21st September 2018, Friday

E-budhabar

पार्टी एकताको आधारः जनताको बहुदलीय जनवाद



पार्टी एकताको आधारः जनताको बहुदलीय जनवाद

नेपाली जनताले वाम गठबन्धनलाई पाँच वर्षसम्म शासन गर्ने वैधानिक अधिकार प्रदान गरेको एक महिना नाघिसकेको छ । तर, संविधानको भाषिक अस्पष्टतालाई निहुँ बनाएर सत्ता हस्तान्तरण गर्न सत्तारूढ नेपाली कांग्रेसले आनाकानी मात्र गरिरहेको छैन, वाम गठबन्धनलाई पार्टी एकतामा पुग्न नदिएर एमाले र खासगरी केपी ओलीलाई सरकारको नेतृत्व गर्नबाट बाहिर राख्ने षड्यन्त्रमा देशी–विदेशी शक्तिसमेत हात धोएर लागेका छन् । वाम गठबन्धनका एक हिस्सेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई त्यसबाट अलग्गिए पाँच वर्षकै लागि प्रधानमन्त्री बनाइदिने गुलियो प्रस्तावका लस्करहरू नै आउन थालिसकेका छन् । हिजो चुनावी प्रचारप्रसारको सिलसिलामा एमाले–माओवादी केन्द्र मिलेको हुनाले वाम गठबन्धनको बहुमत आए अधिनायकवादको खतरा छ भन्ने कांग्रेसले नै अहिले हिजो ‘खतरा’ ठानिएका र ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका प्रचण्डलाई प्रधानमन्त्री पदको प्रस्ताव राख्नु जनताको म्यान्डेटविपरीत जानु मात्रै होइन, वाम गठबन्धनलाई भत्काउन प्रयोग भएको ब्रह्मास्त्र मान्न सकिन्छ । देशलाई फेरि पनि विगतमा झैं अस्थिरतातर्फ मोड्ने प्रपञ्च रच्न थालिएको छ । इतिहासमा ठूलाठूला हन्डर र ठक्कर खाएर आएका प्रचण्डले आफूले पाएको यो ‘माया’ कसरी ग्रहण गर्लान् ? सर्वत्र चासोका साथ हेरिँदै छ ।

सर्वविदितै छ, भर्खरै सम्पन्न आमनिर्वाचनमा वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव लडेको थियो । माओवादीका सुप्रिमो प्रचण्डले पनि उहाँकै हाराहारीमा नेतृत्व प्रदान गर्नुभएको छ । औपचारिक रूपमा नभनिए पनि ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा सबैतिर प्रस्तुत गरिएको तथ्य जगजाहेरै छ । जनताले पनि नेता ओली, एमालेको समग्र नेतृत्व पुञ्ज, जनतामा भिजेको जनताको बहुदलीय जनवादी सिद्धान्तलाई विश्वास गरेर एमालेलाई सबभन्दा ठूलो पार्टी बनाएका हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा ८० सिट एमालेलाई जिताए । यो जनादेशको अर्थ एकपटक ओलीले बहुमत प्राप्त स्थिर सरकारको नेतृत्व गरुन् भन्ने नै देखिन्छ । ओलीले प्राप्त गरेको उचाइमा प्रचण्डको साहसिक साथ प्राप्त हुँदा आज अत्यधिक बहुमतसहित राज्यका सबै तहमा वामपन्थीहरूको सत्ता स्थापित हुने निश्चितप्रायः भएको छ । चुनावअघि वाम गठबन्धन निर्माण हुँदा जनतासामु गरेका वाचा अब पूरा गर्ने अवसर प्राप्त भएको छ ।
एमाले र माओवादी दुवै पार्टीको अहिलेको केन्द्रीय कार्यभार भनेकै पार्टी एकतालाई सफलतामा पु¥याउनु हो । उनीहरूसँग जनताले गरेको प्रमुख अपेक्षा पनि यही हो । पार्टी एकता नगरी स्थायी सरकार सुनिश्चित हुँदैन । एमाले र माओवादीले फरक अस्तित्व कायम रहेसम्म अरु शक्तिलाई खेल्ने खुला ठाउँ बनिरहन्छ । उनीहरू एमाले र माओवादी केन्द्रलाई मिल्न नदिन हदैसम्मका हतकण्डा प्रयोग गरिरहेका छन् । हिन्दु शास्त्रमा सुन्द र उपसुन्दको एउटा रमाइलो प्रसंग छ ः सुन्द र उपसुन्दले कठोर तपस्यामार्फत यस्तो शक्ति प्राप्त गर्दछन्, ती दाजुभाइ मिलेसम्म तीन त्रिलोक चौध भुवनको कुनै पनि तागतले तिनीहरूलाई हराउन सक्दैन । अन्त्यमा तिनीहरूको शक्ति नाश गर्ने एउटा जुक्ति निकालिन्छ । त्यस बेलाकी सर्वश्रेष्ठ सुन्दरी तिलोत्तमा अत्यन्त सुन्दर पहिरन र मुद्रामा सुन्द र उपसुन्दको सामुन्ने उभ्याइन्छिन् । तिलोत्तमालाई कसले पहिले भोग गर्ने भन्ने विषयमा सुन्द र उपसुन्दको भयंकर झगडा हुन्छ र आपसमा काटामार गरेर तिनीहरूको इहलीला समाप्त हुन्छ । कम्युनिस्टविरोधीहरूले ओली र प्रचण्डलाई फुटाउन चाहन्छन् र आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् । अहिले यस्तै देखिएको छ ।
पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वमा जनअपेक्षाबमोजिम समयमै सही व्यवस्थापन नभए यो खतराबाट पार पाउन गाह्रो हुने स्वतः देखिन्छ । साथै, माओवादी केन्द्रभित्रका स्वार्थ समूहहरू र एमालेभित्रको गुट राजनीतिको नकारात्मक प्रभावबाट पनि यो एकता जोगाएर अगाडि बढाउन ओली र प्रचण्डले निकै कसरत गर्नुपर्नेछ । पार्टी एकता संयोजन समितिको नियमित र सार्थक बैठकले मात्र केन्द्रदेखि तल्लो तहसम्मको एकता सम्भव हुन्छ ।
लामो समयदेखि माओवादी केन्द्रले एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्घोष गर्दै आएको छ । नेकपा (एमाले) ले आफ्नो नवौं महाधिवेशनमा प्रस्ट उल्लेख गरेको छ, ‘पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढ गर्न विशेष पहलकदमी गर्नुपर्छ । उग्रवामपन्थी र दक्षिणपन्थी विचार प्रवृत्तिविरुद्ध विचारधारात्मक संघर्ष सञ्चालन गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादका आमसच्चाइ र जनताको बहुदलीय जनवादको कार्यदिशालाई स्थापित गर्दै त्यसमै आधारित भएर समाजको शान्तिपूर्ण रूपान्तरण तथा लोकतन्त्रमा विश्वास गर्ने कम्युनिस्ट समूहहरूलाई एकताबद्ध गर्न ठोस प्रस्ताव अगाडि सारिनेछ ।’ प्रतिवेदनमा भनिएझैं यो पार्टी एकता जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादका आमसच्चाइमा आधारित भएर हुने हो । अहिले दुवै पार्टीभित्र यी विषयमा आमसहमति पैदा भएको छ । आफ्नो सिद्धान्तमा जेसुकै लेखिएको भए पनि निर्वाचनबाट श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्न चाहने माओवादी केन्द्रलगायतका वामपन्थी दलहरू आफ्नो जीवन व्यवहारमा जबजलाई नै अँगाल्दै आएका कारण पनि यो एकताले मूर्तरूप लिन सहजता उत्पन्न भएको हो ।
जनताको अर्काे अपेक्षा वाम गठबन्धनले स्थायी सरकार देओस् भन्ने नै हो । झन्डै दुई तिहाइ सिट जितेको सन्दर्भमा जनताले यो अपेक्षा राख्नु नितान्त स्वाभाविक छ । त्यसकारण आन्दोलन, सशस्त्र विद्रोह, अस्थिरता, अराजकता, भ्रष्टाचारबाट गुज्रँदै आएको देशलाई शान्ति, स्थिरता, सुशासन कायम गरेर तीव्रतर आर्थिक समृद्धितर्फ लैजान अब बन्ने एकीकृत पार्टी र नयाँ सरकारले विशेष पहल गर्नुपर्छ । र, जनताको बहुदलीय जनवादको आलोकमा बनेको संविधानको सफल कार्यान्वयन गरेर समाजवादको आधार तयार गर्नुपर्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा