22nd October 2018, Monday

E-budhabar

सिर्जनाको विरूप तस्बिर



सिर्जनाको विरूप तस्बिर

नेपाली संगीत फाँटमा मौलिक एवं सिर्जनात्मक क्षमताले भरिपूर्ण सर्जकहरूको अनुपस्थिति बाक्लिँदै गइरहेको बेला पुनः एकपटक संगीत चोरीको प्रकरण सतहमा आएको छ । चलचित्र ‘कृ’मा समाविष्ट एउटा गीत चालीसको दशकमै निर्माण भएको ‘सम्झना’बाट हुबहु कपी गरिएपछि यो प्रकरणले चलचित्रको निर्माण पक्षलाई आर्थिक र नैतिक, दुवै रूपले अप्ठ्यारो मात्र पारेन, पछिल्लो समय संगीत चोरीले व्यापकता पाउँदै गइरहेको पुष्टिसमेत हुन पुगेको छ ।
पुरानो चलचित्र ‘सम्झना’को चर्चित गीत हो, ‘उकालीमा अघिअघि…’ । त्यही गीतलाई नयाँ सांगीतिक साजसज्जासहित ‘कृ’मा समावेश गरेपछि ‘सम्झना’का निर्देशक शम्भु प्रधानले न्यायिक बाटो अपनाए र संगीत चोरी कार्यमा संलग्न ‘कृ’को निर्माताले ११ लाख रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने परिस्थिति सिर्जना भयो । सम्भवतः संगीत चोरीका कारण क्षतिपूर्ति भराइएको नेपालको संगीत इतिहासमा यो पहिलोपटक हुनुपर्छ । यसअघि यस्ता कैयांै प्रकरण सतहमा उत्रिए पनि संगीत चोरी कार्यमा संलग्न भएकाहरूले उन्मुक्ति पाउँदै आएका थिए ।
‘उकालीमा अघिअघि…’को चोरी प्रकरणमा सो चलचित्रका निर्माण पक्षका साथै संगीत सर्जक अल्मोडा राणाको पनि उत्तिकै हेलचेक्र्याइँ र चोरी मानसिकताको उजागर हुन्छ । चलचित्रका निर्माता–निर्देशकले कुनै पनि गीतको शब्द र त्यसको संगीत हुबहु सारेर आफ्ना चलचित्रमा राख्दा त्यसले कानुनी झमेला निम्त्याउन सक्छ भन्ने यथार्थलाई ख्याल राख्नुपथ्र्यो । कानुनी झमेला उत्पन्न हुने प्रश्न त थियो नै, अरू नै चलचित्रका प्रसिद्ध गीत राख्दा मौलिकतामा प्रश्न उठ्न सक्ने विषयलाई पनि गम्भीर रूपले मनन गर्नुपर्ने हुन्थ्यो । चलचित्रलाई ‘बिक्ने माल’का रूपमा प्रदर्शन गर्न खोज्दा र सामान्य नैतिक मापदण्डसमेत अपनाउन नचाहँदा ‘कृ’का निर्माता–निर्देशकले आर्थिक र नैतिक मूल्य चुकाउनुप¥यो । त्यस्तै, संगीत सर्जकले पनि चोरी कार्यमा हात हाल्नुहुँदैनथ्यो । ‘कभर सङ’बाट चम्किएर पछिल्लो समय नेपाली चलचित्रहरूमा संगीत दिँदै आएका राणाले आफ्नो करिअरलाई विचार पु¥याएर संगीत चोरीजस्तो गम्भीर कृत्यमा अग्रसर हुनुहुँदैनथ्यो । संगीत सर्जकका कारण वा फिल्मको निर्माण पक्षका कारण यस्तो अक्षम्य अपराध र त्रुटि हुन पुग्यो, यो प्रसंगबाहिर आएको छैन । तर, संगीत सर्जकले संगीत चोरी कार्य आफूलाई स्वीकार्य नहुने पक्षमा उभिनुपथ्र्यो । हुन त यसअघि पनि उनको चोरी हर्कतबारे नेपाली चलचित्र जगत् अपरिचित भने थिएन । चलचित्र ‘छक्कापन्जा–२’ को एउटा गीत चोरीको आरोप पनि उनले झेलिरहेका छन् ।
यद्यपि, नेपाली चलचित्र क्षेत्रमा गीत–संगीतको चोरी हुने, अरूका सिर्जनालाई भाँचभुच पारेर आफ्नो बनाउने र अरूका सिर्जनाको जस आफैंले लिने प्रवृत्ति धेरै नै पुरानो हो । मूलतः केही संगीत सर्जकहरूले नै नेपाली चलचित्रका संगीतमा यस्तो विकृत रूप भिœयाएका हुन् । चलचित्रलाई ‘हिट’ तुल्याउने निर्माता–निर्देशकहरूको मनोविज्ञान बुझी, त्यस्तै फर्मुलाको खोजी गर्दै चलचित्र संगीतलाई विकृत, सस्तो र अरूका सिर्जना भाँचभुच पारेर आफ्नो बनाउने कार्यमा चलचित्र संगीतमा कहलिएका नामहरू नै अग्रसर नदेखिएका होइनन् । जसको अग्रपंक्तिमा शम्भुजित बास्कोटा, टीका भण्डारीजस्ता संगीत सर्जकहरू पर्छन् । अहिले राणाले त उनीहरूले ढुंगा बिछ्याइदिएको विकृतिको गोरेटामा नै पाइला टेकेर अघि बढ्ने प्रयत्न मात्र गरेका हुन् ।
कुनै बेला बास्कोटा र भण्डारीजस्ता संगीत सर्जकहरूले चलचित्रका गीतलाई लोकप्रिय बनाउने प्रतिस्पर्धामा मौलिकताको कुनै पर्वाह नगरी जथाभावी कदम चाले । उनीहरूले अरूका सिर्जनालाई भाँचभुच पार्ने, सज्जायुक्त तुल्याउनेजस्ता कार्य गरी चलचित्र संगीतलाई विकृत बनाउन अग्रसरता लिएका थिए । तर, चलचित्र संगीतमा उनीहरूका उपस्थिति पातलिएर नयाँ संगीतकारहरू आएपछि भने यो क्रम धेरै हदसम्म घट्न पुगेको थियो । तर, अहिले केही संगीत सर्जकहरूका कारण यस्तो विकृतिले पुनः पालुवा हाल्न थालेको छ । यो नेपाली चलचित्र क्षेत्रका निम्ति अशुभ संकेत हो ।
नेपाली संगीत जगत्मा चोरी प्रकरण मौलाउनु र छाडातन्त्र हावी हुँदै जानुमा हामीकहाँ प्रतिलिपि अधिकारको कानुनको फितलोपन नै प्रमुख कारण बन्दै आएको छ । यदि, प्रतिलिपि अधिकारको कानुन सशक्त र प्रभावकारी हुने हो भने संगीत वा सिर्जनाका अरू विधाहरूमा चोरी कार्य हुनेमा न्यूनीकरण हुने मात्र होइन, स्वतः अन्त्य नै हुने सम्भावना छ । किनकि, सिर्जनाको चोरी कुनै भौतिक वस्तुको चोरीभन्दा कम छैन भन्ने मान्यता स्थापित गर्न सके र त्यसका निम्ति प्रतिलिपि अधिकारको कानुनलाई प्रभावकारी बनाउन सके सिर्जना चोरीले फस्टाउने मौका पाउँदैनथ्यो, निश्चय नै ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा