24th September 2017, Sunday

E-budhabar

लेखन र समृद्धि सपना



लेखन र समृद्धि सपना

सबैले देख्छन्, समृद्धिको सपना । तेस्रो विश्वका दरिद्रतम भूभागमा बाँच्ने मानिसले मात्र होइनन्, महाशक्ति अमेरिका, समृद्ध जापान, युरोपका सुविधासम्पन्न भूगोलमा बाँच्नेहरूमा पनि समृद्धिको लालसा हरेक पल पलाइरहेका हुन्छन् । नेपालीहरूले पनि समृद्धिको सपना देख्न थालेको धेरै भइसक्यो । तर, समृद्धिलाई सिँगार्न कुनकुन पक्ष आवश्यक पर्छन् ? यही प्रश्नमा नै नेपाली अल्झिरहेका छन् ।
यतिबेला देशका केही भूभागमा स्थानीय तहको चुनाव सकिएको छ । अब अर्को चरणको चुनावी माहोलमा देश पुनः रंगिने तर्खर गर्दै छ । निःसन्देह, करिब दुई दशकपछि स्थानीय तहका जनताले आफ्नै टोल, छिमेक र आसपासका व्यक्तिलाई जनप्रतिनिधिका रूपमा देख्न पाएका छन् । जुनसुकै दलका उम्मेदवारले जिते पनि आखिर जनताले दुई दशकको अन्तरालपछि जनप्रतिनिधि पाएका छन् । त्यसो त यसपटकको चुनावपछि जनताले पृथक् खालका जनप्रतिनिधि पाएका छन् । सबैले भनिरहेका छन्, आजका मितिसम्म सिंहदरबारबाट वितरण हुँदै आएका अधिकार, बजेट र निर्देशनको अब अन्त्य हुनेछन् र स्थानीय सरकारले नै सिंहदरबारमा थुनिएर बसेको अधिकार पाएका छन् अब । सिद्धान्ततः यो कुरामा प्रश्न उठाउन नमिल्ला । तर, व्यवहारले कस्तो परिणाम ल्याउँला भन्ने कुरा संघीयताको प्रारम्भिक अभ्यासमा जुटेका नेपाली जनताले समयान्तरमा भोग्दै र बुझ्दै जालान् ।
यसपटक निर्वाचनको माहोलमा होमिएका विभिन्न दलबाट उठेका एवं स्वतन्त्र प्रत्यासीहरूले समृद्धिको सपना बाँडे भरपुर । अझ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चारवटै महानगरपालिका परेका हुँदा महानगरमा उठेका हरेक दलका उम्मेदवारले महानगरवासीलाई आकर्षित तुल्याउने समृद्धिका सपनाहरू वितरण गर्न चुकेनन् । पक्कै पनि महानगरमा बस्नेहरूका सपनाको धरातल फराकिलै हुन्छन् । महानगरमा बस्नेहरूले आ–आफ्नै समस्या झेलिरहेका हुन्छन् । कतै खानेपानीको सुविधा नहोला, कतै ढल व्यवस्थापनले पिरोलिरहेको होला । यस्ता यावत् समस्याहरूको चंगुलमा महानगरका बासिन्दाहरू पिल्सिरहेका हुन सक्छन् ।
काठमाडौं, ललितपुर, भरतपुर र पोखराका प्रमुखदेखि साना दलका उम्मेदवारहरूले समेत आफ्ना महानगरलाई समृद्ध बनाउने सपनास्वरूप मतदातासमक्ष समृद्धिले भरिएका अनेकानेक सपनाहरू बाँडे । अब आफूले बाँडेका सपनालाई सजाउन ती जनप्रतिनिधिहरूले ठोस कदम उठाउने अपेक्षा राख्न सकिन्छ । तर, नेपालीहरूका मनोवृत्ति कस्तो छ भने जसले समृद्धिका सपना बाँड्छन्, उसलाई प्रारम्भिक चरणमा ‘हावादारी’ को संज्ञा दिन जोकोहीले अग्रसरता लिन्छन् । तर, कालान्तरमा त्यही हावादारी सपना नै यथार्थमा परिणत हुन्छन् र त्यसकै जगमा समृद्धिका इँटा र ढलानहरू निर्मित हुन्छन् । यो क्रम भर्खरै सकिएको चुनावका क्रममा नभएको होइन ।
नेता गणहरूले समृद्धिका सपना बाँडे पनि समृद्धिका सोपानहरूलाई भने अझै पनि साहित्य, कला वा सांस्कृतिक क्षेत्रमा कलम चलाउनेहरूले त्यति व्यवस्थित रूपले पस्किन सकेका छैनन् । अधिकांश सर्जकहरूका लेखनमा आफ्नै स्मृतिजन्य पक्षहरूले अधिक रूपमा स्थान ओगटिरहेका हुन्छन् । देश, समाज र जनताको जीवनस्तरलाई कसरी उठाउने, देशलाई समृद्धशाली गोरेटाहरूमा कसरी अगाडि बढाउने भन्ने प्रश्नमा अधिकांश सर्जकहरू चुकिरहेकै छन्, अझैसम्म । सायद उनीहरूका लेखन वा सिर्जनाको क्षेत्रका यी पक्षहरू गौण छन् । गौण पक्षलाई उजिल्याउने कष्ट नगरेका हुन् कि ?
तथापि, हामीकहाँ समृद्धिको परिकल्पना सर्जकहरूले नगरेका भने होइनन् । चालीसकै दशकमा कपिल लामिछानेले एउटा सशक्त समृद्धिको कथा लेखेका थिए । तत्कालीन समयमा त्यो कथा पढ्नेहरू मज्जैले हाँस्न सक्थे । किनकि नेपालको विकासलाई लिएर लेखिएको उक्त कथा काल्पनिकताका अंशहरूले भरिपूर्ण नै थिए । हवाई यात्राबाट नेपालको भ्रमण गर्ने एउटा पात्रलाई अर्को पात्रले नेपालका विभिन्न थलोहरूको परिचय गराउँदा विकास र समृद्धिले सम्पन्न युरोपलगायत विकसित देशहरूका सहर र ग्रामीण भेगसम्म तुलना गरिएका छन् । तर लामिछानेले साहित्यमा भिœयाएको समृद्धिगाथालाई भने अरू सर्जकहरूले पछ्याउन चाहेको देखिएन । सायद कल्पनामा रमाउने र देशलाई समृद्ध बनाउनेजस्ता विषयहरू हाम्रो लेखन, कला–सिर्जन र सांस्कृतिक तहहरूमा अझै भित्रिन बाँकी नै छ ।
आखिर सपना सबैले देख्छन् । सपना देख्ने अधिकार सबैलाई छ र पाउनु पनि पर्छ । तर, हरेक मानिसले देखेका सपना यथार्थमा बदलिन सके नै त्यस्तो सपनाले सार्थकता प्राप्त गर्नेछ । हेटौंडामा रहेर काव्य सिर्जनामा जमेका कवि साम्व ढकालले सपना र बिपनाबीचको अन्तरद्वन्द्वलाई केलाउने प्रयत्न गरेका छन् । तिनै हरफहरू ः
‘सपना सधैं एउटा भ्रम भइरहेको मेरो परिस्थिति
बिपना आफंै हराइरहेको मेरो यथार्थता
बिपना त बाँच्नुपर्ने हो युगयुगसम्म
सपना त देखिन्छ नै प्रायजसो
बिपना पो देखिएन, लागे हुन् यताउता
सपना सपनै हुन् भनियो
हुन पनि सपना सपनै हो
बिपना पनि सपनाजस्तो पो लागिरहेथ्यो
सपनाभन्दा बिपना मेरा लागि फरक कहिल्यै भएन ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा