चुनावको मुखमा योजनाबद्ध सरुवा
काठमाडौं । सरकारले पहिलो चरणको निर्वाचन आउन चार दिन बाँकी रहँदा विभिन्न जिल्लाका सीडीओ तथा प्रहरी प्रमुखहरूको सरुवा गरेको छ । निर्वाचन आचारसंहिताविपरीत रातारात छापामार शैलीले त्यसरी सरुवा गरिनुलाई अधिकांशले सरकारको बदनियतका रूपमा लिएका छन् ।
कैलाली, नुवाकोटलगायतका जिल्लामा प्रहरी प्रमुख फेरिएलगत्तै सरकारले सीडीओहरूको सरुवा सुरु गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सीडीओ सरुवा भएको छ ।
गृह मन्त्रालयको कार्यभारसमेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् । स्रोतका अनुसार अधिकांश सरुवा सम्बन्धित जिल्लाका नेपाली कांग्रेसका उमेदवारको सिफारिसमा गरिएकाले यसमा बदनियत रहेको बताइएको छ । तर, सरकारले भने निर्वाचन आयोगको सहमति लिएर बाध्यात्मक परिस्थितिमा सरुवा गरेको बताएको छ । पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
सोलुखुम्बुका सीडीओ भूपेन्द्र खत्रीलाई कांग्रेस नेता बलबहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ । त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाललाई सीडीओ बनाएर पठाइएको छ । स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेता अर्नुननरसिंह केसी र डा. रामशरण महतको दबाबमा नुवाकोटमा जगदीशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
यस्तै, प्रहरी मुख्यालयले सरुवा भएको दुई महिनामै नुवाकोटका एसपीलाई फिर्ता बोलाएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी वीरेन्द्र बस्याललाई जिल्लामा शान्तिसुरक्षा कायम गर्न नसकेको तथा आचरणविपरीत काम गरेको भन्दै फिर्ता बोलाइएको प्रहरी मुख्यालय स्रोतको दाबी छ ।
प्रहरी मुख्यालयले सोमबार बस्याललाई फिर्ता बोलाएर ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी वसन्त कुँवरलाई नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
नुवाकोटबाट फिर्ता बोलाइएका एसपी बस्याललाई तत्कालका लागि कुँवरको दरबन्दी रहेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा हाजिर हुन प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply