21st September 2018, Friday

E-budhabar

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू



सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका स्मृतिहरू भने मेटिएका छैनन्, सायद मेटिनेछैनन् पनि । अझ, भूकम्पले निलेका अनेक सांस्कृतिक सम्पदाहरू, ऐतिहासिक महŒवका भवनहरू र लाखौं जनका ओत लाग्ने आधारहरूको अझैसम्म पुनर्निर्माण हुन नसकिरहेको हुँदा भूकम्पका दीर्घकालीन असरका तस्बिरहरू सतहमा नै देखिन्छन् । पुनर्निर्माण कार्यले अपेक्षाकृत रूपमा गति लिन नसक्दा भूकम्पका झझल्काहरू आउनु स्वाभाविक पनि बन्न पुगेको छ ।
भूकम्पले प्राचीन, ऐतिहासिक एवं पुरातात्विक महŒव बोकेका अधिकांश सांस्कृतिक सम्पदाहरू ध्वस्त भए । काठमाडौं उपत्यकालगायत भूकम्पको गहिरो असरले छोएका अधिकांश स्थलका सांस्कृतिक सम्पदाहरूमा कुनै पूर्णतः क्षतिग्रस्त भए र कुनैमा आंशिक रूपमा क्षति पुग्यो । काठमाडौं उपत्यका प्राचीन कला, सांस्कृतिक सम्पदा र धरोहरमा अग्रणी भएको हुँदा पनि अधिकांश सम्पदाहरू उपत्यकाकै ध्वस्त भए । तर, भूकम्पले विनाशका नक्सा कोरिदिएको तीन वर्ष पुग्नै लाग्दा पनि पुनर्निर्माणको दिशामा आशालाग्दा कार्यहरू भने भएका छैनन् । विगतका सरकारहरूका अकर्मण्यता र ढिलासुस्तीका कारण अधिकांश सांस्कृतिक, ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण कार्य सुस्त र अप्रभावकारी साबित हुन पुगेको छ । सरकारको इच्छाशक्तिमा देखिएको अपार कमीकै कारण भूकम्पको दुःखद ‘तेस्रो वर्षगाँठ’ संघारमै आइपुग्दा पनि अपेक्षित कामहरू हुन सकेका छैनन् ।
भूकम्पका कारण केही पुराना संरचनाहरू पनि भत्किए । जसमा, राणाकालीन दरबारहरू पनि भूकम्पको निशानामा परे । केही राणाकालीन दरबारहरू भूकम्पका कारण चर्किएका हुँदा त्यसमा सञ्चालित निकायहरू बन्द हुनु स्वाभाविक थियो । त्यही कारण, काठमाडौं उपत्यकामा अवस्थित दुई ठूला पुस्तकालयहरू पनि बन्द हुन पुगे । ललितपुरको हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय दुवै भूकम्पयता बन्द छन् । भवनको जग पूरै चर्किएका कारण नेकपा (एमाले) को बल्खुस्थित केन्द्रीय कार्यालय भत्काउनैपर्ने अवस्था रह्यो र अहिले भत्काइसकेको छ । तर, त्यही भवनको माथिल्लो तलामा रहेको पुस्तकालय पनि भूकम्पयता सञ्चालनमा आएको छैन ।
राष्ट्रिय पुस्तकालयमा खोज–अनुसन्धान गर्नेहरूका लागि महŒवपूर्ण पुस्तकहरू उपलब्ध हुन्थे । केशर पुस्तकालयमा भने ऐतिहासिक महŒव बोकेका पुस्तक र पत्रपत्रिकाहरू थिए । तत्कालीन राणा शासक केशर शमशेरको रुचि अध्ययनमा रहेका कारण उनले आफ्नो जीवनकालमा संकलन गरेका पुस्तकहरूलाई नै पछि पुस्तकालयको रूप दिइएको थियो । तसर्थ, उक्त पुस्तकालयमा राणाकालीन ऐतिहासिक दस्तावेजहरू र तत्कालीन समयमा विश्वविख्यात पुस्तकहरू छन् । साथै, एमालेको केन्द्रीय पुस्तकालयमा भने विश्व कम्युनिस्ट आन्दोलनदेखि माक्र्सवादी साहित्यका पुस्तकहरू रहेका छन् । राजनीति, दर्शन, साहित्यलगायत क्षेत्रको अध्ययन गर्न उक्त पुस्तकालय उपयुक्त थियो । विडम्बना, अहिले यी तीन वटै पुस्तकालय सञ्चालनमा त छैनन् नै, तीन वर्षयता महŒवपूर्ण पुस्तकहरूले ज्ञानका भोका पाठकहरूका स्पर्श पाएका छैनन् । ती पुस्तकालयहरूले जुट र प्लास्टिकका बोराहरूमा किताब खाँदेर गोदाममा थन्काएका छन् । योजति दुःखद र विडम्बनापूर्ण कार्य अरू के हुन सक्छ ?
हुन त काठमाडौंमा अरू पनि पुस्तकालयहरू नभएका होइनन् । तर, ती पुस्तकालयहरू जोकोहीका निम्ति सहज पहुँचमा छैनन् । मदन पुरस्कार पुस्तकालयमा जोकोहीले पहुँच राख्न सक्दैनन् । त्रिविको केन्द्रीय पुस्तकालयमा पनि धेरैको पहुँच नहुन सक्छ । केही वर्षअघि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खोल्न त खोलिएको थियो तर त्यसले अझै पुस्तकालयको आकार लिइसकेको छैन । उक्त पुस्तकालयमा एक त पर्याप्त पुस्तकहरू छैनन् र अर्को उपहारस्वरूप प्राप्त पुस्तकहरूले पुस्तकालयको गरिमालाई बढाइरहेको छैन । नेपाल–भारत पुस्तकालय, ब्रिटिस लाइब्रेरी र रसियन लाइब्रेरीहरूमा नेपाली भाषाका पुस्तकहरू पर्याप्त छैनन् र केवल ती पुस्तकालयहरूमा पत्रपत्रिकाहरू पढ्न मात्र पाठकहरूको घुइँचो लाग्नु स्वाभाविक हो ।
फुर्सदको समय कुनै पुस्तकालयमा छिरेर अध्ययन गर्ने र ज्ञानको भोकलाई तृप्त पार्ने अवस्था अहिले छैन । तत्कालका निम्ति बन्द रहेका पुस्तकालयहरू सञ्चालनमा आए मात्र पनि त्यसले धेरै नै राहत दिलाउँथ्यो । तर, बन्द पुस्तकालयहरू सञ्चालन गर्नेतिर कसैको पनि चासो र प्राथमिकता पोखिएको पाइँदैन । भूकम्पपछि बनेका सरकारहरूले राज्यकोषलाई दोहन गर्न पर्याप्त समय र सोच खर्च गरे । करोडौं रकम जथाभावी रूपमा आफ्ना कार्यकर्ताहरूलाई वितरण गरे । तर, न त भत्किएका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्नुपर्छ भन्नेमा ध्यान दिए, न त बन्द रहेका पुस्तकालयहरू सञ्चालनमा ल्याउनुपर्छ भन्ने बुद्धि नै पलायो । तर, अब भने स्थिर सरकार बनेको छ र देशले समृद्धिको दिशातिर पाइला चाल्ने अपेक्षा गरिएको छ । यस्तो स्थितिमा वर्तमान सरकारले अरू केही गर्न नसके पनि बन्द रहेका पुस्तकालयहरू सञ्चालनमा ल्याउन पहल गरे धेरै नै अर्थपूर्ण कार्य साबित हुन्थ्यो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा