ठूला आठ सहरमा यस्तो छ एमालेको तयारी
विराटनगरदेखि धनगढीसम्म युवा र लोकप्रिय उम्मेदवार
काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने एक महानगर र सात उपमहानरपालिकामा नेकपा (एमाले) ले लोकप्रिय र युवा उम्मेदवारहरूलाई अघि सारेपछि बेग्लै उत्साह देखा परेको छ ।
यस चरणमा निर्वाचन हुने मोरङको विराटनगर महानगरपालिका, सुनसरीको इटहरी र धरान, रूपन्देहीको बुटवल, दाङको तुल्सीपुर र घोराही, बाँकेको नेपालगन्ज र कैलालीको धनगढी उपमहानगरपालिका एमालेले व्यापक तयारीसहित मनोनयन दर्ता गरेपछि कार्यक्रम घरदैलोमा सक्रिय बनेका छन् ।
दोस्रो चरणमा निर्वाचन हुने एउटा महानगरपालिका र सातवटै उपमहानगरपालिकामा एमालेका सूर्यध्वजावाहक उम्मेदवाहरूको विजय सुनिश्चित बनेको छ । ती सबै महानगर र उपमहानगरमा एमालेको संगठन नै बलियो रहेको र कुनै विवादविना मनोनयनभन्दा धेरै अघि सर्वसम्मतिका साथ उम्मेदवारको टुंगो लागेका कारण पनि एमाले उम्मेदवारहरूको जित सुनिश्चित बनेको छ ।
सातवटा महानगरपालिकामध्ये पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा र भरतपुरमा निर्वाचन भएकोमा सबैभन्दा ठूलो काठमाडौं र पोखरामा एमालेले सानदार जित हासिल गरेको छ भने भरतपुरमा एमालेले जित्ने निश्चित भएपछि मतगणनाको अन्तिम अवस्थामा माओवादीले मतपत्र च्यातेर उत्पन्न विवाद अदालतमा पुगेको छ ।
विराटनगर ः हेभी वेट उम्मेदवार र अरू पनि खुसी
राजनीतिक तथा औद्योगिक नगरीको रूपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा (एमाले) ले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाएको छ । अन्य पार्टीका उम्मेदवारको तुलनामा उनी ‘हेबी वेट’ भएकाले पनि उनको पक्षमा माहोल बन्दै गएको महानगरवासी बताउँछन् । ३२ वर्षदेखि विराटनगरको राजनीतिमा सक्रिय ढकालसँगको प्रतिस्पर्धामा अरू पार्टीका उम्मेदवार फिक्का देखिएका छन् । मोरङ जिल्लामा दुईपटक निर्वाचित पार्टी अध्यक्ष भएका ढकाल एमालेभित्र स्थापित नेताको परिचित छन् ।
त्यसो त विराटनगर नयाँ महानगर हो, जसलाई महानगर बनाउन एमाले जिल्ला नेतृत्वले खेलेको भूमिकाको विराटनगरवासीले प्रशंसा गर्ने गरेका छन् । भविष्यमा विराटनगरको ऐतिहासिकता जोगाउन रुग्ण उद्योगहरूको सञ्चालन र त्यहाँका उद्योगी–व्यवसायीको सम्मान र राजनीतिक नगरीको पहिचान जोगाउन अग्रज तथा आदरणीय नेताहरू मनमोहन अधिकारीका साथै बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्ने संग्रहालयसमेत बनाएर विराटनगरको ऐतिहासिक र राजनीतिक पहिचान जोगाउने ढकालको योजनाले कांग्रेसका कार्यकर्ताले पनि प्रभावित भएका छन् ।
एकातिर पाँच वर्षभित्र विराटनगर कस्तो हुने भन्ने एउटा योजना र अर्को निराशामा रहेका विराटनगरवासीलाई खुसी दिन तत्कालै सय दिनभित्र गर्ने कामको योजनासहित एमालेका उम्मेदवार जनताको घरदैलोमा पुगेका छन् । दलित र सुकुम्बासीहरूका लागि एकीकृत बस्ती निर्माण गर्ने, नगरमा पछाडि पारिएका मुसहर, डुमलगायतका विपन्न वर्गका जनताको उत्थानका कार्यक्रमहरू ल्याउने, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुविधादेखि घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याउनेलगायतका जनप्रिय योजनाका साथ जनतामाझ पुगेका एमाले उम्मेदवारहरूलाई आममहानगरवासीले मत हाल्ने प्रतिबद्धताका साथ थप हौसला प्रदान गरेका छन् ।
एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल भएको छ । यो तालमेलले पनि मेयरमा एमालेका उम्मेदवारको जितलाई झन् सहज बनाइदिएको छ । १९ वडामध्ये १२ वटामा एमाले अगाडि रहेको जिल्ला अध्यक्ष तथा मेयरका उम्मेदवार विनोद ढकालले बताए । त्यसमाथि फोरमसँगको तालमेलले सकारात्मक सन्देश गएको हुनाले आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाइ छ ।
धरान ः परम्परागत गढको निरन्तरता
धरान उपमहानगरपालिकाको मेयरमा एमालेले विद्यार्थी आन्दोलनबाट जन्मिएका नेता तारा सुब्बालाई उम्मेदवार बनाएको छ । सुनसरी जिल्लामा लगातार १० वर्षसम्म युवा आन्दोलनको नेतृत्व गर्नुका साथै जनप्रतिनिधिका रूपमा लामो समय काम गरेका कारण धरानवासीबीच उनी लोकप्रिय छन् । २०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वाचित भई उनले जिल्ला विकास समितिमा इलाका २ को सदस्यका साथै लामो समय नगरपालिकाको राजनीतिक संयन्त्रमा पार्टीका तर्फबाट काम गर्दै आएका छन् ।
एमालेको गढका रूपमा चिनिने धरान उपमहानगरपालिकाको उपमेयरमा एमाले युवा नेत मञ्जु भण्डारी (सुवेदी) लाई उम्मेदवार बनाएको छ । लामो समय अनेरास्ववियुमार्फत विद्यार्थी आन्दोलनमा होमिएकी अखिलकी पूर्वकेन्द्रीय सदस्य भण्डारी २०५३ सालदेखि पार्टी र संगठनका काममा सक्रिय छिन् ।
धरानलाई जनसहभागिताको नमुना सहर भनेर नेपालमै चिनाउने काम नेकपा (एमाले) ले नै गरेको हुनाले यो उपमहानगरमा एमालेको जित सुनिश्चित बनेको जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी बताउँछन् । धरानमा २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेका कारण एमाले यहाँ स्थापित छ । एमालेको नेतृत्वमा नगरपालिकाले ६०÷४० को जनसहभागिताको नीति लिएर धरानलाई नमुना सहरको बाटोमा डो¥याएको छाप नगरवासीमा छ । व्यवस्थित नगर बनाउन घर नम्बरिङ पनि एमाले नेतृत्वकै पालामा लागू भएको थियो । एमालेका नेताकै पहल र नेतृत्वमा घण्टाघर बनेको हो । भानुचोकको बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना र डाँडाघोपामा विमानस्थल निर्माणको प्रक्रिया एमालेका मेयर मनोजकुमार मेन्याङ्बोको नेतृत्व रहँदा नै नगरपालिकाले सुरु गरेको थियो । अब पनि धरान उपमहानगरलाई कस्तो नगर बनाउने भनेर दीर्घकालीन रूपमा भिजन नै तयार गरेर एमालेका उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन् ।
७० हजारभन्दा बढी मतदाता र २० वडा भएको यो उपमहानगरपालिकामा २० वटै वडा जित्ने अठोटका साथ चुनावी मैदानमा होमिएको एमाले बाँकी सबै राजनीतिक शक्तिबीच तालमेल भए पनि त्यसलाई एक्लै परास्त गर्ने योजनाका साथ निर्वाचन अघि बढाइरहेको छ ।
इटहरी ः सुदृढ किल्लाको रक्षा
सुनसरीकै अर्को उपमहानगरपालिका इटहरीमा एमालेले मेयरमा जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र उपमेयरमा सुनसरीकी संगठन विभाग प्रमुख लक्ष्मी गौतमलाई उम्मेदवार बनाएको छ । प्रदेश १ को सम्भावित राजधानी सहर भनिएको इटहरीमा यसै पनि एमाले बलियो छ । अघिल्लो स्थानीय चुनावमा मेयर र उपमेयरसहित थुप्रै वडामा कब्जा जमाएको एमालेले पछिल्लो दुवै संविधान सभा निर्वाचनमा समेत जितेकाले पनि यो पूर्वाञ्चलमै एमालेको गढ सहरका रूपमा चिनिन्छ ।
हुन पनि चाहे यहाँको उद्योग वाणिज्य संघ होस् चाहे खानेपानी संस्था वा अरू जुनकुनै सामाजिक संस्था किन नहोऊन्, त्यहाँ एमालेको बाहुल्य छ । २० वडा भएको यो उपमहानगरमा पनि २० वटै जित्ने लक्ष्यका साथ आफूहरू चुनावी अभियानमा खटिएको मेयरका उम्मेदवार तथा जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले बताए ।
७८ हजार मतदाता रहेको इटहरीको सबैभन्दा ठूलो समुदाय भनेको थारू हो । त्यसैले जिल्लाका लोकप्रिय र चौधरी समुदायकै व्यक्तिलाई एमालेले मेयरको टिकट दिएकाले पनि जित सुनिश्चित भएको बताइन्छ ।
बुटवल ः लालकिल्लामा विकासको योजना
बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाई उम्मेदवार बनाएको छ । यो उपमहानगरपालिका एमालेको सांगठनिक आधार बलियो भएको ठाउका रूपमा चिनिन्छ ।
केही समयअघि माओवादी केन्द्र नेतृत्वको सरकारले प्रदेश ५ टुक्र्याउने प्रस्ताव संसद्मा लैजाँदा त्यसका विरुद्ध एमालेको अगुवाइमा यहाँ आन्दोलन भएको थियो । त्यहाँको आन्दोलनको रापले पूरै देशलाई तताएको थियो । प्रदेश ५ टुक्र्याउन खोज्ने माओवादी र कांग्रेसलाई यसपटक यहाँका जनताले मतमार्फत गतिलो झापड दिने विश्लेषण गरिएको छ । औद्योगिक र व्यापारिक हबका रूपमा परिचित बुटवल उपमहानगरका १९ वटा वडामा अधिकांश एमालेकै पोल्टामा जाने बताइन्छ ।
२०५४ को स्थानीय निर्वाचनमा एमालेका भोजप्रसाद श्रेष्ठले यहाँको मेयर जितेका थिए । बुटवल नगरपालिका रहेको रूपन्देही क्षेत्र नम्बर ४ मा २०६४ र २०७० सालको दुवै चुनाव एमालेका विष्णु पौडेलले जितिरहनुभएको छ, जहाँ उहाँले पछिल्लोपटक माओवादी नेता बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झार्दै करिब ६ हजारको मतान्तरमा कांग्रेसलाई दोस्रो बनाउनुभएको थियो । यस हिसाबले पनि यो उपमहानगरपालिकामा एमालेलाई हराउनु अरू दलका लागि असम्भव छ ।
बुटवललाई स्याटलाइट सिटी बनाउने प्रतिबद्धताका साथ एमालेका उम्मेदवार चुनावी मैदानमा खटिएका छन् । बुटबलमा जंगल फँडानी गरेर, झाडीहरू सफा गरेर कुनै प्राविधिक योजना, वातावरणीय प्रभाव मूल्यांकनविनै बस्ती बस्न सुरु भएका धेरै ठाउँ अहिले सहर बनेका छन् । त्यस्ता धेरै सहरका बस्ती वैज्ञानिक छैनन् र व्यवस्थित पनि बन्न सकेका छैनन् । ती सहरलाई व्यवस्थित गर्दै अर्को छुट्टै स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने एमालेको व्यवस्थित योजनालाई बुटवलवासीले समर्थन जनाएका छन् । बुटवलका १९ वटै वडामा विद्यमान खानेपानी, फोहर व्यवस्थापन, ढल निकास, हरियाली निर्माण, पार्क संरक्षण र निर्माणका कामलाई पनि अगाडि बढाउने र ती वडामध्येबाटै उपयुक्त स्थानमा दुईवटा त्यस्ता स्याटलाइट सिटी बनाउने एमालेको परिकल्पना छ । यसकारण पनि बुटबलमा एमालेको पक्षमा माहोल तात्दै गएको छ । यसबाट आत्तिएका कांग्रेस माओवादीले एमालेलाई मोर्चाबन्दी गर्ने गरी चुनावी गठबन्धन गरे पनि त्यो परिणाम पोखरा महानगरपालिकामा जस्तै फिक्का साबित हुने स्थानीय बताउँछन् ।
तुल्सीपुर ः प्रभावशाली व्यक्तित्व–योजनाबद्ध विकास
दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेले मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुबाट राजनीति सुरु गरेका घनश्याम पाण्डे २०५४ सालको स्थानीय निकायको निर्वाचनमा २३ वर्षको उमेरमा तुलसीपुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो ।
उपमेयरको पाँचवर्षे कार्यकालपछि सामाजिक संस्थाको जिम्मेवारीसँगै पार्टी कामलाई निरन्तर अगाडि बढाउँदै आउनुभएका पाण्डे पार्टीबाहिरसमेत उत्तिकै लोकप्रिय हुनुहुन्छ । सामुदायिक वन संरक्षणका क्षेत्रमा पाण्डे नेपालबाहिर समेत उत्तिकै परिचित हुनुहुन्छ ।
एमालेले चुनाव जितेपछि आफूले नगरलाई कस्तो बनाउने भन्ने परिकल्पनासहितको १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । अन्य अधिकांश ठाउँमा कांग्रेस, माओवादीले तालमेल गरेर एमालेविरुद्ध मोर्चाबन्दी गरे पनि यहाँ भने सबै पार्टीले एकल उम्मेदवारी दिएका छन् ।
तुल्सीपुरमा उपमहानगरमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने बताइन्छ । कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उठाएको छ । ७६ हजारभन्दा बढी मतदाता रहेको यो उपमहानगरका १९ वडामध्ये ११ वटामा एमालेले सहजै जित्ने आँकलन गरिएको छ ।
घोराही ः स्थानीय विशिष्टता–उत्साहित सहभागिता
घोराही उपमहानगरमा एमालेले नरुलाल चौधरीलाई मेयर र सीता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ । थारू समुदायको वर्चस्व रहेको यो उपमहानगरमा सबैभन्दा बढी ७८ हजार ४ सय १९ मतदाता छन् । १९ वडा रहेको यो उपमहानगरमा बहुमत वडासहित एमालेका उम्मेदवारले जित्ने जिल्ला अध्यक्ष टीकाराम खड्काले बताए ।
अध्यक्ष खड्काले भने, ‘आज उम्मेदवारी मनोनयनमा यी दुवै उपमहानगरपालिकामा सडकमा उत्रिएको मासले पनि एमालेको जितलाइ सुनिश्चत गरेको छ । मनोनयन दर्ताका दिन दसौं हजारको जनसमुदायको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ ।’
समग्र दाङ र विशेषगरी घोराहीको निर्वाचनमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले विशेष ध्यान दिइरहनुभएको छ । एक सात अघिदेखि जिल्लाका विभिन्न कार्यक्रममा सक्रिय भइरहेका पोखरेल स्वयं घोराहीकै मतदाता भएकाले पनि त्यहाँ एमालेको जितका लागि कार्यकर्ता र जनपरिचालनमा उल्लेखनीय उपलब्धि हासिल भइरहेको छ ।
नेपालगन्ज ः अल्पसंख्यक र लोकप्रियताको संयोजन
पश्चिम नेपालको एतिहासिक सहरका रूपमा चिनिने नेपालगन्ज उपमहानगरपालिकामा एमालेले भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका मुस्लिम उम्मेदवार समसुद्दिन सिद्धिकीलाई मेयरको उम्मेदवार खडा गरेको छ भने उपमेयरमा महिला नेतृ शान्ति ढकाललाई उठाएको छ ।
२०५४ को स्थानीय निर्वाचनमा यहाँ एमालेले जीत हासिल गरेको थियो । त्यो विरासत यसपटक पनि नफुत्किने जिल्ला अध्यक्ष अशोक कोइराला बताउँछन् । अहिले मेयरको उम्मेदवार बनेका सिद्धिकीले २०५४ सालमा त्यहाँबाट उपमेयर जित्नुभएको थियो । यो महानगरमा रहेको ६२ हजार मतदातामध्ये करिब २० हजार मतदाता मुस्लिम समुदायका भएको र एमालेले अल्पसंख्यक मुस्लिम समुदायबाट नै मेयर उठाएको हुनाले पनि मुस्लिम मतदाता उत्साहित भएको जिल्ला अध्यक्ष कोइरालाले बताए ।
नेपालगन्ज उपमहानगरका २३ वडामध्ये १३ वटामा एमालेले जित्ने अध्यक्ष कोइरालाले दाबी गरे । उपमहानगरमा पर्ने बाँकेका निर्वाचन क्षेत्र २ मा गत संविधानसभामा एमालेका दिनेशचन्द्र यादवले जितेका थिए भने क्षेत्र ३ मा कांग्रेसका सुशील कोइरालाले जितेका थिए । यसपटक पनि त्यहाँ एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुने बताइन्छ ।
धनगढी ः स्थानीय विशिष्टतामा ख्याल
प्रदेश ७ को एउटै मात्र उपमहानगरपालिका कैलालीको धनगढीमा एमालेले दुर्गाप्रसाद जोशीलाई मेयरमा र रुक्मिणी देवकोटालाई उपमेयरमा उठाएको छ । धनगढीमा लोकप्रिय शिक्षकका रूपमा परिचित जोशी एमाले जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ । रुक्मिणी देवकोटा भने पार्टीपंक्तिमा मात्र नभएर औद्योगिक र व्यापारिक क्षेत्रमा पनि चर्चित हुनुहुन्छ । उहाँ जिल्ला उद्योग वाणिज्य संघको उपाध्यक्षसमेत हुनुहुन्छ ।
१९ वडा भएको यो उपमहानगरमा एमालेको संगठन पहिलेदेखि नै राम्रो मानिन्छ । अरू उम्मेदवारको तुलनामा एमालेका मेयरका उम्मेदवार शैक्षिक र राजनीतिक हिसाबले पनि योग्य हुनु, उम्मेदवारलाई सहयोग पुग्ने मतदाताको सामाजिक तथा जातिगत बनोट हुनुजस्ता कुराले पनि एमालेलाई सहयोग पुग्ने आँकलन भइरहेको जिल्ला अध्यक्ष दीर्घ सोडारी बताउँछन् ।
कांग्रेसका पुराना नेता गोपी हमालले स्वतन्त्र उम्मेदवारी दिएकाले त्यसको फाइदा पनि एमालेलाई हुने आँकलन गरिएको छ ।
करिब ७६ हजार मतदाता भएको यो उपमहानगरमा कम्तीमा ३ हजार मतान्तरले एमालेका उम्मेदवारले जित्ने जिल्ला अध्यक्ष सोडारीको दाबी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply