प्रचण्डको सचिवालयबाट रातारात ‘आउट’
काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता निर्णायक मोडतर्फ उन्मुख भइरहेको बेला एकताविरोधी क्रियाकलाप गरेको आरोपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट एकताविरोधी अभिव्यक्ति दिने एक कर्मचारी हटाइएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज एमाले अध्यक्ष केपी ओलीलाई भेट्न दिल्लीबाट काठमाडौं आएकै दिन प्रचण्डले प्रेस सहयोगी मनहरि तिमल्सिनालाई एकता भाँड्ने क्रियाकलाप गर्न खोजेको गम्भीर आरोप लगाउँदै स्वकीय सचिवालयबाट पदमुक्त गरेका हुन् ।
स्वराज काठमाडौं आएकै दिन तिमल्सिनाले ओलीलाई ‘राष्ट्रघाती’को उपमा दिँदै तथानाम गालीसहितका सामग्री सामाजिक सञ्जाल (फेसबुक) मा पोस्ट गरेका थिए । सो सामग्री जस्ताको तस्तै माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केही पत्रकारले ओलीका सचिवालय सदस्यहरू राजेश बज्राचार्य, अनिश दाहाललगायतलाई ट्याग गर्दै पोस्ट गरेर जस्ताको तस्तै जानकारी दिएपछि तिमल्सिना प्रचण्डको ‘कारबाही’मा परेका हुन् । भोलिपल्ट बिहान ओलीलाई जस्ताको तस्तै उनको सचिवालयले रिपोर्ट बुझाएपछि ओलीले प्रचण्डसमक्ष सोबारे गम्भीर आपत्ति जनाएका थिए । दुई पार्टीबीच एकता प्रक्रिया निर्णायक ढंगले अघि बढिरहेका बेला सचिवालयबाटै नियोजित ढंगले एकता भाँड्ने उद्देश्यले प्रचार हुनु धेरै गम्भीर विषय भएको भन्दै ओलीले टेलिफोनमार्फत तत्काल आपत्ति जनाएका थिए । ‘त्यस्ता व्यक्तिलाई साथमा राखेर कसरी एकता सम्पन्न हुन सक्छ ?’ भन्दै ओलीको आपत्तिपछि प्रचण्डले तिमल्सिनालाई पदमुक्त गरेका हुन् । त्यसलगत्तै उनको खुमलटार आवतजावत नै बन्द भएको स्रोतको दाबी छ । पुत्र प्रकाशको असामयिक निधनपछि सचिवालय हाँक्ने कार्यमा धेरै ठूलो अभाव महसुस गरेका प्रचण्डले मनहरिलाई हटाएपछि उनको विकल्प खोजिरहेको स्रोतको भनाइ छ । उता, तिमल्सिनाले भने आन्तरिक च्याटमा भएको विषयलाई पार्टीनिकट पत्रकारहरूले खुराफात गरेर खुट्टा तान्ने प्रयास गरेकाले आफू ‘एक्सन’मा परेको निकटस्थहरूलाई बताउने गरेका छन् ।
तिमिल्सिनाले ओलीलाई २०४६ देखि २०७२ सालसम्म दिल्लीभक्त, महाकाली सन्धिका प्रमुख योजनाकार, २०७२ असोजदेखि २०७४ माघसम्म चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार र ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका थिए । तिमिल्सिनाले उक्त पोस्टलाई फेसबुकमा भाइरल बनाउन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीका सहयोगीले प्रचण्डका सहयोगीले लगाएको आरोपको ‘स्क्रिन सट’ देखाएपछि ओलीले प्रचण्डलाई तिमिल्सिनामाथि तत्काल कारबाही नगरे राम्रो नहुने चेतावनी दिएका थिए ।
स्रोतका अनुसार प्रचण्डले पार्टी एकताको प्रयास अघि बढिरहेका बेला वाम गठबन्धनका प्रमुख नेताविरुद्ध आफ्नो सचिवालयमा बसेर अफवाहपूर्ण आरोप लगाएको भन्दै तिमिल्सिनालाई अबदेखि नआउन भनेका थिए । तिमिल्सिनालाई प्रचण्डले बिहीबार निवासबाट बिदा गरेको उनको सचिवालयले पुष्टि गरेको छ ।
यसैबीच, माओवादी केन्द्रमा दलाल र अवसरवादीहरू हावी भएको भन्दै ३ नम्बर प्रदेशका अगुवा नेताहरूले नेतृत्वविरुद्ध छुट्टै भेला गर्ने तयारी गरेका छन् । प्रदेश संयोजक झक्कुप्रसाद सुवेदी र काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेको राजीनामापछि पनि नेतृत्वले सम्बोधनको तत्परता नदेखाएको भन्दै उनीहरूले भित्रभित्रै छुट्टै अभियान अघि बढाउने कसरत गरेका हुन् । राष्ट्रियसभाको चुनाव सकिएलगत्तै संगठित रूपमा अभियान सार्वजनिक भएको घोषणा गर्ने उनीहरूको तयारी छ । उक्त अभियानमा माओवादी केन्द्रका सचिवालय सदस्यदेखि, पोलिटब्युरो, केन्द्रीय सदस्य र जिल्ला इन्चार्जहरू संगठित भइरहेको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply