परराष्ट्रमन्त्री महत कि महरा ?
काठमाडौं । प्रधानमन्त्री बनेको करिब अढाइ महिनापछि शेरबहादुर देउवा छिमेकी राष्ट्र भारत भ्रमणमा जाँदै छन् । आगामी भदौको पहिलो साता प्रधानमन्त्री देउवाको भारत भ्रमण हुने मोटामोटी तय भइसकेको छ । भ्रमणका लागि भारतीय पक्षले नै कार्यतालिका बनाएको हुँदा निर्धारित मितिमै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुने सम्भावना रहेको छ ।
तर प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई सहज बनाउन वर्तमान परराष्ट्र मन्त्रीले भूमिका खेल्ने हो कि पूर्वपरराष्ट्र मन्त्रीले ? प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणलाई नै सहज बनाउन पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले दिल्ली दौडलाई पछिल्लो समय तीव्रता दिएपछि यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्न पुगेको छ । प्रधानमन्त्रीको आसन्न भारतलाई सहजीकरण गर्नैका लागि भनेर डा. महत केही दिनअघि दिल्ली पुगेका हुन् ।
नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सहयोग परिषद्को बैठकमा भाग लिने बहानाबाजीमा प्रधानमन्त्री देउवाले खटाएर नै पूर्वपरराष्ट्र मन्त्री डा. महत दिल्ली पुगेको बताइन्छ । भारतीय पक्षले प्रधानमन्त्री देउवाको भ्रमणका लागि कार्यसूची तय गरिसके पनि अहिलेसम्म निम्तो आएको छैन र मितिसमेत तय भइसकेको छैन । सूत्रका अनुसार पूर्वपरराष्ट्र मन्त्री डा. महतलाई निम्तो र मिति तयका लागि टुंगो लगाउन दिल्ली पठाइएको हो । अनौपचारिक रूपमा भने प्रधानमन्त्री देउवालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारत भ्रमणको तयारी गर्न आफूलाई भारतीय पक्षबाट निर्देशन आएको कुरा जानकारी गराइसकेका छन् ।
दिल्ली पुगेका डा. महतले प्रधानमन्त्रीको भ्रमणलाई सहज बनाउन आफू आएको कुरा चपाएर बोलेका थिए । उनले प्रधानमन्त्रीको भ्रमणका लागि सहजीकरण गर्न नभई पार्टी सभापतिको नेतृत्वमा बनेको सरकारलाई सहयोग गर्न आफू तत्पर रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका डा. महतले प्रचण्डको भारत भ्रमणका बेला परराष्ट्रमन्त्रीका हैसियतले सहजीकरण गरेका थिए ।
आखिर प्रधानमन्त्री देउवाले आफ्नै नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेता कृष्णबहाुदर महरा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुँदाहुँदै किन डा. महतलाई दिल्लीमा आफ्नो दूत बनाएर पठाए ? अहिले यो प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ । कुनै पनि प्रधानमन्त्रीको विदेश भ्रमणका लागि सहजीकरण गर्ने काम सम्बन्धित देशको परराष्ट्र मन्त्रीको हुने भए पनि अहिले भने महरालाई पन्छाएर महतलाई पठाएपछि यसले कुटनीतिक वृत्तमा पनि खैलाबैला मच्चाएको छ ।
सूत्रका अनुसार परराष्ट्रमन्त्री महरालाई दिल्ली पठाउन प्रधानमन्त्री देउवालाई असजिलो महसुस भएको हुँदा डा. महतलाई पठाइएको हो । पूर्ववर्ती सरकारका पालाका प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित हुनेबित्तिकै तत्कालीन अर्थमन्त्री महरालाई चीनको दूत बनाएर पठाएका थिए र तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारतको दूत बनाएर पठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँगको सम्बन्ध बिगारेको भन्दै प्रचण्डले आफ्नो सरकारका दुई उपप्रधानमन्त्रीलाई दुई देशका दूत बनाएर पठाएका थिए ।
अघिल्लोपटकको सरकारको पालामा चीनमा विशेष दूत बनाएर पठाएका महरालाई अहिले भारत भ्रमणका लागि सहजीकरणको भूमिका दिँदा भारतले शंकास्पद नजरले हेर्न सक्ने अनुमान गरेर नै प्रधानमन्त्री देउवाले महरालाई नभई आफ्ना विश्वासपात्र डा. महतलाई दिल्ली पठाएको बताइन्छ । दुई छिमेकी राष्ट्र चीन र भारतसँग समान कूटनीतिक सम्बन्ध र व्यवहार गर्नुपर्नेमा परराष्ट्र मन्त्री हुँदा डा. महतले भारतको भ्रमण पाँचपटक गरेका थिए भने चीनको भने एकपटक पनि गरेनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply