21st September 2018, Friday

E-budhabar

परिवर्तित परिस्थिति र सांस्कृतिक आन्दोलनको दिशा



परिवर्तित परिस्थिति र सांस्कृतिक आन्दोलनको दिशा

नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनको इतिहासमा राजनीतिक परिवर्तन र सांस्कृतिक परिवर्तनका बीच खाडल रहँदै आएको छ । सांस्कृतिक परिवर्तनको प्रक्रिया जटिल र लामो हुन्छ । यसका परिणामहरू राजनीतिमा जस्तो तुरून्त देखा पर्दैनन् । तर, हामी कहाँ त यसले समुचित महŒव नै प्राप्त गर्न सकेको छैन । आजको बिग्रिएको नैतिक पर्यावरण (मोरल इकोलोजी) मूलतः यसैसँग जोडिएको छ । उत्पादनपद्धतिको परिवर्तन, विकास र लोकतन्त्र एक आपसमा जोडिन्छन् । नेपालको राजनीतिक परिवर्तनको प्रक्रियामा यो सङ्गति त्यति मिलेको पाइन्न । यसले अघिल्तिरको प्रस्थानमा अवरोधहरू खडा गर्दै आएको छ । परिवर्तनपछि प्रतिगमनहरू हुने गरेका छन् । आज पनि यो सम्भावना पूर्णतः समाप्त भएको छैन । समाजवादतर्फको यात्राले आधार र अधिरचनाका क्षेत्रमा संगतिमूलक परिवर्तन खोज्छ । सामन्तवादी एवं पुँजीवादी सांस्कृतिक मूल्यहरू वास्तविक लोकतन्त्रका विपक्षमा उभिन्छन् । लोकतन्त्रको औपचारिकीकरणमा पुँजीवादी सांस्कृतिक मूल्यहरूको ठूलो भूमिका रहँदै आएको छ । समाजवादी लोकतन्त्र समाजवादी संस्कृतिको निर्माण र मूल्यहरूको विकाससँग छुट्ट्याउनै नसकिने गरी जोडिएको छ ।
समग्रमा भन्दा पूरै समाप्त भइनसकेको सामन्तवाद, दलाल पुँजीको वर्चस्व र नवउदारवाद, बाह्य राजनीतिक एवं सांस्कृतिक हस्तक्षेप, पुनरुत्थान र प्रतिगमनका निम्ति हुँदै गरेका प्रयत्नहरू, यथास्थितिवादी दृष्टिकोण र प्रवृत्ति, रूढी, अन्धविश्वास, गलत परम्परा र प्रथासहितको पछौटे र अवैज्ञानिक संस्कृति, सामन्तवादी एवं पुँजीवादी मूल्यहरू, नैतिक मूल्यमा आएको स्खलन, बिग्रिएको समग्र नैतिक पर्यावरण, बढ्दो परावलम्बी मानसिकता, विकसित हुँदै गरेको डरलाग्दो उपभाक्तावाद र व्यक्तिवाद, रचनात्मक एवं आलोचनात्मक विवेकमा आएको ह्रास, कम्युनिस्ट आदर्श र मूल्यको आत्मसात्मा रहेका समस्या आदि परिवर्तनको बाधकका रूपमा रहेका छन् । सांस्कृतिक आन्दोलनले यी बाधाहरूको अन्त्यका निम्ति विचारधारात्मक सङ्घर्ष र आत्मिक रूपान्तरणका माध्यमबाट योगदान दिन्छ ।
४. सांस्कृतिक आन्दोलनको दिशा
सांस्कृतिक आन्दोलनको दिशाले प्रहारको निसानालाई बुझाउँछ । दिशा आन्दोलनको लक्ष्यबाट निर्धारित हुन्छ । आजको जनवादी सांस्कृतिक आन्दोलनको लक्ष्य नेपाली संस्कृतिका उज्याला र सजीव पक्षहरूसँग सांस्कृतिक आन्दोलनलाई जोड्दै सामन्तवादी, पुँजीवादी संस्कृतिका विरुद्ध संघर्ष र नवीन अर्थात् प्रगतिशील एवं जनपक्षीय संस्कृतिको निर्माण हो । जनपक्षीय संस्कृतिको निर्माणले समाजवादी संस्कृतिका निम्ति आधार निर्माण गर्नेछ । जनपक्षीय संस्कृतिको निर्माणको प्रक्रियाका बीचबाटै समाजवादी संस्कृतिको निर्माणको दिशातर्फ अघि बढ्न सकिनेछ । प्रगतिशील एवं जनपक्षीय सांस्कृतिक आन्दोलनको दिशालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
(क) जनविरोधी संस्कृतिको प्रतिवाद र जनपक्षीय संस्कृतिको निर्माण आजको सबैभन्दा महŒवपूर्ण आवश्यकता हो । एकथरीको दृष्टिकोण संस्कृति भनेपछि सबै राम्रो हुन्छ भन्ने रहँदै आएको छ तर यथार्थमा यस्तो हुँदैन । समाज विकासका विभिन्न चरणमा विकसित हुँदै आउने संस्कृतिका अँध्यारा पक्षहरू पनि हुन्छन् । अँध्यारा पक्षहरूलाई नहटाई र उज्याला पक्षहरूलाई अझ परिष्कारसहित नयाँ संस्कृति निर्माणसँग नजोडी परिवर्तन र विकास नै सम्भव हुन्न । सामान्यतः संस्कृति समाज विकासको प्रक्रियामा सुस्त सुस्त बदलिन्छ, तर यति मात्र पर्याप्त हुन्न । यसको रूपान्तरणका निम्ति योजनाबद्ध प्रयास गरिन्छ र गरिनुपर्छ । यस्तो प्रयास ‘बलपूर्वक रूपान्तरण’ को नीतिमा भने आधारित हुनहुन्न । नेपालमा एकातिर अति पछौटे सांस्कृतिक परम्परा, प्रथा र मूल्यहरू छन् भने गहिरो गरी जरा गाडेर बसेको सामन्तवादी संस्कृति पनि छ । सामन्तवादी संस्कृति मूलतः वैज्ञानिक चेतनाको निर्माण, रचनात्मक दृष्टि र आलोचनात्मक विवेकको विकास, तर्क र तथ्य, श्रम र सामूहिकता, परिवर्तन र नयाँको आत्मसात्को विपक्षका उभिदै आएको छ । यो अनेकौं रूढी, अन्धविश्वास, गलत परम्परा, प्रथा एवं जीवन विरोधी मूल्यहरूबाट निर्मित छ । आफ्नो आधारभूत चरित्रमा यो लोकतन्त्र, समाजवाद, धर्म निरपेक्षताको विरोधमा मात्र उभिन्न, जातीय विभेद एवं छुवाछूत, लैंगिक असमानता एवं उत्पीडन, धार्मिक एवं सांस्कृतिक रूढीहरू विरोधी संघर्षको विरोधमा पनि उभिन्छ । यसले स्वाभिमान र आत्मसम्मानलाई होइन व्यक्ति पूजा र देवत्वकरणलाई महŒव दिन्छ ।
समकालीन पुँजीवादले उपभोक्तावादी, व्यक्तिवादी, सुखवादी (हिडोनिज्म) संस्कृतिको विकास गरेको छ र यसको विश्वव्यापी प्रभाव परेको छ । भूमण्डलीकृत पुँजीवादको सांस्कृतिक आक्रमण अन्य क्षेत्रमा पनि देख्न सकिन्छ । सांस्कृतिक आक्रमण र वर्चस्व आर्थिक, राजनीतिक वर्चस्वसँग जोडिएको छ । यो वास्तविक लोकतन्त्र र समाजवादको विपक्षमा मात्र छैन, मानवीय गरिमा, सौन्दर्य एवं उच्च मानवीय मूल्यहरूको विरोधमा पनि छ । सांस्कृतिक आन्दोलनले सामन्तवादी एवं पुँजीवादी संस्कृतिका विरुद्ध सशक्त विचारघारात्मक संघर्ष चलाउन सक्नुपर्छ ।
(ख) नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । विविधतापूर्ण नेपाली समाजमा सदियौँदेखि आपसी सद्भाव, प्रेम, विश्वास र एकता रहँदै आएको छ । नेपाली समाजको यस विशेषतालाई सांस्कृतिक आन्दोलनले अझ समृद्ध गर्नुपर्छ । सांस्कृतिक विविधता र बहुलता नेपाली समाजको महŒवपूर्ण विशेषता हो । बेलाबखत आपसी सद्भाव र एकतालाई बिथोल्दै द्वन्द्वको आगो सल्काउने प्रयासहरू भएका छन् । ‘विभाजित गर र शासन गर’ को सूत्र लागू गरिएको छ । आज यो प्रयास अझ बढेको छ । सांस्कृतिक आन्दोलनले आपसी सद्भाव, प्रेम, विश्वास र एकतालाई विथोल्न खोज्ने प्रवृत्तिको सशक्त प्रतिवाद गर्नुपर्छ । ‘विविधता र बहुलता नेपालको सम्पदाः सामाजिक सद्भाव र राष्ट्रिय एकता’को नीतिलाई सांस्कृतिक आन्दोलनले बलियो गरी पक्रनुपर्छ ।
(ग) भाषिक, सांस्कृतिक, जातीय एवं धार्मिक विभेद र उत्पीडन नेपाली समाजको कटु यथार्थ हो । केन्द्रीकृत सामन्ती राज्यमा यसप्रकारको विभेद र उत्पीडन निकै बढ्यो । यसले बलियो राष्ट्रको निर्माण र अघिल्तिरको यात्रामा अवरोध खडा गर्दै आएको छ । संविधानतः आज यस स्थितिको अन्त्य भएको छ, तर व्यवहारमा विभेद र उत्पीडनलाई अन्त गरेर जान अझैँ बाँकी छ । दृष्टान्तका निम्ति ‘पहाडे र मधिसी’को मानसिक विभाजनलाई अघि सार्न सकिन्छ । यस्तो स्थिति खस ब्राह्मण र जनजाति समुदायका बीचमा पनि थोरैधेरै पाइन्छ । सांस्कृतिक आन्दोलनले विभेद र उत्पीडनको अन्त्य एवं सबै भाषा, संस्कृति, जातिको समान विकासका निम्ति महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
(घ) पितृसत्तात्मक संस्कृति र सांस्कृतिक एवं धार्मिक उत्पीडनको विरोध एवं लैङ्गिक समानताका पक्षमा नउभिई समतापूर्ण समाजको निर्माण सम्भव छैन । लैंगिक उत्पीडनको अन्त र समानताका निम्ति यस विरोधी सामन्ती एवं पुँजीवादी सांस्कृतिक मूल्यहरूको विरोधमा सशक्त ढंगले उभिनुपर्छ । नेपाली समाजमा नारीहरू अझै पनि आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक विभेद र उत्पीडनको डरलाग्दो सिकार छन् । सांस्कृतिक आन्दोलनले यसलाई आफ्नो प्रहारको निसाना बनाउनुपर्छ ।
(ङ) राष्ट्रिय सांस्कृतिक सम्पदा एवं ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको संरक्षणमा सांस्कृतिक आन्दोलनको महŒवपूर्ण भूमिका रहन आवश्यक छ ।
(च) एकातिर सांस्कृतिक आन्दोलनले श्रमप्रति आस्था, जनताप्रति सम्मान, वैज्ञानिक एवं प्रगतिशील चेतनाको निर्माण, उच्च नैतिक एवं मानवीय मूल्यको विकास, धर्मनिरपेक्ष चरित्रको निर्माण, देशभक्तिको भावनाको विकासका निम्ति भूमिका खेल्न जरुरी छ भने अर्कातिर छाडा र अश्लील संस्कृति देह व्यापार र यौनहिंसा, चेलीबेटी बेचविखन, नारी देहको वस्तुकरण आदिका विरुद्ध सशक्त रूपले संघर्ष गर्न आवश्यक छ ।
(छ) सांस्कृतिक रूपान्तरणको सबैभन्दा बलियो र भरपर्दाे माध्यम शिक्षा हो । शिक्षाका माध्यमबाट यस विषयमा महŒवपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । नेपालको शिक्षा प्रणाली अझै पनि अपेक्षा गरे अनुरूप वैज्ञानिक, रचनात्मक र जीवनमुखी हुन सकेको छैन । नेपालको शिक्षा प्रणालीमा सामन्तवादको प्रभाव त छँदै छ, पुँजीवादी पश्चिमी मुलुकका शैक्षिक परियोजना र अभीष्टहरूको पनि गम्भीर प्रभाव परेको छ । नेपालको शिक्षा प्रणालीलाई परिवर्तनको मर्म र समाजवादतर्फको यात्रालाई ध्यानमा राखेर सुधार गर्न आवश्यक छ । शिक्षा प्रणालीमा अपेक्षित सुधार र परिवर्तनले नयाँ संस्कृतिको निर्माणमा ऐतिहासिक योगदान दिन सक्छ । सांस्कृतिक आन्दोलनले यस विषयमा गम्भीर ध्यान दिँदै शैक्षिक सुधार र परिवर्तनका निम्ति प्रभावकारी भूमिका सम्पादन गर्न सक्नुपर्छ ।
(ज) साहित्य, कला, संगीत एवं समग्र वाङ्मयको विकासले सांस्कृतिक रूपान्तरणका निम्ति महŒवपूर्ण भूमिका खेल्छन् । राज्यमा अहिले पनि साहित्य, कला, संगीतलाई अनुत्पादक ठान्ने र महŒव प्रदान नगर्ने प्रवृत्ति विद्यमान छ । यसले सम्बन्धित क्षेत्रको विकासमा मात्र अवरोध पु¥याएको छैन, सांस्कृतिक रूपान्तरणका क्षेत्रमा पनि व्यवधान खडा गरेको छ । सांस्कृतिक आन्दोलन यस स्थितिमाथि हस्तक्षेप गर्दै अघि बढ्न जरूरी छ ।
(झ) जनवादी सांस्कृतिक आन्दोलनमा सांस्कृतिक परम्परा र मूल्यलाई पूरै अस्वीकार गर्ने दृष्टिकोण पनि छ । यो सही माक्र्सवादी दृष्टिकोण होइन । माक्र्सवादले परम्परा र इतिहासलाई पूरै अस्वीकार गर्दैन । परम्परा र इतिहासको निर्माणमा जनताको भूमिका हुन्छ । यसका राम्रा र उपयोगी पक्षहरू पनि हुन्छन् । यस्ता पक्षलाई अझ परिष्कार गर्दै नवीन संस्कृतिसँग जोडेर अघि बढ्न सक्नुपर्छ । सबै कुरालाई अस्वीकार गर्ने प्रवृत्ति जस्तै सबै कुरालाई स्वीकार गर्ने र महान् भन्ने प्रवृत्ति पनि छ । आफ्नो इतिहास, परम्परा, सभ्यता, संस्कृतिलाई लिएर गौरव र महिमा गान गर्ने क्रममा अतीतमुखी हुने र गैरमाक्र्सवादी दृष्टिकोण अँगाल्ने प्रवृत्ति सांस्कृतिक आन्दोलनमा बढ्दोछ । निवर्गीय चिन्तनको विकास आजको सांस्कृतिक परिदृश्यको एक कटु यथार्थ हो । सांस्कृतिक आन्दोलन यस कटु यथार्थलाई सच्याउने गरी अघि बढ्न सक्नुपर्छ ।
(ञ) कम्युनिस्ट आन्दोलन स्वयं सांस्कृतिक रूपान्तरणका दृष्टिले त्यति सबल छैन । यसमा सामन्तवादी एवं पुँजीवादी सांस्कृतिक मूल्यहरूको प्रभाव छ । यस्तो प्रभाव माथिदेखि तलसम्मै पाइन्छ । समाजवादी संस्कृतिको कुरा छोडाँै, जनवादी संस्कृतिको विकास समेत नेपालको कम्युनिष्ट आन्दोलनमा हुन सकेको छैन । नेपालको राजनीतिक एवं सांस्कृतिक आन्दोलनमा बेलाबखत चर्चाको महŒवपूर्ण विषय बन्ने ‘मूल्य विघटन’ यसैसँग जोडिएको छ । यस्तो लाग्छ, कम्युनिस्ट आन्दोलनका निम्ति सबै कुरा ग्राहय छन् र अब सुन्दर र असुन्दर, वर्ग र वर्गीय पक्षधरता, उदात्त र अनुदात्त आदिजस्ता कुराहरूको कुनै खास अर्थ छैन । वर्गीय पक्षधरतामा आउँदै गरेको ह्रास, समन्वयवादी दृष्टिकोणको विकास, अभिजात वर्गीय जीवनशैली, व्यक्तिगत सम्पत्तिप्रतिको डरलाग्दो मोह, पैसाका निम्ति गलत मानिसहरूलाई दिइने प्रश्रय, राजनीति, जनता, र मुलुकका नाममा कर्मकाण्डीय अनुष्ठानमा जनाइने अनावश्यक सहभागिता आदि कम्युनिस्ट आन्दोलनमा विद्यमान सांस्कृतिक समस्याहरू हुन् । सांस्कृतिक आन्दोलनले कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणका निम्ति महŒवपूर्ण भूमिका सम्पादन गर्न सक्नुपर्छ । सांस्कृतिक रूपान्तरण व्यवहारको विषय बन्नुपर्छ । सांस्कृतिक आन्दोलन नेपाली राजनीतिमा विद्यमान सबै प्रकारका विसंगति र विकृतिका विरुद्ध उभिनुपर्छ ।
(ट) सांस्कृतिक आन्दोलन धार्मिक एवं जातीय अतिवाद, संकीर्णता र भौगोलिक विखण्डनका विरुद्ध उभिनुपर्छ । विश्वमा विकसित हुँदै गरेको सांस्कृतिक एवं धार्मिक अतिवादको विरोध आजको सांस्कृतिक आन्दोलनको महŒवपूर्ण दायित्व हो । सांस्कृतिक आन्दोलन संसारमा चल्दै गरेका प्रगतिशील सांस्कृतिक आन्दोलनहरूसँग जोडिनुपर्छ र सबै प्रकारका बाह्य हस्तक्षेप, निरंकुशता, दमन र लोकतन्त्रका नाममा हुने फासीवादी अभ्यासका विरोधमा उभिनुपर्छ । स्वतन्त्रता, समानता सामाजिक न्यायका निम्ति चलेका संघर्षहरूप्रति ऐक्यबद्धता जनाउनुपर्छ ।
निष्कर्ष
सांस्कृतिक आन्दोलन मूलतः आत्मिक रूपान्तरणसँग जोडिएको छ । राजनीतिक रूपमा फेरिएको र फेरिँदै अघि बढ्दै गरेको नेपाली समाज सांस्कृतिक रूपमा पनि फेरिँदै जानुपर्छ । राजनीति र संस्कृतिका बीचमा सङ्गति स्थापना हुनुपर्छ । हाम्रो समृद्धिको यात्रा समाजवादी अन्तर्वस्तुसहितको यात्रा हो । फेरिएको राजनीतिबाट मात्र यो यात्रा सम्भव छैन, यसका निम्ति फेरिएका मान्छे पनि चाहिन्छन् । नयाँ नभई नयाँ बनाउन सकिन्न । अघिल्तिरको यात्राका निम्ति जेजस्ता अड्चनहरू छन्, सांस्कृतिक आन्दोलनले तिनलाई पन्छाउन योगदान दिनुपर्छ । माथि उल्लिखित विषयहरूमा सांस्कृतिक आन्दोलने प्रभावकारी भूमिका सम्पादन गर्न सक्दा नै नेपाली समाजको परिवर्तनमा यसले महŒवपूर्ण योगदान दिन सक्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा