दुगडको मुद्दा भित्रभित्रै गायब
काठमाडौं । दुगड फुड एन्ड बेभरेज कम्पनीले बजारमा कुहिएको फ्रुटी पठाइरहेको रंगेहात भेटिएको सात महिनासम्म कारबाही नहुनुको कारण खुलेको छ । अहिले दुगड समूहलाई उक्त प्रकरणमा उन्मुक्ति दिने प्रयास थालिएको र त्यसका लागि सरकारी कर्मचारीहरूलाई प्रभावित पारिएको बुझिएको छ ।
विभिन्न खाद्य पदार्थको उत्पादन गर्ने र आफूखुसी मूल्य तोकेर बिक्री–वितरण गर्दै आएको सो कम्पनीले पछिल्लो समयमा म्याद नाघेको गुणस्तरहीन फ्रुटी बिक्री गरी जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको भए पनि अहिलेसम्म त्यस्ता कम्पनीका सञ्चालकमाथि सरकारले कारबाही गर्ने आँट गरेको छैन । तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले छोडेपछि राप्रपाका दीपक बोहरालाई सो मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पैसा भनेपछि मरिहत्ते गर्ने बोहरालाई स्वास्थ्यको जिम्मेवारी दिएपछि अहिले आपूर्तिमन्त्री राप्रपाका जयन्त चन्द छन् । सो मुद्दालाई फितलो बनाएर दुगडको पक्षमा वकालत गरिदिन भन्दै करोडौं रुपैयाँको झोला बोकी दुगडका पक्षबाट बिचौलियाहरू मन्त्री चन्दसमक्ष पुगेको बताइएको छ ।
सम्बन्धित निकायबाट कारबाही नगर्न मन्त्रीदेखि विभागका कर्मचारी सक्रिय भएर लागेपछि सात महिनाअघिको मुद्दा बीच बाटोबाटै गायब भएको स्रोतको दाबी छ । म्याद सकिएका फ्रुटीलाई बजारमा पठाउन लागेको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्थापन विभागको टोलीले गत साउन ५ गते बरामद गरी कारबाहीका लागि पठाएको सो मुद्दालाई अहिले ठूलो रकमको चलखेलमा निष्क्रिय बनाउन लागेको स्रोतको दाबी छ ।
सरकारी अनुगमन टोलीले सतुंगलस्थित दुगड फुड्स एन्ड बेभरेजको गोदाम अनुगमन गरी २ हजार कार्टुन फ्रुटीमा सिलबन्दी गरी कारबाहीका लागि सिफारिस गरेपछि सो मुद्दालाई बीचमै फितलो बनाउन सो कम्पनीले चलखेल गरेको थियो । आपूर्ति व्यवस्थापन विभागले गत साउन ५ गते नै उक्त फ्रुटीको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको तर रिपोर्टमा के रहेको छ भन्नेचाहिँ अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गरेको पाइए खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । खतरनाक जीवाणु भेटिएको भनेर खाद्य प्रविधि विभागले भनिसकेको अवस्थामा फ्रुटी उत्पादन कम्पनीलाई उन्मुक्ति दिने चलखेल भइरहेको बताइन्छ । अनुगमनका क्रममा उक्त अवधिमा उत्पादित फ्रुटी ब्रान्डका पेय पदार्थमा सूक्ष्म जीवाणुको संक्रमण भई प्याकेट फुलेको हुन सक्ने अनुमान टोलीले गरेको छ । सोही आरोपमा बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध मुद्दा हालेको सात महिना बितिसक्दा पनि अहिलेसम्म कुनै कारबाही हुनसकेको छैन ।
प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गर्न सम्बन्धित निकायमा पठाएपछि सो कम्पनीका सञ्चालकसहितलाई मुद्दा दायर भएको थियो । मुद्दामा कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि प्रत्यक्ष जनस्वास्थ्यसँग खेलबाड गर्दै आएको सो कम्पनीका सञ्चालकलाई कुनै कारबाही नगरी गुणस्तरहीन फ्रुटी बिक्री हुँदै आएको छ ।
दायर मुद्दामा कम्पनीबाट २३ करोड रुपैयाँबराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा महानगरीय प्रहरीपरिसर काठमाडौंले बुझाएको थियो । कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाए पनि उनीहरूमाथि अहिलेसम्म सरकारले कुनै कारबाही नगर्दा गुणस्तरहीन फ्रुटीको बिक्री गरिरहेको छ ।
दगडविरुद्ध ठगी र कालोबजारी गरी दुई शीर्षकमा मुद्दा परेको थियो । कालोबजारी ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले हेरेको र ठगीअन्तर्गत जिल्ला अदालतले हेरेको उक्त मुद्दामा धरौटीमा अभियुक्त छुटे पनि मुद्दा भने विचाराधीन रहेको बताइन्छ । ‘कालोबजारी ऐन नै कमजोर भएकाले ऐनअनुसार धेरै समय थुन्न मिलेन, त्यसैले धरौटीमा रिहा भए पनि मुद्दा भने जारी छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले भने । ‘अदालतले के ग¥यो, त्यो विषयमा धेरै बोल्न पनि मिलेन, मलाई थाहा भएन, ठगीमा मुद्दा जारी नै थियो,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा २०७४ भदौ १२ गते कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएलगत्तै सो कम्पनीमा फ्रुटी उत्पादन गर्न रोक लगाएको भए पनि पछि सो सिल फोडी उत्पादन भइरहेको उपभोक्ताकर्मीको आरोप छ ।
प्रहरीले कम्पनीका सञ्चालक मालचन दुगडकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्धसमेत मुद्दा दायर गरेको थियो । अझै पनि दुगड परिवार फरार सूचीमा रहेका छन् । जिल्ला अनुगमन समितिका संयोजक रहेका काठमाडौंका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोलीले म्याद नाघेको कच्चा पदार्थबाट जुस बनाएको भेटेपछि उनीहरूलाई पक्राउ गरी कम्पनीमा सिल गरेको थियो ।
उनीहरूले एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको भेटिएको थियो । प्रहरीले ४१८ ड्रम आँपको गुदी सिलबन्दी गरेको थियो भने एक ड्रममा २४० केजी गुदी भेटिएको थियो । भारतबाट ल्याएका कच्चा पदार्थबाट कम्पनीले फ्रुटी जुस बनाई बिक्री गर्दै आएको छ । उनीहरूविरुद्ध अदालतमा ठगी मुद्दा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कालोबजारी मुद्दा दायर गरिएको थियो । दुवै मुद्दामा पाँच वर्षसम्म कैद र बिगोबराबर जरिवाना हुने प्रावधान रहेको छ । म्याद गुज्रिसकेका कच्चा पदार्थमा नयाँ मिति राखेर ठूलो मात्रामा जुस उत्पादन गरी बिक्री गरेकाले उनीविरुद्ध प्रहरीले अधिकतम सजायको माग गरेको थियो । तर, सो मागअनुसार कुनै कारबाही भने भएको छैन ।
त्यसो त गत असारमा पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले दुगडको गोदाममा सिलबन्दी गरेको थियो । दुगडविरुद्ध मुद्दा चलाएपछि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेललाई तत्काल सो जिम्मेवारीबाट हटाइएको थियो । लुइँटेललाई फ्रुटी काण्डमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन नदिन ‘सुनियोजित’ रूपमा गृहबाट अन्यत्र सरुवा गरिएको थियो ।
यसअघि उपभोक्तासम्बन्धी मुद्दामा व्यवसायीलाई उन्मुक्ति दिने नियतले व्यवसायी र राजनीतिकर्मीको मिलेमतोमा धारा तेलको मूल्य प्रकरणमा तत्कालीन प्रजिअ एकनारायण अर्याल र मिठाइमा जनावरको बोसो मिसावट प्रकरणमा तत्कालीन प्रजिअ लक्ष्मी ढकालको समेत सरुवा गरेर मुद्दालाई प्रभावहीन बनाइएको थियो । तर, यसपटक भने अनुसन्धान सुरु गर्दा नै दुगड फरार भइबसेका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply