हामी कहिल्यै मधेसविरोधी छैनौं
० टिकट त सजिलै पाउनुभयो नि होइन ?
– पार्टी स्थायी समितिले मलाई विराटनगर महानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरका आमकार्यकर्ता र जनताको भावना बुझेर पार्टीले मलाई टिकट दिएको हो । यसमा के सजिलो ? के अप्ठ्यारो ? नगरदेखि जिल्ला, प्रदेश कमिटी हँुदै स्थायी कमिटीले निर्णय गरेको हो ।
० नाम त चर्चित नेता लालबाबु पण्डितको पनि थियो नि ?
– पार्टीभित्रका हरेक नेता र कार्यकर्ताहरूको उम्मेदवारीमा चर्चा हुनु स्वाभाविक हो । हाम्रो पार्टीभित्र एक से एक नेता–कार्यकर्ता छन् । सबै क्षमतावान् छन् । विराटनगरको चाहना मलाई मेयर बनाउने देखियो । त्यसैले स्वाभाविक रूपमा पार्टीले उम्मेदवारी घोषणा ग¥यो ।
० पार्टीको अध्यक्ष मेयरमा उठेर चुनावी गतिविधिलाई कसरी हाँक्नुहुन्छ ?
– काठमाडौंसँगै चर्चामा रहने मोरङमा मतदाता पनि बढी छन् । १७ वटा स्थानीय तह छन् । स्वाभाविक रूपमा चुनाव हाक्ने जिम्मेवारी छ । अहिले पार्टीका सबैजसो ठाउँमा सवै विषय मिलाएर उम्मेदवारी तय गरिसकिएको छ । त्यसैले सबैभन्दा महŒवपूर्ण विषय उम्मेदवार चयन हो । यो प्रक्रिया सहज भइसकेपछि चुनावी गतिविधि आफैं अगाडि बढ्छ । म हरेक चुनौतीलाई सामना गरेर अगाडि बढ्न सक्छु । यी सबै प्रक्रियामा सामेल हुँदै विराटनगरको उम्मेदवारका रूपमा प्रस्तुत भएको छु । चुनावी गतिविधि मैले एक्लै हाँक्ने होइन, सिंगो टिमले गर्छ । हामीसँग चुनाव नलड्ने नेताकार्यकर्ता थुप्रै हुनुहुन्छ । त्यसैले हामी सहज नै चुनौतीलाई पार गर्छौं र मोरङमा लालझन्डा फहराउन सफल हुनेछौं ।
० विराटनगर राजनीतिक तथा ऐतिहासिक नगरी हो । यसको महŒव र पहिचान जगाउन सक्नुहुन्छ ?
– विराटनगरलाई महानगर नबनाउन विभिन्न तौरतरिका अपनाएर षड्यन्त्र गरियो । जिविसमा देशका ठूला भनिएका पार्टीका नेताहरूले नै विराटनगरलाई महानगर नबनाउन दबाब दिए । हामीले विराटनगरको पहिचानलाई जोगाइराख्न बृहत्तर विराटनगरको कुरा ग¥यौं । तर यो कुरा कांग्रेसलाई पचेन । यो परिवेशमा नेकपा (एमाले) नै पहिलो पार्टी हो, विराटनगरलाईै महानगर बनाउनुपर्छ भनेर निर्णय गर्ने । हामीले निर्णय मात्र गरेनौं । यसमा मधेसवादी दललाई समेत सहमत गरायौं । र, निरन्तर महानगरका लागि खबरदारी र आन्दोलन ग¥यौं । यसबाट नै बुझिन्छ भने हामी विराटनगरको पहिचान जोगाउन काम गरिरहेका छौं । भविष्यमा विराटनगरको ऐतिहासिकता जोगाउन रुग्ण उद्योगहरूको सञ्चालन र यहाँका उद्योगी व्यवसायीको सम्मान र राजनीतिक नगरीको पहिचान जोगाउन अग्रज तथा आदरणीय नेताहरू मनमोहन, बीपी र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्ने संग्रहालयसमेत बनाएर विराटनगरको ऐतिहासिक र राजनीतिक पहिचान जोगाउँछु । र, यो देशकै पहिचानयुक्त सहर हुनेछ ।
० विराटनगरलाई नमुना बनाउने तपार्इंसँग के योजना छ ?
– हाम्रो पार्टी एमालेमा बुद्धीजिवि र योजनाविद्हरू हुनुहुन्छ । उहाँहरूको सहयोग र सल्लाहमा योजनाहरू ल्याइनेछन् । नेकपा (एमाले) ले विराटनगरको विकासका लागि घोषणापत्रसमेत तयार गरेको छ । यो चाँडै तपाईंहरूको हातमा आउनेछ । जसले यो पढ्नुहुन्छ, त्यसबाट मेरो योजना के छ भन्ने थाहा हुन्छ । मैले दुईवटा चरणमा योजना बनाएको छु । एउटा, पाँच वर्षभित्र विराटनगर के हुने र कस्तो हुने भन्ने योजना छ । अर्को, तत्कालै सय दिनभित्र निराशामा रहेका विराटनगरवासीलाइ खुसी दिने योजना छ । यी सबै योजना निर्वाचनको दैरानमै सार्वजनिक गर्नेछु ।
० घोषणापत्र आउँदै होला, अहिले जनताले बुझिने गरी भन्नुहोस्, विराटनगरमा विनोद ढकाललाई किन भोट दिने ?
– विनोद ढकाल प्रधान कुरा होइन । एमाले सामूहिक निर्णय र पार्टीको निर्दिष्ट लक्ष्यका साथ अघि बढेको तमाम श्रमजीवीहरूको पार्टी हो । पार्टीले बनाउने योजना र घोषणापत्र नै मेरा कामका फेहरिस्त हुन् । तथापि विराटनगरलाई अघि बढाउन म विराटनगरको भौतिक पूर्वाधारमा देखिएको अस्तव्यस्ततालाई केही समयभित्रै व्यवस्थित गरी कामलाई चाँडै टुंगो लगाउनेछु । विराटनगरका लक्षित वर्ग दलित र सुकुम्बासीहरूका लागि एकीकृत बस्ती निर्माण गर्नेछु । नगरभित्र पछाडि पारिएका मुसहर, डुमलगायतका विपन्न वर्गका लागि काम गर्नेछु । विराटनगरका व्यस्त वजारमा तत्कालै अकासे पुल बनाउने योजना ल्याउनेछु । दुई वर्षभित्र विराटनगरका उद्योगीले माग गर्दै आएको विशाल औद्योगिक तथा व्यापारिक प्रदर्शनी स्थल निर्माण गर्नेछु । महिलाका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नेछु । सुत्केरी महिलालाई दिइँदै आएको प्रसूति बिदा समय बढाउनेछु । विद्यालय जान नपाएका बालबालिकाका लागि विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्नेछु । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुविधादेखि घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने योजना ल्याइनेछ । मुस्लिम तथा मधेसी समुदायका लागि विशेष कार्यक्रम ल्याइनेछ । मदरसाहरूलाई विशेष राहत र प्याकेज दिइनेछ ।
० तपार्इंसँग चुनाव जित्ने आधारहरू के छन् ?
– पहिलो कुरा त पार्टीको विशाल पंक्ति र देश निर्माणका लागि एमालेले बुनेको सपना र त्यसको सफल कार्यान्वयन नै मेरो जित्ने आधार हो । विगत ३४÷३५ वर्षदेखि म विराटनगरको विकास र प्रगतिमा क्रियाशील छु । विराटनगरले गरेका हरेक आन्दोलनका मोर्चामा अग्रभागमा छु । आफ्नो ज्यानको कुनै पर्वाह नगरीकन निरन्तर निष्ठाका साथ प्रतिबद्ध छु । म हरेक जनताको काममा चिन्तित भएर लागेको पनि छु । मकहाँ आउने हरेक जनताको समस्यामा म दत्तचित्त भएर समाधान गर्न लागेको छु । यी सबै कारणले मलाई चुनाव जित्न गाह्रो छैन ।
० तर पछिल्लो संविधानसभाको निर्वाचनमा विराटनगरबाट एमालेलाई मत नआएको आँकलन गर्दै एमाले कमजोर छ भन्ने कतिपय विश्लेषण पनि बाहिर आएको छ ?
– नेकपा (एमाले) ले २०५४ सालमा विराटनगरमा विजयी हासिल गरेको इतिहास छ । २०४९ सालमा कांग्रेसले एकलौटी धाँधली गर्दा पनि हामीले सम्मानजनकमत ल्याएका थियौं । विगतको निर्वाचनमा विराटनगरमै जोडिएको निर्वाचन क्षेत्रबाट गुरु बराल र कमल कोइरालाजस्ता नेताले चुनाव जित्नुभयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जातीयताको नारा घन्किरहेको बेला एमालेको केही मत तितरबितर भए । पछिल्लो समयमा नेकपा (एमाले) को नेतृत्वमा सरकार बनेपछि यसले अडान र विकास प्रेमी भावनाका कारण एमाले छोडेर गएका या भावनामा मत दिनेहरूले अब एमालेको विकल्प छैन भनेर चुनावी प्रचारमा आइसकेका छन् । अहिले पनि टोलटोलमा सयौंको संख्यामा घर दैलो चलिरहेको छ । यसबाट हामी थाहा पाउँछौं । एमाले अब विराटनगरमा कमजोर छैन र एक ढिक्काका साथ निर्वाचन जित्ने अभियानमा लागिसकेको छ ।
० विराटनगर मधेसी तथा मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र पनि हो । अहिले एमालेलाई लक्षित गरेर मधेसविरोधी भनिएको छ । मधेसीको एजेन्डामा एमाले कठोर बन्यो भन्ने आवाज छ, तपार्इं यी सबै चुनौतीलाई छिचोलेर मधेसी तथा मुस्लिम समुदायको मत ल्याउन सक्नुहुन्छ ?
– हाम्रो पार्टी एमालेले हिजो पनि मधेसविरोधी थिएन र भोलि पनि हुनेछैन । हामी मधेसी जनताको हितकै लागि वर्गसंघर्षको कुरा गरेर आयौं । नेकपा (एमाले) त्यस्तो पार्टी हो । जसले २०५१ सालमा ल्याएको बजेटदेखि एक वर्षअघिको पार्टी अध्यक्ष आदरणीय केपी ओली नेतृत्वमा बनेको सरकारमार्फत गरिएका कामबाट छर्लङ्ग हुन्छ एमाले कस्तो पार्टी हो भनेर । २०५१ सालमा एमालेले ‘आफ्नो गाउँ आफंै बनाऔं’ भन्ने कार्यक्रम नल्याएको भए तराईका धेरै बस्ती अझै पनि डुबाउ र अविकसित रहन्थे । केपी ओलीको सरकारले मधेसमा हुलाकी मार्ग निर्माण सदरमुकाम निर्माण र मधेसका गरिबहरूका लागि सुरक्षित आवासको कार्यक्रम ल्याएको छ । देशमा हालीमुहाली गर्ने कांग्रेस कथित क्रान्तिकारी भन्ने माओवादीले समेत मधेसी जनतालाई यत्तिको बजेट छुट्ट्याएनन् । पञ्चायत कालदेखि हालीमुहाली गर्दै आएका कतिपय मधेसी नेताहरू गणतन्त्र कालसम्म पनि मन्त्री भए । तर, मधेसी जनताको कहिल्यै हित गरेनन् । यी सबै तथ्यहरूलाई विश्लेषण गर्नुहोस् । एमालेभन्दा अरू कुनै मधेसवादी छैन । छन् भने शब्दमा मात्रै छन्, व्यवहारमा छैनन् । हामीेले मुस्लिमका विषयम पनि कुरा उठाएका छौं । पछिल्लो समय मुस्लिमहरूलाई मतदानबाटै वञ्चित गर्ने प्रयत्न गर्दा सशक्त रूपमा आवाज उठाउने हामी नै हौं ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply