प्रहरीको पेट्रोल पम्पमा व्यापक अनियमितता
काठमाडौं । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा पुनः अनियमितताले जरो गाडेको छ । प्रहरी निरीक्षक विष्णु पोखरेल प्रमुख रहेको नक्सालस्थित प्रधान कार्यालय परिसरको पम्पमा निरीक्षक पोखरेलद्वारा नै संस्थागत घुसखोरीलाई मलजल गरिरहेको बताइन्छ । आफू सो पम्पको नेतृत्व गर्न प्रहरीभित्रको सबैभन्दा घुस्याहा युनिट लेखाबाट आइपुगेको तीन महिना मात्र हुन लागेको बेला उनले घूसको सबै च्यानल पहिल्यै बुझिसकेकाले सुरुवातीबाटै अनियमिततामा जोड दिएको बताइन्छ । उनले मातहतका कर्मचारीहरूलाई अनियमितता गरी सक्दो रकम बुझाउन निर्देशन दिएको थाहा भएको छ । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ । पम्पमा विगत लामो समयदेखि तिनै कर्मचारीहरू रहेकाले पनि उनीहरूले नयाँ हाकिम आउनासाथ सेटिङ मिलाएर दिनदिनै रकम बुझाउने गरेको बताइन्छ । त्यहाँ कार्यरत कर्मचारीहरूमध्ये आलोपालोअनुसार केही कर्मचारीले हरेक दिनजसो थानकोटमा पेट्रोल लिन जानुपर्छ भने केहीले चाहिँ पम्पमा बसेर पेट्रोल भरिदिने तथा अन्य खटनपटन गर्ने काम गर्छन् । इन्सपेक्टर पोखरेललाई राम्रो रकम नियमित रूपमा बुझाउने गरेकाले त्यहाँका कर्मचारीहरू उनका प्रिय भएको स्रोतको दाबी छ । अझ विशेषगरी पम्पको कम्युटर शाखामा कार्यरत दिलीप कार्कीको भूमिका बढी शंकास्पद रहेको बताइन्छ । उनले सबै कर्मचारीलाई ‘हाकिमसाबलाई पैसा बुझाउनुपर्छ जसरी पनि मिलाउनू’ भन्दै रकम संकलन गर्ने र बेलुका बाँडचँुड गर्ने गरेको बताइएको छ । कार्कीलाई त्यहाँको इन्चार्ज पोखरेलले संरक्षण गरेकैले खुलेआम घुसखोरीलाई प्रश्रय दिएको बताइन्छ । पम्पमा उनीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल अन्य सर्वसाधारणलाई बेचेर नगदमा कन्भर्ट गरी पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । त्यस्तै, तेलै नहालीकनै तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । त्यस्तै, समाजका उच्च पदस्थ व्यक्तिहरू तथा इन्सपेक्टर पोखरेलका आफन्त र साथीभाइलाई भने रकम नै नतिरी हरेकपटक तेल हाल्ने प्रबन्धसमेत गरिएको बताइन्छ । प्रहरीबाट अवकाश भइसकेका भूपू प्रहरीहरू पनि विगतमा ठूलो संख्यामा करारमा कार्यरत रहेकामा पछिल्लो समय तिनीहरूलाई भने हटाइएको छ । पहिले कल्याण महाशाखाका प्रमुख भई एसएसपी रहेका पवन खरेल अहिले डीआइजी भई प्रबन्ध महाशाखाको प्रमुख रहेका छन् । यता, प्रहरी कार्यालयका सहयोगी चेतराज न्यौपानेलाई पेट्रोलपम्पमा ल्याइएको छ । त्यसका लागि डीआइजी खरेलले भनसुन गरेका थिए । पोखरेलले अहिले मासिक ६० हजार रुपैयाँसम्म अतिरिक्त आम्दानी गर्ने गरेको बुझिएको छ । यसअघि चिन्तामणि बुढाथोकी पेट्रोलपम्पको प्रमुख रहेकामा उनी डीएसपी बढुवा भई गएपछि पोखरेल आएका हुन् । सेयर बजारमा अत्याधिक लगानी गर्ने उनी पनि अकुत सम्पत्ति कमाइसकेका व्यक्ति हुन् । उनले आफ्ना छोराहरू भारतमा लगेर पढाएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply