सम्मेलनको मुखमा झनै अस्तव्यस्त
काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन अब तीन दिन मात्र बाँकी छ । तर, सम्मेलनस्थल लुम्बिनीमा भने व्यवस्थापन पक्ष फितलो देखिन पुगेको छ । बढ्दो अव्यवस्थाकै कारण भव्य रूपमा मनाउने भनिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन खल्लो हुने संकेत देखिएको छ ।
आगामी वैशाख १५ र १७ गते लुम्बिनीमा बौद्ध सम्मेलन हुने तय भए पनि अहिलेसम्म सरसफाइमा उचित ध्यान दिइएको छैन । लुम्बिनी क्षेत्रभित्र फोहोरमैला प्रशस्तै रहेका छन् र त्यसलाई हटाउनेतिर लुम्बिनी विकास कोषले खासै तत्परता देखाइरहेको छैन । लुम्बिनीसम्म पुग्ने सडकहरू पनि भत्किएर खाल्टाखुल्टीमा परिणत भएका छन् । भत्किएका सडकहरू मर्मत गर्नेतिर पनि कुनै ध्यान दिइएको छैन । पाहुनाहरूका स्वागतको निम्ति तयार पारिएका गेटहरू पनि राम्रोसँग निर्माण नगरिएको बताइन्छ ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको पूर्वसन्ध्यामा लुम्बिनीमा सुरक्षाको विषयलाई लिएर चिन्ता प्रकट गर्न थालिएको छ । केही समयअघि मायादेवी मन्दिरकै परिसरमा ताइवानका भिक्षुहरूले अवैधानिक वस्तुहरू खाल्टा खनेर पुरेपछि लुम्बिनीको सुरक्षामाथि प्रश्नचिह्न उठ्न पुगेको हो । ताइवानी भिक्षुहरूले गाडेका मानव अंग र त्यसलाई गाड्न स्वीकृति दिने सुरक्षाकर्मीहरूलाई कारबाही नगरेपछि सुरक्षाको प्रश्न झनै प्रवल रूपमा उठ्न पुगेको हो ।
लुम्बिनीमा सुरक्षा चुनौती बढ्दै गएपछि सोमबार मात्रै ५ नम्बर प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लीला गिरी, सोही प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वैजनाथ चौधरी र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल सम्मिलित एउटा बैठक बसेको थियो । सो बैठकमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सन्तोषजनक नभएको कुरा उठेको थियो । साथै, लुम्बिनीको सुरक्षा स्थिति खस्किँदै गएकोमा पनि उनीहरूले चिन्ता प्रकट गरेका थिए ।
यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन र २५६२औं बुद्ध जयन्तीमा सामेल हुन १५ देशका मन्त्रीहरू लुम्बिनीमा आउने भएका छन् । १५ मुलुकका संस्कृति र धार्मिक मन्त्री सो सम्मेलनमा सहभागी हुने जनाइएको छ । सो सम्मेलनमा भारत, चीन, जापान, म्यान्मार, लाओस, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, भुटान, मंगोलिया, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तानका मन्त्रीहरू आउने भएका हुन् ।
यसरी नै बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी घुम्न आउने बाह्य र आन्तरिक पर्यटकहरू यो वर्ष बढ्न पुगेको छ । यो वर्षको मार्चसम्ममा २९ हजार पर्यटकहरूले लुम्बिनी घुमेका छन् । गएको वर्ष भने यो अवधिमा २८ हजारले मात्र लुम्बिनीको भ्रमण गरेका थिए । लुम्बिनी घुम्न आउने बाह्य पर्यटकहरूमा श्रीलंकाका पर्यटकहरू बढी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply