21st September 2018, Friday

E-budhabar

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय



पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै बन्न पुगेको छ । यो वर्षको दसैंयता एकाध साहित्यिक, वैचारिकलगायत अरू विधाका पुस्तकहरू बजारमा आए । नगण्य संख्यामा प्रकाशित भए, पुस्तकहरू । प्रकाशन गृहहरू पनि सेलाए र लेखकहरूले पनि केही लेखेका छैनन् कि जस्तो आभास हुन पुग्यो ।
आखिर, दसैंयताका महिनाहरूमा अझ भनौं चिसो मौसम सुरु भएपछि हामीकहाँ प्रकाशन गृहहरू किन निदाउन पुग्छन् ? र, वर्षमा दुईपटक अर्थात् वैशाख–जेठतिर र साउन–भदौतिर किन प्रकाशन गृहहरू एकाएक जोस बोकेर उठ्छन् ? कतिपय प्रकाशकहरू कस्तो तर्क गर्छन् भने तिहारपछि चैतसम्मका अवधि पाठ्यपुस्तकहरूको बिक्री–वितरणको अवधि भएको हुँदा त्यो समयमा प्रकाशन गृहहरूले गैरपाठ्यपुस्तक प्रकाशन गर्ने जाँगर चलाउँदैनन् । तर, कतिपय पाठ्यपुस्तकमा हात नहाल्ने प्रकाशन गृहहरूले पनि यो समयावधिमा पुस्तक प्रकाशन गर्ने चासो देखाउँदैनन् ।
केही वर्षयता नेपालका निजी प्रकाशन संस्थाहरूले पुरस्कार र मेला–केन्द्रित समय हेरेर पुस्तक प्रकाशन गर्न थालेका छन् । त्यही कारण, कुनै महिना पुस्तकहरूको बाढीले बजारलाई लछ्रप्पै भिजाउँछ भने कुनै महिना पुस्तकहरूको सर्वथा खडेरी नै पर्छ । हामीकहाँ निजी प्रकाशन संस्थाहरूको संख्या बढ्दै गएपछि र पुस्तक प्रकाशनमा तीव्रता आउन थालेपछि यस्तो प्रवृत्तिको विकास हुन पुगेको हो । पछिल्ला वर्षहरूमा त यस्तो क्रमले झनै तीव्रता पाउन थालेको छ ।
मूलतः नेपाली पाठकहरूका मनोविज्ञानलाई समात्न हाम्रा प्रकाशकहरू धेरै हदसम्म सफल पनि भएका छन् । वर्ष दिनभरिमा बजारमा पठनीय र झुर गरी दुवै कोटीका सयौं पुस्तकहरू आउँछन् । तर, एक सामान्य पाठकले सबै पुस्तक खरिद गरेर अध्ययन गर्ने हैसियत राख्दैनन् । एक त सबै पुस्तक किन्न आर्थिक तगारा तेर्सिन्छन् भने अर्कोतिर समयको अभाव पनि रहन्छ । पुस्तक अध्ययनमा डुबुल्की मार्ने अधिकांश पाठकहरूले पुस्तक छनोटका आधार पत्रपत्रिकामा आएका समीक्षालाई नै लिन्छन् । त्योसँगै नयाँ पुस्तकले पाएको विचार–विमर्श पनि छनोटका अर्को आधार हुन् । तर, आमपाठकले पुस्तक छनोट गर्ने मुख्य आधार भने पुरस्कार साबित हुँदै आएको छ ।
हामीकहाँ पुस्तकलाई नै पुरस्कृत गर्नेमा मदन पुरस्कार गुठी र खेमलाल–हरिकला पुरस्कार गुठी रहेका छन् । मदन पुरस्कार गुठीले करिब ६ दशकभन्दा लामो समयदेखि उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएको छ भने पद्मश्रीले पनि पछिल्ला केही वर्ष पुस्तकलाई नै पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ । निःसन्देह रूपमा मदन पुरस्कार र पद्मश्री पुरस्कार पाउने कृतिको बिक्रीको तह अरू पुस्तकभन्दा माथि नै रहने गरेका छन् । अझ पछिल्ला वर्षहरूमा त यी दुवै संस्थाले आठ–दस थान कृति नै पुरस्कार पाउनेको चयन–सूचीमा राख्न थालेपछि पुरस्कृत हुनेसँगै चयनमा परेका कृतिहरू पनि बिक्री हुनेमा दरिन थालेका छन् ।
पुरस्कृत हुने र चयनमा परेका पुस्तकहरूले बिक्रीमा बाजी मार्ने भएको हुँदा प्रकाशन गृहहरूले पुरस्कार–केन्द्रित समय रोजेर पुस्तक प्रकाशन गर्दै आएका छन् । मदन पुरस्कार गुठीले असार मसान्तभित्र पुरस्कारका लागि कृति बुझाउने समय तोक्ने गरेको हुँदा प्रकाशन संस्थाहरूले पनि त्यही समयावधिलाई पछ्याउँदै पुस्तक निकाल्ने गरेका छन् । हिउँदभरि प्रायः सुस्ताउने प्रकाशन गृहहरूले असार मसान्तअघि नै पुस्तक प्रकाशन गर्ने र त्यसको व्यापक प्रचारबाजी गर्ने कार्यमा तत्परता देखाउँदै आएका छन् ।
पुरस्कार–केन्द्रित प्रकाशन कार्यसँगै हामीकहाँ प्रकाशन गृहहरूले मेला–केन्द्रित प्रकाशन कार्य पनि गर्न थालेका छन् । खासगरी, दसैंको पूर्वसन्ध्यामा पुस्तक–आधारित दर्जनौं मेलाहरू लाग्न थालेको केही वर्ष भइसक्यो । दसैंको बेलामा दसैं पेस्कीलगायतका कारणले नेपालीहरूको खल्ती केही मोटो हुने, विदेशमा रहेकाहरू पनि स्वदेश फर्किने र दसैंको बिदामा पुस्तक पढ्ने चाह धेरैजसोले राख्ने भएको हुँदा प्रकाशन संस्थाहरूले त्यो समयलाई पनि पुस्तक प्रकाशनको उपयुक्त समय ठान्दै आएका छन् ।
नेपालमा निजी क्षेत्रका प्रकाशकहरूले पुरस्कार र मेला–केन्द्रित प्रकाशन समय रोज्ने कार्यभन्दा आफूलाई माथि उठाउन नितान्त जरुरी भइसकेको छ । जागरुक पाठकहरू राम्रा पुस्तक बजारमा आउँदा बाह्रै महिना खल्ती रित्याउन तयार हुन्छन् । त्यस्ता पाठकहरू पुरस्कार र मेला–केन्द्रित प्रकाशन समयसँग कुनै सरोकार राख्दैनन् भन्ने यथार्थ प्रकाशकहरूले बुझे राम्रै हुन्थ्यो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा