20th October 2018, Saturday

E-budhabar

‘भोर’–सन्देश



‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो । चारकोसे झाडीले समृद्ध मधेसका अधिकांश भूभागमा बस्ती विस्तारले गति लियो । ‘महेन्द्रीय राष्ट्रवाद’ को प्रयोगात्मक परीक्षा पनि मधेसमै भयो र पहाडबाट बसाइँ सर्ने नाममा मधेसको भूमिमा गुल्जार गर्नेहरुको उल्लेख्य संख्या बढ्न पुग्यो र सीमा क्षेत्रहरुसम्मै त्यो लहर चल्यो । त्यही समय, मधेसमा भारतीय मुलका मानिसहरु पनि बसोवासका निम्ति ओइरिन थाले । पहाडी मुलका मानिसहरु वन–जंगलको बाहुल्य रहेको मधेसको उत्तरी क्षेत्र र भारतीय मुलका मानिसहरु भने दक्षिणी भेगमा बस्न थाले ।
यो आजको मधेसको भौगोलिक यथार्थ हो । मधेसमा जनघनत्व बढ्दै गएपछि र उत्पादनमुखी क्रियाकलापहरुमा वृद्धि हुँदै गएपछि राज्यले एउटा धारणा बनायो, ‘मधेस अन्नको भण्डार हो ।’ यसमा द्विविधा थिएन । तर, मधेस गरिबी, अशिक्षा, अचेतना, कुसंस्कृति र अन्धविश्वासको पनि ‘भण्डार’ बन्न पुग्यो । जातीय छुवाछुत त नेपालका अरु समाजमा जस्तै मधेसमा पनि रह्यो नै । त्यसबाहेक, नारी हिंसा र विभेदसँग जोडिएका बोक्सी र दाइजोजस्ता कुप्रथाहरु मधेसको अनुहारमा पोतिएको हिलोका छिटाहरु बन्न पुगे । आज पनि मधेसमा दाइजोका नाममा महिलाको मोलतोल गर्ने, मोलतोलअनुरुप दाइजो नदिए बुहारीलाई आगो लगाएर मार्ने र महिलामाथि आफ्नै पति, सासु, ससुरा र परिवारका अन्य सदस्यहरुले चरम यातना दिएर जीवन नै समाप्त पानेजस्ता मध्ययुगीन चरित्र विद्यमान छन् ।
‘भोर’ एउटा त्यस्तो चलचित्र हो, जसले मधेसमा व्याप्त दाइजो प्रथा र त्यसले मधेसका नारीमाथि हुने यावत् उत्पीडन, हिंसा र अमानवीय क्रियाकलापको सिंगो तस्बिर उतार्न चाहेको छ । सयौं वर्ष पहिले नेपाली समाजलाई गाँजेको सती प्रथाका क्रुर तस्बिरहरुलाई चलचित्र ‘झोला’ मार्फत् उतार्न सफल निर्देशक यादवकुमार भट्टराईले अहिले भने नेपालको एउटा भूभागभित्र वषौंदेखि पन्पिँदै आएको सामाजिक बेथिति र विसंगतिलाई पर्दाकरण गर्न चाहेका छन् । ‘भोर’ ले मधेसको कुरुप अनुहारलाई देखाउन त चाहेको छ नै, न्याय, समानता र अन्यायविरुद्ध अब मधेसको समाज र पात्रहरु पनि सजग भइसकेका छन् भन्ने संकेत पनि गर्न खोजेका छन् ।
मधेसी समाजमा दाइजो प्रथा एउटा कलंककै रुपमा स्थापित छ । केटाको शैक्षिक, पारिवारिक, सामाजिक हैसियत देखाएर केटी पक्षसँग दाइजोको नाममा आर्थिक लेनदेन गर्ने परिपाटी वषौंंदेखि चल्दै आइरहेको छ । यद्यपि, विवाहको आवरणमा केटी पक्षसँग आर्थिक मोलमोलाइ गरेर आफू समृद्ध हुने चाहना मधेसी समाजलाई कुरुप तुल्याउने माध्यम बनिरहे पनि त्यस्तो असामाजिक परिपाटीलाई खारेज गर्नेतिर भने मधेसमा सक्रिय कुनै पनि राजनीतिक समूह, सामाजिक संस्थाहरु क्रियाशील देखिएका छैनन् । त्यस्ता अमानवीय, असामाजिक पर्दालाई पन्छाउन खोज्दा आफ्नै ‘भोट बैंक’ गुम्ने हो कि भन्ने त्रास हरेक राजनीतिक शक्तिमा विद्यमान छ र दाइजोको विरुद्धमा प्रायः सबै राजनीतिक शक्ति मौन छन् । यही दुःखलाग्दो पक्षलाई चिर्दै निर्देशक भट्टराईले भने मधेसको आम तर कसैले पनि सम्बोधन नगरिरहेको भयानक समस्यालाई उठाउन चाहेका छन् । उनको प्रयत्न स्तुत्य छ ।
एउटा समस्याले अनेक समस्या जन्माउँछन् । मधेसमा विद्यमान दाइजो प्रथा आफैंमा गलत छ । दाइजो प्रथाले गरिबीमा बाँच्न बाध्य मधेसका लाखौं जनतालाई गरिबीको किनारामा नै धकेल्दै आइरहेको छ र मधेसमा गरिबीको ग्राफ बढ्नुमा दाइजोजस्ता कुप्रथाहरु नै जिम्मेवार छन् । निम्न आर्थिक स्तर भएका जनतालाई पिरोल्ने दाइजोजस्ता कुप्रथाका कारण मधेसमा छोरीको भ्रुणमै हत्या गर्ने गलत कार्यलाई पनि उत्तिकै प्रश्रय मिलिरहेको छ । मधेसको यो जटिल र कुरुप तस्बिरलाई हटाउनेतिर खासै प्रयत्न भइरहेको छैन ।
‘भोर’ ले मधेसमा नारीले भोग्नुपरेका समस्या, उनीहरुमाथि हुने उत्पीडन, शोषण, निम्न वर्गका मानिसहरुले छोरी जन्माउँदा भोग्नुपर्ने आर्थिक, सामाजिक र पारिवारिकलगायत तनावलाई सूक्ष्म रुपले नियाल्न चाहेको छ । मधेसको अनुहारमा लागेका एउटा ठूलो दागलाई अंकित गर्ने काम ‘भोर’ ले निश्चित रुपमा गरेको छ । तर, यति हुँदाहुँदै पनि ‘भोर’ निर्माणमा केही पक्षहरुमाथि ध्यान पु¥याउन सकेको भए अझ फिल्मले सुगन्ध छर्ने अपेक्षा राख्न सकिन्थ्यो । एउटा, फिल्ममा द्वन्द्वको सर्वथा अभाव देखिएको छ । बलात्कारपछि हत्या गरिएकी महिलाको पक्षमा उभिने वकिल र प्रतिपक्षी वकिलबीच जुन तर्क–विमर्श हुनुपर्ने हो, त्यसमा हत्या गरिएकी महिलाको पक्षमा मुद्दा लड्ने वकिलको तर्कलाई मात्र प्रधानता दिइएको छ, प्रतिपक्षी वकिलको बहसलाई पूर्णतः बेवास्ता गरिएको छ । दुवै पक्षका वकिलबीच बहसले उचाइँ छोएको भए फिल्म अझ चोटिलो बन्ने थियो । एकतर्फी बहसमै मुद्दा टुंगिएको हुँदा द्वन्द्वविहीनताको आभास हुन्छ ।
आफ्नो विवाहपछि विदेश गएका केटाको भूमिका पछिल्ला दृश्यहरुमा त नामेट नै पारिएको छ । आफ्नी पत्नीको आफ्नै पिताबाट बलात्कार र त्यसपछि परिवारका सदस्यहरु मिलेर हत्या हुँदा पनि केटाको भने कुनै प्रतिक्रिया नदेखिनुलाई सामान्य मान्न सकिँदैन । त्यस्तै, अपहरणमा परेकी सानी बालिकाले अपहरणकारीहरुका सामु कुनै प्रतिवाद देखाउन नचाहनुलाई त्यति विश्वसनीय ठान्न सकिँदैन । किनभने, अपरिचितहरुका बीच आफूलाई पाउने कुनै पनि बालबालिकाले फरक प्रतिक्रिया जनाउँछ नै, त्यसबारे फिल्ममा केही प्रतिक्रिया नजाउनु सान्दर्भिक देखिँदैन । दाइजो प्रथाकै नकारात्मक बाटो हो, भ्रुण हत्या । भ्रुण हत्यालाई दाइजो प्रथाका ‘सह–उत्पादक’ मान्नुपर्ने हुन्छ । त्यसबारे फिल्म मौन बस्नु सुहाउँदैनथ्यो ।
यद्यपि, ‘भोर’ले उठाउन चाहेको मुद्दा प्रभावशाली नै रहेको छ । मधेसी समाजलाई बुझ्न यो फिल्मले केही हदसम्म भए पनि सहयोग पु¥याउनेमा विश्वस्त हुन सकिन्छ । तर, एउटा फिल्मको भरमा समाज र समाजभित्रका कुरीति, कुप्रथाहरु नहट्ने भएको हुँदा यो फिल्मले मधेसमा व्याप्त दाइजोजसता कुप्रथा र त्यसलाई अँगाल्नेहरुलाई थोरै मात्रामा भए पनि झक्झकाउने काम भने निश्चय नै गर्नेमा आशावादी हुन सकिन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा