25th September 2017, Monday

E-budhabar

सिर्जना चोरी लाजको पराकाष्ठा



सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’ को एउटा गीतलाई लिएर ‘सिर्जना–चोरी’ को प्रसंगले व्यापकता पाएसँगै संगीत क्षेत्रमा सिर्जनाको चोरी हुनुलाई सामान्य अर्थमा लिइन थालिएको महसुस हुन्छ । किनकि, वादी र प्रतिवादी दुवै आ–आफ्ना हठमा छन् । र, न चोरीको आरोप लगाउनेले चोर प्रमाणित गर्न सकेका छन्, न चोरेको आरोप लागेकाले नै आफूलाई निर्दोष सावित गर्न सकेका छन् । चलचित्र ‘छक्कापन्जा–२’ को चर्चित गीत ‘ए दाजु नसमाऊ नारीमा…’ चोरिएको विवाद उब्जिएसँगै नेपाली गीत–संगीत जगत्मा सिर्जना चोरीको नयाँ रहस्य सतहमा आएको हो ।
संगीतले विश्व–भाषाको मान्यता पाएको छ । भाषागत सीमा र साँधहरूले संगीतको फराकिलो क्षितिजलाई रोक्न सक्दैन । तर, संगीत एक मौलिक सिर्जना हो । संगीतका अनेक आयाम रहे पनि यसको मौलिकता भने विशिष्ट र सर्वोपरी रहँदै आएको छ, आजपर्यन्त । त्यही मौलिकतामा अन्तरनिहित हुन्छ– सिर्जना र चोरीको प्रसंग । तर, प्रभाव र सिर्जना भने फरक–फरक पाटा हुन् । विश्वका कुनै पनि भूगोलका सर्जकबाट सिर्जित संगीतद्वारा प्रभावित भएर अर्का भूगोलका सर्जकले आफ्ना सिर्जना पस्किन सक्छन् । यो स्वाभाविक पक्ष हो । प्रभाव ग्रहण गर्न जोसुकैले पनि पाउँछन् । तर, प्रभाव र चोरी भने नितान्त फरक कुरा हुन् ।
‘छक्कापञ्जा–२’ को चर्चित गीतमा भने प्रभावको उपज देखिँदैन । त्यसमा सिधै चोरी अर्थात् फोटोकपीको प्रभाव टड्कारो रूपमा देखिन्छ । जसले चोरीको आरोप लगाएका छन्, उनले त्यो गीतको सर्जकको हुलिया र भाकासमेत दिएका छन् । तर, ‘छक्कापन्जा’ को पहिलो भागमा अपार सफलता पाएका र नेपाली कला जगत्मा सम्मानित स्थान लिएका दीपकराज गिरी र दीपाश्री निरौलाले भने ‘ए दाजु नसमाऊ नारीमा’को चोरी–प्रसंगले व्यापकता पाए पनि उनीहरू त्यसलाई सुधार्ने पक्षमा देखिएका छैनन् । न त उनीहरूले उक्त गीतको प्रभावका कुरा उठाएका छन्, न चोरिएको विषयलाई लिएर चित्तबुझ्दो खण्डन गर्ने ल्याकत नै राखेका छन् । बरु, मौनता साँधेर आफ्ना गल्तीलाई निरन्तरता दिने घृष्टता दीपक–दीपा जोडीले गर्दै आएका छन् ।
नेपाली चलचित्र संगीत चोरीको आरोपबाट कहिल्यै अछुतो रहेन । ‘छक्कापन्जा–२’ को एउटा गीतको सन्दर्भमा जसरी चोरीको आरोप बर्सिरहेको छ, यो नेपाली चलचित्र संगीतले भोगिरहेको निरन्तरको समस्या र आरोपको शृंखलाको पछिल्लो कडी हो । यसअघि निर्मित अधिकांश चलचित्रको कथावस्तुलाई लिएर प्रश्नचिह्न उठेका हुन् । फलानो चलचित्र, फलानो विदेशी फिल्मको कथावस्तुबाट प्रभावित छ भन्ने आरोप त सामान्य नै हुन्थ्यो । अझ, फलाना नेपाली चलचित्र र फलाना विदेशी चलचित्रको कथावस्तु, सम्वाद हुबहु सारिएका छन् भन्ने आरोपले निकै चर्चा पाउँथ्यो । नेपाली चलचित्रलाई ‘फोटोकपी चलचित्र’को रूपमा हेरिने नजरहरू अझै बदलिएका छैनन् । किनकि, केही दशकअघि निर्माण भएका चलचित्रले त्यही पद्चिह्न पछ्याएको हुँदा त्यस्ता आरोपको ताँती लाग्नु स्वाभाविकै मानिन्थ्यो ।
कुनै बेला शम्भुजित बाँस्कोटा, टीका भण्डारीजस्ता संगीत–सर्जकहरूले चलचित्र संगीतमा अद्वितीय उपस्थिति राखेका थिए । पचासको दशकको चलचित्र संगीतलाई सिँगार्नेहरूमा बाँस्कोटा र भण्डारीसँग शक्ति बल्लभजस्ता संगीत सर्जक पनि नभएका होइनन् । तर, बाँस्कोटा र भण्डारीले पनि चोरीको आरोप झेले । शम्भुजितको चर्चित चलचित्र गीत ‘अच्छा लेकिन लन्डनको हावाले समाउला’ र ‘चट्ट रुमाल क्या मालुम’ चोरीको दर्जामै उभिएको गीत मानिन्छ अझै । तीसको दशकमा सुगम संगीतका नायक मानिने शम्भुजितमा चलचित्र–संगीतको मोह पलाएपछि चोरी सर्जकको उपाधि भिराइयो । शम्भुजितलाई नेपाली चलचित्र संगीतमा टक्कर दिने महŒवाकांक्षाबीच उभिएका भण्डारीले पनि अरूका संगीतबाट प्रभावित भएर चलचित्र–संगीतमा जमेको आरोप झेल्दै आएका छन् ।
चलचित्र संगीतमा चोरीको प्रसंगले स्थान पाउनुमा चलचित्रलाई धेरैभन्दा धेरै व्यावसायीकरण गर्ने र अकूत मुनाफा कमाउने लगानीकर्ताहरूको मनोवृत्तिले सोह्रै आनामा काम गरेको हुन्छ । आफूले लगानी गरेका चलचित्रलाई बढीभन्दा बढी चलाएर नाफा कमाउने सोच हरेक निर्माताहरूमा रहेको हुन्छ । यो निर्माताहरूको व्यावसायिक धर्म पनि होला । तर, चलचित्र चलाउने नाममा अरूका सिर्जना चोर्ने, तोडमरोड गर्ने र आफू चम्किने दाउपेचले भने फाइदाको व्यापार नगर्न पनि सक्छ । किनकि, चोरीको आरोप झेलिसकेपछि त्यस्ता चलचित्रका गीतलाई सकारात्मक दृष्टिले नियाल्ने दर्शकहरू कमै निस्केलान् । अहिले ‘छक्कापन्जा–२’को एउटा गीतको प्रसंगलाई लिएर चोरीको कुरा जुन रूपमा उठिरहेको छ, यो सिंगो चलचित्र संगीतप्रतिकै अविश्वसनीयताको प्रश्न हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा