24th October 2018, Wednesday

E-budhabar

अर्को मञ्चनको सुरुवात



अर्को मञ्चनको सुरुवात

काठमाडौंका नाटक–पारखीहरूका निम्ति खुसीको खबर छ । केही दिनपूर्व एउटा नयाँ नाटक–घर थपिएको छ । र, नयाँ र मौलिक नाटकको दृश्यपान गर्ने पनि खुलेको छ । सर्वनाम, मण्डला, शिल्पीजस्ता काठमाडौंका उम्दा नाटकघरहरूकै लहरमा थपिन आइपुगेको छ– ‘कुञ्ज नाटक–घर’ । यद्यपि, यो नयाँ नाटक घरले भने नयाँ विशेषतासहित आफूलाई उभ्याउने अपेक्षा गर्न थालिएको छ ।
युवा सर्जक कमल ढकालको प्रयत्नमा स्थापित ‘कुञ्ज’मा भने काठमाडौंका अरू नाटकघरहरूमा मञ्चित नाटकहरूभन्दा भिन्न र मौलिक स्वादका नाटकहरू मञ्चन हुने कुरा सतहमा आएको छ । शताब्दी–पुरुष र नेपाली संस्कृतिका गहन अध्येता सत्यमोहन जोशीले शुभारम्भ गरेको ‘कुञ्ज’मा मञ्चन हुने नाटक व्यक्तिवृत्तमा आधारित हुनेछन् । अर्थात्, एक हिसाबले ‘बायो–ड्रामा’ मञ्चन हुनेछन् । संसारभरि नै बायोपिक बन्ने क्रममा बढोत्तरी भए पनि बायो–ड्रामा भने कमै मञ्चित हुने गरेका छन् । अब ‘कुञ्ज’ले बायो–ड्रामाको स्वाद र मौलिकता नाटकमा अभिरुचि राख्ने पारखीहरूका निम्ति पस्किनेमा निश्चिन्त हुन सकिन्छ ।
नयाँ नाटक घर स्थापना हुनु आफैंमा सुखद आश्चर्य हो । निश्चय नै, सबै वर्ग र तप्काका मानिसहरूको रुचिभित्र नाटक पर्दैनन् । केही खास वर्ग र तप्काका व्यक्तिले मात्र नाटकको स्वाद लिने गरेका छन् । आमवर्गको रुचिभित्र पक्कै पनि सिनेमाहरू नै पर्दछन् र अधिकांश सिनेमाले आमवर्गका मानिसलाई आकर्षित तुल्याउने विषयवस्तु छनोट गरेर त्यही आधारमा सिनेमा निर्माण गर्ने गर्दछन् । तर, नाटकप्रति सीमित वर्ग, अझ बौद्धिक तप्काको मात्र अभिरुचि पोखिने गरेको हुँदा नाटकघर स्थापना गरेर दर्शकलाई बटुल्छु भन्नु कम चुनौतीपूर्ण विषय होइन, कम कष्टप्रद यात्रा होइन ।
तर, त्यस्तो कष्टप्रद यात्रामा दशकौंदेखि केही रंगकर्मी र नाटकलाई अपार स्नेह दर्साउने व्यक्तिहरू भने सक्रिय रहँदै आएका छन् । अग्रज रंग–सर्जक अशेष मल्लले त आफ्नो सम्पूर्ण जीवन नै रंगकर्ममा नै लगाएका छन् । उनीसँगै रंग–यात्रा गरेका अरू सर्जक÷कलाकारहरू यो क्षेत्रबाट लाखापाखा लाग्दै विभिन्न कित्ताहरूमा पुगिसके, तर मल्लले भने नेपाली रंगमञ्चलाई समृद्ध तुल्याउन, नाटकप्रति आमव्यक्तिमा रुचि जगाउन र नाटक विधालाई नयाँ आयाम दिन आफ्नो सक्रियतालाई जारी राखेका छन्, आजपर्यन्त । पछिल्लो पुस्ताका राजन खतिवडा, घिमिरे युवराज, केदार श्रेष्ठजस्ता प्रतिभावान् युवाहरू पनि नाट्य कर्ममा नै आफ्नो सीप, समय र भविष्य खोज्न दौडधुप गरिरहेका छन् । यसलाई पछिल्लो पुस्ता नाटकको विकास, स्तरोन्नतिप्रति सचेत, गम्भीर र क्रियाशील हुँदै गइरहेको छ भन्ने संकेत गर्दछ ।
‘कुञ्ज’ का प्रवर्तक ढकाल पनि नेपाली नाटक जगत्लाई समृद्ध तुल्याउन, नाटकको निर्माणाधीन भवनमा अरू इँटाहरू थप्न जुर्मुराएका छन् । उनको प्रयत्नलाई साधुवाद भन्नुपर्ने हुन्छ, यतिबेला । र, व्यक्तिका जीवनका हरेक पाटोलाई नाट्यकरण गर्ने उनको सोचलाई नेपाली नाट्य जगत्को नयाँ परम्पराको थालनीका रूपमा स्विकार्नुपर्छ ।
‘कुञ्ज’ जस्ता नयाँ नाटक घर थपिनु नेपाली नाटक विधाका निम्ति सुखद पक्ष रहे पनि नेपाली रंगमञ्चले अनेक चुनौती झेल्दै वर्तमान अवस्थासम्म आइपुगेको यथार्थलाई छोपछाप गर्न मिल्दैन । नाट्य कर्ममा नयाँ र प्रतिभावान् सर्जकहरू जुर्मुराए पनि अझै यथेष्ट चुनौतीहरू झेल्न नेपाली रंगमञ्च बाध्य छ । सिनेमाका कारण नाटक विधालाई चुनौती छँदै छ, त्यसबाहेक अन्य चुनौतीका चाङहरू पनि विद्यमान छन् ।
पहिलो चुनौती त साहित्यका अन्य विधामा कलम चलाउनेहरू बग्रेल्ती रहे पनि नाटक विधामा कलम चलाउनेहरू कम छन् । बालकृष्ण सम, विजय मल्ल, गोविन्दबहादुर मल्लजस्ता नाटकलाई नै आफ्नो लेखनको मुल क्षेत्र बनाउने स्रष्टाहरू अब छैनन् । अविनाश श्रेष्ठ, सरुभक्तजस्ता स्रष्टाहरूले पनि नाटकतिर आँखा लगाउन छाडेका वर्र्षौं भइसक्यो । एक्ला अशेष मल्ल ‘झूटा’ जस्तै देखिएका छन् र उनले कतिन्जेल थामिरहने ? नयाँ पुस्तामा पनि उम्दा नाटक लेख्ने स्रष्टाहरूको सर्वथा अभाव देखिएको छ । विदेशी भाषाका नाटक अनुवाद गरी मञ्चन गरेर नाटकका पारखीहरूलाई अब लोभ्याउन सकिँदैन ।
त्यस्तै, रंगमञ्चमा क्रियाशील कलाकारहरूलाई मञ्चमा अड्याइराख्न पनि उत्तिकै चुनौती छ । पछिल्लो समय रंगमञ्चमा जमेका कलाकारहरूले सिनेमाको यात्रा तय गरिसकेका छन् । दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, प्रकाश घिमिरेजस्ता कलाकाहरू अहिले सिनेमामा जसरी जमिरहेका छन्, उनीहरूका जग भने रंगमञ्च नै थियो । रंगमञ्चबाट कलाकारहरू पलायन हुने अवस्था रोक्नु पनि अर्को ठूलो चुनौती हो ।
यद्यपि, अनेक चुनौती भए पनि कमल ढकालजस्ता सर्जकहरूले नयाँ नाटकघर स्थापना गर्नुलाई सुखद रूपमा लिनुपर्छ । अतः उजाड मरुभूमिबीच हरियाली उमार्ने कार्यमा लाग्ने सर्जकहरूको अभियानलाई सघाउनु यतिबेला सिर्जनाको धरातलमा रमाउनेहरूका निम्ति कर्तव्य पनि हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा