24th September 2017, Sunday

E-budhabar

स्थानीय तह निर्वाचनमा एमालेको ‘म्यान अफ द म्याच’



स्थानीय तह निर्वाचनमा एमालेको ‘म्यान अफ द म्याच’

२४ असार २०७४ मा धनकुटामा आयोजित विजय सभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन २०७४ मा एमालेको ‘म्यान अफ म्याच’ राजेन्द्र राई ।’ अध्यक्ष ओलीले यो घोषणापछि रोस्ट्रमबाट नेकपा (एमाले) धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर माला लगाइदिए । अध्यक्ष ओलीले अध्यक्ष राईको खुलेर प्रशंसा मात्रै गरेनन्, अन्य जिल्लाका विरोधीहरूलाई राजेन्द्र राई पठाएर ठीक पार्नेसमेत बताए । ओलीले भने, ‘एमालेविरोधीहरूले बढी चरकमरक नगरे हुन्छ, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँला ।’ अध्यक्ष ओलीले यसो भनिरहँदा कार्यक्रममा सहभागीहरूले उत्साहको साथ ताली बजाइरहेका थिए । अध्यक्ष राई भने मञ्चमा बसेर मुस्कुराइरहे । उनको अनुहारमा दौडिरहेको अपार खुसी प्रस्ट देख्न सकिन्थ्यो ।
यो ‘म्यान अफ म्याच’ कुनै खेलमा राम्रो प्रदर्शन गरेबापत थिएन । स्थानीय तह निर्वाचन २०७४ को निर्वाचनमा बिरोधीहरूलाई धनकुटामा क्लिन स्विप गर्दै एमालेको लालकिल्ला बनाए बापत अध्यक्ष राईलाई गरिएको एउटा सम्मान थियो । तीन नगरपालिकासहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्विप गरेको छ । धनकुटा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा राप्रपाका महामन्त्री तथा पूर्वमन्त्री सुनिल थापा र संघीय समाजवादी फोरमका उपाध्यक्ष पूर्वमन्त्री रकम चेम्जोङको गृह जिल्ला हो ।

धनकुटामा एमालेविरुद्ध त्रिपक्षीय गठबन्धन बनेको थियो । त्रिपक्षीय गठबन्धनलाई पराजित गर्दै एमालेले धनकुटालाई लालकिल्ला बनाएपछि एमाले धनकुटा र अध्यक्ष राई अहिले चर्चामा छन् । स्थानीय तह निर्वाचनमा क्लिन स्विप भएको जिल्ला धनकुटा मात्रै हो । धनकुटा जिल्लामा २०७० सालको दोस्रो संविधानसभाको चुनावमा एउटा क्षेत्र एमालेका टीकाराम चेम्जोङ र अर्कोमा राप्रपाका सुनिलबहादुर थापाले जितेका थिए । संविधानसभाको पहिलो निर्वाचनमा भने दुवै क्षेत्र नेकपा (माओवादी) ले जितेको थियो ।
महापञ्चहरूको जन्मेको रातो मान्छे
कमरेड लेनिनले भन्नुभएको थियो, ‘जल्लादहरू केही क्रान्तिकारीको हत्या गरे अरू क्रान्तिकारीसमेत तर्सिएर पलायन हुन्छन् भन्ने भ्रममा छन् । तर एकजना क्रान्तिकारीको हत्या सयौं क्रान्तिकारीको जन्म पनि हो ।’ २०३६ सालमा १६ जना धनकुटा छिन्ताङका क्रान्तिकारीहरूको हत्या गर्दा पञ्चायती शासक र तिनका अनुचरहरूलाई लागेको थियो, ‘पूर्वबाट उठ्दै गरेका कम्युनिस्टको लालझन्डा अब फेरि कहिल्यै उठ्नेछैन ।’
छिन्ताङका जनतामाथि २०३६ कात्तिक २४ देखि २९ सम्मको पाशविक दमनपछि तत्कालीन धनकुटे प्रधानमन्त्री सूर्यबहादुर थापालाई पनि लागेको थियो, ‘अब कोही पनि धनकुटेहरू कहिल्यै कम्युनिस्ट बन्नेछैनन् ।’ तर त्यसो भएन । त्यो श्वेतआतंकले लालझन्डा झुकेन, बरु लेनिनले भनेजस्तै गरी १६ जना छिन्ताङे क्रान्तिकारीको हत्यापछि धनकुटामा सयौं कम्युनिस्ट जन्मिए । पञ्चायती शासकको बर्बरताविरुद्ध लडेर छ्रिन्ताङे सहिदहरूको सपना पूरा गर्ने शपथ खाए । छिन्ताङे कम्युनिस्टहरूको हत्यालगत्तै उनीहरूले उठाएको झन्डालाई फेरि उठाएर सयौं युवा स्वतन्त्रताको लडाइँमा लामबद्ध भए । तिनै जुझारु युवामध्ये एक थिए, ‘१५ वर्षीय कलिला क्रान्तिकारी’ अर्थात् राजेन्द्र राई ।’

धनकुटा सदरमुकामदेखि करिब पाँच घण्टाको पैदलयात्रापछि पुगिन्छ, मुगा गाविस । त्यही मुगा गाउँमा २०२२ साल भदौ २९ गते जन्मिए । जतिबेला प्राथमिक स्तरको शिक्षा मुगाकै सरस्वती प्राथमिक विद्यालयमा लिँदै थिए त्यतिबेला पञ्चायती शासनको जवानी सुरु हुँदै थियो । त्यसको दबदबा पूर्वमा सबैभन्दा बढी उनकै गाउँ मुगामा थियो । किनभने तत्कालीन पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापाको जन्मथलो पनि मुगा नै थियो । ‘मुगाली थापा’हरूको प्रभाव र दबाबले त्यतिबेलाका धेरै युवा पञ्चायतको पक्षमा थिए । तर उनलाई भने कहिल्यै त्यस्तो मोह जागेन । देशमै सूर्यबहादुरको जगजगी थियो । झनै उनको जन्मथलो मुगामा कस्तो जगजगी थियो ? सबैले अनुमान गर्न सक्छन् । । ‘मुगाली थापा’हरूको आँगनमा बसेर कम्युनिस्टलाई सजिलो थिएन । हो, त्यही अप्ठ्यारोमा कम्युनिस्ट बनेका मान्छे हुन् राजेन्द्र राई ।
२०३६ सालमा अखिलका कान्छो प्रतिनिधि
प्राथमिक शिक्षा मुगामा नै भयो । माध्यमिक स्तरको पढाइका लागि भने उनी धनकुटा सदरमुकामस्थित माथिल्लो गोकुण्डेश्वर माविमा भर्ना भए । गोकुण्डेश्वर माविमा अनेरास्वावियुको प्रभाव थियो । पढाइसँगै अनेरास्ववियुमा संगठित भए । अखिलमै किन त ? ‘म १३÷१४ वर्षका उमेरमै संगठित भएँ, त्यतिबेला हामी नेता बन्नभन्दा पनि व्यवस्था परिर्वतनका लागि लागेका थियौं,’ उहाँ सम्झिन्नुहुन्छ, ‘कम्युनिस्ट व्यवस्था भए सबैलाई खाना, नाना र छानाको व्यवस्था हुन्छ, तर त्यो व्यवस्थाको कुरा गर्नसमेत अहिले प्रतिबन्ध छ, अहिलेको राजाको शासनले दिँदैन त्यसका निम्ति हामीहरू लड्नुपर्छ, मैले यसरी बुझेको थिएँ ।’
२०३६ सालमा काठमाडांैको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौं राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भए । त्यतिबेला कक्षा ८ मा मात्रै पढ्दै थिए । भन्छन्, ‘चाबहिलमा भएको अखिलको पाँचौं एकता सम्मेलनमा म कान्छो प्रतिनिधि भए पनि मैले सक्रियताका साथ सम्मेलनमा भाग लिएको थिएँ ।’
जतिबेला उहाँ स्कुल तहमा बसेर अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, त्यतिबेला धनकुटामा मूलतः दुईखाले परिस्थितिको प्रभाव थियो । पहिलो, पञ्चायती शासकको जवानीको काल । सबै युवाहरू प्रशासनका निगरानी हुन्थ्यो । कतिबेला जेलमा लगेर कसलाई यातना दिइने हो भन्ने कुनै टुंगो हुँदैनथ्यो । दोस्रो, अधिकांश आदिवासी जनजाति युवाको पहिलो सपना ‘लाहुर’ जाने हुन्थ्यो । अलि खाइलाग्दा युवाहरूले सकेसम्म बेलायती सेना जान प्रयत्न गर्दथे, नसके भारतीय सेनामा । राईका बुबा तेजबहादुर राई पनि बेलायती सेनाका थिए । तर उनलाई भने लाहुर जाने रहर कहिल्यै जागेन । अधिकांश युवाहरू मुलुक बदल्ने अभियानबाट अलग्गिएर गल्लावालाको पछि लागिहँदा उनी भने पञ्चायती शासनविरुद्ध युवाहरूलाई संगठित गर्ने अभियानमा लागे । ‘अर्काका लागि होइन, आफ्नै लागि लड्नुपर्छ भन्नेमा म सानैदेखि दृढ थिएँ,’ उनले भने, ‘मलाई त लाहुर जाने कुनै रहर जागेन बरु लाहुर जान तम्सिएका धेरै युवाहरूलाई आन्दोलनमा लगाएँ ।’ राईले २०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीन रूपमा पार्टीमा काम गर्न थाले । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी भए । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारीमा परे । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो । त्यस घटनामा उनलाई मात्रै थुनिएको थियो । फुच्चे भए पनि आन्दोलनमा कुशल तरिकाले जनपरिचालन गर्न सक्ने भएकाले उनलाई पञ्चायती शासकले तारो बनाएका थिए । यसपछि राईलाई राजकाज मुद्दामा विराटनगर जेलमा लगेर २४ महिना थुनियो । जेलमा पनि उनी सबैभन्दा कान्छो राजनीतिक बन्दी थिए ।
२४ महिना लामो र कष्टकर जेल बसाइपछि रिहा भएर राई धनकुटा फर्किए । त्यसलगत्तै अनेरास्वावियु धनकुटाको उपाध्यक्ष भएर संगठन निर्माणमा लागे । करिब एक वर्षजति संगठन निर्माण गरेर राई उच्च शिक्षा र राजनीतिका लागि विराटनगरस्थित जनता ल क्याम्पसमा भए । विराटगरमा अखिलको नगर कमिटी सचिव भएर आन्दोलनमा लागे । २०४६ सालको जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उनी सक्रिय रहे रह्यो । तर उनी आन्दोलनमा सहभागी हुन भने पाउनुभएन । जनआन्दोलनको पूर्वसन्ध्यामा खर्च लिन घर धनकुटा मुगा पुगेका बेला उनलाई धनकुटाको पाख्रिबासमा २०४६ माघ १६ गते प्रहरीले पक्रेर फेरि धनकुटा जेलमा थुन्यो । त्यसपछि प्रजातन्त्र पुनःस्थापना भएको भोलिपल्ट चैत २७ मात्रै जेलबाट छाडियो ।
जनआन्दोलनको सफलतालगत्तै उनले अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बने । प्रजातन्त्र पुनःस्थापनापछि धनकुटामा पार्टीको संगठन निर्माण त्यति सहज थिएन । सूर्यबहादुर थापाको गृहजिल्ला भएकाले थापाको दबदबा उस्तै रह्यो । ‘जनआन्दोलनको सफलतापछि पार्टी निर्माण अन्यन्त चुनौतीपूर्ण थियो, पैसा, पद र अनेकौं तिकडमविरुद्ध केवल विचार मात्रै लिएर जाँदा निकै चुनौतीपूर्ण हुन्थ्यो,’ उनले भने, ‘तर सारा अवरोधका बीच पनि हामीले विचार स्थापित गरिछाड्यौं ।’
अखिलको अध्यक्षपछि उनले तत्कालीन प्ररायुसंघको अध्यक्ष भएर युवाहरूलाई संगठित गर्ने अभियान सुरु गरे । उनले जुन संगठनको नेतृत्व गर्नुभयोे, त्यसलाई सधै सबै रूपले अब्बल बनाएर मात्रै छाडे । अखिलमा उनले संगठित गर्नुभएका अधिकांश विद्यार्थी नेताहरू अहिले पार्टीको राम्रो तहमा पुगेका छन् । उनी २०४९ मा जिविसको निर्वाचित सदस्य र २०५१ मा जिविस उपसभापति हुनुभयो । त्यसपछि पार्टीको सचिवालय सदस्य हुँदै किसान महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाल्ले । २०६२÷६३ को जनक्रान्तिमा जनपरिचालन गर्न पनि उनको सक्रिय सहभागिता रह्यो । आन्दोलनमा पार्टीको तर्फबाट कमान्डर थिए । २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी धनकुटाको निर्वाचित जिल्ला अध्यक्ष भए । उनी हाल दोस्रो कार्यकालका रूपमा अध्यक्षको जिम्मेवारीमा छन् ।
त्यो रातो मान्छे
म एउटा घटना सम्झन्छु । जतिबेला नेकपा (माओवादी) को अर्धसैनिक संरचनामा रहेको योङ कम्युनिस्ट लिग (वाईसीएल) को जगजगी थियो । एमाले भएकै कारण कुटिनुपर्ने अवस्था थियो । माओवादीबाट एमालेका नेता–कार्यकर्तामाथि निरन्तर दमन भइरहेको थियो । गाउँमा पार्टी संगठन क्षतविक्षतजस्तै भएको थियो । तर राई अध्यक्ष भएलगत्तै गाउँगाउँमा संगठन निर्माणको प्रक्रिया र आक्रमण अघि बढ्यो । माओवादीबाट भइरहेको दमनको प्रतिरोध पनि सुरु भयो । धनकुटाका ठाउँठाउँमा माओवादीसँग भिडन्त भयो । वाईसीएलविरुद्ध प्रतिरोध सुरु भएको जिल्ला धनकुटा नै हो । हो, त्यो प्रतिरोधको प्रेरक र नेतृत्वकर्ता उनै थिए । धनकुटा यतिधेरै चर्चित भयो कि तत्कालीन अवस्थामा युथफोर्सका प्रमुख महेश बस्नेत र वाईसीएलका महासचिव दिलीप प्रजापतिलाई धनकुटामा ल्याएर बीबीसीले साझा सवाल पनि धनकुटामा नै गराएको थियो ।
राजेन्द्र राई एउटा आगोजस्तै मानिस थिए । युवाहरूलाई उक्साउने होइन, सचेततापूर्वक कमान्ड गर्थे उनी । कतिपयले लडाकु पार्टी अध्यक्ष भनेर पनि राईको आलोचना गरे । तर सचेततापूर्वक गरिएको प्रतिरोधले माओवादीको दादागिरी समाप्त प्रायः नै भएर गयो । उनी अध्यक्ष भएपछि माओवादी वा कसैलाई एमाले कार्यकर्तामाथि हात उठाउनु अत्यन्त महँगो साबित हुन गयो । त्यसपछि आक्रमण बन्द भयो । उनको एउटा बलियो पक्ष कार्यकर्ताहरूको संरक्षण हो । विरोधीले आफ्ना कार्यकर्ताहरूलाई कही गरे उनी तुरुन्तै प्रतिरोधमा उत्रिन्छन् । संकटमा परेका कार्यकर्ताहरूको संरक्षणामा उनी जुटिहाल्छन् ।
यसरी सम्भव भयो यसपालिको जित
पूर्वमा एमालेको लालकिल्ला मानिएका धेरै जिल्लाहरूमा एमालेले सन्तोषजनक नजिता निकाल्न सकेन । बरु चुनौती मानिएको धनकुटा एमालेको लालकिल्ला भयो । कसरी सम्भव भयो त ? ‘पहिलो आधार पार्टीले लिएको सही नीति नै, त्यो नीतिलाई हामीले व्यवस्थित संगठनको जगमा सबै जनताका बीचमा लैजान सफल भयौं,’ अध्यक्ष राई भन्छन्, ‘दोस्रो हामीले सही व्यवस्थापन गरेर जनतामा जागरण पैदा ग¥यौं ।’
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयमा पूर्वमा निकै विवाद सिर्जना भयो । तर धनकुटामा अधिकांश स्थानमा सर्वसम्मत रूपमा उम्मेदवार छनोट भयो । नेतृत्वको हिसाबले यो वा त्यो समूह, यो वा त्यो नजिक कुनै उनले केही पनि हेरेनन् । भन्छन्, ‘पार्टीप्रति बफादार, सक्षम र जनताका बीचमा लोकप्रियहरूलाई टिकट दियौं । पार्टीलाई एक नम्बर बनाउनेबाहेक हामीले अरू केही हेरेनौं ।’
लामो दौडको घोडा
उनीभन्दा धेरै पछिका नेताहरू पनि पार्टी केन्द्रीय समितिमा पुगेका छन् । तर उनी जिल्ला अध्यक्षकै भूमिकामा छन् । किन त ? ‘जहाँ जुन जिम्मेवारीमा छु, त्यसलाई कुशलातपूर्वक सम्हाल्नुपर्छ भन्ने मेरो मान्यता छ,’ भन्छन्, ‘हामी जो जहाँ छौं, त्यहाँ पार्टीलाई एक नम्बर बनायौं भने एमाले बलियो हुन्छ ।’ अशोक राईहरू पार्टी छोडेर जाँदै गर्दा एमाले बचाऊ अभियानका कमान्डर पनि उनै थिए । तर उनी त्यतिबेला उति धेरै मिडियामा देखिएनन् । त्यसबेलाका सबैजसो जिल्ला अध्यक्ष केन्द्रीय समितिमा छन् । त्यसो त उनी पनि एमालेको गएको महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी थिए । पार्टीभित्रको गुटउपगुट आदिका कारण उनी पछि परे । तर उनलाई कति पनि गुनासो छैन । भन्छन्, ‘जहाँ भए पनि पार्टीको इमानदार सिपाहीका रूपमा काम गर्ने हो ।’ पार्टीलाई संकट पर्दा सधैं सतिसालझैं खडा भएका राजेन्द्र राई लामो दौडको घोडा हुन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा