स्थिरता र समृद्धिको यात्रामा देउवाको तगारो
काठमाडौं । ‘चेत खुल्न कति हन्डर खानुपर्ला ?’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आएपछि वाम गठबन्धन मात्र होइन, निर्वाचनमा सर्वनाक पराजय भोगेको नेपाली कांग्रेसका युवानेताले आफ्नो पार्टीप्रति तेर्साएको प्रश्न हो यो । पार्टी नेतृत्व र अहिले सरकारको समेत नेतृत्वमा रहँदा गरिएका गलत क्रियाकलापको एकमुष्ट प्रतिफल नै निर्वाचनमा प्राप्त लज्जाजनक परिणाम हो भन्नेमा नेपाली कांग्रेसकै अगुवा युवामा कुनै अस्पष्टता छैन । त्यही भएर पनि उनीहरूले नेतृत्वमा सशक्त दाबी पनि अघि सारेका छन् ।
तर उदेकलाग्दो कुरा, कांग्रेस नेतृत्वको चेत अझै खुलेको छैन । सबैभन्दा ठूलो सत्ताधारी दल यस्तरी पराजित हुनुजस्तो एउटा पार्टीको जीवनमा ठूलो हन्डर अर्को के हुन सक्ला ? तर, नेतृत्वलाई अझै यसको बोध हुन सकेको छैन । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि अहिले निर्वाचनबाट दुई तिहाइ बहुमतका साथ उदाएका वाम दलहरूले त छँदै छ पार्टीभित्रकै पछिल्लो पुस्ताले नेतृत्व अब सच्चिनु आवश्यक रहेको भन्दै खबरदारी गरिरहेको छ । तर, कांग्रेस नेतृत्व यसमा झन्झन् जड रूपमा प्रस्तुत भएको छ । अरू त अरू निर्वाचनको परिणामवाट पाठ सिक्नु त कता हो कता निर्वाचनको आदेश, अझ भनौं जनमतको धज्जी उडाइरहेको छ । दुई तिहाइ प्राप्त दललाई सरकार गठन मार्ग प्रशस्त गर्नु त परको कुरा अझै सरकारको आयु कसरी लम्ब्याउने भन्ने षड्यन्त्रको तानाबुना बुन्नमा देउवा कांग्रेस उद्धत छ । आफूलाई सच्चा लोकतन्त्रवादी पार्टी भन्ने कांग्रेसले गरेको जनमतको उपेक्षाले आगामी दिनमा उसको बचेखुचेको साख कहाँ पु¥याउला भनिरहनैपर्दैन ।
अहिले मुलुकको प्रमुख कार्यभार भनेको निर्वाचन भइसकेको अवस्थामा निर्वाचनको मतादेशअनुसार सरकार निर्माण गर्ने र मुलुकलाई आर्थिक समृद्धिको दिगो बाटोमा डो¥याउने । तर, नेपाली कांग्रेस अझै यो कार्यभारतिर मुलुकलाई डोर्याउन इमानदार छैन । सत्तामा बसिररहन अनेक रोइलो सुरु भएको छ । निर्वाचन अघिसम्म चाहे राजदूत नियुक्ति प्रकरणमा होस्, चाहे मन्त्रिमण्डल विस्तार वा अरू कुनै प्रधानमन्त्री देउवाका गलत कदमविरुद्ध होस् सशक्त प्रतिवाद गर्ने कांग्रेसभित्रको प्रतिपक्षी समूह (रामचन्द्र पौडेल समूह) पनि यतिबेला देउवालाई गलत कामकै लागि उक्साइरहेको छ । यसले पनि कांग्रेस नेतृत्वको यो रवैया पराजयको कुष्ठाबाटै सिर्जित हो भन्ने बुझ्न गाहो छैन ।
कांग्रेस रवैया हेर्दा के प्रस्ट हुन्छ भने राजनीतिक स्थिरता र मुलुकको समृद्धिसँग उसको कुनै साइनो सम्बन्ध नै छैन । राजनीतिक स्थिरता र समृद्धिकै जगमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका हुन् र यसलाई पार्टी एकतासम्म पु¥याउने संकल्प ती दलले गरेका छन् । तर, अहिले पनि कांग्रेस मुलुकलाई च्याखे दाउमा राखेर सत्ताको बार्गेनिङ गरिरहेको छ । केही दिनअघि मात्र दक्षिणसँग सामीप्य भएका कांग्रेस नेता अमरेशकुमार सिंहले माओवादीतिर प्रधानमन्त्रीको पासा फ्याँकिसकेका छन् । पानी धमिल्याइरहेने र धमिलो पानीमा माछा मारिरहेने कांग्रेस प्रवृत्तिप्रति वाम गठबन्धन सचेत भएनन् भने यो प्रवृत्ति धेरै झाँगिनेछ । हुन त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका शीर्ष नेताले अस्ति राजधानीमा एक कार्यक्रम गरेर कांग्रेसको जालमा नफस्ने बताइसकेका छन् । उनीहरूले सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न पनि आग्रह गरेका छन् ।
वाम गठबन्धनका प्रमुख नेता ओली र दाहालले ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । दुवै नेताले गठबन्धन सरकार र पार्टी एकता राजनीतिक स्थायित्व र समृद्धिका लागि भएको दोहो¥याउँदै निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेलगत्तै संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेसमेत स्पष्ट पारे । साथै, उनीहरूले निकट भविष्यमै पार्टी एकताले पूर्णता पाउने सन्देशसमेत दिए ।
‘अहिलेसम्म ढिलो भयो भन्ने होइन, मतगणना हुँदै थियो । अब ढिलोमा सात दिनभित्र निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेपछि प्रक्रिया बढ्छ । कुनै संवैधानिक र व्यावहारिक अस्पष्टता छैन । गर्न खोजियो भने समस्या सिर्जना गर्न सक्छ,’ पत्रकार सम्मेलनमा ओलीले भने । सोमबार माओवादी केन्द्रको सचिवालय बैठकले पनि अविलम्ब सरकार निर्माण गर्न वर्तमान देउवा सरकारले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । नागरिक समाजका अगुवा, बुद्धिजीवीलगायत सबै क्षेत्रबाट जनादेशअनुसार सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न दबाब परे पनि यसमा प्रधानमन्त्री देउवा टसमस देखिएका छैनन् । उनको यो रवैया हेर्दा मुलुकले अझै दुई महिना नयाँ सरकार नपाउने खतरा देखिन्छ । यो कदम प्रधानमन्त्री देउवाका हानिकारक त हुँदै हो, उनको पार्टी नेपाली कांग्रेस र देशकै लागि पनि हानिकारक हुने निश्चित छ । विगतमा लागेका काला दाग पखाल्ने अवसरसहित सरकारमा पुगेका उनले अरू दाग थपेको निष्कर्ष अब पनि निकालिएन भने त्यो अरूको पनि कमजोरी हुनेछ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply