लोकमानका सारथिमाथि निगरानी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध घोषित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका सारथिहरूमाथि निगरानी बढाएको छ । कार्कीका एक प्रमुख सारथिका रूपमा चिनिने आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाइ पक्राउ गरेर छानबिन सुरु गर्नासाथ कार्कीका अरू सारथिहरू तर्सिन थालेका छन् ।
‘ठूला माछा’ का फाइल लुकाएर राख्दै पैसाको बार्गेनिङ गर्नेदेखि लिएर ‘दोहोरो सत्ता’ को आतंक मच्चाएका प्रमुख आयुक्त कार्की सर्वोच्च अदालतले ‘सो पदका लागि योग्यता नपुगेको’ फैसला सुनाएपछि बर्खास्तगीमा परेका थिए । बर्खास्तगीसँगै उनी त देशै छाडेर हिँडे । तर त्यसको सबैभन्दा ठूलो चोट उनका सारथिहरूलाई परेको छ । त्यसबेला लोकमानका प्रमुख सारथि तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, गुप्तचर प्रमुख दिलीप रेग्मी र आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा थिए । कर फस्र्योट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५ करोड रुपैयाँ नाघेको बताइएको छ ।
शर्मा पक्राउपछि अहिले पूर्वप्रहरी प्रमुख अर्याल र गुप्तचर प्रमुख रेग्मीलाई तनाव थपिएको छ । अख्तियारले आफूहरूमाथि निगरानी बढाएको सुइँको उनीहरूले पाइसकेको स्रोतको दाबी छ । तत्कालीन प्रमुख आयुक्त कार्कीको त्यसबेलाको प्रहरीसँगको कनेक्सनकै आधारमा अहिले निगरानी अघि बढाएको बुझिएको छ ।
त्यसबेला कार्कीले गैरकानुनी सम्पत्ति आर्जनको फाइल खोलिदिने धम्की दिएर आईजीपी अर्याललाई काबुमा राखेको र त्यसपछि प्रहरी संगठनकै दुरुपयोग गरेर आफू झनै शक्तिशाली र निरंकुश बनेका थिए । फलतः कार्कीको कार्यकालभर प्रहरीभित्रका अनियमितता र भ्रष्टाचारका एउटा पनि उजुरीमा छानबिन भएन । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताका सम्बन्धका कार्की र तत्कालीन प्रहरी प्रमुख अर्यालबीचको कनेक्सनको समाचार त्यसबेलै बाहिर आएको थियो । समाचारअनुसार गत वर्ष कात्तिक २७ गते धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चल्यो । मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइयो । भ्रष्टाचारको मुद्दा चल्ने निश्चित भएपछि प्रतिष्ठानका केही पदाधिकारी ‘झोला’ बोकेर काठमाडौं आए । प्रतिष्ठानका टोलीसँग अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले खटाएका मानिसले होटल अन्नपूर्णमा भेट्ने तय भयो । प्रतिष्ठानको टोलीले आफूहरूको सुरक्षा र सम्भावित रंगेहात कारबाहीको डर हुने भनेपछि प्रहरी सुरक्षाका साथ दुवै पक्षबीच भेट भयो । उक्त भेटघाट कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसमेत उपस्थित थिए ।
अनधिकृत कामका लागि कार्कीकै निर्देशनमा प्रहरी प्रधान कार्यालय धापासीमा ‘सेफ हाउस’ नै खोलेको, त्यहाँ गम्भीर भ्रष्टाचारका उजुरी र तिनका प्रमाणमाथि छलफल नभई व्यक्तिमाथिका जासुसीका क्रियाकलाप सञ्चालन हुने गरेको, जसमा गुप्तचर प्रमुख रेग्मी को पनि संलग्नता रहेको समाचार पनि बाहिर आए । त्यो सेफ हाउसमा कार्कीका समर्थक, सचिवालयका कर्मचारीहरूसहित राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र आईजीपी अर्याल पनि नियमित रूपमा पुग्ने गरेको अख्तियार स्रोतको हवाला दिँदै समाचार बाहिर आएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीदेखि आलोचक नेता, पत्रकार, कर्मचारीलगायतको व्यक्तिगत विवरण र अन्य जासुसीका लागि खडा गरिएको उक्त अखडामा विरोधीलाई तह लगाउने रणनीतिसम्म तय हुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो । कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर आईजीपी अर्यालले अख्तियार पु¥याइदिएका थिए ।
गत वर्ष सार्क सम्मेलनका क्रममा उपकरण खरिद गर्ने क्रममा आफ्ना सम्धी रोहिणी थपलियाको कम्पनीलाई कार्कीले छनोट गर्न आईजीपी अर्याललाई दबाब दिएका थिए । ‘करिब एक साताको सूचना निकालेर सामान खरिद गरिएको थियो,’ स्रोतले भन्यो । सार्क सम्मेलनका दौरान प्रहरी प्रधान कार्यालयमा सामान खरिदमा भएको अनियमिततालाई अर्को संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले पनि पुष्टि गरेको छ । महालेखाले आफ्नो वार्षिक प्रतिवेदनमा सुरक्षाका लागि १७ करोड ५६ लाख रुपैयाँको जामर मेसिन, सञ्चार सामग्री, सीसीटिभीलगायत सामान खरिद गरिएको र त्यसक्रममा आवश्यक प्रक्रिया नपु¥याइएको उल्लेख गरेको छ । त्यस्तै गत असार मसान्तमा प्रहरी प्रधान कार्यालयले ३ लाखभन्दा कम रकमका सयौं टुक्रे योजना बनाई सामान खरिद गरेको र कार्कीको स्वार्थका ठेकेदार र व्यापारीले कोटेसनका आधारमा काम पाएका थिए । त्यसक्रममा ३० रुपैयाँ पर्ने सिट्ठीलाई डेढ सयसम्म र १२ सय रुपैयाँ पर्ने म्याजिक लाइटलाई ४५ सय रुपैयाँसम्म तिरिएको बताइन्छ । यी सबै फाइलमाथि अहिले अख्तियारले निगरानी बढाएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply