ऐतिहासिक विजय र चनौती
कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेको छ । सम्पूर्ण परिणाम आउन अझै बाँकी छ तर तस्बिर लगभग स्पष्ट भएको छ । यो विजय दुई ठूला कम्युनिस्ट पार्टीहरू बीचको चुनावी गठबन्धन र पार्टी एकता गर्ने सहमति एवम् उनीहरूले अगाडि सारेको समृद्धि र परिवर्तनको एजेन्डासँग जोडिएको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर जनताले यस एजेन्डालाई अनुमोदन गरेका छन् ।
कम्युनिस्टहरूले लामो समयदेखि मुलुकको समग्र परिवर्तनका निम्ति संघर्ष गर्दै आएका छन् । नेपालको लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनमा उनीहरूको ऐतिहासिक योगदान रहेको छ । राणा शासनको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्ममा उनीहरूले अविस्मरणीय भूमिका सम्पादन गरेका छन् । शान्तिपूर्ण संघर्षदेखि सशस्त्र संघर्षसम्मको यात्रामा हजारौं कम्युनिस्टहरूले जीवनको आहूति दिएका छन् । हजारौं अपांग र घरबारविहीन भएका छन् । हजारौंले भयानक जेलजीवन बिताएका छन् र आसीम शारीरिक एवं मानसिक यन्त्रणा खपेका छन् । मुलुकले आज जुन राजनीतिक उपलब्धि प्राप्त गरेको छ, यसमा एमाले र माओवादी केन्द्रजस्ता कम्युनिस्ट शक्तिहरूको बिर्सनै नसकिने योगदान रहेको छ । यी दुई शक्तिको भूमिकाबिना न नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन्थ्यो न त संविधानसभाबाट संविधान नै बन्थ्यो । आज जुन अन्तर्वस्तुसहितको संविधानको निर्माण भएको छ, यसमा यी दुई पार्टीहरूको प्रमुख भूमिका रहेको छ ।
जनताले परिवर्तनको संघर्षमा कम्युनिस्टहरूलाई सधंै साथ दिँदै आएका छन् । जनताको सहयोग र उत्सर्गले नै कम्युनिस्ट पार्टीहरूले परिवर्तनका निम्ति चलाएको संघर्षले ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ । परिवर्तनको वास्तविक संवाहक शक्तिका रूपमा जनताले सधैं कम्युनिस्टहरूलाई लिँदै आएका छन् । कम्युनिस्ट पार्टीहरूप्रतिको उनीहरूको आस्था, विश्वास र भरोसा यही कुरासँग जोडिएको छ । उनीहरू सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, समानता र सामाजिक न्यायको स्थापना, मुलुकको आर्थिक समृद्धि र समग्र परिवर्तन कम्युनिस्ट पार्टीबाट मात्र सम्भव छ भन्ने ठान्छन् । बाह्य हस्तक्षेपको प्रतिवाद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा, देशभक्तिको भावनाको विकासमा उनीहरूले कम्युनिस्टहरूलाई नै अब्बल पाउँदै आएका छन् ।
जनताले एकीकृत कम्युनिस्ट पार्टीको चाहना उहिल्यैदेखि राख्दै आएका हुन् । कम्युनिस्ट आन्दोलन एकीकृत भएर अघि बढ्न सक्दा परिवर्तनको प्रक्रियालाई अझ गति प्रदान गर्न सकिन्थ्यो भन्ने उनीहरूको सोच उहिल्यैदेखि रहँदै आएको हो । एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन र पार्टी एकताका निम्ति सहमति गर्दा जनता खुसी हुनु र उनीहरूमा अपूर्व उत्साह देखिनुको कारण पनि यही हो । अझैं पनि नेपालमा सबै कम्युनिस्ट पार्टीहरू एउटै ठाउँमा उभिन सकेका छैनन् तर दुई ठूला कम्युनिस्ट पार्टीहरू एक भएर अघि बढ्ने निर्णयले जनतालाई उत्साहित बनाएको छ । निर्वाचनको परिणाम यसको बलियो दृष्टान्त हो । निर्वाचनमा एक भएर जान सकेको भए पहिलो संविधानको सभाको स्थिति नै फरक हुन्थ्यो । दोस्रो संविधानसभाको निर्वाचन नै आवश्यक पर्ने थिएन । स्थानीय तहको निर्वाचनको परिणाम अझ बढी कम्युनिस्टहरूको पक्षमा आउँथ्यो । यसले संविधान र परिवर्तनका एजेन्डाहरूलाई कार्यान्वयन गर्न अझ सजिलो हुन्थ्यो ।
निर्वाचनमा कम्युनिस्ट गठबन्धनले प्राप्त गरेको विजय जनताको कम्युनिस्ट आन्दोलनप्रतिको आस्था, विश्वास र भरोसासँग जोडिएको छ । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक परिवर्तनका सपना एवं चाहनाहरूसँग गाँसिएको छ । जनता सबै किसिमका विभेद र उत्पीडनको अन्त्य चाहन्छन्, समानता र सामाजिक न्यायको स्थापना चाहन्छन्, स्वाधीन र समृद्ध नेपाल चाहन्छन् । यो काम कम्युनिस्टहरूले मात्र गर्न सक्छन् भन्ने विश्वास उनीहरूलाई छ । उनीहरूले कांग्रेसको शासन देखे र भोगे । पञ्चायतलाई पनि बेहोरे । पछि पर्दै गएको मुलुकलाई अघि लैजाने कार्य गर्छन् भने कम्युनिस्टहरूले मात्र गर्छन् भन्ने विश्वासले उनीहरूले वाम गठबन्धनका पक्षमा मतदान गरे । यो विजय दुईवटा कम्युनिस्ट पार्टीहरूको चुनावी गठबन्धनको परिणाम त हो नै कम्युनिस्ट आन्दोलन र त्यसका उद्देश्यहरूप्रतिको जनताको भरोसाको परिणाम पनि हो ।
नेपालले लामो समयदेखि राजनीतिक अस्थिरता व्यहोर्दै आएको छ । यसको असर मुलुकको परिवर्तन र विकासको समग्र पक्षमा परेको छ । ००७ सालदेखि यताको कुरा छोडिदिऊँ, ०४६ सालपछिको समयलाई हेर्दा मात्र पनि सरकारहरूले पूरा अवधि काम गर्न पाएको देखिन्न । जनता स्थिर सरकार र राजनीतिक स्थिरता चाहन्छन् । उनीहरूले राजनीतिक स्थिरता भए मात्र मुलुकको समृद्धि र परिवर्तन सम्भव छ भन्ने यथार्थलाई बुझेका छन् । यो ऐतिहासिक विजय त्यसै हात लागेको होइन । कम्युनिस्टहरूको विजयले स्थिर सरकार र समृद्धिको यात्रा सम्भव छ ठानेरै जनताले उनीहरूलाई विजयको माला पहि¥याएका हुन् ।
यस ऐतिहासिक विजयका कारण कम्युनिस्ट गठबन्धनका अगाडि दायित्व मात्र होइन, चुनौती पनि थपिएको छ । एकातिर उनीहरूले जनताको आवश्यकता र आकांक्षाको सम्बोधन, मुलुकको परिवर्तन र समृद्धिको यात्राको नेतृत्व, संविधानका मर्महरूको कार्यान्वयनको अगुवाइ एवं समाजवादतर्फ प्रस्थानका निम्ति मार्गप्रशस्त गर्दै अघि बढ्नुपर्नेछ, अर्कातिर यसको विरोधमा आउने आन्तरिक र बाह्य चुनौतीहरूको सामना पनि गर्नुपर्नेछ । सबैभन्दा पहिले आफंैभित्रका समस्या एवं कमजोरीहरूबारे गम्भीर बन्नुपर्नेछ । यस सन्दर्भमा पहिलो महŒवपूर्ण कुरो एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको सहमतिलाई टुंगोमा पु¥याउनु हो । एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न निर्वाचनमा दुई पार्टीका बीचमा कतिपय ठाउँमा देखिएका असहजताले मात्र धेरथोर समस्या खडा गर्नेछैन, दुई पार्टीका बीचमा रहेका कतिपय राजनीतिक, वैचारिक मतभेदले पनि असहजता उत्पन्न गर्नेछन् । कदाचित् गठबन्धन टुट्यो, पार्टी एकता हुन सकेन भने त्यसले नेपालको कम्युनिस्ट आन्दोलन एवं परिवर्तन र समृद्धिको यात्रामा गम्भीर धक्का लाग्नेछ । यो ऐतिहासिक विजय अर्काे पटक सम्भव हुनेछैन । यही विजय कम्युनिस्टहरूको आदि र अन्त्य पनि हुन सक्नेछ ।
दोस्रो महŒवपूर्ण कुरो कम्युनिस्ट गठबन्धनले मुलुकको परिवर्तन र समृद्धिका निम्त गरेको प्रतिबद्धताको कार्यान्वयन हो । साझा चुनावी घोषणापत्रमा प्रस्तुत दृष्टिकोण, नीति, कार्यक्रम र प्रतिबद्धताको कार्यान्वयन अब बन्ने सरकारले गर्नुपर्नेछ । जनताले त्यसलाई व्यवहारमा अनुभव गर्न पाउनुपर्नेछ । यसको कार्यान्वयनका निम्ति सामन्तवादका अवशेषका साथसाथै समकालीन पुँजीवादसँग संघर्ष गर्नुपर्नेछ । यो संघर्ष सजिलो छैन । नवउदारवादको दबदबा रहेको आजको विश्वमा यसको पीडा नेपालले पनि खप्दै आएको छ । यसको विरोधमा जानु जोखिम मोल्नु हो र त्यो जोखिम मोल्न साहस जरुरी छ । परिवर्तन र समृद्धिको सारतत्व प्रगतिशील हुनुपर्नेछ । समृद्धिको यात्रामा त पुँजीवादी मुलुकहरू नै धेरै अगाडि छन् तर हाम्रो लोकतन्त्र आमजनताको लोकतन्त्र, हाम्रो समृद्धि आमजनताको समृद्धि, हाम्रो परिवर्तन समानता, सामाजिक न्याय, सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, एक स्वस्थ, सिर्जनात्मक र वैज्ञानिक समाजको निर्माणका निम्ति हुनुपर्नेछ । समाजवादका नाममा नवउदारवाद र सामन्तवादलाई काँधमा बोकेर हिँड्ने र उत्पीडित वर्गको हितका विरुद्धमा उभिने छुट गठबन्धनलाई हुनेछैन । शब्दमा कम्युनिस्ट र समाजवाद, व्यवहारमा त्यसको ठीक उल्टो हुने खतरा गठबन्धनका अगाडि छ । ऊ यसबाट बच्न सक्नुपर्नेछ ।
कम्युनिस्ट आन्दोलनमा रहेका विकृति र विसंगतिहरूविरुद्ध संघर्ष अर्काे गम्भीर आन्तरिक चुनौतीका रूपमा रहेको छ । व्यक्तिवाद, उपभोक्तावाद र भौतिक उत्प्रेरणाले कम्युनिस्ट आन्दोलनमा गहिरो गरी जरा गाडेका छन् । कम्युनिस्ट चरित्र र आदर्शमा ह्रास आएको छ, सामूहिक भावना कमजोर बनेको छ, परिवार, कुलकुटम्बहरू प्रतिको मोह मौलाएको छ, धनवाद बलियो बन्दै छ । यस्ता विकृति र विसंगतिहरूको लामै सूची बनाउन सकिन्छ । दृष्टिकोण, नीति र कार्यक्रम मात्र ठीक भएर हुन्न, त्यसको कार्यान्वयनका निम्ति विसंगति र विकृतिमुक्त पार्टी र आन्दोलन पनि चाहिन्छ । विकृति र विसंगतिलाई छिमल्दै जान सकिएन भने परिवर्तनको अगुवाइ गर्न सम्भव हुनेछैन । पार्टीको आन्तरिक जीवनदेखि, सरकार र सत्तासम्म विद्यमान विकृति र विसंगतिलाई अन्त्य गर्ने आँटसँग परिवर्तन र समृद्धिको यात्रा गाँसिएको छ । नयाँ नेपाल निर्माणले सबै दृष्टिले नयाँ मान्छे खोज्नेछ । आफू नफेरिएर मुलुक फेर्ने कुरा मीठो गफ मात्र हुनेछ । आउँदा दिनहरूले शब्द र कर्मका बीचमा एकता खोज्नेछन् । कम्युनिस्टहरू सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि जाँचिनुपर्नेछ ।
यो विजयबाट व्यक्तिगत एवं सामूहिक रूपमा अहंकार बढ्ने खतरा पनि छ । अहंकार बढ्यो भने यसबाट आफ्नै पंक्ति मात्र प्रताडित हुनेछैन, यसको ठूलो असर जटिल परिस्थितमा राजनीतिक सन्तुलन कायम गर्दै अघि बढ्ने कुरामा पनि पर्नेछ । प्रतिपक्षलगायत आफ्नै पंक्तिको रचनात्मक आलोचनासमेत सुन्न छोडिनेछ । स्वाभिमानी, योग्य र इमानदार कार्यकर्ता यस अहंकारको सिकार हुनेछन् । शक्ति र सत्ताको उन्मादमा राजनीतिक विवेक, दूरदर्शिता र गम्भीरता पाखा लाग्नेछ । कम्युनिस्ट गठबन्धन आरम्भबाटै यसप्रति सचेत रहन सकेन भने यसले अघिल्तिरको यात्रामा पर्खाल खडा गर्नेछ ।
राज्यको पुनःसंरचनाको मर्म, राजनीतिक स्थायित्व, समानता र सामाजिक न्यायसहितको आर्थिक समृद्धि, नयाँ उत्पादक शक्तिको विकास, दलाल पुँजीवादको प्रतिवाद र राष्ट्रिय पुँजीको निर्माण आदिजस्ता विषयमा कम्युनिस्ट गठबन्धन सुस्पष्ट कार्यक्रमसहित अघि बढ्नुपर्नेछ । नयाँ संरचनाअनुरूप मुलुकलाई हिँडाउन सोचेजस्तो सजिलो छैन । यसका निम्ति योग्य जनशक्तिको समुचित परिचालनसहित सिंगो राज्य संयन्त्रलाई यसअनुरूप अघि बढाउनुपर्नेछ । नफेरिएको नोकरशाहीतन्त्र यसका निम्ति ठूलो चुनौती बन्नेछ । खासगरी कम्युनिस्ट गठबन्धनले आफ्नो पंक्तिभित्रका प्रतिबद्ध र सुस्पष्ट दृष्टिकोण भएका विज्ञहरूलाई परिचालन गर्नुपर्नेछ ।
आन्तरिक चुनौतीको अर्काे पाटो मुलुकभित्रका दक्षिणपन्थी शक्तिहरूले खडा गर्ने अवरोधसँग पनि जोडिएको छ । कांग्रेसले यो निर्वाचन मुलुकको परिवर्तनको एजेन्डामा भन्दा कम्युनिस्टहरू सत्तामा आए अधिनायकवादको स्थापना हुने एजेन्डाका आधारमा लडेको छ । ठूलो पराजय बेहोरेको कांग्रेसले कम्युनिस्ट अधिनायकवादको कुरा उठाएर भ्रम सिर्जना गर्ने कार्य मात्र गर्नेछैन, परिवर्तनको प्रक्रियामा व्यवधान उत्पन्न गर्ने प्रयास पनि गर्नेछ । दक्षिणपन्थी शक्तिहरू एक ठाउँमा उभिएर कम्युनिस्ट सरकारलाई असफल बनाउन प्रयत्न गर्नेछन् । कांग्रेसभित्र बीपीले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिलाई छोड्नु र गणतन्त्रमा जानु ठूलो भूल थियो भन्ने कुरा उठ्न थालिसकेको छ । कम्युनिस्ट गठबन्धनलाई नरुचाउने बाह्य शक्तिहरू दक्षिणपन्थी शक्तिहरूलाई कम्युनिस्ट सरकारका विरुद्ध उभ्याउने खेलमा मात्र लाग्ने छैनन, स्वयं आफूले पनि अनेक अवरोधहरू सिर्जना गर्नेछन् । शान्तिपूर्ण ‘कू’का प्रयत्नहरू हुनेछन् । कम्युनिस्टहरूका निर्वाचित सरकारहरूलाई अपदस्त गरिएका विभिन्न दृष्टान्तहरू छन् । यी सबै चुनौतीको सामनाबाटै लक्ष्यसम्म पुग्न सम्भव हुनेछ । सबै चुनौतीको सामना गर्दै मुलुकलाई नयाँ दिशा दिन सके मात्र यस ऐतिहासिक विजयको अर्थ रहनेछ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply