्रकटीकृत छन् । ‘कठपुतलीको मन’मा प्रथमतः पुनर्लिखित छ, गुरूप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ । मौलिकताको धारणामाथि प्रश्नचिह्न राखिएको छ । ‘परालको आगो’ कथा मौलिक हो कि नेपाली गाउँघरका लोग्नेस्वास्नीहरूको झगडाको लेखनमा अनुकृति मात्र हो ? ‘कठपुतलीको मन’ चाहिँ ‘परालको आगो’को अनुकृत पुनर्लेखन मात्र कि मौलिक पनि ? आदि ‘वस्तु’ त गाउँघरे लोग्नेस्वास्नीको झगडा थियो । त्यस ‘वस्तु’ लाई मैनालीले त्यसरी हेरेका थिए । मलाई ‘परालको आगो’ कथा ‘वस्तु’ थियो, त्यस ‘वस्तु’लाई मैले ‘कठपुतलीको मन’ प्रकारले हेरें । दुवै हेराइ आत्मगत र भनौं भ्रान्ति मात्र । एक भ्रान्तिको अर्को भ्रान्ति रूपले वा विधिले उद्घाटना ।
‘परालको आगो’ कथाको सर्वान्तिम कथनीय छ ः ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ । वर्तमान नेपाली ग्रामीण सामाजिकताको यो एक अत्यन्त प्रिय धारणा छ । तर, धारणा मात्र र भ्रान्त हुन सक्ने । विकथाहरूमा यो प्रदर्शित छ यहाँ । मैनालीलिखित कथा नाटक रूपमा प्रस्तुत छ अनि एक निर्देशक विशेषद्वारा प्रस्तुत नाटक रूपमा । नाटकमा निर्देशकले विशेषतया दर्साउन खोेजेको ठाउँहरूमा बज्छ ढोलक, तर बजेको छ कस्तोकस्तो ठाउँमा । साम्भविक निर्देशक र यथार्थ दर्शक (पाठक) का बुझाइहरूको भिन्नता (लीला) उघ्रन्छ ।
अघि भिन्न पक्षहरूको पारस्परिक सामञ्जस्य र समुच्चयीकरणले तेस्रो आयाम र वस्तुता लेखिन्थ्यो भने अब पक्षहरूको पारस्परिक विरोध र निरस्तीकरणले वस्तुता र लीला लेखियो । वस्तुतामाथि लीलाहरू दृश्यमान ।
कथा–नाटकका चामे र गौंथली पात्र कठपुतली छन् । (क) सब हामी मानिसहरू सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, मनोवैज्ञानिक, सैद्धान्तिक इत्यादि पारम्परिक तथा वार्तमानिक शक्ति वा बलहरूले चालित कठपुतली हौं देखाउन र (ख) मानिस हामी कठपुतलीसमान निस्पृह तथा निष्काम हुनुपर्छ भन्न । कठपुतलीको अपलक निर्भाव नेत्र नाटकमा जेनको ‘बुद्धस्वभाव’ को समीपग, समानकनै मानेर । आँखा हुन्छ मनको प्रतिविम्बक । हाम्रो मन दर्पणझैं वा सूर्यझैं होस्, प्रतिविम्बित वा प्रकाशित सब थोकलाई छुने नै, तर बद्ध कुनैमा नबन्ने ।
मानिस अव्यक्तिक शक्तिहरूद्वारा कठपुतली मानिँदा लीलालेखन नियतिवादमा पुग्दैन ? प्रश्नलाई यहाँ उत्तर यति मात्र गरिन्छ ः नियतिवाद र स्वतन्त्र संकल्पको यो परिणाम (कार्य) जन्माउँछन् भन्ने कार्य–कारणवाद नियतिवाद हुन्छ । मेरो यस कार्यको परिणाम यसो हुन्छ भन्ने कारणतागत नियतिवाद नमानी तर म यसो गर्छु, त्यसो गर्दिनँ भन्ने स्वतन्त्र निर्णय वा संकल्पसमेत गर्न सकिँदैन । फेरि स्वतन्त्र निर्णय ग¥यौं भनेको पनि हामीमा कार्यक्रमीकृत निवेश वा भित्र्याइ कारणहरूको उत्पाद वा बाहि¥याइ मात्र होला । ‘हामी निमित्त मात्र छौं’, चेतनालाई नियतिवाद भनिए ‘हामी निमित्त मात्र बनौं’ लक्ष्याभिग्रहणलाई स्वतन्त्र संकल्प भन्न सक्छौं । हाम्रो यो लक्ष्य पनि तर हामीमा क्रियाशील कतिपय कारकहरूको उत्पाद वा परिणति मात्र हुन सक्छ, र नियतिवाद नै । स्वयं ईश्वरको विश्वसृष्टि यसरी स्वतन्त्र इच्छा नभई ऐश्वर विशिष्टताहरूको नियतोत्पाद देख्न सकिन्छ । स्वतन्त्र इच्छा र नियतताको सामञ्जस्य लीलालेखनमा प्रयतित छ, ‘क्रिडा’को धारणामा । खेल्छौं हामी आन्तरिक बाध्यता र इच्छा दुवैले ।
लीलालेखनले सामाजिक, आर्थिक, राजनीतिक, वैचारिक तथा भावगत तहमा अक्रिय वा निष्क्रिय रहन भन्दैन । ‘कठपुतलीको मन’मा तल कसैको गोठमा आगो लागेको देख्दा चामे जान्छ, जुठेलाई पनि लान्छ, गाईबस्तु बचाउन सघाउन । लीलालेखनले कसैमाथि आक्रामक नहुन भन्छ (आक्रामक आलोचना नगर्न पनि) । प्रतिरोध गर्न भन्छ तर उता पक्ष कति कारकहरूको उत्पाद मात्र भएको बाध्यता वा विवशताको बोधसँग । पुस्तकमा बताइएकै छ ः ‘जीवन र जगत्को कर्मभूमिमा लीलानुसारी संघर्षमा रत रहौं । लीलाक्षेत्रमा छौं, नभुलौं तर, र ‘खेलौं बाँच्ने खेल’ । अनाशक्त आशक्तिको निष्काम सकामताको क्षेत्र खुल्छ यसरी ।
‘सब मानवअनुभूत, मानवबुधित, मानवकल्पित सब मानवसापेक्ष ।’ घोषणा गरेको छ लीलालेखनले– ‘मानिसका अनुभूति, बोध, चेत सब यसरी लीला हुन्छन् ः मानिसमा उम्रेका, मानिसको जिउनुले उम्रेका ।’
अर्थात् हामी सबका कार्यावली, विचारवली र अनुभवहरूसमेत हामी सामाजिक–आर्थिक ‘निर्मित कर्ता’का छन्, अझ हामी मानविक निर्मित कर्ताका छन्, मानिस भएकाले नै । सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, राष्ट्रिक, जातिक, सांस्कृतिक, शैक्षिक आदि बलहरूद्वारा कर्ता हामी ‘निर्मित’ तीहरूमा कार्यशील मानविक वृत्तिपुञ्जले निर्मित हामी ‘कर्ता’ ।
आधार र सकार लीलालेखनलाई प्राप्त छ दर्शन, विज्ञान र अरू अनेक क्षेत्रबाट ः
माक्र्सवादको ‘आइडियलजी’को सिद्धान्तले भन्छ ः दृष्टिहरू अन्तिमतः आर्थिक सम्बन्धहरूको प्रतिविम्ब हुन्छ, वस्तुपरक हुँदैन, वर्गपरक वा वर्गीय हुन्छ र वर्गीय भ्रान्तहरू मात्र । श्रमिक वर्गको दृष्टि (माक्र्सवादी) चाहिँ वैज्ञानिक र वस्तुपरक हुन्छ, माक्र्सवादी आग्रह छ । यो आग्रहसमेत माक्र्सवाद नै, तर उन्नाइसौं शताब्दीकालको सामाजिक–आर्थिक, वैज्ञानिक, वैचारिक स्थितिको उपज हो, र अब प्रस्ट भ्रान्ति प्रमाणित, सापेक्षिक र युगीय भ्रान्ति प्रमाणित । श्रमिकवर्गको दृष्टि भनिएको त्यो वास्तवमा माक्र्सवादबाटको दृष्टि (धारणा) मात्र थियो, श्रमिकवर्गमा आरोपित । युगबोध भरै ता युगीय भ्रान्ति मात्र हुन्छ ।
भौतिक वैज्ञानिक परीक्षणको नक्कलको माक्र्सवादी एउटा सिद्धान्त भन्छ ः सिद्धान्त र व्यवहार अविच्छेद्य हुन्छन्, सिद्धान्तको परीक्षण व्यवहारमा हुन्छ । त्यसअनुसार सोवियत माक्र्सवादको पतनको व्यावहारिक परीक्षाले चाहिँ कुनकुन माक्र्सवादी सिद्धान्त भ्रमित सिद्ध भयो होला ? साम्यवादी सिद्धान्तलाई अचुक र उपरी मानेर त्यसमा जनसमूहलाई हिँडाउन बसाउन लाखौंलाई मारेको त्यो कस्तो वैज्ञानिकता ? अन्यलाई विभ्रान्त, स्वयंलाई निभ्र्रान्त देख्ने सैद्धान्तिक भ्रान्तिमा थियो माक्र्सवाद पनि । सापेक्षिक ज्ञानको परिधिमा पस्नैपर्छ सबले ।
आधुनिक विज्ञानको प्रमात्रा यान्त्रिकीले भन्छ ः सूक्ष्मतम तहमा पदार्थ पादर्थिक छैन, बोध मात्र छ, परमाणुहरूको बोध अन्तर्निहित तवरले नै सदा अनिश्चित छ ।
साहित्यिक सिद्धान्त रूपमा विनिर्माणवादले अन्य कति कुरासँगै यसो पनि भन्छ ः कवि तथा लेखकको अभिप्रेत अर्थभन्दा समुचित भाषिक अधितिले अर्कै लाग्छ, कृतिको यथार्थ अर्थ जुन फेरि अन्तिम हुँदैन । निष्कर्षहरू बन्द गरिँदैन, खुला नै राखिन्छ ।
मनोविज्ञानहरू, समाजविज्ञान, आध्यात्मिक ज्ञानहरूबाट उस्तै सकराइ छ ।
एउटै तथ्य वा घटनाका विभिन्न पक्षका, विभिन्न तहका ‘सत्य’हरू दृष्ट छन् । सम्पूरक चिनी यिनीहरूलाई सम्पूर्णतात्मक बोध लेख्नु सार्थक होला । सत्यहरू स्थूल तथा स्थूलतर तहमा निर्धार्य छन्, सूक्ष्म तथा सूक्ष्मतर तहमा अनिर्धार्य छन् । तर, सम्पूरकतामा छन् सम्पूर्णतामा ।
(नेपाली साहित्यका मुर्धन्य स्रष्टा इन्द्रबहादुर राई अब हामीबीच रहेनन् । ९० वर्षको उमेरमा फागुन २२ गते उनको दुःखद निधन भयो । दिवंगत राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पिंदै उनको एउटा बहुचर्चित लेख यसपटक प्रस्तुत गरेका छौं । यो लेख कृष्ण धरावासीद्वारा सम्पादित ‘लीला प्रस्तावना’बाट लिइएको हो ।)

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र

काठमाडौं । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तीव्र दौडधुप सुरु भएको छ । चार वर्षअघि केन्द्रको कार्यकारी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब खुल्दैन ‘साहित्य संसार’को दैलो !

‘बाबा ! म त धेरै बाँच्दिनँ, डाक्टरले १० वर्षको समय दिएको छ ।’ मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलाइसिसका रहेको साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले भन्ने गर्नुहुन्थ्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सत्यापनको नजिक

आफ्नो जीवन–गाथा रच्ने इच्छा कसलाई हुँदैन र ? जीवनका अँध्यारा–उज्याला तस्बिरहरुलाई फ्रेममा टाँग्ने उत्साहले डोरिँदै समाजका प्रबुद्ध अनुहारहरुले आत्मकथा लेखिरहेका छन् । तर,- ...
पूरा पढ्नुहोस्

छोटकरीमा