20th February 2018, Tuesday

E-budhabar

सोल्टीको भोजमा स्वराजलाई ‘बिरामी–खाना’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा ‘भावी प्रधानमन्त्री’ केपी शर्मा ओलीसँग भेटवार्ता गरेर मूलतः अविश्वास चिर्ने उद्देश्यका साथ भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणप्रति एमाले नेतृत्व धेरै संवेदनशील रह्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमा जनाएको प्रतिबद्धता तीन साता पूरा हुन नपाउँदै उनकै सन्देश लिएर नयाँ सिराबाट सम्बन्ध स्थापित गर्न तत्काल स्वराज काठमाडौं उत्रिएकी थिइन् । जुन कुरा सोल्टी होटलमा ओलीसँगको पहिलो भेटवार्ता र पौने घण्टासम्मको ‘वान अन वान’को कुराकानीबाट पनि पुष्टि भइसकेको छ ।
केही समय पहिले मृगौला प्रत्यारोपण गरेर चिकित्सकहरूसँग ‘फलोअप’मा रहेकी स्वराज एक रातका लागि मात्र नेपाल आएकी कारण एमाले अध्यक्ष ओली उनको स्वास्थ्य अवस्थाप्रति बढी नै सचेत र संवेदनशील नहुने कुरै भएन । किनभने, ओली स्वयं स्वराजजस्तै चिकित्सकसँगको नियमित परामर्शमा छन् । त्यसो त स्वराज र ओली उमेरले दौंतरी पनि हुन् । आफूभन्दा जम्मा चार÷पाँच दिनले मात्र जेठी रहेकी स्वराजसँग ओलीले औपचारिक कुराकानी गर्नुअघि भेटको सुरुवातमै स्वास्थ्यकेन्द्रित अनौपचारिक कुराकानीसमेत भएको विश्वस्त स्रोतले जनाएको छ । भेटको सुरुमै ओलीले स्वराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आफ्नो अनुभव सुनाएर स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाएका समेत थिए ।
त्यसो त मोदीले तीन साताअघिकै ओलीसँगको टेलिफोन वार्तामै उनलाई विशेष दूतका रूपमा पठाउने वचन दिए पनि एमालेले तत्काल प्रचारमा ल्याएको थिएन । सो कुरा स्वराज नेपाल भ्रमणमा आउन लागेको ठीक एक साताअघि मात्र सार्वजनिक भएको थियो भने भारतीय विदेश मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमार्फत केही दिनअघि मात्र पुष्टि गरेको थियो । छोटो समयमै फर्किने कार्यक्रम रहे पनि भारतीय विदेशमन्त्री स्वराज सोल्टी होटलमा बस्ने, ओलीलाई निवास या अन्त कतै भेट्ने भारतीय पक्षले प्रस्ताव गरेको थियो । तर, एक हिसाबले ‘बिरामी’ अवस्थामै भेट्न पाहुनाका रूपमा आएकी स्वराजलाई मानवीय हिसाबले पनि सोल्टी होटलमै भेटवार्ता गर्ने निष्कर्षमा एमाले नेतृत्व पुगेको थियो ।
स्रोतका अनुसार सोल्टी होटलमा भारतीय दूतावासले डिनरको आयोजना गर्ने र त्यहीँ एमाले अध्यक्षसहितका नेताहरूसँग भेटवार्ता गर्ने प्रस्तावसमेत गरेको थियो । तर, स्वराजको भ्रमण नेपाल सरकारको आमन्त्रणमा नभएर मोदीको विशेष दूतका रूपमा ओलीसँगको भेटका लागि भएका कारण एमाले उनलाई पार्टीको तर्फबाट डिनर दिने निष्कर्षमा पुगेको हो । भारतीय दूतावासले आयोजना गरेको डिनरमा भेट्न जानुभन्दा पार्टीले आयोजना गरेको डिनरका क्रममा स्वराजले भेटवार्ता गर्ने कुरा कूटनीतिक मर्यादाका हिसाबले मात्रै होइन, सन्देशका हिसाबले पनि उपयुक्त रहेको एमालेको ठम्याइ थियो । अन्ततः एमालेकै प्रस्तावअनुसार त्यसैगरी कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।
‘उनीहरूका तर्फबाटै हामीलाई डिनरमा बोलाउने भनिएको थियो, तर भेट्न आउने पाहुनालाई हामीले नै सम्मान गर्नुपथ्र्यो, त्यो कूटनीतिक हिसाबले पनि ठीक हुने कुरा थिएन, त्यसैले हाम्रै तर्फबाट कार्यक्रम आयोजना भयो,’ स्रोतले भन्यो । त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र होइन, अन्य विशिष्ट पाहुनाहरूको नेपाल आगमनमा प्रायः सोल्टी होटलले नै आवासको प्रबन्ध हुँदै आएको छ । केही महिनाअघि मात्र मिर्गाैला प्रत्यारोपण गरिएका कारण भारतीय दूतावासले पनि उनको स्वास्थ्यका कारण धेरै दौडधुप नहोस् र खानपान पनि उपयुक्त होस् भन्ने चाहना व्यक्त गरेको थियो । त्यसैले स्वराजलाई डिनरमा के–के व्यवस्था गर्ने कुराको अन्तिम निर्णय एमाले टोली र भारतीय दूतावासका अधिकारीले मिलेर गरेका थिए । ‘उहाँले खानेपानीदेखि खानपानका सबै परिकार संयुक्त रूपमा छनोट गरेर मिलाइएको हो । तर, उताबाट यता भेट्न आउँदा भारतमा राष्ट्रियतासँग जोडेर कुनै चर्चा छैन, हामीकहाँ चाहिँ उल्टै नकारात्मक ढंगले भ्रमपूर्ण प्रचारसमेत गर्न खोजियो,’ स्रोतले भन्यो, ‘उनीहरूकै इन्ट्रेस्टमा भ्रमण भयो, नयाँ ढंगबाट सम्बन्ध सुधारको प्रतिबद्धता आयो, हामीले आयोजना गरेको डिनरमा भेटवार्ताका लागि स्वराज आउनुभयो, यसलाई पनि राष्ट्रवाद कि राष्ट्रघातको बेलुन बनाएर उडाउन खोज्नेहरू कस्ता राष्ट्रवादी होलान् ?’ स्वराज १८ गते नेपाल आएर भोलिपल्टै स्वदेश फर्किएकी थिइन् । बालकोट स्रोतले ओलीको लोकप्रियता झन् वृद्धि हुँदै गएका बेला भ्रमपूर्ण प्रचार गर्न खोजे पनि विपक्षी सफल नभएको विश्लेषण गरेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा