24th June 2018, Sunday

E-budhabar

वाम धु्रवीकरणले उब्जाएको तरंग



दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एवं नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुन लागिरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने र चुनावपछि एकीकरण प्रक्रियामा जाने सहमति भएसँगै नेपाली राजनीतिमा नौलो तरंग छाउन पुगेको छ । वामपन्थी शक्तिबीचको नयाँ धु्रवीकरणले वर्षौंदेखि वाम एकताको पक्षमा कामना गर्दै आएकाहरूको सपना पूरा भएको छ । वामपन्थी शक्तिहरूबीचको एकतापछि मुलुकले नयाँ दिशामा फड्को मार्ने अपेक्षा पनि सर्वत्र गर्न थालिएको छ । वामपन्थीहरूको धु्रवीकरणले दसैंयता नेपाली राजनीति धेरै नै तरंगित भइरहेका बेला दक्षिणपन्थी शक्तिहरू भने तिल्मिलाउन पुगेका छन् । ती शक्तिहरूले वामपन्थीहरूको धु्रवीकरणलाई लिएर अचम्म मात्र मानेका छैनन्, नानाथरी प्रलापहरू ओकल्न अहिले समय व्यतीत गरिरहेका छन् ।
विचार मिल्ने शक्तिहरू एउटै बिन्दुमा उभिनु स्वाभाविकै हो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेल र एकीकरणको पक्ष त्यसकै परिणति हो । १० वर्षसम्म जनयुद्धको बाटो हिँडेको माओवादी र २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापश्चात् संसदीय राजनीतिलाई मुख्य आधार मानेर अघि बढिरहेको एमालेबीच पछिल्ला समय वैचारिक रूपमा ताŒिवक अन्तर मेटिँदै गएको यथार्थलाई आत्मसात् गर्नैपर्छ । संसदीय राजनीतिमा अवतरण गरेपछि माओवादीमा रहेको क्रान्तिकारिताको लैस बिस्तारै मेटिँदै मात्र गएको थिएन, जननेता मदन भण्डारीले प्रतिपादन गरेका जनताको बहुदलीय जनवादकै लाइनलाई माओवादीको पाइलाले पछ्याइरहेको थियो । सैद्धान्तिक र वैचारिक सबै हिसाबले माओवादी एमालेकै पद्चिह्नमा थियो । अहिले आसन्न निर्वाचनमा तालमेल गर्ने र त्यसपछि एकीकरण गर्ने तहसम्म यी दलहरूबीच जुन सहमति हुन पुगेको छ, त्यसले नेपालको राजनीतिलाई सकारात्मक दिशातिर डो¥याउनेमा शतप्रतिशत नै विश्वस्त हुन सकिन्छ ।
वामपन्थी शक्तिहरूबीच धु्रवीकरण भएपछि नेपाली कांग्रेसलगायत शक्तिहरू तिल्मिलाउन पुगेका छन् । वाम धु्रवीकरणलाई ‘काउन्टर’ दिन कांग्रेसले हठात्मा लोकतान्त्रिक धु्रवीकरण बनायो । वामपन्थी शक्तिहरूबीच चुनावी तालमेल हुँदा आफ्नो हैसियत गिर्ने आशंकास्वरूप कांग्रेसले केही मधेसी दल र पूर्वपञ्चहरूको बाहुल्य रहेका केही दललाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाउन पुग्यो । यो गठबन्धन निर्माणलाई वाम धु्रवीकरणबाट उब्जिएको हठात् परिणाम मात्र मान्न सकिन्छ । किनकि, वामपन्थीहरूबीच धु्रवीकरण नभएको भए कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन जन्मिने सम्भावना पनि थिएन । चुनावसम्मै सत्ता साझेदार माओवादी केन्द्रसँग सहकार्य गरेर जाने नीतिमै कांग्रेस उभिएको थियो ।
वाम धु्रवीकरणपछि कांग्रेस निकै नै आत्तिएको प्रमाण उक्त पार्टीका नेताहरूले पछिल्ला समय दिइरहेका अनर्गल प्रलापहरूले नै पुष्टि गर्दछ । वामपन्थीहरू धु्रवीकरणपछि चुनावी तालमेललगायतका कार्यमा चुपचाप जुटेका छन् । तर, कांग्रेसले भने वामपन्थीहरूको एकतालाई अस्वाभाविक मात्र ठानेको छैन, वाम धु्रवीकरणले देशमा एकतन्त्रीय तानाशाही निम्तिने हावादारी विश्लेषण गर्नसमेत अग्रसर देखिएका छन् । अहिले कांग्रेसका प्रायः सबै नेता वाम धु्रवीकरणलाई बदनाम गराउन र त्यसको प्रतिफल आफूले बटुल्न उद्यत देखिएका छन् ।
हरेकपटकको निर्वाचनमा कांग्रेसले सफलता बटुल्नुको पछाडि वामपन्थी शक्तिहरूबीचको फुट र बेमेलले नै मुख्य रूपमा काम गर्दै आएको यथार्थलाई कसैले पनि छोपछाप पार्न सक्दैनन् । २०४८ सालयताका हरेक संसदीय र स्थानीय तहको निर्वाचनलाई हेर्दा कांग्रेसले अग्रता लिनुमा वामपन्थीहरूबीचको बेमेल नै मुख्य कारकका रूपमा अगाडि आउँछ । एउटै निर्वाचन क्षेत्रमा तीनचार वटा वाम समूह चुनावमा उठ्ने र थोरै मतान्तरले कांग्रेसका उम्मेदवारले जित्ने स्थिति २०४८ सालयताका हरेक चुनावमा हुँदै आयो । वामपन्थीहरूको मत जोड्दा करिब दुई तिहाइको हाराहारी पुग्ने तर सरकार बनाउने बहुमत भने कांग्रेसलाई जुर्ने स्थिति उत्पन्न हुनुमा वामपन्थीहरूको फुट नै प्रमुख कारण रहँदै आयो । कांग्रेसले वामपन्थीहरूको फुट र बेमेलको फाइदा उठाएर हरेकपटकको निर्वाचनमा आफूलाई हिरो साबित तुल्याउँदै आयो ।
अब भने वामपन्थीहरूले यो यथार्थ बुझेका छन् । सधैंभरि फुटमा रमाएर कांग्रेसलाई अवसर दिइरहने कि एकता र तालमेल गरेर अगाडि बढ्ने ? यही कटु यथार्थले चिमोटेर नै हुनुपर्छ, अहिले वाम धु्रवीकरणले मूर्त रूप लिन पुगेको हो । त्यसो त वामपन्थीहरूबीचको एकता र तालमेलले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सके दुई तिहाइ, नभए स्पष्ट बहुमत ल्याउने निश्चितजस्तै छ । त्यसरी बनेको वामपन्थीहरूको सरकारले आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने कुरा पनि अहिले आएको छ । तसर्थ, यसबाट देशमा राजनीतिक स्थायित्व कायम हुने र देशलाई आर्थिक समृद्धिको सोपान उक्लिन मद्दत पु¥याउने अपेक्षा अहिलेदेखि नै गर्दा सायदै हतार होला ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा