मुद्रणमा मुद्रा मिलाउने खेल
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै छानबिन अघि बढाएको छ । डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले पत्र काटेर सबै विवरण पठाउन निर्देशन दिएको हो ।
श्रेष्ठ एन्ड अमृत ट्रेडर्स कम्पनीले सप्लाई गरेको रिको ब्रान्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाखबराबरको कायम गरी बिल पेस गरेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले २६ असारमा परेको उजुरीलाई छानबिनका लागि भन्दै खरिद गरिएको मेसिनको अवस्था तथा त्यसको सञ्चालन खर्चसमेत सबै विवरण उल्लेख गरी पठाउन निर्देशन दिएको छ । तर, अहिलेसम्म विभागले विवरण नपठाएको अख्तियार स्रोतले जनायो । अख्तियार स्रोतका अनुसार २०७३ साल चैतमा पनि प्रिन्टिङ टोनर, मसी तथा कागज सप्लाईमा अत्यधिक खर्च बढेको तथा सप्लाई गर्ने कम्पनीबाट टेन्डर नै नगरी कोटेसनको आधारमा सप्लाई गरेको भन्दै अख्तियारले सचेतसमेत गराएको थियो । साथै, राष्ट्रिय सर्तकता केन्द्रले पनि सचेत गराएको थियो ।
हाल विभागमा बलभद्र गिरी महानिर्देशक रहेको छन् । अख्तियारले उनी र भण्डारण अधिकृत दीपक पोखरेलको नाममा समेत सो विषयमा लिखित जवाफ पेस गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो । अख्तियारको उक्त ताकेतापछि मन्त्रालयले शाखा अधिकृत सुरेशबाबु घिमिरेको नेतृत्वमा छानबिन गर्न टोलीसमेत बनाएको छ । रिको ब्राण्डको मेसिन खरिद गरेपछि नेपालमै त्यसको तालिम लिन सकिने व्यवस्था भए पनि त्यहाँका दुई कर्मचारीलाई तालिमका लागि भन्दै विभागले सिंगापुरसमेत पठाएको थियो । अहिले सो मेसिन सञ्चालनमा ल्याइएको छैन ।
अख्तियारले प्रश्न उठाएपछि मेसिन नै फिर्ता गर्ने कि भन्ने मनस्थितिमा मुद्रण विभागका महानिर्देशक गिरी र भण्डार विभागका अधिकृत पोखरेल रहेको विभाग स्रोतले जनाएको छ । भण्डारण अधिकृत पोखरेलले विभागको मापदण्डअनुसारको मेसिन नआएकाले सञ्चालनमा नल्याएको बताए । ‘हामीले अघिल्लो वर्षको पैसाले मेसिन खरिद गरेका हौ तर विभागको प्राविधिक समितिले दिएको मापदण्डअनुसार पूरा नभएकाले मेसिन सञ्चालनमा आएको छैन,’ उनले भने ।
उनका अनुसार ए थ्री साइजको २ हजार सिट पेपर अट्ने ट्रे हुनुपर्ने मापदण्ड थियो तर त्यो पूरा भएन । कम्पनीले उक्त सर्त पूरा गरेपछि मात्रै विभागले मेसिन सञ्चालनमा ल्याउने उनको जवाफ थियो । साथै, मुद्रण विभागलाई आवश्यक पर्ने कागजमसी टोनर आदि खरिद गर्दा समेत आवश्यक प्रक्रिया पूरा नगरी व्यापारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाई लिने गरिएको समेत खुलेको छ । लामो समयदेखि विभागमा स्वस्तिक इन्टरप्राइजेज र चण्डिको इन्टरप्राइजेजबाट कागज खरिद हुँदै आएको छ । सो कागज खरिदमा पनि अनियमितता भएको भन्दै अख्तियारले प्रश्न उठाएको छ ।
विभागमै रहेको पुरानो अफसेट मेसिन मर्मत गर्दा पनि अनियमिता गरेको आरोप लागेको छ । सो मेसिन मर्मत गर्दा २ लाख ६३ हजारको बिल आएको भए पनि त्यसमा भण्डारणका अधिकृत पोखरेलले ८३ हजार थप गर्न लगाएका थिए । साथै, विभागमा रहेको पाले बस्ने कोठाको मर्मतबापत ३५ हजार रूपैयाँ खर्च देखिए पनि लेखापाल कमल परियारसँगको मिलेमतोमा अधिकृत पोखरेलले १ लाख २५ हजारको बिल पेस गर्न लगाई भुक्तानीसमेत गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply