अन्ततः एमाले नै पहिलो शक्ति
भनिन्छ, दूध र पानी छुट्ट्याउने सामथ्र्य राजहाँससँग मात्रै हुन्छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणाम अन्तिमतिर आइपुग्दा एउटा कुरा भन्नैपर्ने हुन्छ, जनता र राजहाँस एउटै हुन् । राजहाँसले जस्तै जनतामा पनि दूध र पानीलाई छुट्ट्याउने अनन्त क्षमता छ । जनताको क्षमतालाई कम आँक्ने कार्य कसैले पनि गर्नु उचित हुँदैन । आखिर, जनताले दूध र पानीलाई छुट्ट्याउने साहस गरेका छन् । र, देश र जनताको पक्षमा सदैव अग्रपंक्तिमा उभिएको एमालेलाई पहिलो राजनीतिक शक्तिका रूपमा उभ्याएर जनताले असल न्यायाधीशको भूमिका निर्वाह गरेका छन् ।
एमाले जनताका रोजाइको राजनीतिक शक्ति बन्नुमा अरू केही कारण छैन । एमालेले खेलेको भूमिका नै मुख्य कारण हो । स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजा अन्तिमअन्तिमतिर आइपुग्दा एमालेले बटुलेको अपार सफलताले एमाले नै जनताको विश्वासको साथी रहेको पुष्टि त भएको छ नै अब जेठ ३१ गते हुन लागिरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई नै जनताले रुचाउने सम्भावना र संकेतहरू देखिँदै छन् । विदितै छ, गत वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बन्न पुगेको छ । ३ प्रदेशका करिब ४० प्रतिशत स्थानीय तहमा एमालेले विजयको झन्डा गाडेर अरू राजनीतिक दलहरूलाई पछि पारेको छ । राष्ट्रिय राजनीतिमा दह्रो अडान र स्पष्ट विचार राख्दै आएको एमालेलाई जनताले पहिलो शक्तिका रूपमा उभ्याएर राष्ट्रियताको असल पहरेदार शक्तिको स्पष्ट पहिचान गर्ने कामसमेत भएको छ ।
त्यसो त यतिबेला तीन वटा प्रदेशका विजयी उम्मेदवार र मतदाताहरू एकआपसमा खुसी साटासाट गरिरहेका छन् । जनताले सुम्पेको विश्वासलाई एमालेले हार्दिकतापूर्ण ग्रहण गर्दै सम्पूर्ण मतदाताहरूलाई धन्यवादसमेत दिइसकेको छ । त्यस्तै, तेस्रो स्थान प्राप्त गर्न सफल माओवादी केन्द्रले पनि अपेक्षाकृत रूपमा सफलता हात पारेको हुँदा सो पार्टीका नेतृत्व तह प्रफुल्ल नै देखिएको छ । तर, नेपाली कांग्रेसको नेतृत्व तह भने पहिलो चरणको निर्वाचन परिणामले पूरै रन्थनिन पुगेको छ । एमाले र माओवादी केन्द्र निर्वाचन परिणामप्रति खुसी भइरहेको बेला कांग्रेसले भने अपेक्षित रूपमा सफलता प्राप्त गर्न नसकेकोमा अफसोच प्रकट गरेको छ ।
आखिर, कुन राजनीतिक शक्ति जनपंक्तिमा लोकप्रिय छ, जनताको विश्वास बटुल्न योग्य छ र जनताको चयनको केन्द्रमा छ भन्ने कुरा पहिल्याउने मुख्य आधार नै जनमत हो । त्यस्तो जनमत निर्वाचनकै माध्यमद्वारा प्राप्त गर्न सकिन्छ । अरू कुनै भरपर्दो र विश्वासिलो आधार पनि छैन । पहिलो चरणको निर्वाचनमा एमालेलाई धेरै तहमा निर्वाचित गराएर जनताले जुन विश्वास सुम्पेका छन्, जसरी एउटा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा लिएका छन्, त्यो भनेको एमालेले देश र जनताका पक्षमा निर्वाह गरेको सकारात्मक भूमिकाकै प्रतिफल हो । विगतदेखि नै एमालेले देश र जनताका पक्षमा सशक्त र जुझारु ढंगले जनपक्षीय कामहरूमा प्रदर्शन गर्दै आएको दक्षता र उच्चताकै प्रतिफल नै स्थानीय तहको निर्वाचनमा पाएको सफलता हो । र, कांग्रेसलाई दोस्रो र माओवादी केन्द्रलाई तेस्रो शक्तिका रूपमा जनताले राख्न चाहनुको पछि ती दलहरूको भूमिकालाई हेरेर जनताले गरेको मूल्यांकन ठान्नुपर्ने हुन्छ ।
शंकै छैन, जनताको पक्षमा कदम चाल्नुपर्छ भन्ने स्पष्ट मान्यता राखेर अघि बढ्ने राजनीतिक शक्ति एमाले नै हो । अहिले नेपाली जनताले जे–जति सुविधा, अवसर र शिर ठाडो पारेर हिँड्ने गौरव प्राप्त गरेका छन्, यी सबैलाई स्थापित गर्ने कार्यको सुरुवात एमालेले नै गरेको हो । देशका कुनाकाप्चासम्मै विकास–निर्माणका तरंगहरू ल्याउन र जनतालाई विकासको पक्षमा उभ्याउन एमालेले जुन भूमिका निर्वाह गर्दै आयो, त्यसले देशलाई आर्थिक उन्नतिको दिशामा लम्काउन उल्लेख्य काम गरेको विदितै छ । ठूला र चर्का भाषण गरेर होइन, जनतालाई रिझाउन उनीहरूका दुःख र समस्याहरूलाई केलाउन सक्नुपर्छ भन्ने मान्यता एमालेले नै स्थापित गरेको हो । पटकपटक सरकारमा पुग्दा एमालेले देश र जनताका सर्वोपरि हितमा जे–जस्ता सकारात्मक कामहरू ग¥यो, त्यसलाई सम्झिएका गुणग्राही जनताले नै यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयको फूलमाला सुम्पेका हुन् भन्नु अन्यथा नहोला । अझ, पछिल्लो समय एमालेले राष्ट्रियताप्रति लिएको अडानलाई त जनताले कहिल्यै बिर्सन सक्दैनन् ।
पहिलो चरणको निर्वाचनमा एमालेले पाएको सफलताले निश्चय नै संकेत गर्दछ, दोस्रो चरणको निर्वाचनमा पनि जनताको रोजाइमा एमाले नै पर्दछ । यसमा सन्देह गर्नुपर्ने आधार देखिँदैन । तर, पहिलो चरणमा एमालेले पाएको सफलता देखेर अरू राजनीतिक दलहरू भने अचम्मैले तिल्मिलाएका छन् । ती दलहरूले दोस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्न जस्तोसुकै हतकण्डा पनि अपनाउन सक्छन् । तसर्थ, पहिलो चरणको निर्वाचनमा पाएको सफलताबाट उत्तेजित नबनी एमालेले दोस्रो चरणको निर्वाचनमा अधिकतम सफलता बटुल्ने उपायहरू खोज्नुपर्दछ । र, एमालेको सफलता देखेर आत्तिएका अरू राजनीतिक दलहरूले चाल्न सक्ने गलत कदमप्रति सचेत हुँदै जनतालाई आफ्नो पक्षमा उभ्याउन भूमिका खेल्नु अति आवश्यक देखिन्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply