27th April 2018, Friday

E-budhabar

सुशीलदाजुको जन्म मिति नै गलत



सुशीलदाजुको जन्म मिति नै गलत

धेरै पत्रपत्रिकामा सुशील दाजुको उमेर गलत लेखिएको देख्दै छु । विकिपेडियामा पनि गलत लेखिएको देख्दै छु । म तराई मोरङ जिल्ला विराटनगरको कोइराला निवासमा जन्मेको हुँ । १९९५ साल (सन् १९३८) मा मेरो जन्म भएको हो । जन्मेको सात वर्षपछि २००२ सालमा हाम्रो परिवार अंशबन्डा गरी भिन्न भएको हो । मभन्दा सुशील दाजुको सबैभन्दा जेठी दिदी दुती दिदी र सबैभन्दा ठूला दाजु प्रमोद कोइरालाको जन्म पनि कोइराला निवासमै भएको सुन्दथें । त्यसपछि बाबा–काकाहरूले साइँला दाइ भन्ने गरेको बोधप्रसाद कोइराला र सानिमा भन्ने गरेको कुमुदिनी सानिमा कोइराला निवास छाडेर अलग वनजाँच अड्डाको जागिरे भएर आज विराटनगर मालपोत कार्यालय र जिल्ला अदालतको दक्षिण पर्ने वनजाँचका हाकिम बस्ने सरकारी घरमा बस्न जानुभएको सुन्दथें ।
केटाकेटी उमेरमा दुई तीन महिनाको फरक पनि नातेदारहरूमाझ फरक महत्त्वको हुन्छ । मलाई मेरी आमाले दुती दिदी, प्रमोद दाजु, विनोद दाजु, आमा दिदी र सुशील दाजु भन्न सिकाउनुभयो । जसकारण मैले अरूले सुशील दा भने पनि सधैं सुशील दाजु भन्दै आएँ । धेरै पछि फेरि बनारसमा कोइराला निवासका केटाकेटी निरञ्जन, प्रकाश, सुरेश, ज्योति, शशांक र चेतनाले सुशील दाभन्दा पनि मैले सुशील दाजु भन्ने केटाकेटीदेखिको बानी छोड्न सकिनँ ।
श्रीहर्ष छुट्टीमा पटनाबाट बनारस आउँथ्यो । अहिले काठमाडौंका कैयौं अखबारहरूमा सुशील कोइरालाको उमेर मभन्दा पनि कम मितिको देखेर दंग परें । केटाकेटीमा मैले कोइराला निवासमा मेरी आमा र अरूहरूबाट सुनेको हिसाबले सुशील दाजु माघ (१९९४ साल) र म वैशाख (१९९५ साल) का हौं । म नेवार भएको भए २०७२ वैशाख ७७ वर्ष ७ महिना ७ दिन पुगेको उपलक्ष्यमा बुढो जङ्क मनाइसकिने थियो होला । तर, म परें चाडबाड मनाउन कन्जुस बाहुन जात, जो ८४ नपुगी चौरासी मनाउँदैन ।
मेरो पनि वास्तविक उमेर र आधिकारिक उमेर फरक छ । मेरो सरकारी कागजहरू, सर्टिफिकेट र पासपोर्टमा उमेर १५ अगस्त १९३८ छ भने मेरो वास्तविक उमेरअनुसार म आगामी २०७३ वैशाख ९ गते ७८ वर्ष लाग्नेछु । चौरासी मनाउन ६ वर्ष कुर्न मेरो शरीर र मोटाबोलिजमले साथ दिन्छ कि दिन्न, म भन्न सक्दिनँ । हामी हाम्रा मातापिताका सात सन्तानमध्ये दाजु, बहिनीहरू र भाइहरू गरी पाँच जनाको मृत्यु र आत्ममहत्याले अन्त भइसकेको छ ।
सुशील दाजुको परिवारमध्ये उहाँभन्दा जेठो आमा दिदी र अरु भाइबहिनी मात्र छन् । अखबारहरूका लेखहरूमध्ये धर्मेन्द्र झाले लेखे, ‘सुशील कोइरालाको जन्म माघ १९९६ मलाई लाग्दछ ।’ उमेर ७८ वर्ष अनि जन्म १९९६ साल र २०७२ माघ कसरी पुग्छ भन्ने साधारण जोड घटाउसमेत कैयौंले नगरेको देखिन्छ ।
सुशील दाजुलाई म काठमाडौंबाट विराटनगर फर्केदेखि नै चिन्दुछ, सम्झिन्छु । मेरो आमाबाट सुनेअनुसार म कोइराला निवास विराटनगरमा १९९५ वैशाख ९ गते (अप्रिल १९३८) जन्मेको सात महिनाको उमेरमा मेरो आमाको काखमा बयलगाडा, रेल, लहरी, ताम्दानहरू चढ्दै मेरो सानो बुबा (बीपी कोइराला) को साथ मेरा पिता मातृकाप्रसाद कोइराला राणाहरूको नायब सुब्बा (नासु) काठमाडौंमा हुँदा पुगेको रहेछु । त्यसपछि स्मरणशक्ति विकसित हुनुअघि कहिलेकहिले फेरि विराटनगर आएँ, याद छैन । तर २००१ सालमा मेरो बाजे कृष्णप्रसाद कोइराला भारतका समाजवादी नेता जयप्रकाशलाई कोइराला निवास विराटनगरमा लुकाएर राखेको आरोपमा बडाहाकिमद्वारा पक्राउ गरेर काठमाडौं पठाएपछि मेरा नायब सुब्बा माृतकाप्रसाद कोइरालाको जागिर खोसियो । अहिले म सोच्दछु, त्यो जागिर खोसिनु मेरो पिता माृतकाप्रसाद कोइरालाको जीवनका लागि ठूलो भाग्य हुन पुग्यो । जागिर खोसिएको नासु ६ वर्षपछि देशकै प्रधानमन्त्री हुनपुगेको घटना भयो । यो कथा पछि लेखौंला । अहिले प्रसंग सुशील कोइरालाको हो ।
बाबाको जागिर खोसिएपछि म २००१ सालमा ५/६ वर्षको उमेरमा विराटनगर पुग्दा र सुशील दाजुहरूसँग भेट हुँदा स्मरणशक्ति विकसित भइसकेको थियो । दुती दिदी, प्रमोद दाजु, विनोद दाजु, आमा दिदी र सुशील दाजुहरू र बहिनी सुधा र भाइ अरुण खेल्न कोइराला निवासका आँगन र बारीहरूमा आइरहन्थे ।
केही समयपछि वनजाँचका सुब्बा रहनुभएका साइँला दाइको कैलाली कञ्चनपुर सरुवा भयो । गिरिजा दाजु (गिरिजाप्रसाद कोइराला) र विकु दाजु (बीपीकी सबैभन्दा ठूली सानिमाका छोरा गेहेन्द्रहरि शर्मा) उहाँको सम्पूर्ण परिवारलाई पुर्‍याउन साथै जानुभयो । मेरो आफ्नै हजुरआमा मोहनकुमारीको भाइकी विधवा माइजू र उहाँको दुई सन्तान अनिल र सुष्मा पनि सँगै लगिएका थिए । फर्केपछि गिरिजा दाजुले सुनाएका कुराअनुसार ठाउँठाउँमा खोलानालाहरूमा पुल थिएन । बयलगाडा र नाउँहरूको सहारा उहाँहरू कैलाली कञ्चनपुर पुग्नुभएको थियो । त्यसबखत कैलाली, कञ्चनपुर जंगलैजंगलमाझ थारू बस्तीहरूको जिल्ला थियो । अब धेरै–धेरै फरक परिसकेको छ । सुशील दाजुसँग फेरि दोस्रो निकट सम्बन्ध काशीको केदारघाटमा उहाँ सुशीला भाउजू र कोइराला निवासका केटाकेटीका साथ बस्दा भयो ।
(अरू आगामी अंकमा)

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा