‘ल्हाक्र्याल’को नाममा कुटाकुट र भाँडभैलो हेर्डक्वार्टरले उजुरी सुनुवाइ नगर्दा माओवादीमा निराशा
काठमाडौं । प्रदेशसभातर्फको समानुपातिक सदस्यमा नयाँनयाँ ल्हाक्र्याललाई प्राथमिकता दिएको भन्दै माओवादी हेर्डक्वार्टर पेरिसडाँडा, कोटेश्वरको कुटाकुट घटनाले माओवादीको तल्लो पंक्तिसमेत तरंगित बनेको छ ।
जिल्लादेखि नै सेटिङ मिलाएका दोलखाका आङदन्डी शेर्पादेखि नेताका श्रीमतीलाई छानीछानी समानुपातिकतर्फ सांसद बनाइएको भन्दै माओवादी केन्द्रमा पाँच दिनअघि कुटाकुटको घटना भएको थियो । खसआर्य समूहको पहिलो नम्बरमा रहेका सिन्धुपाल्चोकका माओवादीका पुराना नेता झंंकप्रसाद पराजुलीले शेर्पालाई लक्षित गरेर पार्टीमा कुनै योगदान नै नभएका नयाँनयाँ ल्हाक्र्याललाई स्थान दिएको भन्दै केन्द्रीय नेता हितमान शाक्य र झक्कुप्रसाद सुवेदीको कठालो समातेका थिए । त्यो घटना खोतलिँदै जाँदा माओवादी केन्द्रका देशैभरका नेता–कार्यकर्ताले भने सामाजिक सञ्जालदेखि चियाचौतारी पार्टीमा कति ल्हाक्र्याल छन् भन्दै नयाँनयाँ किस्सा जन्माउन थालेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई करोडौं बुझाएका कारण २०७० सालको संविधानसभा निर्वाचनमा नवप्रवेशी सिन्धुपाल्चोकका ल्हाक्र्याल लामा रातारात प्रतिनिधिसभामा सांसद निर्वाचित भएका थिए । त्यस प्रकरणमा प्रचण्डसहित कतिपय शीर्ष नेता विवादित बनेका थिए । अहिले भने दोलखाका शेर्पाबाट साँढे ३ करोड लिएर त्यसैगरी सांसद बनाइएको प्रसंगबाट माओवादी नेता–कार्यकर्ता तरंगित बनेका हुन् ।
दोलखा जिल्ला पार्टीको सचिवालय बैठकमा आफू चुनावमा खट्न नसक्ने तर केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका उनै शेर्पा यतिबेला ३ नम्बर प्रदेश सांसद बन्ने सांसद निश्चित भएको छ । जबकि, उनले माओवादी पार्टीको जिल्ला कोषमा १ रुपैयाँ जम्मा नगरेको दोलखाका नेता–कार्यकर्ता चर्चा गर्छन् । जिरीमा आयोजित चुनावी सभामा पार्टीलाई जिताउने÷नजिताउने, भोट हाल्ने कि नहाल्ने काम जनताको भएको र त्यहाँका जनताले भोट नहाले पनि आफूले सांसद बन्ने बाटो तय गरिसकेको विवादित भाषणबाट शेर्पा चर्चित बनेका थिए । उनै शेर्पाले अन्ततः सांसद पद सुनिश्चित गरेपछि दोलखाबाट माओवादीको उपल्लो तह स्थायी समितिमा प्रतिनिधित्व गर्ने नेता गंगा कार्की ‘विश्व’देखि जिल्ला इन्चार्ज शंकर लामासहितको ठूलो टिम एकैपटक आश्चर्यचकित र आक्रोशित बनेको छ । माओवादीबाट ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार मानिएका कार्कीले भने प्रदेशसभामा प्रत्यक्षतर्फ चुनाव लड्न उचाइले नदिने भन्दै अनिच्छा गर्दा प्रतिनिधिसभाको समानुपातिक लिस्टबाटै बाहिरिने निश्चित बनेको छ ।
त्यसो त शेर्पाले आफ्नै पैसामा पार्टीले चुनाव जितेको भन्दै टेलिफोन संवादको रेकर्ड दोलखाका माओवादीको असन्तुष्ट पक्षले नेतृत्वलाई बुझाउने तयारी गरिरहेको बुझिएको छ । यसअघि स्थायी समिति सदस्य कार्की, लामा र नरबहादुर पाख्रिनसहितको ठूलै समूहले दोलखामा पूर्वराज्यमन्त्री देवी खड्का र प्रदेशसभामा निर्वाचित सांसद विशाल खड्काले पार्टीको आर्थिक कोष हिनामिना गरेको र अहिले पनि समानुपातिक उम्मेदवारबाट डेढ करोडभन्दा बढी रकम उठाइसकेको उजुरी प्रचण्डलाई गरेका थिए । त्यस्तो उजुरीमा सुनुवाइ हुने विश्वास गरिए पनि प्रचण्डले विश्वासघात गरेर शेर्पालाई नै सांसद बनाइएपछि माओवादीको ठूलो पंक्तिमा निराशा छाएको बताइन्छ । स्मरणीय छ, प्रचण्डका अति विश्वासपात्र मानिने कार्की दोलखामा माओवादीका संस्थापक मानिन्छन् । त्यसो त साढे ३ करोडमध्ये आधा बढी रकम शेर्पाले समानुपातिकबाट सांसद बन्नकै लागि दोलखामा माओवादीका प्रत्यक्षतर्फ उम्मेदवारका लागि खर्चिएको स्रोतको भनाइ छ ।
उता, सिन्धुपाल्चोकका पूर्वसांसद ल्हाक्र्याल लामा पनि माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा जनजाति समूहबाट प्राथमिकतामा अगाडि रहेका छन् । सोही कारण यसपटक पनि सांसद बन्ने भन्दै लामाले धेरै निकटस्थहरूलाई भोज खुवाइसकेको चर्चा माओवादी वृत्तमा चलिरहेको छ । उनी ‘फ्री तिब्बत आन्दोलन’सँग जोडिएको भन्दै राज्यले समेत निगरानीको सूचीमा राखेका व्यक्ति हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply