18th October 2018, Thursday

E-budhabar

परिवर्तित परिस्थिति र सांस्कृतिक आन्दोलनको दिशा



परिवर्तित परिस्थिति र सांस्कृतिक आन्दोलनको दिशा

परिस्थिति बदलिएपछि सांस्कृतिक आन्दोलनको दिशामा पनि परिवर्तन आउँछ र आउनुपर्छ । आन्दोलनको पुरानै दिशाका आधारमा अघि बढ्न सकिन्न । परिस्थिति बदलिएको छ र यसले सांस्कृतिक आन्दोलनको नयाँ दिशाको आवश्यकता औंल्याएको छ । नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आरम्भदेखि रहँदै आएका दाहिने र देब्रे गल्तीहरूबाट बच्दै सांस्कृतिक आन्दोलनको दिशाको निर्धारण यतिबेलाको आवश्यकता हो । सही दृष्टिकोण र दिशासहितको सांस्कृतिक आन्दोलनले नै ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नेपाली समाजको सांस्कृतिक रूपान्तरण एवं आर्थिक, भौतिक तथा आत्मिक रूपमा समृद्ध नेपाली समाजको निर्माणमा महŒवपूर्ण योगदान दिन सक्छ । सांस्कृतिक आन्दोलनबिना सांस्कृतिक रूपान्तरण सम्भव छैन । सांस्कृतिक रूपान्तरणबिना आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक रूपमा नयाँ नेपालको निर्माण गर्दै समाजवादतर्फ प्रस्थान गर्न पनि सम्भव छैन । सांस्कृतिक आन्दोलन विचारधारात्मक संघर्षको एउटा रूप हो । समाजलाई फेर्न मात्र होइन, आफैंलाई फेर्न पनि यो संघर्ष आवश्यक छ । सांस्कृतिक आन्दोलन सुन्दर संस्कृतिको निर्माणसँग जोडिएको छ ।
परिवर्तित परिस्थिति र सांस्कृतिक आन्दोलनको दिशाबारे विस्तृत चर्चा आवश्यक भए पनि यस आलेखमा संक्षेपमा मात्र यस विषयमा चर्चा गरिएको छ । यसले विषयवस्तुको उठान र विमर्शका निम्ति आधार निर्माण गर्नेछ । आलेखमा नेपालको परिवर्तित परिस्थिति, सांस्कृतिक अवस्था, परिवर्तनका बाधक तŒवहरूका बारेमा छलफल गर्दै सांस्कृतिक आन्दोलनको दिशाबारे विचार प्रस्तुत गरिएको छ ।
परिवर्तित परिस्थिति
मुलुकमा युगान्तकारी परिवर्तन भएको छ । आफ्नै विशेषतासहितको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ । कम्युनिस्टहरूको अगुवाइ रहेको ऐतिहासिक संघर्ष (जनआन्दोलन र जनयुद्ध दुवै) र संविधान निर्माणबाट मुलुकमा एक नयाँ राजनीतिक अध्यायको आरम्भ भएको छ । कम्युनिस्टहरूको नेतृत्वविना नवीन सारतŒवसहितको परिवर्तन सम्भव थिएन । नेपालमा भएको राजनीतिक परिवर्तनलाई संसदीय औपचारिक लोकतान्त्रिक गणतन्त्रको रूपमा मात्र परिभाषित गर्नु गम्भीर त्रुटि हुनेछ । समग्रमा संविधान जेजस्तो सारतŒवसहित निर्माण भएको छ, यसले परिवर्तनको युगान्तकारी चरित्रलाई स्पष्ट गर्छ । नेपाललाई धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संविधानमा उल्लेख गरिएको छ । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लंैगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्यायलाई सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानको प्रस्तावनामा गरिएको पाइन्छ । प्रस्तावनामै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख गरिएको छ । यसबाट संविधानको सार स्पष्ट हुन्छ ।
समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई औपचारिक लोकतन्त्रमा सीमित हुनबाट जोगाउँदै समाजवादका निम्ति मार्गप्रशस्त गर्ने आधार वर्तमान संविधानले प्रदान गरेको छ । संविधान गतिशील दस्तावेज हो । यो अपरिवर्तनीय हुन्न । समय र आवश्यकताअनुसार यसमा परिवर्तन गर्दै अघि बढ्न सकिन्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ताबाहेक अरू कुरामा संविधानले वैधानिक ढङ्गले परिवर्तनका निम्ति मार्गप्रशस्त गरेको छ । लोकतान्त्रिक मूल्य र मान्यता नेपाली समाजवादको आधारभूत विशेषता रहनेछ । कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट नेपाली समाजको समग्र परिवर्तन र विकासको प्रक्रियालाई अघि बढाउँदै समाजवादतिर प्रस्थान गर्नेछ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वाेच्चता, कानुनीराज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र समानता, राज्यका सबै अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्व नेपाली समाजवादका अभिन्न अङ्गका रूपमा रहनेछन् । यही नै नेपाली समाजवादको नवीन चरित्र हुनेछ ।
मुलुकमा कम्युनिस्ट गठबन्धनको सरकार बनेको छ । संसद्््््््््््््््््मा पूर्ण बहुमत रहेको सरकारलाई दुई तिहाई समर्थन प्राप्त छ । दुई नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशमा कम्युुनिस्ट गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि धेरै नगर र गाउँपालिकामा कम्युनिस्ट गठबन्धनको नेतृत्व छ । सम्भवतः वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुनेछ । दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच एकीकरण र एकीकृत कम्युनिस्ट पार्टीको निर्माण एक ऐतिहासिक परिघटना हुनेछ । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, समग्र राजनीतिलाई नै दूरगामी हिसाबले गम्भीर रूपमा प्रभावित गर्नेछ । यसबाट परिवर्तनका बाँकी कार्यभारहरूलाई पूरा गर्दै समाजवादी दिशातर्फ अघि बढ्न सजिलो हुनेछ । परिवर्तनका उपलब्धिहरूलाई रक्षा गर्दे अघि बढ्न कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको सुदृढ सरकार आवश्यक छ । पार्टी एकताले यो आधार प्रदान गर्नेछ । संविधानको कार्यान्वयन एवं समानता र सामाजिक न्यायमा आधारित समृद्धिका निम्ति लामो समयसम्म पूर्ण बहुमतको कम्युनिस्ट सरकार बन्न आवश्यक छ । पार्टी एकताले यस आधारको निर्माण गर्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र, जनमुखी संविधान र पार्टी एकीकरणको प्रक्रिया परिवर्तित समयका महŒवपूर्ण पक्षहरू हुन् । सांस्कृतिक आन्दोलनको दिशा निर्धारण यस स्थितिसँग गहिरो गरी जोडिएको छ ।
सांस्कृतिक अवस्था
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ सांस्कृतिक विविधता छ र सांस्कृतिक रूपमा मुलुक इन्द्रेणीमय छ । नेपालमा विद्यमान सबै संस्कृतिको समष्टि नै नेपाली संस्कृति हो । नेपाली संस्कृतिका उज्याला र अँध्यारा पक्षहरू छन् । भौतिक र अभौतिक रूपमा रहने संस्कृतिभित्र अभौतिक संस्कृतिको स्थान सबैभन्दा महŒवपूर्ण हुन्छ । अभौतिक संस्कृति मूलतः विश्वास एवं मूल्यहरूको योग हो । यसभित्र विभिन्न परम्परा, प्रथा, चालचलनदेखि विभिन्न मूल्यमान्यताहरू पर्छन् ।
नेपाली समाजमा सामाजिक विषमता, जातीय विभेद एवं उत्पीडन, लैंगिक असमानता र शोषणलगायत छुवाछूत, दाइजो, तिलक, छाउपडी, बोक्सी आदिजस्ता प्रथाहरू अझै जीवित छन् । स्वर्ग–नर्क, भाग्य, कर्म, परलोक र पुनर्जन्म, जादु, तन्त्रमन्त्र आदिले अहिले पनि नेपाली समाजलाई गहिरो गरी प्रभावित गरेको छ । महिलामाथि हुने घरेलु हिंसा र यौन उत्पीडनको डरलाग्दो तस्बिर नेपाली समाजको कटु यथार्थ हो । यथार्थभन्दा रहस्यप्रति विश्वास, यस लोकमा भन्दा परलोकमा आस्था, यस जन्ममा भन्दा पुनर्जन्ममा विश्वास, श्रममा भन्दा भाग्यमा भरोसा, आलोचनात्मक विवेकभन्दा चाकरी चाप्लुसी, धार्मिक रूढीहरूप्रति गहिरो श्रद्धा एवं विश्वास नेपाली समाजमा सदियौंदेखि विद्यमान रहँदै आएका छन् । नेपाली समाजमा एकातिर अति पछौटे सांस्कृतिक परम्परा र मूल्यमान्यताहरू छन् भने अर्कातिर सयौँ वर्षदेखि जरा गाडेर बसेका सामन्तवादी सांस्कृतिक परम्परा र मूल्यमान्याताहरू छन् ।
नेपाली समाजमा लामो समयदेखि विभिन्न जातीय समुदायमाथि एक खास जाति, भाषा र संस्कृतिको वर्चस्व एवं उत्पीडन पनि रहँदै आएको छ । सबै जाति, भाषा, संस्कृतिको समान विकासभन्दा पनि एक खास जाति, भाषा र संस्कृतिको विकासलाई केन्द्रीकृत सामन्ती राज्यमा महŒव प्रदान गरियो । वर्तमान संविधानले संविधानतः यस स्थितिलाई अन्त्य गरे पनि यसले निर्माण गरेको मानसिक घाउ अझै जीवित छ । व्यवहारतः यस स्थितिलाई अन्त्य गर्न समय लाग्नेछ । नेपाली समाजमा उपभोक्तावाद र व्यक्तिवादको गहिरो प्रभाव परेको छ । उपभोक्तावादी संस्कृतिलाई समकालीन पँुजीवादी आर्थिक प्रणालीको महŒवपूर्ण आधारका रूपमा लिइन्छ । उपभोक्तावाद आजको पुँजीवाद–साम्राज्यवादको महŒवपूर्ण सांस्कृतिक हतियार हो । आजको नवउदारवादी व्यवस्थालाई यसले भरणपोषण गर्दै आएको छ । नवउदारवादले यस संस्कृतिको विकासमा सचेतनतापूर्वक कार्य गरेको छ । उपभोक्तावादले मनुष्यलाई वस्तुमा बदल्छ । मनुष्यको विमानवीकरण यसको मुख्य ध्येय हो । विमानवीकृत मनुष्य सजिलै पुँजीवादको सहयोगी उपकरणमा रूपान्तरित हुन्छ । व्यक्तिवादले व्यक्तिलाई समाजसँग अलग गर्छ । सामूहिक होइन, व्यक्तिगत हितलाई सर्वाेपरी महŒव प्रदान गर्नु यसको मुख्य विशेषता हो । समरूपीकरण, वर्णशंकरीकरण एवं मनुष्यलाई उसको गरिमा र विवेकबाट च्यूत गर्दै बजारमूल्यहरूबाट डो¥याउने पीडा पनि नेपाली समाजले खप्दै छ । भूमण्डलीकरणको प्रक्रियामा पुँजीवादी सांस्कृतिक वर्चस्वको पीडा नेपालजस्ता देशहरूले सबैभन्दा बढी झेल्दै छन् । उनीहरूको मौलिक पहिचानमाथि गहिरो प्रहार भएको छ । नेपालले बाह्य सांस्कृतिक आक्रमणको सामना गर्दै छ ।
नेपाली संस्कृतिका उज्याला पक्षहरू पनि छन् । भाषिक, सांस्कृतिक, धार्मिक एवं जातीय विविधतामा एकताका अन्तःसूत्रहरू विद्यमान छन् । सहिष्णुता, सद्भाव, भाइचारा, प्रेम, समझदारी र परस्पर सहयोग सदियौँदेखि नेपाली संस्कृतिका महŒवपूर्ण पक्षका रूपमा रहँदै आएका छन् । श्रमप्रति सम्मान, अग्रजहरूप्रति आदर, प्रतिकूलतासँग संघर्ष, स्वाभिमान र न्यायप्रियता, आफ्नो पहिचानप्रति सजगता, सरलता, सामूहिकता र देशप्रेम आदि नेपाली समाजका उल्लेख्य चरित्रका रूपमा रहेका छन् । नेपाली सभ्यता र संस्कृतिको विकासको लामो प्रक्रियामा नेपाली समाजले धेरै सुन्दर र उपयोगी कुराहरू आर्जन गरेको छ । यस्ता कुराहरू आज पनि हाम्रा निम्ति उपयोगी छन् । हामीले विगतलाई वर्तमानको सेवा गर्न सक्ने गरी अघि बढाउन सक्नुपर्छ । नेपाली संस्कृतिका उज्याला पक्षहरूलाई वर्तमानको सेवामा लगाउनुपर्छ । परम्पराबाट पूर्णतः अलग भएर सांस्कृतिक रूपान्तरण र नयाँ संस्कृतिको निर्माण गर्न सकिन्न ।
नेपाल परिवर्तनलाई संस्थागत गर्दै अघि बढेको छ, तर यसविरुद्ध प्रहार पनि हुँदै छ । एकातिर पुनरुत्थानवादी शक्तिहरू परिवर्तनविरुद्ध सक्रिय छन्, अर्कातिर एकथरी शक्तिहरू वर्तमान परिवर्तनलाई औपचारिक संघीय लोकतान्त्रिक गणतन्त्रणमा सीमित गर्न चाहन्छन् । संघर्ष राजनीतिक स्तरमा मात्र छैन, सांस्कृतिक स्तरमा पनि छ । धर्मनिरपेक्षताको आलोचना, हिन्दू राज्यको माग, नेपाली सभ्यता र संस्कृतिको रक्षाका नाममा रूढी एवं अवैज्ञानिक दृष्टिकोण र विचारको समर्थन तथा पक्षपोषण, गलत परम्परा र प्रथाको महिमा गान, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बिथोल्ने प्रयास आदि वर्तमान सांस्कृतिक परिदृश्यका कटु सत्य हुन् । संस्कृतिको वर्गीय चरित्र र पक्षधरता हुन्छ र संस्कृतिका क्षेत्रमा भइरहेको यस्तो प्रयत्न परिवर्तन र नेपाली जनताको विपक्षमा उभिएको छ । यसले आमजनताको पक्षमा होइन, उत्पीडक वर्गको स्वार्थका निम्ति काम गर्छ । यसले परिवर्तनलाई उल्ट्याउने आधारको निर्माण गर्दै अघिल्तिरको यात्रामा गतिरोध खडा गर्छ । सामन्तवादी र पुँजीवादी संस्कृतिका विविध रूपहरू परिवर्तनको विरोधमा उभिन्छन् र उभिँदै आएका छन् । राजनीतिक रूपमा मुलुकले ऐतिहासिक उपलब्धि प्राप्त गरे पनि सांस्कृतिक रूपले खासै फेरिएको छैन । नेपालको कम्युनिस्ट आन्दोलन स्वयं सांस्कृतिक रूपान्तरणका दृष्टिले कमजोर छ ।
परिवर्तनका बाधक तŒव
अघिल्तिरको यात्रा सजिलो छैन । आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक परिवर्तनका निम्ति अनेकौं बाधा अड्चनहरू छन् । समानता र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका निम्ति ठूलो बाधक दलाल पुँजी रहेको छ । यो नवउदारवादसँग जोडिएको छ । यसलाई अन्त्य नगरी स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण सम्भव छैन । यो नभई समृद्धि प्राप्त गर्दै समाजवादतर्फ अघि बढ्न सकिन्न । संघीय लोकतान्त्रिक गणतन्त्रलाई औपचारिक लोकतन्त्र हुनबाट नजोगाई राजनीतिक रूपमा समाजवादतर्फ प्रस्थान गर्ने कुरा पनि सम्भव छैन । संसदीय प्रणालीलाई नै जनतन्त्रको पर्याय मान्ने तथाकथित उदारवादी दृष्टिकोण यसका निम्ति मुख्य बाधकका रूपमा रहेको छ । नवउदारवादका अभियन्ता र व्याख्याताहरू शान्तिपूर्ण ढङ्गले समाजवादतर्फको प्रस्थानलाई समाप्त गर्न कम्मर कसेर लाग्नेछन् । अघिल्तिरको यात्राले भित्र र बाहिर दुवैतिरबाट डरलाग्दो प्रतिकूलताको सामना गर्नुपर्नेछ । गलत सांस्कृतिक परम्परा एवं मूल्यहरूका साथसाथै बाह्य सांस्कृतिक आक्रमणले परिवर्तनको यात्रामा गम्भीर अवरोध खडा गर्नेछन् । परिवर्तनअनुकूलको संस्कृतिको निर्माण, समाजको सांस्कृतिक परिवर्तन एवं नेतृत्वको सांस्कृतिक रूपान्तरणबाट मात्र परिवर्तनको मर्मअनुरूप अघिल्तिरको यात्रा सम्भव छ । आर्थिक, राजनीतिक र सांस्कृतिक अड्चनसँग नजुधी नयाँ समाज निर्माण गर्न सकिनेछैन । अघिल्तिरको यात्रामा सांस्कृतिक रूपान्तरण एवं नयाँ संस्कृतिको निर्माणलाई बेसी महŒव प्रदान गर्नुपर्नेछ । परिवर्तनको मर्मअनुरूप सांस्कृतिक रूपमा फेरिन नसकेको समाज अघिल्तिरको यात्राका निम्ति सहयोगी हुन सक्तैन ।
(बाँकी अर्काे अङ्कमा)

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा