माले–माक्र्सवादी एकीकरण
२०४७ को कात्तिकमा संसदीय व्यवस्थाको संविधान फेरि दोस्रो पटक २०१५ को संविधान बनेको ३२ वर्षपछि बन्यो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी)को पोखरामा २०४७ को पुस १५ देखि १८ सम्म सम्मेलन आयोजना भएको थियो । त्यसमा अतिथिको रूपमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का हरकिशन सिंह सुरजीतलाई आमन्त्रण गरिएको थियो भने नेकपा (माले)का महासचिव मदन भण्डारी, माधवकुमार नेपाल र जीवराज आश्रितलाई पनि आमन्त्रित गरिएको थियो । त्यस अवसरमा पोखरामा निस्किएको हाम्रो पार्टीको जुलुसमा पनि हरकिशन सिंह सुरजीत, मदन भण्डारी, माधव नेपाल र जीवराज आश्रितसमेत अग्रपंक्तिमा मनमोहन अधिकारी, सहाना प्रधानहरूका साथ हिँड्नुभएको थियो ।
पोखराको सभागृहमा आयोजित सम्मेलनको उद्घाटन समारोहमा पनि मदन भण्डारीले सम्बोधन भाषण गर्नुभएको थियो । उहाँले पोखराको हाम्रो पार्टीको आमसभामा पनि सम्बोधन गर्नुभएको थियो । त्यसै अवसरमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरणको वार्ता पनि अगाडि बढ्यो । एउटा बैठकमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का हरकिशन सिंह सुरजीत पनि थिए । तर, बलराम उपाध्याय र अरू एक दुई जना यी दुवै पार्टीको एकीकरणको पक्षमा आइसकेको हुनुहुन्थेन । उतातिर माले पार्टीभित्र पनि अनेकौं प्रकारका दबाब मदन भण्डारीमाथि परिरहेको थियो । एक दिन म र सिद्धिलालजी हामीहरू बसेको पोखरास्थित राजभण्डारी होटलको माथिल्लो तलाको बार्दलीमा उभिरहेका थियौं ।
मदन भण्डारी र माधव नेपाललाई मनमोहन, सहाना प्रधान, हरकिशन सिंह सुरजीत भएको कोठाबाट बाहिर निस्किँदै गरेको देख्यौं । उहाँहरूले हामीलाई देख्नुभएन । त्यसबखत माधव नेपालले मदन भण्डारीलाई भनिराख्नुभएको थियो– ‘यो एकीकरणको टुंगो नटुंग्याइकन तपाईं नजानुस् ।’ तर पोखरामा एकीकरणको वार्ता अन्तिम हुनसेकन । त्यसपछि फेरि काठमाडौंमा वार्ताहरू चले । अन्तमा सिद्धिलाल सिंहको पाटनस्थित घरको तल्लो तलाको हलजस्तै कोठामा दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बस्यो । त्यस बैठकमा झन्डै जीवराज आश्रित र बलराम उपाध्यायको बाजाबाजजस्तै भयो र वार्ता भंग होला जस्तो भयो । जीवराजले भन्नुभयो– हामीहरूलाई बेइज्जत गर्न बोलाएको हो ? जीवराज झन्डै उठिसक्नुभएको थियो । तर, मदन भण्डारी र माधव नेपाल शान्त भएर बसिराख्नुभयो । कुरा के थियो भने माले पार्टीको संगठन माक्र्सवादीभन्दा धेरै ठूलो थियो । माक्र्सवादीमा नाम चलेका मनमोहन अधिकारी, सहाना प्रधान र अरूहरू नेता हुनुहुन्थ्यो भने मालेको संगठन झन्डै देशव्यापी थियो । अन्त्यमा मदन भण्डारीलाई नेकपा (माक्र्सवादी)को ८ र नेकपा (माले) को १४ भन्ने म्यान्डेट रहेछ । तर, सहाना प्रधानले बलराम उपाध्यायको समर्थन गर्दै दुवै पार्टीको बराबरी नभए हुँदैन भन्नुभयो । त्यसबखत मदन भण्डारी र माधव नेपालले बडो धैर्य र संयमता देखाउँदै बसिरहनुभयो । र, मदन भण्डारीले भन्नुभयो– ‘त्यही नै तपाईंहरूको सर्त हो भने मैले मञ्जुर गरें ।’ त्यसपछि जीवराज पनि बस्नुभयो । अब फेरि सहाना प्रधानले नेकपा (एमारले) हुनुुपर्छ भन्नुभयो । त्यो भनेपछि केही माधव नेपाल र मदन भण्डारीले मुखामुख गर्नुभयो र मदन भण्डारीले ‘ल हुन्छ त्यो पनि मानियो’ भन्नुभयो ।
यस प्रकार २०४७ पुस ११ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिली नेकपा (एमाले) को गठन भयो । सुरुसुरुमा केही दिन नेकपा (एमारले) लेखिए पनि पछि सबैले नेकपा (एमाले) लेख्न थाले । अब २८ जनाको केन्द्रीय कमिटी बन्यो, जसमा नेकपा (माले)को तर्फबाट मदन भण्डारी महासचिव, जीवराज आश्रित, माधवकुमार नेपाल, सीपी मैनाली, मोहनचन्द्र अधिकारी पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो भने नेकपा (माक्र्सवादी)को तर्फबाट मनमोहन अधिकारी अध्यक्ष, सहाना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, बलराम उपाध्याय पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । यसप्रकार ११ पुस २०४७ मा नेकपा (एमाले) पार्टी गठन भएको समाचार वार्ता हुँदाहुँदै त्यस समय नेपाल रेडियोको घटना र विचारबाट लगत्तै प्रसारित हुँदै थियो । यो खबर त्यसैरात देशव्यापी भयो र देशभर उत्साहको वातावरण बन्यो ।
त्यसरी झापाको विर्तामोडमा मालेको तर्फबाट आयोजित आमसभामा मलाई पनि नेकपा (माक्र्सवादी)को तर्फबाट बोल्न दिइएको थियो । त्यसबखत जनताले तपाईंहरू दुई वटा पार्टी मिलेर आउनुस् न भनेको जवाफमा मैले भनेको थिएँ– ‘म पनि त्यसको पक्षमा छु ।’ त्यसपछि हामी एक भएपछि फेरि बिर्तामोडमा सभा आयोजना भयो । त्यसमा मैले भनें– ‘हामी पहिलेको आमसभा हुँदा अलग–अलग थियौं, अहिले एउटै पार्टी भएर आयौं ।’ सारा देशभरिको जनतामा ठूलो उत्साह आयो र संगठनमा एउटा विद्युत् प्रभाव भएको जस्तै तुरुन्त तुरुन्तै कार्यकर्ताहरूमा उत्साह आयो । त्यसपछि २०४८ को आम चुनावका लागि नेकपा (एमाले) को केन्द्रीय कमिटीले चुनावी घोषणापत्रको बारेमा छलफल भयो, जसमा पहिलोपटक बहुदलमात्र होइन, बहुलवादलाई समेत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वीकृत गरेको थियो । यो पाँचौं महाधिवेशनभन्दा पहिलेकै कुरा हो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply