मोरङमा किन पछारियो एमाले ?
विराटनगर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसले चुनाव जितेको छ । पहिलादेखि नै कांग्रेसको गढ मानिँदै आएको विराटनगरमा यसपटकको निर्वाचनमा एमालेले त्यो गढ भत्काउने प्रयत्न गरे पनि सफल हुन सकेन । एमालेका मेयरका उम्मेदवार विनोद ढकालभन्दा करिब ५ हजार बढी मत ल्याएर कांग्रेसका भीम पराजुलीले निर्वाचनमा सफलता पाए ।
‘दोस्रो राजधानी’का रूपमा चिनिने विराटनगर महानगरपालिकामा एमालेले पराजय बेहोर्नुमा सो नगरभित्र पहिलादेखि नै एमाले कमजोर रहेको हुँदा पार्टी पंक्तिले चित्त बुझाउनु स्वाभाविकै थियो । तर एमालेले हरेकपटकको निर्वाचनमा कब्जा जमाउँदै आएको उत्तरी मोरङमा समेत नराम्रो पराजय बेहोर्नुपरेपछि केन्द्रदेखि गाउँ तहसम्मकै नेताहरू चकित परेका छन् । एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका रहेको मोरङमा उम्मेदवारमा सन्तुलन मिलाउन नसक्दा एमाले पाँच तहमा खुम्चिनुपरेको छ । बहुदल आएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनदेखि नै एमालेले वर्चस्व कायम गर्दै आएका तहहरूमा समेत नराम्रो पराजय बेहोर्नुपरेपछि मोरङमा चुनाव हार्नुका कारणहरू खोजिन थालेका छन् ।
मोरङका कतिपय तहमा त उम्मेदवार छनोटमा गल्ती भएकै कारण पनि चुनाव हार्नुपरेको बताइन्छ । यसअघिका निर्वाचनहरूमा जित्दै आएको उर्लाबारी नगरपालिकामा एमालेले चुनाव हा¥यो । सो नगरपालिकामा एमालेले भूपाल जिमीलाई उठाएको थियो । तर जिमीको ठाउँमा अरू कसैलाई टिकट दिएको भए चुनाव जित्ने बताइन्छ । उर्लाबारी नगरपालिकामा मात्र होइन, अरू तहहरूमा समेत ‘राम्रा’ भन्दा ‘हाम्रा’ उम्मेदवारले टिकट पाएपछि पराजय बेहोर्नुपरेको छ । कोसी हरैंचा नगरपालिकामा पनि त्यस्तै भयो । सो नगरपालिकामा केदार गुरागार्इंलाई टिकट दिइयो । गुरागाईंले हारे, उपमेयरमा भने धना तामाङले जितिन् ।
लेटाङ नगरपालिका त एमालेले सधैं जित्ने ठाउँ हो । सो नगरपालिकामा मेयरमा भूपेन्द्र लावती उठेका थिए । तर दुर्भाग्य ! उपमेयरसहित बहुमत सिटमा एमालेले जित्यो, मेयरले भने चुनाव हारे । सधैंभरि जित्दै आएको रतुवामाई नगरपालिकामा पनि त्यस्तै भयो । एमालेले शिक्षण पेसाबाट राजीनामा दिन लगाएर टेकेन्द्र पोमूलाई सो नगरपालिकाको मेयरमा उठायो । तर मधेसीहरूको पनि बाहुल्य रहेको सो नगरपालिकामा उम्मेदवार छनोट गर्न नसक्दा हार्न प¥यो । शिक्षण पेशा छाडेर बसेका मधेसी समुदायका विश्वनाथ राय वा अरू कुनै लोकप्रिय व्यक्तिलाई टिकट दिएको भए सो नगरपालिकामा चुनाव जितिने बताइन्छ ।
केराबारी गाउँपालिकाको मेयरमा नवीन थापा मगर उठेका थिए । उनी लोकप्रिय नै हुन् । तर उनले पनि पार्टीभित्रको सन्तुलन मिलाउन नसक्दा चुनाव हार्नुप¥यो । मोरङको पाँच तहमा मात्रै एमाले खुम्चिनुमा पार्टीभित्रको सन्तुलन मिलाउन नसक्नु र उम्मेदवारी चयनमा देखिएको खिचातानी नै मुख्य कारण रहेको मानिन्छ ।
एमालेले अत्यधिक मत ल्याएर जित्ने अपेक्षा गरेको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले झिनो मतान्तरले मात्रै जिते । तर उपमेयर तारा पराजुलीले अपेक्षाकृत रूपमा राम्रै मत ल्याएर चुनाव जितिन् । त्यसो त मोरङमा पाँच तहमा मात्र चुनाव जिते पनि उपप्रमुखमा भने एमालेले नौ ठाउँमा जितेको छ । उम्मेदवारी छनोटमा सन्तुलन मिलाउन नसक्दा र टिकट पाएका उम्मेदवारले पार्टीभित्रको सन्तुलनलाई बेवास्ता गर्दा मोरङमा एमालेले हार बेहोर्नुपरेको बताइन्छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply