20th October 2018, Saturday

E-budhabar

मुख्य मन्त्रीको दौड ः कसले मार्ला बाजी ?



काठमाडौं । प्रदेशसभामा दलहरुले जितेको सिट संख्या निर्वाचन आयोगले टुंग्याएलगत्तै मुख्य मन्त्रीका दाबेदार नेताहरुले ‘लविङ’ सुरु गरेका छन् । सातओटा प्रदेशमध्ये प्रदेश नम्बर २ बाहेकमा वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि ती दलबाट मुख्य मन्त्रीका आकांक्षीले ‘लविङ’ तीब्र थालेका हुन् ।
सरकारले निर्धारण गरेको वरियतामा केन्द्र सरकारको उपप्रधानमन्त्री सरहको मर्यादा रहने मुख्य मन्त्री प्रदेश सरकार प्रमुख हुनेछन् । शक्तिसाली र आकर्षक पद भएका कारण प्रदेशसभामा निर्वाचित एमाले र माओवादी केन्द्रका ‘हेभिवेट’नेताहरुले सार्बजनिक रुपमै आफूलाई दाबेदारका रुपमा उभ्याएका छन् । अहिलेसम्म दुई दर्जन नेताहरु मुख्य मन्त्रीको दौडमा अग्रपंक्तिमा छन् ।
वाम गठबन्धनको ठूलो दल एमालेले ५ र माओवादी केन्द्रले २ प्रदेशमा दाबी प्रस्तुत गरेका छन् । जसअनुसार एमालेले १, ३, ४, ५ र ७ तथा माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेले एकल सरकार गठन गर्न सक्नेगरी बहुमत प्राप्त गरेको छ । २ नम्बरबाहेक बाँकी प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी ६ ओटै प्रदेशमा तेस्रो स्थानमा छ ।
एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकार र प्रदेश सरकार गठन प्याकेजमै टुंगो लगाउनेगरी अनौपचारिक छलफल थालेका छन् । अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अन्य शीर्ष नेताहरुलाईसमेत नराखी दुवै सरकार गठन र पार्टी एकताका सन्दर्भमा ‘पदीय भागवण्डा’ प्याकेजमै टुंग्याउनेगरी छलफल थालेका हुन् । विहिबार दुई नेताले राती अबेरसम्म केन्द्र र प्रदेश सरकारसहित पार्टी एकताका विषयमा लामो कुराकानी गरेका थिए ।
‘हामीले माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता मुलुकमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्धेश्यसहित गरेका हौं त्यसैले न हामीले सबै प्रदेशमा एकलौटी सरकार बनाउँछौं भनेका छौं, न उहाँहरुले भन्नुहुन्छ, एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने,‘को कहाँ मुख्य मन्त्री बन्ने भन्दा पनि सम्बन्धित प्रदेशको आवश्यकताअनुसार टुंगो लगाउने तयारीमा छौं, योग्यतमभन्दा योग्यतम साथीहरुलाई जिम्मेवारी दिन्छौं ।’
प्रदेश १ मा चारको दाबेदार
एकलौटी बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेका चार नेता मुख्यमन्त्रीको ‘लविङ’मा लागेका छन् । सुनसरीबाट विजयी सचिव भीम आचार्य, भोजपुरबाट विजयी पूर्व सञ्चार मन्त्री तथा पोलिटब्यूरो सदस्य शेरधन राई, भोजपुरबाटै केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष राजेन्द्र राई मुख्यमन्त्रीको दाबेदार देखिएका छन् । उता, अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाबाट केन्द्रीय सदस्य तथा अखिलकै पूर्व अध्यक्ष हिक्मत कार्कीले पनि मुख्यमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन् । यो प्रदेशमा दोस्रो दल कांग्रेसबाट कोही पनि दाबेदार छैनन् ।
२ मा आधा दर्जनको दौड
प्रदेश नम्बर २ मा कुनै पनि दलको एकल बहुमत नभएकाले मधेस केन्द्रीत दल संघीय फोरम र राजपा तथा एमाले नेताहरु मुख्य मन्त्रीको दौडमा छन् । प्रदेश सभाको १ सय ७ सिटमा मधेस केन्द्रीत दुई दल मिलेको अबस्थामा भने प्रत्यक्ष र समानुपातिकसहित ५४ सिट पुग्दा सामान्य बहुमतको समिकरण बन्नेछ । तर, मुख्यमन्त्रीमा राजपासँग कुरा नमिले २९ सिट जितेर प्रदेशमा ठूलो दल बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले भने वाम गठबन्धनसँग पनि समानन्तर छलफल सुरु गरेको उनी निकट स्रोतले जनाएको छ । यो प्रदेशमा राजपाले २५, एमालेले २१ र कांग्रेसले १९ सिट जितेका छन् । अहिलेसम्म फोरमबाट पर्साबाट विजयी लालबहादुर रावत, सिरहाबाट विजयी विजय यादव तथा राजपाबाट सप्तरीबाट विजयी महामन्त्री मनिषकुमार सुमन तथा बाराबाट विजयी नेता जितेन्द्र सोनल दाबेदार छन् । एमालेबाट सप्तरीबाट विजयी प्रदेश संयोजक सत्यनारायण मण्डल दाबेदार छन् ।
प्रदेश ३ मा ‘हेभिवेट धेरै
१ सय १० सिटमा ६८ सिट जितेका कारण एकलौटी सरकार गठन गर्ने स्थितिमा रहेको एमालेबाट धेरै ‘हेभिवेट’ नेता मुख्य मन्त्रीको दौडमा छन् । काठमाडौंबाट विजयी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, दोलखाबाट विजयी पोलिटब्यूरो सदस्य पशुपति चौंलागाईं, धादिङबाट विजयी राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदारका रुपमा दौडको अग्रपंक्तिमा छन् । पार्टी उपाध्यक्ष र महिला नेतृ भएकाले लैंगिक सन्तुलन मिलाउन शाक्यलाई बनाउनुपर्ने दबाबमा एमाले शीर्ष नेतृत्व छ ।
४ मा दुई गुरुङबीच प्रतिस्पर्धा
४ नम्बर प्रदेशको ६० सिटमा वाम गठबन्धन ३९ सिट जितेर बहुमतमा छ । गठबन्धनकै सरकार बन्ने देखिएपछि लमजुङबाट विजयी एमाले सचिव पृथ्बीसुब्बा गुरुङ र तनहुँबाट विजयी स्थायी समिति सदस्य किरण गुरुङले दौड तीब्र पारेका छन् । भर्खरै जिल्लाबाट काठमाडौं फर्किएका सचिव गुरुङ नेताहरुसँगको भेटघाटमा छन् भने स्थायी समिति सदस्य गुरुङ निर्वाचन क्षेत्रमै छन् । दुवै नेतालाई अध्यक्ष ओलीसहित शीर्ष नेताहरुले मुख्यमन्त्रीको आश्वसन दिएको स्रोतले जनाएको छ । माओवादी केन्द्रले यो प्रदेशमा दाबी प्रस्तुत गरेको छैन ।
५ मा पोखरेल निर्विकल्प
स्थायी समिति सदस्य तथा पूर्व सञ्चारमन्त्री शंकर पोखरेल ५ नम्बर मुख्य मन्त्रीको उम्मेदवार सर्बसम्मत देखिएका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच चुनावअगावै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएकाले उनको नाम अहिलेसम्म सर्बसम्मत देखिएको हो । एमालेबाट बैकल्पिक पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी पनि दाबेदार मानिए पनि उनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । पूर्वसहमतिअनुसार माओवादी केन्द्रले यो प्रदेशमा दाबी गरेको छैन ।
६ मा भण्डारी र शाहीको दाबी
प्रदेश नम्बर ६ मा माओवादी केन्द्रले मुख्यमन्त्रीका लागि सशक्त दाबी प्रस्तुत गरेको छ । अन्य प्रदेश एमालेलाई दिने अनौपचारिक समझदारी भइसकेको भन्दै पोलिटब्यूरो सदस्यद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाही‘प्रज्वल’ले सशक्त दाबी प्रस्तुत गरेका हुन् । भण्डारी जुम्ला र शाही कालिकोटबाट विजयी सांसद हुन् । सल्यानबाट विजयी एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र सुर्खेतबाट विजयी अर्का पोलिटब्यूरो सदस्य यामलाल कँडेल पनि मुख्य मन्त्रीको चर्चामा छन् ।
७ मा चौधरी र बोहोरा प्रमुख दाबेदार
प्रदेश नम्बर ७ मा दाबी गरिरहेको माओवादी केन्द्रबाट दुई नेता मुख्य मन्त्रीका दाबेदार देखिएका छन् । कैलालीबाट विजयी वीरमान चौधरी र अछामबाट विजयी झपट बोहरा दौडमा अग्रपंक्तिमा छन् । चौधरी पोलिटब्यूरो सदस्य हुन् भने बोहोरा व्यवसायिक पृष्ठभूमिबाट पार्टी प्रवेशगरी चुनाव जितेका नेता हुन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा