20th October 2018, Saturday

E-budhabar

जहाँ फुल्दै छ एउटा सार्थक सपना



जहाँ फुल्दै छ एउटा सार्थक सपना

आखिर सपना देख्नेहरू नै बदल्छन्– सिंगो संसार, आफू बाँचिरहेको समाज÷परिवेश । युवा सर्जक कमल ढकालसँग पनि सपनाका अनगिन्ति थाकहरू थिए । तिनै सपनामध्ये अहिले एउटा स्वप्नले सार्थक र समृद्ध गोरेटो समातेको छ । त्यो हो– ‘लेखन–कुञ्ज’ । अचेल ‘लेखन–कुञ्ज’लाई सर्जकहरूको मन रमाउने थलोका रूपमा स्थापित गराउन हरेक क्षण व्यस्त र व्यग्र रहन्छन् उनी । र, लेखन–कुञ्जमा खर्चिएका छन्– तन, मन र धन पनि ।
नयाँ बानेश्वर चोकबाट थापा गाउँतिर मोडिँदा बिजुली बजारको पुल नपुग्दै उत्तरतिर सोझिएको बाटाभन्दा केही पर ढकालले वर्षौंदेखि साँचिराखेको स्वप्न फुल्दै छन्, यतिबेला । लेखन–कुञ्ज निर्माणले तीव्र गति समातिरहेको छ । बाँसले बारेका घरहरू बन्दै छन् । गोबर, भुस र माटाले बाँस–निर्मित घरका भित्ताहरू लिपिँदै छन् । दक्षिणतिर फर्किएका घरहरू वरिपरि फलफूल र वनस्पतिहरू रोपिँदा त्यो ठाउँ कति सुन्दर र सौम्य देखिएलान्, अहिले नै कल्पना गर्न सकिन्छ । त्यस्तो भूभागमा सिर्जनाको मैदानमा परेड खेल्ने सर्जकहरूको मन नरमाउला भन्न सकिन्छ र ?
जीवनका साढे तीन दशक बिताइसकेका ढकाल भन्छन्, ‘मेरो सपना नै यो कुञ्ज चलोस्, स्रष्टाहरूको हब बनोस् भन्ने हो । जसरी कोसी टप्पुमा बाह्य देशका चराचुरुंगीहरू आएर बस्छन्, यो कुञ्जमा पनि देशभरिका स्रष्टाहरू आएर लेखन, चिन्तन र मनन गरोस् भन्ने मेरो सपना हो ।’ निःशंकोच भन्छन् पनि, ‘अब जीवनका २० वर्ष म यही कामका लागि सुम्पिन्छु ।’
लेखन–कुञ्जमा सर्जकहरूको मन शतप्रतिशत नै रमाउने वातावरण हुनेछ । कुञ्जभित्रकै ‘शब्द क्याफे’मा सर्जकहरूले कफी, चिया र नास्ता खाँदै चिन्तन गर्न सक्नेछन् । बजारका चल्तीका मःमः, चाउमिन, पिज्जा वा बर्गर खाने इच्छा कसैमा पलाए भने नयाँ बानेश्वर वा अनामनगरतिर आउनुपर्नेछ । किनकि, त्यो क्याफेमा अर्गानिक र मौलिक नेपाली खाजा मात्र राखिनेछन्, फापरको रोटी, गुन्दु्रक, मकै, भटमास, जुनेलो आदि । ढकाल भन्छन्, ‘हामीले स्वास्थ्यलाई ध्यानमा राखेर पनि मौलिक नेपाली खाजा राख्ने निधो गरेका हौं ।’
लेखन–कुञ्जभित्र रहनेछ– किताब–कुञ्ज । जहाँ संसारभरिका प्रख्यात अनुहारहरूका बायोग्राफी संगृहीत हुनेछन् । संगृहीत बायोग्राफीसँगै ती बिक्रीमा पनि राखिनेछन् । किताब–कुञ्जकै निकटमा बन्दै छ, सभा–कुञ्ज । मूलतः नाटक मञ्चनका लागि बनाइएको हो, सभा–कुञ्ज । तर, सभा–कुञ्जमा जुनकुनै विषयका नाटक मञ्चन भने हुनेछैन । विशुद्ध बायो–नाटक मात्र मञ्चन गरिनेछन् । ढकालको कथन छ, ‘हामी जीवनीमा आधारित नाटक मात्र मञ्चन गर्नेछौं । यो हाम्रो सन्दर्भमा नौलो काम हो ।’ तर, नाटक मञ्चन हुने समय प्रायः बेलुकी हुने भएकाले अरू समय भने पुस्तक–विमोचन, अन्तक्र्रिया, गोष्ठी, कला प्रदर्शनी, संगीत प्रस्तुति पनि हुनेछ, त्यो कुञ्जभित्र ।

यी कुञ्जहरूभन्दा केही फरक र अनौठा कुञ्जहरू पनि बन्दै छन् । एउटा हो, कौतूहल–कुञ्ज । यदि कसैलाई आफूलाई मन परेका स्रष्टासँग कौतूहल मेटाउनु छ भने त्यही कुञ्ज रोज्नुपर्ने छ । स्रष्टासँग मन माझ्न सकिनेछ, त्यो कुञ्जमा बसेर । अर्को छ, शान्त–कुञ्ज । ढकाल भन्छन्, ‘लेखनका निम्ति ध्यानको आवश्यकता उत्तिकै हुन्छ । त्यो कुञ्जमा बसेर शान्त रूपले लेख्ने, पढ्ने व्यवस्था गरिएको छ ।’ तर, त्यसका निम्ति भने एक दिनको समय बुक गर्नुपर्नेछ । ५ सय रुपियाँ तिरेर ‘शान्त–कुञ्ज’ बुक गर्नुपर्ने छ र आफूलाई मन परेका पुस्तक अध्ययन गर्ने वा लेख्ने, त्यो लेखकको मर्जीको कुरा हुनेछ । तर, उक्त कार्यमा सःशुल्क संलग्न हुनेलाई खाजा र चियाको बस्दोबस्त भने छुट्ट्याइएको छैन ।
रत्तिभर सन्देह छैन कि काठमाडौंको उत्तर–पूर्वी भेग मूलपानीका रैथाने ढकालको सपना र इच्छाशक्तिको मूर्तरूप हो, लेखन–कुञ्ज । ‘राजधानी’, ‘नेपाल समाचारपत्र’जस्ता मूलधारका समाचारपत्रहरूमा लामो समय कलम घोटे पनि दशकयता भने ढकालको मन घोस्ट राइटिङमै रमाउन पुग्यो । भन्छन्, ‘पत्रकारिताले जीवन धान्न नसकिने बोध भएपछि मैले केही वर्ष व्यापार–व्यवसायमा पनि आफूलाई संलग्न तुल्याएँ । ट्राभल्स एजेन्सी, एड एजेन्सी, अस्पताल, नर्सिङ होम, कलेजजस्ता क्षेत्रमा हात हालें ।’ व्यापार–व्यवसायबाट आर्थिक गर्जो टर्दै जान थालेपछि उनीभित्र रहेको लेखन–मोह पुनः पलायो । नेपाल समाचारपत्रको चर्चित स्तम्भ ‘गो अहेड’मा जमिरहेका उनलाई २०६४ सालमा कर्ण शाक्यले बोलाए र भने, ‘म एउटा किताब लेख्ने पक्षमा छु । तिम्रो लेखनमा सकारात्मक चिन्तन र पक्ष पाएँ ।’ शाक्यसँगको सम्पर्क र संगतले सार्थक दिशा समात्यो । शाक्यको पहिलो पुस्तक ‘म सक्छु’को उनले नै लेखन÷सम्पादनको जिम्मा लिए ।
‘किताब लेखेको कति लिनुहुन्छ ?’ सोधे शाक्यले । उनले मागे ४ लाख । तर, शाक्यले भने, ‘३ लाख दिन्छु ।’ ढकाल भन्छन्, ‘कहाँ अखबारमा थोरै रकममा काम गरिरहेको मान्छे, ३ लाख पाउने भएपछि म अगाडि बढें ।’ तिनै शाक्यले एक दिन सुझाए, ‘अब नेपालमा पनि घोस्ट राइटिङको काम थाल्नुस् ।’ त्यसअघि घोस्ट राइटिङबारे उनलाई केही अत्तोपत्तो थिएन । २०६६ मा दर्ता गरेको घोस्ट राइटिङले काम भने २०६८ देखि थाल्यो । भन्छन्, ‘त्यही समय मैले गो अहेड नामक किताब छापें । सो किताब ७ हजार प्रति बेच्दा १४ लाख रूपैयाँ आम्दानी भयो । त्यसले ममा अझ उत्साह थप्यो ।’ त्यसयता सिर्जनात्मक लेखनसम्बन्धी कार्यशालासमेत चलाइरहेका ढकालको पछिल्लो कदम नै ‘लेखन–कुञ्ज’ हो ।
थापागाउँको ओरालोमा पूर्वसांसद राधेश्याम अधिकारीको जग्गा थियो– चार रोपनी । त्यही जग्गा लिजमा लिए उनले १० वर्षका निम्ति । महिनामा ८० हजार तिर्नेगरी लिजमा लिइएको उक्त जग्गामै बन्दै छ, लेखन–कुञ्ज । अहिलेसम्म १ करोड १५ लाख खर्च भइसकेको छ । भन्छन्, ‘म लेखन–कुञ्जलाई जसरी पनि चलाउँछु । मूलपानीको जग्गा बेचेरै भए पनि चलाउँछु ।’ र, ‘प्रत्येक मानिस नलेखिएको किताब हो, लेख्न काम हामी गर्छौं’ यस्तो नारासहित आएका ढकालको संकल्पशक्तिलाई मान्नैपर्ने हुन्छ । आखिर, संकल्पजति ठूलो कुरा संसारमा अरू के नै छ र ?

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा