24th October 2018, Wednesday

E-budhabar

भूमण्डलीकरण र साहित्यको चिरफार



भूमण्डलीकरण र साहित्यको चिरफार

डा. अमर गिरीको ‘भूमण्डलीकरण र साहित्य’ शीर्षकको कृति भर्खरै प्रकाशित भएको छ । यसभित्रका विभिन्न लेख साहित्यिक विमर्शका विविध विषयहरूसँग सम्बन्धित छन् । साहित्यका विविध विषयमा उनले लामो समयदेखि कलम चलाउँदै आएका छन् । उनको कलम सैद्धान्तिक र प्रायोगिक दुवै समालोचनामा चलेको छ । यसअघि उनका ‘समय, समाज र संस्कृति’ एवं ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ नामक समालोचनात्मक कृतिहरू प्रकाशित भइसकेका छन् । गिरी प्रतिबद्ध माक्र्सवादी कवि तथा समालोचक हुन् । माक्र्सवादी साहित्य चिन्तनका आधारमा साहित्यसम्बन्धी आफ्ना विचारहरूलाई प्रस्तुत गर्नु उनको विशेषता हो ।
साहित्यका अतिरिक्त प्राज्ञिक विमर्शका अन्य विषयहरूमा पनि गिरीले कलम चलाउँदै आएका छन् । खासगरी संस्कृति र पहिचानका विषयमा उनले गम्भीर रूपमा आफ्ना विचारहरूलाई प्रस्तुत गरेको पाइन्छ । माक्र्सवादी चिन्तकका रूपमा समकालीन विमर्शका विविध विषयमा आफूलाई गम्भीर रूपमा प्रस्तुत गर्नु उनको उल्लेखनीय पक्ष हो । प्रस्तुत कृति पढ्दा पनि यो कुरा स्पष्ट हुन्छ । कृतिभित्र उनले साहित्यबाहेकका विषयमा पनि कलम चलाएका छन् । पुस्तकमा विविध विषयसँग सम्बन्धित ११ वटा लेखहरू छन् ।
‘भूमण्डलीकरण र सांस्कृतिक आक्रमण’ लेखमा भूमण्डलीकरण के हो भन्ने कुरालाई स्पष्ट गर्दै यसका माध्यमबाट भइरहेको सांस्कृतिक आक्रमणबारे चर्चा गरिएको छ । गिरीले भूमण्डलीकरणलाई सकारात्मक भन्दा पनि नकारात्मक परिघटनाका रूपमा अथ्र्याएका छन् र समकालीन पुँजीवादको अर्को रूप भएको उल्लेख गरेका छन् । लेखक भूमण्डलीकरणलाई मूलतः आजको साम्राज्यवादका रूपमा उल्लेख गर्छन् र यसलाई विचार वा वस्तुको विश्वव्यापी प्रवाह मात्र सम्झने र यसलाई सकारात्मक परिघटनाका रूपमा अथ्र्याउने दृष्टिकोणको तिखो आलोचना गर्छन् । समरूपीकरण, बजारीकरण, उपभोक्तावाद, वर्णशंकरीकरण, पश्चिमीकरण, प्रभेद र अभेद, व्यक्तिवाद आदि भूमण्डलीकरणका सांस्कृतिक अभिलक्षण हुन् र यिनले हाम्रो मौलिक संस्कृतिमाथि आक्रमण गरेका छन् भन्ने लेखकको दृष्टिकोण रहेको छ । लेखक आजको पुँजीवाद विश्वमा भूमण्डलीकरणका माध्यमबाट आर्थिक, राजनीतिक मात्र होइन, सांस्कृतिक वर्चस्व पनि चाहन्छ भन्छन् ।
‘माक्र्सवादी साहित्य सिद्धान्त’ शीर्षक लेखमा माक्र्सवादी साहित्य सिद्धान्तका बारेमा सविस्तार चर्चा गरिएको छ । माक्र्सवादी साहित्य सिद्धान्तको पृष्ठभूमि, यसको सैद्धान्तिक आधार, माक्र्सवादी साहित्य चिन्तकहरू, यसको सैद्धान्तिक पक्ष, साहित्यको जन्म, साहित्य र आर्थिक सामाजिक जीवन, साहित्यको वर्गीय आधार र पक्षधरता, साहित्यको प्रयोजन र उपयोगिता, साहित्य र यथार्थ, साहित्यको अन्तर्वस्तु र रुप, मूल्यांकन सम्बन्धी माक्र्सवादी दृष्टिकोण, सौन्दर्यसम्बन्धी माक्र्सवादी अवधारणा आदिका विषयमा लेखमा गहिरो विश्लेषण गरिएको छ । ‘भूमण्डलीकरण, उपभोक्तावाद र साहित्य’मा साहित्यमा भूमण्डलीकरणको प्रभावलाई रेखाङ्कित गरिएको छ । लेखकले भूमण्डलीकरणका कारण साहित्यले आफ्नो समाजपरक र सौन्दर्यपरक भूमिका गुमाउँदै गएको, साहित्यलाई पिज्जा र बर्गर जस्तो बनाइँदै गरेको धारणा प्रस्तुत गरेका छन् । हुन पनि साहित्यमाथि आज उपभोक्तावादको गहिरो प्रभाव परेको छ र साहित्यले आफ्नो गरिमा गुमाउँदै गएको छ ।
पहिचानको राजनीति र साहित्य समकालीन प्राज्ञिक विमर्शको अर्को महŒवपूर्ण विषय हो । नेपालमा पनि यस विषयमा प्राज्ञिक छलफल हुँदै आएको छ । ‘माक्र्सवाद, पहिचानको राजनीति र साहित्य’ लेखमा गिरीले पहिचानको राजनीतिबारे माक्र्सवादी दृष्टिकोण प्रस्तुत गर्दै साहित्यमा परेको यसको प्रभावलाई विश्लेषण गरेका छन् । लेखक पहिचानको राजनीतिको आलोचक रहेका छन् र यसले उत्पीडनका वास्तविक मुद्दा र त्यसविरुद्ध गरिनुपर्ने संघर्षलाई गलत दिशा दिन्छ भन्ने उनको निष्कर्ष रहेको छ । पहिचानको राजनीतिले उठाएका कतिपय विषयहरू महŒवपूर्ण रहे पनि समग्रमा पहिचानको राजनीतिसँग आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक उत्पीडनबाट मुक्ति र समानता एवं सामाजिक न्यायको प्राप्तिको कुनै उपयुक्त सैद्धान्तिक, वैचारिक आधार छैन भन्ने दृष्टिकोण लेखकले प्रस्तुत गरेका छन् ।
एक्काइसौं शताब्दीको विश्वसन्दर्भको चर्चा गर्दै नेपाली साहित्यमा त्यसको प्रभाव र नेपाली साहित्यले हिँड्नुपर्ने बाटोको विषयमा ‘एक्काइसौं शताब्दीको विश्वसन्दर्भ र नेपाली साहित्य’मा विश्लेषण गरिएको छ । लेखकले नेपाली साहित्य समाज र जीवनसँग अझ गहिरो गरी जोडिँदै अघि बढ्नुपर्ने र विश्वसाहित्यको ऊध्र्वगामी धारासँग यसको सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् । नेपाली साहित्यको मौलिक स्वरलाई उनले अझ बढी महत्व दिएका छन् । उत्तरआधुनिकतावादको चिरफार गर्ने काम ‘रूप र सारमा उत्तरआधुनिकतावाद’ भन्ने लेखमा गरिएको छ । केही दशक पहिलेदेखि नै नेपाली साहित्यमा यस विषयमा गम्भीर छलफल हुँदै आएको छ । यस विषयमा गम्भीर बहस गर्नेहरूमा एक लेखक स्वयं पनि हुन् । लेखक उत्तरआधुनिकतावादका आलोचक रहेका छन् र माक्र्सवादीहरूले मात्र होइन साहित्यको सामाजिक प्रयोजनलाई महŒव दिने सबैले यसको वैचारिक प्रतिवाद गर्नुपर्छ भन्छन् । उत्तरआधुनिकतावादको आलोचना गर्नुपर्ने आधार र आवश्यकतालाई लेखमा गहिरो गरी प्रस्तुत गरिएको छ ।
सांस्कृतिक अध्ययनका विषयमा नेपालमा छलफल गर्न थालिएको लामो समय भएको छैन । पश्चिममा सन् १९६० को दशकदेखि सांस्कृतिक अध्ययनको आरम्भ भए पनि नेपालमा यससम्बन्धी बहस भर्खरभर्खर सुरु भएको छ । ‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’ लेखमा लेखकले सांस्कृतिक अध्ययनको आरम्भ, यसको सैद्धान्तिक अवधारणा, यसका उद्देश्य आदिबारे गहिरो प्रकाश पारेका छन् । ‘सांस्कृतिक चिन्तनमा ग्राम्सी’ लेखमा ग्राम्सीको सांस्कृतिक चिन्तनबारे संक्षेपमा प्रकाश पारिएको छ । उनको सांस्कृतिक चिन्तन आज पनि निकै महŒवपूर्ण रहेको दृष्टिकोण लेखमा प्रस्तुत गरिएको छ । सांस्कृतिक वर्चस्व (कल्चरल हेजेमोनी) लाई ग्राम्सीको महŒवपूर्ण सांस्कृतिक अवधारणाका रूपमा लिइन्छ भन्दै उनका संस्कृतिसम्बन्धी अवधारणाको गलत व्याख्या गर्ने कार्य माक्र्सवादी र गैरमाक्र्सवादी दुवैबाट भएको भन्ने धारणा पनि लेखकको रहेको छ ।
‘साहित्य र बजार’मा बजारबाट साहित्य कसरी नियन्त्रित र निर्देशित हुँदै छ भन्ने यथार्थलाई देखाइएको छ । ‘नारीवादी आन्दोलन र साहित्य चिन्तन’मा नारीवादी आन्दोलन र चिन्तनलाई प्रस्तुत गर्दै साहित्यमा परेको त्यसको प्रभावको चर्चा गरिएको छ । नेपाली साहित्यमा परेको त्यसको प्रभावबारे पनि विश्लेषण गरिएको छ । ‘बदलिएको सन्दर्भ र भाषा साहित्य’मा २०६२÷६३ को ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिका सन्दर्भमा भाषा र साहित्यबारे विचार गरिएको छ । नेपालभित्र बोलिने सबै मातृभाषा र तिनमा रचिएका साहित्य नेपाली भाषा र साहित्य हुन् भन्दै भाषिक विभेद र उत्पीडनको अन्त्य हुनुपर्ने धारणा लेखमा व्यक्त गरिएको छ ।
समग्रमा भन्दा यस पुस्तकभित्रका सबै सामग्रीहरू महŒवपूर्ण छन् । प्राज्ञिक दृष्टिले ती गहकिला र खँदिला छन् । समकालीन साहित्यिक विमर्शका सन्दर्भमा यस कृतिको आफ्नै महŒव रहेको छ । यसले समालोचक गिरीको प्राज्ञिक व्यक्तित्वलाई राम्रोसँग उद्घाटन गरेको छ । पुस्तक पढ्दा उनी कवि मात्र नभएर साहित्यका गम्भीर अध्येता र चिन्तक पनि हुन् भन्ने स्पष्ट हुन्छ । साहित्यकार शार्दूल भट्टराईको लामो भूमिका पुस्तकमा समावेश गरिएको छ । भट्टराईले यस पुस्तकबारे सटीक विश्लेषण गरेका छन् । यस कृतिलाई एउटा महŒवपूर्ण पाठ्यपुस्तककै रूपमा लिनुपर्छ र यस कृतिको अध्ययनबाट हामीलाई ज्ञानको नयाँ क्षेत्रमा प्रवेश गरेको अनुभव हुनेछ भन्ने उनको भनाइ उपयुक्त नै रहेको छ । पुस्तक पठनीय र संग्रहणीय छ । पुस्तकमा भाषिक त्रुटि भने ठाउँठाउँमा पाइन्छ । अर्को संस्करणमा यसमा ध्यान दिनुहुनेछ भन्ने अपेक्षा छ । पुस्तकको साजसज्जा राम्रो छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा