21st September 2018, Friday

E-budhabar

जुन वर्ग, उसकै संवेदना



जुन वर्ग, उसकै संवेदना

यतिबेला न्यानो छैन, मधेस । चिसो र शीतलहरका बाछिटाले मधेसका हरेक भूभागलाई नमज्जाले दपेटेको छ, भिजाएको छ । शीतलहरको कहरले मधेसका निम्न तहका जनता सर्वाधिक प्रताडित बन्न पुगेका छन् । सदियौंदेखि गरिबी, अभाव, पीडा, कष्ट झेल्दै आएका मधेसका जनता असमान सामाजिक व्यवस्था र परिपाटीका कारण पिल्सिँदै मात्र आएका छैनन्, गरिबीको तिखो प्रहारस्वरूप प्राकृतिक विपत्तिहरू झेल्न बाध्य छन्, त्यसका सामना गर्नु उनीहरूका निम्ति आकाशको फल टिप्नुजत्तिकै दुष्कर साबित हुँदै आएको छ ।
हरेक वर्ष चुलिँदै गइरहेको छ, शीतलहरको पीडा । हिउँदका चिसा दिनहरूमा शीतलहरले कठ्याङ्ग्रिएर मृत्युलाई स्विकार्ने सीमान्त तहका जनताको संख्यामा वृद्धि हुँदै गएको छ । हिउँद त जसरी भए पनि कट्छ । वर्षात्मा डुबानका समस्यालाई कसरी पार लगाउने भन्ने चिन्तामा मधेसका जनता हरेक वर्ष डुब्ने गरेका छन् । प्राकृतिक प्रकोपले मधेस र मधेसी जनतालाई वर्षभरि नै पिरोल्दै आएको छ । यो क्रम झनै बढ्दो छ । राज्य भने उदासीन र मूकदर्शकको भूमिकामा मात्र सीमित देखिँदै छ ।
पहिलापहिला हिउँदका समयमा पहाडी भूभागमा जाडो÷चिसो बढ्दा सम्भ्रान्त वर्गका मानिसले मधेसलाई रोज्थे । जाडो छल्न मधेसतिर झर्थे, केही दशकपूर्व । तर, अब हिउँदको मधेस त्यस्तो रहेन । शीतलहरको बढ्दो कहरले हिउँदका मधेस पीडादायी बन्दै गइरहेको छ भने वर्षात्मा पनि डुबानको समस्या झेल्नुपरिरहेको छ ।
मधेस बसोबासका निम्ति उपयुक्त थलो रहँदै आयो, दशकौंयता । हिमाल, पहाड र मधेसजस्ता भौगोलिक विविधता, अनेक सांस्कृतिक क्रियाकलाप र प्राकृतिक छटाहरूले भरिपूर्ण भूभागहरूले समृद्ध नेपालमा खासगरी मधेसमा जनघनत्व बढ्नुमा त्यहाँको उपयुक्त वातावरण नै कारक रहँदै आयो । मधेसमा उत्पादनशील भूभागहरू प्रशस्त हुनु र श्रम गर्दा त्यसको सकारात्मक प्रतिफल देखिनुजस्ता कारणले मधेसमा आवाद मात्र बढ्न पुगेन, राष्ट्रिय अर्थतन्त्रलाई उभ्याउने मेरुदण्डका रूपमा समेत मधेसको चिनारी बन्यो । अब भने मधेस पहिलाजस्ता रहेन । प्राकृतिक प्रकोपले क्रमशः थिल्थिलो तुल्याउँदै लगिरहेको छ ।
मधेसको पीडा त छँदै छ । हिमाली भेगको पीडा पनि अब बिस्तारै उजागर हुँदै आएका छन् । हिमाली भेगमा बसोबास गर्ने जनताले पनि प्रकृतिमा आएको परिवर्तनको सामना गर्नुपरिरहेको छ । फलफूल, जडीबुटी, पशुपालनजस्ता पेशा अँगाल्दै आएका हिमाली क्षेत्रका जनताले जलवायु परिवर्तनका तिखा असरहरू विगत केही वर्षयता झेल्दै छन् । एउटा उदाहरण, दोलखाको सिमीगाउँका जनतालाई लिन सकिन्छ । उनीहरू केही वर्षयता धेरै नै चकित बन्दै गएका छन् । कारण, पहिला पहिला पुस–माघतिर बाक्लो हिउँ जम्ने सो गाउँमा अहिले भने हिउँ पर्नै छाडेको छ । समयभन्दा अगाडि नै स्याउका फूलहरू फुल्न थालेका छन् । उत्पादनमा पनि क्रमशः कमी आइरहेको छ । जलवायु परिवर्तनमा देखिएको नकारात्मक प्रभावका कारण हिमाली भेगका जनताले कृषि, पर्यावरणजस्ता क्षेत्रमा अनुकूल प्रगति हासिल गर्न छाडेका छन् ।
चाहे हिमाल होस्, पहाड होस् वा मधेस नै किन नहोस् । विविध भौगोलिक संरचना र वातावरणमा बाँचिरहेका सीमान्त तहका जनताले प्राकृतिक, सामाजिक कहरहरू दिनानुदिन भोग्दै गइरहेका छन् । सीमान्त तहका जनताले भोग्नुपरेका दुःख, कष्ट र पीडाको चुली यति धेरै अग्लिँदै गइरहेका छन्, त्यसलाई सिर्जनाको धरातलमा उतार्ने कार्यमा भने सर्जक, स्रष्टाहरू त्यति अग्रसर देखिएका छैनन् । सीमान्त तहका जनताका पीडालाई छान्ने काम स्रष्टाहरूबाट क्रमशः हराउँदै गइरहेको छ र शीतलहरले मृत्युको मुखतिर धकेलिन बाध्य मधेसका जनता र जलवायु परिवर्तनका नकारात्मक प्रभावले उत्पादनमा कमी आई खाद्य संकट झेल्न बाध्य हिमाली भेगका जनताका पीडा सिर्जनामा आउन छाडेका छन् । न त वैदेशिक रोजगारीमा जाने युवाहरूको पंक्तिका कारण पहाडका खेतबारीहरू जनशक्ति अभावमा बाँझै रहनुपरेको निर्मम पक्षहरू नै आजका लेखनमा समेटिन सकेका छन् ।
आज प्रखर सर्जकहरू सहरमा नै बस्छन् । र, अधिकांश सर्जकहरू मध्यम वर्गीय धरातलबाट आएका छन् । मध्यम वर्गीय धरालतबाट आएका सर्जकहरूले मध्यम वर्गकै दुःख, पीडा केलाउँछन् र तिनीहरूका सिर्जनामा त्यही वर्गको संवेदना, भाव र अनुभवहरू उजागर हुन्छन् । सीमान्त तहका जनताका पीडालाई उजागर गर्ने साहित्य र स्रष्टाको अभाव अहिले हामीले भोग्नुपरिरहेको उच्चतम अभाव हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा