सविनको आत्महत्याले उब्जाएका प्रश्नहरू
तीन दशकदेखि रंग पत्रकारितामा आबद्ध सविन शाक्यले केही दिनअघि आत्महत्या गरे । उनको आत्महत्या प्रकरणले नेपाली चलचित्र जगत्लाई ‘बिट’ बनाएर पत्रकारिता गर्दै आएका रंग पत्रकारहरूको एउटा दुर्दान्त तस्बिर सामुन्ने आउँछ । मानिसले आत्महत्या गर्नुका पछाडि विभिन्न कारण जोडिएका हुन्छन् । सामाजिक, पारिवारिक, आर्थिक वा पेसागत धेरै कारणले मानिसलाई आत्महत्याको तहसम्मै धकेल्छ । तर रंग पत्रकारिता कर्ममा जीवनका ऊर्जावान् वर्षहरू बिताएका र पछिल्ला दिनहरूमा चलचित्र निर्माणमा समेत दखल राख्न थालेका सविनको आत्महत्या प्रकरणले धेरै प्रश्नचिह्न जन्माएका छन् ।
चलचित्र, संगीत, नाटक, कला, साहित्यजस्ता ‘मनोरञ्जनयुक्त’ विषय÷विधालाई समेट्नकै निम्ति हरेकजसो सञ्चारमाध्यमहरूले यथोचित स्थान दिएका दिँदै आएका छन् । नेपाली मिडिया जगत्ले मात्र होइन, संसारभरिकै मिडियाले ‘मनोरञ्जन’लाई छुटाउँदैनन् । हुन पनि सञ्चारमाध्यमहरूमा ‘मनोरञ्जन’ले स्थान नपाउनु भनेको जिब्रोले एउटा महŒवपूर्ण स्वाद लिन चुक्नुजस्तै हो । सम्भवतः सञ्चारका हरेक माध्यमले नायिका वा मोडेलहरूका अर्धनग्न तस्बिर छापेर वा प्रसारण गरेर हुन्छ वा केही गम्भीर र पठनीय सामग्रीहरू पस्केर हुन्छ, ‘मनोरञ्जन’ विधालाई कायमै राखेका छन् । लाग्छ, यो एउटा बिक्ने चिज पनि हो ।
‘मनोरञ्जन’ लाई सञ्चारमाध्यमहरूले स्थान दिने क्रममा माथिल्लो स्थान ओगट्नेमा चलचित्र विधा नै रहँदै आएको छ । कुन नायक वा नायिकाबीच अफेयर चलिरहेको छ, कुन नायिकाको कोसँग घनिष्ठ सम्बन्ध कायम छ ? भन्नेजस्ता नितान्त व्यक्तिगत कुरादेखि चलचित्रका गम्भीर समीक्षा, विश्लेषणलाई समेत सञ्चारमाध्यमहरूले प्राथमिकताको पहिलो सूचीमा राख्ने गरेका हुँदा चलचित्र विधाले उल्लेख्य स्थान पाउँदै आएको छ । अझ नेपालमा चलचित्र निर्माणको बाढी आउन थालेपछि र मिडियाहरूको भूमिका पनि प्रभावकारी बन्दै जान थालेपछि चलचित्र पत्रकारिताले बेग्लै मान्यता र स्थानसमेत ग्रहण गर्न पुगेको यथार्थलाई स्विकार्नैपर्छ ।
तर अरू पत्रकारिताजस्तै चलचित्र पत्रकारिताले भने अझैसम्म सम्मानजनक मान्यता भने पाउन सकेको छैन । नेपालमा चलचित्र पत्रकारिताले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछिका दिनहरूमा नै बामे सर्न थालेको हो । त्यसअघि भने चलचित्रहरू पनि सीमित संख्यामा निर्माण हुन्थे र मिडियाको उपस्थिति पनि सघन नभएका कारण चलचित्र पत्रकारिताले फस्टाउने कुरा कल्पना पनि गर्न सकिँदैनथ्यो । तर मिडियाको व्यापकतासँगै अरू बिटका पत्रकारिता फस्टाउन थालेसँगै रंग पत्रकारिता अर्थात् चलचित्र पत्रकारिता पनि फस्टाउन पुग्यो । दिवंगत शाक्य पनि नेपालमा रंग पत्रकारिताको जग खनिँदै गरेका बेलादेखि यो पेसामा आबद्ध भएका हुन् ।
तर मनोरञ्जनलाई बिट बनाएर रंग पत्रकारिता गरिरहेका अधिकांश कलमजीवीहरू अझै पनि ‘प्रचारक’भन्दा माथि उठ्न सकेका छैनन् । यसलाई एउटा विडम्बनाका रूपमा लिनु सान्दर्भिक होला । कतिपय रंग पत्रकारहरू ‘प्रचारक’को घेरा तोडेर माथि उठ्न त खोज्छन्, तर पनि उनीहरू ‘प्रचारक’को अंकुशबाट उम्किन असमर्थ रहन्छन् । त्यसमा विविध कारण जोडिएका छन् । तर एउटा कुरा भने भन्नैपर्ने हुन्छ, कुनै पनि चलचित्रमाथि गम्भीर, सटीक एवं यथार्थपरक विश्लेषण गर्दा निर्माता वा निर्देशकले अनुहार खुम्च्याउने हुन् कि उनीहरूले ‘कालोसूची’मा राख्ने हुन् कि भन्ने त्रासमा रहेर पत्रकारिता गरुन्जेल रंग पत्रकारिताले समृद्धि प्राप्त गर्न सक्दैन ।
रंग पत्रकारहरूले चलचित्रकर्मीसँगको सम्बन्ध, उठबस आदिलाई मध्यनजर गर्दै त्यहीअनुरूप कलम चलाउनुपर्ने बाध्यता त छँदै छ । तर चलचित्रकर्मीहरूले पनि रंग पत्रकारहरूलाई विशुद्ध प्रचारकका रूपमा मात्र हेर्ने गलत प्रवृत्ति नेपाली सिने क्षेत्रमा अद्यापि कायम छ । रंग पत्रकारहरूले आफूले निर्माण गरेको चलचित्रप्रति ‘तीखो छुरी’ नचलाइदिऊन् भन्ने कामना सदैव गरेका हुन्छन् उनीहरूले । हुन पनि पछिल्लो समय त मिडिया यति प्रभावकारी रूपमा आएको छ, कुनै पनि चलचित्रको गुणस्तरीयता जाँच्ने काम सुधी दर्शकहरूले मिडियामा आएको समीक्षा, टिप्पणी हेरेर नै गर्ने गर्दछन् । र, काठमाडौंलगायत अरू सहरबजारमा यस्ता दर्शकहरूसमेत जन्मिएका छन्, उनीहरूले चलचित्र भवनसम्म पाइला चाल्ने आधार भनेकै सञ्चार माध्यमहरूमा आएका समीक्षात्मक टिप्पणीलाई लिने गर्दछन् ।
तर चलचित्रकर्मीहरू अझै पनि सुध्रिन सकेका छैनन् । कसैले आलोचना वा कठोर टिप्पणी गर्दा चलचित्रलाई असर पर्ने हो कि भन्ने त्रासबीच उनीहरू उभिएका हुन्छन् र रंग पत्रकारहरूले ‘नराम्रो’ नलेखिदेओस् भनेर रंग पत्रकारहरूसँगको उठबसलाई बाक्लो बनाउँछन् । अझ त्यस्ता चलचित्रकर्मीहरूले त आफ्ना चलचित्रको मिडियाको जिम्मेवारीसमेत रंग पत्रकारहरूकै थाप्लोमा हालिदिन्छन्, तथापि चलचित्रले राम्रो र नरम प्रचारप्रसार पाओस् । एक हिसाबले रंग पत्रकारलाई पत्रकार बन्न नदिएर फिल्मको पब्लिसिटीको ‘ठेक्का’ दिने प्रवृत्ति चलचित्र जगत्मा झ्याँगिएको छ र त्यसको सिकार जानीनजानी कतिपय रंग पत्रकार हुन पुगेका छन् ।
यद्यपि नेपाली चलचित्र क्षेत्र र रंग पत्रकारितामा देखिएका यस्ता तमाम विसंगति, प्रवृत्तिहरूलाई झेल्दै आएका सविनको आत्महत्या प्रकरण यो क्षेत्रमा लाग्ने सबैलाई झस्काउने खालको छ, निश्चय नै । चलचित्र पत्रकारितालाई मर्यादित, सम्मानित बनाउन र चलचित्रकर्मीहरूको प्रचारकको हैसियतबाट माथि उठ्न रंग पत्रकारहरूको पनि उत्तिकै दायित्व बढेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply