21st September 2018, Friday

E-budhabar

जसराजको रचना संसार



जसराजको रचना संसार

तीसको दशकका प्रारम्भिक वर्षहरूमा जनसर्जकद्वय रामेश र मञ्जुलले नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनमा नौलो तरंग फैलाइरहेका थिए । राजनीतिक वृत्तमा झापा संघर्षले बेग्लै तरंगसमेत उब्जाइरहेको बेला पनि थियो त्यो । पञ्चायती व्यवस्थालाई राजनीतिक संघर्ष र सांस्कृतिक–साहित्यिक आन्दोलनका माध्यमबाट चुनौती तेर्सिइरहेका प्रारम्भिक दिनहरू थिए ती । र, तत्कालीन व्यवस्थाका हिमायतीहरूले वाक् स्वतन्त्रतालाई शून्यमा झारेको त्यसबेला इतर राजनीतिक विचार बोक्नेहरूमाथि दमनका शृंखला सञ्चालन गरिरहेका थिए ।
रामेश र मञ्जुल राष्ट्रिय स्तरमै चर्चित बन्दै गइरहेका थिए र पूर्वी पहाडी भेगहरूमा जनसांस्कृतिक झाँकीहरूमार्फत सामाजिक चेतनाका दियोहरू बाल्दै थिए दुवै युवा । राल्फाली जमातको तिखर प्रभावबाट केही सर्जक अझ प्रभावकारी रूपले सिर्जनाको धरातलमा ओर्लिंदै थिए । र, त्यही समयआसपास उदाएका खोटाङका जसराज किरातीलाई पनि राल्फालीको प्रभावबाट खारिएका कविका रूपमा लिनुपर्ने हुन्छ ।
त्यसयता जसराज ‘चेतना प्रवाहका कवि’का रूपमा स्थापित छन् । कैयौं ग्रामीण विम्बहरूलाई आफ्नो कविता लेखनमा भिœयाएर जीवन्त र कालजयी सिर्जना गर्न उनी सक्षम देखिँदै आएका छन् । तीसको दशकमै मञ्जुलले उनलाई ‘पहेंलो सुनाखरी’को उपमा मात्र दिएनन्, खोटाङको बुइपामा शिक्षण पेसामा निमग्न जसराजलाई एकपटक मञ्जुलले विनम्रतापूर्वक आग्रह पनि गरेका थिए, ‘तिमी गाउँमा किन बस्छौ ? हिँड काठमाडौं । आफ्नो प्रतिभालाई अझ विस्तार गर ।’
काठमाडौं, जसराजको प्राथमिकताको बिन्दुमा कहिल्यै परेन । औषधोचार, प्रशासनिक कार्य, व्यापार प्रवद्र्धनका क्रममा काठमाडौं टेके पनि ढुक्कैले काठमाडौं बस्ने रहर भने उनीमा कहिल्यै पलाएन । बरु, काठमाडौंलाई ‘कालो सहर’को संज्ञा दिनमै उनी रमाए र लेखे पनि÷पोखे पनि, तितो अनुभूति–
‘बाटाहरू हेर्छु
बाटाहरू नै सुकेको रगतजस्तै चर्चरिएको देख्छु
हिँड्दै जाँदा
पूरा सडकहरू आफैंआफंै थर्थरिएको भेट्छु
मान्छेका पाइला, हात र आँखा पनि
अनेकौं रंगीचंगी विभिन्न बनोटका
लाग्छ, मान्छे होइन
यी सबै बुट्टा हुन् हरिया कागजी नोटका
र त कसैको पनि छातीमा छाती छैन
र त कसैको पनि रगतमा रगत छैन’
जसराजले संख्यालाई कहिल्यै पछ्याएनन् । थोरै कविता लेखे तर गुणस्तरीय । एक सयका हाराहारीमा होलान् उनका कविता । २०३६ सालमा ‘उज्यालो खोज्ने आँखाहरू’ र त्यसको एक्काइस वर्षपछि २०५७ सालमा ‘जसराज किरातीका कविता’ले नै उनको काव्यिक उचाइ आजपर्यन्त कायम राखेको छ । जीवनका ७२ हिउँद–वर्षा छिचोलिसकेका यी कविले भूपि शेरचनकै शैली पछ्याउँदै आफ्नै रेखाचित्र पनि लेखे, धेरै वर्षअघि । र, उनले आफूलाई यसरी चिनाउन चाहे–
‘मसँगै उभेको÷मसँगै सुतेको
निश्चय पनि यो जसराज हो
ऊ एउटा पेट÷टाउको
अनि एकजोडा खुट्टा र दुइटा लुला हात हो’
२०१४ सालमा बुइपाका चारवटी महिलाले विषालु च्याउ खाएर मृत्युवरण गरिन् । तीमध्ये एउटीका छोरा भने जीवितै रहे । जसलाई समाजले नाम दियो, रहीबहादुर । रहीबहादुर ठूलो भएपछि आसामतिर लागे । मृत्यु हुनेमा गंगा–जमुना नामकी जुम्ल्याहा दिदी–बहिनी पनि थिइन् । यो घटनाले संवेदित बन्नेमा जसराज मात्र थिएनन्, मञ्जुल पनि उक्त घटनाबाट मर्माहत बने । जसराजले गंगा–जमुनाको कथा लेखे भने मञ्जुलले टुहुरो रहीबहादुरको । जसराजले गंगा–जमुनालाई सम्झिँदै लेखे–
‘तिम्रो घरछेउको अमलाको रूख
अझै पनि छ
अझै पनि बताससित सुसाइरहेको छ
उसका डाल्नोहरू सुकेजस्ता देखिन्छन्
पातहरू पनि पहिलाभन्दा खस्रा र खैरा देखिन्छन्
यत्ति हो, त्यो रुख अझै पनि छ
त्यसको जीवनमा
पालुवा र वसन्त भने अझै पनि आएको छैन’
जीवनका सम्पूर्णजसो हिस्सा गाउँमै बिताएका जसराज पहाडका ग्रामीण यथार्थलाई टपक्क टिप्न खप्पिस कवि हुन् । ‘ट्याम्के, परशु र म’ जस्तो सशक्त कविता लेखेर जीवनबोधको गहन परिचय दिने जसराजले ‘पहाडकी केटी’ जस्तो प्रतिनिधिमूलक कविता पनि लेखे । उक्त कवितामा उनी यसरी व्यक्त भएका छन्–
‘पहाडकी केटी
जसको कम्मरमा पटुकी भएर सपनाहरू बाँधिएका छन्
पहाडकी केटी
जसको छातीमा रगत भएर भविष्यहरू जाम भएका छन्’
ग्रामीण क्षेत्रमै बसेर भए पनि राजधानी वा अरू सहरबजारका चम्किएका कविहरूभन्दा ‘कम नचम्किएका’ जसराजले भूपि, गोपालप्रसाद रिमाल, विजय मल्ल र पारिजातका काव्य लेखन शैलीलाई पछ्याएका भेटिन्छन् । अझ, कताकता भूपिकै प्रभावले खारिएका कविजस्ता लाग्छन् उनी । र त उनी आफ्नो लेखन संसारबाट प्रस्ट हुन चाहन्छन्, ‘गाउँमा बाँच्ने बानी परिएछ । गाउँ नै आफ्नोजस्तो लाग्छ, प्यारो लाग्छ । सहरको आलिसान महल र महलभित्रका नीलानीला सर्प रङका जिजीविषाको जिब्रोले दंशित जीवनभन्दा फरक जीवन म बाँच्न खोज्छु । सायद यो मेरो पीडा हो । मेरो पीडा, मेरो माया र मैले बाँच्न नसकेको ती अनुभूति, ती क्षण र परिवेशको कुनै अर्थ छ भने त्यसको म वारेस हुँ । हो, यो पक्षलाई मैले जानीनजानी प्रतिविम्बित गर्न खोज्छु, लेख्छु ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा