भरतपुरमा पुनः मतदान एमालेलाई अमान्य
काठमाडौं । भरतपुर महानगरपालिकाको पुनः मतगणना नगरिए नेपालको राजनीतिमा गलत संस्कार संस्थागत हुने र त्यसले निर्वाचन प्रणालीमाथि नै गम्भीर संकट उत्पन्न गराउने एमालेले निष्कर्ष निकालेको छ । यो निष्कर्षसहित निर्वाचन आयोगलाई तत्काल मतगणना सुचारु गर्न आग्रह गर्दै सरकारको दबाबमा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरे सडक र सदन दुवैतिर आन्दोलन चर्काउने एमालेले चेतावनी दिएको छ । प्रचण्डले पुत्री रेणुलाई जसरी पनि जिताउन मतपत्र च्यात्ने काम गरेको नजिर झाँगिँदै भोलि अन्य मतगणना स्थलमा पनि त्यस्तै घटना दोहोरिँदै जाने एमालेको निष्कर्ष छ । हार्ने निश्चित भएपछि मतपत्र च्यात्दै जाने हो भने निर्वाचन आयोगले कति ठाउँसम्म निर्वाचन दोह¥याउँछ ? त्यसले नेपालको लोकतन्त्र र निर्वाचन प्रणाली के हुन्छ ? एमालेले गम्भीर चिन्ता जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेले जित्ने निश्चित भएपछि गलत नियतका साथ मतपत्र च्यातिएकाले तत्काल मतगणनना सुचारु गर्न आयोगका अध्यक्ष डा. अयोधिप्रसाद यादवको ध्यानाकर्षण गराएका छन् । तथापि आइतबार राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना मंगलबार अबेरसम्म पनि सुचारु हुन सकेको छैन । जसरी पनि जिताउनुपर्ने उद्देश्यका साथ प्रधानमन्त्री पुत्री रेणु दाहाललाई सत्तारूढ कांग्रेस–माओवादीको मेयर उम्मेदवार बनाइएको भरतपुरमा हार्ने स्थिति स्पष्ट देखिएपछि योजनाबद्ध रूपमै मतपत्र च्यातिएको एमालेको निष्कर्ष छ । प्रहरीले समेत माओवादी केन्द्रको संलग्नतामा मतपत्र च्यातिएको विज्ञप्ति जारी गर्दै उनीहरूका दुई कार्यकर्ता पक्राउ परेको तथ्य सार्वजनिक गरिसकेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भरतपुर घटनाबाट कानुनकै गलत व्याख्या गरेर गलत नजिर स्थापित गर्न खोजिएकाले कुनै हालतमा पुनः मतदान स्वीकार्य नहुने बताए । ‘त्यसले नेपालको राजनीतिमा एउटा गलत नजिर स्थापित गर्न सक्छ, तर, त्यही नियतका साथ भरतपुरमा मतपत्र च्यात्ने काम भएको हो, त्यसैले लोकतन्त्र र निर्वाचन प्रणालीलाई नै अप्ठ्यारोमा पार्ने कुरालाई एमालेजस्तो जिम्मेवार पार्टीले कुनै हालतमा स्विकार्न सक्दैन,’ नेम्वाङले भने, ‘हामीले तत्काल मतगणना सुचारु गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइसकेका छौं ।’
यसकारण बन्यो मतपत्र च्यात्ने योजना
कांग्रेसको प्रभाव क्षेत्र मानिएको भतपुर वडा नम्बर १९ को मतगणना सुरु हुनुअघि एमाले उम्मेदवार देवी ज्ञवाली ८ सय ८४ मतका साथ प्रधानमन्त्री पुत्री रेणुभन्दा अघि थिए । कांग्रेसको गढ मानिने वडा नम्बर १९ को २ हजार ८ सय मतगणना गर्दा ३ सय मतले माओवादीले लिड गर्ने हिसाब रेणुका प्रतिनिधिहरूले गरिरहेका थिए । तर वडा नम्बर १९ को १ हजार ८ सय मतगणना गर्दा माओवादीले लिड अपेक्षाअनुसार भएन । त्यसबेलासम्म एमाले उम्मेदवार देवी ज्ञवाली र रेणुबीचको मतको अन्तर ७ सय ३३ मा झ¥यो जुन माओवादीको आकलनसँग मेल खान सकेन । माओवादीले ३ सय मत बढी ल्याएर देवीलाई तिर्ने र २० नम्बर वडामा पुग्दा केही मत आफूले बढी ल्याएर १ सयभन्दा कम मतले जित्ने हिसाब गरेको थियो, तर त्यो योजना पूरा हुने देखिएन ।
दुई घण्टे बैठकले बनायो योजना
वडा नम्बर १९ को १ हजार ८ सय मतगणनापछि माओवादी हार मानसिकताले अत्तालिएका थिए । त्यसैले उनीहरूले सिल खोल्न बाँकी अर्काे मतपेटिका खोल्नुअघि ब्रेक लिएर खाना खाने प्रस्ताव राखे । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले खानाका लागि मतगणना ब्रेक गर्ने प्रस्ताव गरे । सबै दलका प्रतिनिधिले खाना खाए । तर त्यसपछि मतगणना सुरु गर्न खोज्दा माओवादीका प्रतिनिधिहरू एकाएक हराएको पाइएपछि अन्योल छाइसकेको थियो । दुई घण्टासम्म पर्खिंदा पनि उनीहरू नआएपछि त्यहाँबाट टेलिफोन गरियो । आफूहरू जरुरी बैठकमा रहेकाले केही समय लागेको उनीहरूले बताए । माओवादीका अन्य नेताहरूसहित भएको सोही बैठकले भरतपुरमा जित्ने स्थिति नरहेकाले मतपत्र च्यात्ने योजना बनाएको थियो । त्यसका लागि बाहिर पनि शक्ति परिचालन गर्नुपर्ने, सुरक्षाकर्मीलाई आदेश गराउनुपर्ने र मतगणना अधिकृतलाई चुप बस्न भन्नुपर्ने सल्लाह भएको खुलेको छ ।
करिब दुई घण्टापछि माओवादीका आधिकारिक प्रतिनिधि तोकिएका द्रोण शिवाकोटी र वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपाने मतगणनास्थलमा आए । उनीहरू भेला भएपछि वडा नम्बर १९ को गणना बाँकी मतपेटिका खोलियो । मतपेटिका खोलेर मतपत्रहरू सर्टिङ गर्ने क्रम चलिरहेको थियो । सर्टिङ गर्दा प्यानलै एउटै चिह्नमा लागेका मतपत्र एकातिर र क्रस भोटिङका मतपत्रहरू अर्कातिर खात लगाएर राखियो । उक्त बाकस खोलेर मतपत्र सर्टिङ गर्दा एमालेको प्यानललाई नै परेका मतपत्रको संख्या ज्यादा देखियो । त्यहीँ सँगै रहेका वाईसीएल जिल्ला इन्चार्ज त्यसबेला निकै छटपटाउन थाले । उनले टाउको समाएर केही बर्बराएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि उनी बसेको ठाउँबाट जुरुक्क उठे र भने, ‘यी मतपत्रहरू मैले हेर्न सकिनँ ।’ त्यहाँ रहेका एमालेका प्रतिनिधिहरू चनाखो हुन थाले । त्यत्तिकैमा वाईसीएल इन्चार्ज न्यौपाने र माओवादीका गणना प्रतिनिधि द्रोण शिवाकोटीले सातै छाप सूर्यमा लगाइएका मतपत्र तानेर च्यात्न थाले ।
सर्टिङ गरिएका मतपत्र गणना गर्दा १९ नम्बर वडामा एमालेको अग्रता बढ्ने देखिएको थियो । ७ सय ३३ को मात्र अन्तरमा झरेका देवी ज्ञवालीले ती मत सबै गन्दा मत अन्तर बढाएर ८ सय ८३ पु¥याउने आकडा माओवादी प्रतिनिधिले निकाले । किनभने एमालेको सूर्यमा सातवटै छाप लागेका करिब १ सय ५० मतपत्रको चाङ त्यहाँ देखिएको थियो । त्यही आधारमा हिसाब निकाल्दा वडा अध्यक्षमा पनि एमालेले नै प्यानल नै जित्ने आँकडा निकालियो । त्यही बुझेपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply