22nd October 2018, Monday

E-budhabar

पार्टी एकता ः ऐतिहासिक उपलब्धि र चुनौती



पार्टी एकता ः ऐतिहासिक उपलब्धि र चुनौती

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई एकीकृत कम्युनिस्ट पार्टीका रूपमा नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको छ । यो नेपालको वाम आन्दोलनमा ऐतिहासिक परिघटना हो । यति मात्रै होइन, दुई पार्टीबीचको एकीकरणबाट नयाँ पार्टी निर्माण भएपछि राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिमा ठूलै हलचल उत्पन्न भएको छ । तर, नयाँ कम्युनिस्ट पार्टी निर्माण, यसबाट प्राप्त उपलब्धि र आगामी चुनौतीबारे अहिले चर्चा परिचर्चा सुरु भएको छ ।
विभाजित कम्युनिस्ट आन्दोलनको एकिकरणको सुरुवात
कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । तर २०१९ सालमा तेस्रो महाधिवेशनलगत्तै कम्युनिस्ट आन्दोलनको विभाजनको सुरुवात भयो । खासगरी राजावादी दक्षिणपन्थी रुझान लिएका केशरजंग रायमाझीले नेतृत्व हत्याएपछि कम्युनिस्ट पार्टीभित्र विवादको सुरुवात भयो । कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी ढंगले पुनर्गठन गर्ने क्रममा ३० को दशकदेखि एकीकृत पार्टी निर्माणभन्दा पनि नयाँनयाँ पार्टीहरू निर्माण भए । यसरी विभाजन, पुनर्गठन र एकीकरणका प्रक्रियाबाट गुज्रिएको नेपालको कम्युनिस्ट आन्दोलनमा पाँच दशकसम्म वामपन्थीहरूले बेग्लाबेग्लै चुलाचौका बालेर राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गरे । झन्डै ६० प्रतिशतको हाराहारीमा वामपन्थीहरूप्रति जनताको जनमत र विश्वास रहे पनि विभाजित अवस्थामा रहेका कारण बहुदलीय व्यवस्था पुनःस्थापनादेखि गणतन्त्र घोषणा भएको एक दशक व्यतीत हुँदासम्म अर्थात् २८ वर्षसम्म नेपालको राजनीतिमा वुर्जुवा पुँजीपति वर्गको नेतृत्व गर्ने नेपाली कांग्रेसलगायतका दक्षिणपन्थी शक्तिहरूले अधिकांश समय शासनसत्तामा हालीमुहाली गरे । बुर्जुवा पुँजीपतिको हित हुने नवउदारवादी अर्थनीति अवलम्बन गरेर देशको अर्थतन्त्रलाई धराशायी बनाए र देशलाई आयमा असमानता, गरिबी, बेरोजगारीको भयावह अवस्थामा पु¥याएपछि नेपालका दुई ठूला कम्यनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच कार्यगत एकता गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा अगाडि बढ्ने सहमति भयो । र, यही सहमतिका आधारमा गत संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन निर्माण गरी साझा चुनावी घोषणापत्रसहित उम्मेदवार खडा भए । वाम गठबन्धन निर्माणले जनतामा ठूलो उत्साहको सञ्चार ग¥यो, परिणामस्वरूप झन्डै दुई तिहाइको हाराहारीमा वाम गठबन्धनका उम्मेदवारहरूले विजयी हासिल गरे । केन्द्र र ६ वटा प्रदेशमा सुविधाजनक ढंगले बहुमत हासिल गरेका आधारमा वाम नेतृत्वमा सरकार गठन भयो । यही पृष्ठभूमिका बीचमा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको छ । यो एकीकरण प्रक्रियाले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने दिशामा उन्मुख गराएको छ । ससाना पार्टी बनाएर हिजोझैं समानुपातिक प्रतिनिधित्वका आधारमा संसदीय राजनीतिको लाभ लिने गुन्जायस अब छैन । यसर्थ पनि अब नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत बन्दै जाने र यसले गर्दा पुष्पलालले २००६ सालमा स्थापना गर्नुभएको एउटै पार्टी, नेपाल कम्युनिस्ट पार्टी निर्माणको आधार बन्ने प्रचुर सम्भावना बढेको छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश प्रवाह
नेपालका वामपन्थीहरूले सन् २००६ को शान्तिपूर्ण जनक्रान्तिसँगै युगान्तकारी परिवर्तन, गणतन्त्र स्थापना र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वकारी भूमिका ऐतिहासिक महŒवको रह्यो । साथै, जनताको अभिमत (ब्यालेट) बाट झन्डै दुई तिहाइ बहुमतका साथ विजयी हासिल गरी केन्द्रदेखि स्थानीय तहसम्मको सरकारको नेतृत्व गर्ने जुन ऐतिहासिक अवसर प्राप्त गरेका छन्, यसले विश्व कम्युनिस्ट आन्दोलनमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सँगसँगै कम्युनिस्ट पार्टीहरूका बीचको धुव्रीकरण र एकीकरणले झन् थप नयाँ सन्देश प्रवाह गरेको छ । यसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनप्रति विश्व कम्युनिस्ट आन्दोलनको ध्यानाकर्षण भएको छ । सँगसँगै नेपाल ‘अब राजनीतिक पर्यटन’ केन्द्र बन्ने थप आधार तयार भएको छ ।
बुर्जुवा पुँजीपति वर्ग हतास
श्रमजीवी वर्गको अग्रदूतका रूपमा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरूका बीचको एकीकरण र केन्द्रदेखि स्थानीय तहसम्मका सरकारमा वामपन्थीहरूको नेतृत्वले बुर्जुवा पुँजीपति वर्गमा छट्पटि सुरु भएको छ । वामपन्थीहरूको विभाजनबाट ३ दशकसम्म राज्यसत्ताको नेतृत्व गरेका बुर्जुवा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायत दक्षिणपन्थी पार्टीहरूको निर्वाचनमा भएको पराजयले उनीहरूको राष्ट्रिय राजनीतिमा ‘स्पेस’ साँघुरिँदै गएको छ । यसले गर्दा राष्ट्रिय राजनीतिमा श्रमजीवी वर्गको पक्षमा नयाँ सन्तुलन स्थापित भएको छ ।
राजनीतिक स्थिरता र समृद्धिको सुरुवात
वाम गठबन्धन निर्माणबाट बनेको वर्तमान सरकारले सुविधाजनक बहुमत प्राप्त गरेको थियो । अब पार्टी एकीकरण भएपछि त झन् नेपालकै राजनीतिक इतिहासमा शक्तिशाली अधिकार सम्पन्न र पाँच वर्षसम्म पूरा अवधि शासन सञ्चालन गर्ने शक्तिशाली सरकार बन्न पुगेको छ । यसले विगतको झैं राजनीतिक अस्थिरता, सरकार भत्काउने, नयाँ गठबन्धन गरेर अर्काे सरकार बनाउने र सदैव मुलुकमा अस्थिरता उत्पन्न गर्ने फोहोरी राजनीतिक अभ्यासलाई अन्त्य गरिदिएको छ । अब मुलुकमा वर्तमान वाम सरकारमार्फत आर्थिक, सामाजिक रूपान्तरण गरेर समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माण गर्न अगाडि बढ्ने आधार तयार भएको छ ।
वाम राजनीतिक विस्तारको प्रचुर सम्भावना
विगतमा वामपन्थीहरू विभाजन भएका कारण वाम राजनीतिका थुप्रै अग्रज व्यक्तिहरू निष्क्रिय अवस्थामा रहेका थिए । अब नयाँ पार्टी निर्माणले अग्रज वाम व्यक्तित्वहरूमा उत्साह थपिएको छ । निर्वाचनका बखत वाम गठबन्धनका उम्मेदवारका पक्षमा देखिएको जनलहर र निर्वाचनमा प्रकट गरेको अभिमतका आधारमा हजारौंहजार मानिस अब नयाँ पार्टीमा आबद्ध हुने नयाँ परिस्थितिको विकास भएको छ । यसले वाम राजनीति अझै विस्तारित हुने भएको छ । तसर्थ, हजारौं टोलबस्तीसम्म संगठन विस्तार गरेर उनीहरूलाई पार्टी र पार्टीका जनसंगठनहरूमा संगठित गर्ने सकिने आधार तयार भएको छ । वाम गठबन्धन हुँदै पार्टी एकताबाट निर्माण भएको नयाँ पार्टीका कारण साँच्चिकै नेपालको वाम आन्दोलनमा नयाँ तरंग, उत्साह र उमंग ल्याएको छ । दीनदुःखी श्रमजीवी वर्गमा उत्साह र आशाको सञ्चार गरेको छ । श्रमजीवी वर्गको अग्रदूत पार्टी कम्युनिस्ट पार्टीहरूबीचको एकता र राज्य सत्ताको पनि कम्युनिस्ट पार्टीले नेतृत्व सम्हाल्ने ऐतिहासिक अवसर प्राप्त गर्नु साँच्चिकै श्रमजीवी वर्गका लागि अर्काे खुसी र गौरवको विषय बनेको छ ।
पार्टीसामु जनतामा पलाएको उत्साह र आकर्षणका कारण ऐतिहासिक जिम्मेवारी आएको छ । विगतको दुईवटा पार्टीका भिन्नभिन्न कार्यशैली, सोच र दृष्टिकोण लिएका नेता तथा कार्यकर्तालाई नयाँ पार्टीभित्र विचारधारात्मक रूपमा एकताबद्ध बनाउनु साँच्चिकै चुनौतीपूर्ण रहेको छ । यसका साथै जनताको चुलिँदो आवश्यकता र निर्वाचनका बखत वाम गठबन्धनले व्यक्त गरेको चुनावी प्रतिबद्धताअनुरूप जनताको जनजीविकाको समाधान, राष्ट्रियताको संरक्षण र संवद्र्धन सँगसँगै मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन पार्टीसामु गहन अभिभारा र चुनौतीहरू खडा भएका छन् ।
एकीकरणको कार्र्यलाई तीव्रता प्रदान गर्ने
एकीकरण कार्यलाई तीव्रता प्रदान गर्ने क्रममा केन्द्रमा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी निर्माण भएको छ । अब प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलबस्तीसम्म रहेका लाखौं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संगठित गर्ने गरी कमिटी निर्माण गर्ने कार्य अत्यन्तै महŒवपूर्ण रहेको छ । योग्यता, क्षमता, वरिष्ठताका आधारमा हिजोका दुई पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण छ । उपयुक्त विधि, पद्धति र मापदण्ड निर्माण गरी नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्न सके माथिदेखि आधारभूत तहसम्म पार्टी एकीकरणको कार्य सहज बन्न सक्छ । यस्तै, कार्य प्रकृति मिल्दोजुल्दो हुने गरी जनसंगठन÷पेसागत संगठनहरू बीचको एकतालाई पनि उपर्युक्त विधिका आधारमा एकीकृत गर्नुपर्दछ ।
विचारधारात्मक रूपले एकताबद्ध बनाउने
आधारभूत तहसम्म पार्टी एकीकरणको कार्यसँगै सिंगो पार्टी पंक्तिलाई विचारधारात्मक रूपले एकताबद्ध बनाउने कार्य अत्यन्तै गम्भीर महŒव र चुनौतीपूर्ण कार्य रहेको छ । पार्टीले अवलम्बन गरेको माक्र्सवाद लेलिनवादको मार्गनिर्देशक सिद्धान्तको आलोकमा सिंगो पार्टी पंक्तिलाई माक्र्सवादीकरण र क्रान्तिकारीकरण गर्न राष्ट्रव्यापी रूपमा सघन ढंगले वैचारिक अभियान सञ्चालन गर्न आवश्यक हुन्छ र पार्टीलाई सुधारवादी, बुर्जुवाकरण, निम्न पुँजीवादी, जडसूत्रवादी र उग्र वामपन्थी साेंच चिन्तनबाट मुक्त गर्न द्वन्द्वात्मक भौतिकवादी चेतना र दृष्टिकोणका साथ माक्र्सवादी विचारले लैस नेता तथा कार्यकर्ताको निर्माण र विकास गरेर मात्र पार्टीलाई साँचो अर्थमा माक्र्सवादीकरण र क्रान्तिकारीकरण गर्न सकिन्छ ।
गुटगत गतिविधिको अन्त्य
हिजोका दुई पार्टीभित्र विद्यमान रहेका अनेकन गुटउपगुटको चाङ र गतिविधि अब नयाँ पार्टीभित्र पनि भइरहे पार्टीलाई एकताबद्ध बनाउन अत्यन्तै कठिन र चुनौतीपूर्ण हुन्छ । पार्टीलाई विधि र पद्धतिबाट कडाइका साथ सञ्चालन गर्न दृढ अठोट, प्रतिबद्धता र व्यवहार नेतृत्वबाट हुन सकेन भने हिजोझैं नै नयाँ पार्टीभित्र च्याउझंै नयाँ गुटउपगुट खडा नहोला भन्न सकिन्न । पार्टीभित्र तथा राजकीय क्षेत्रमा जिम्मेवारी प्रदान गर्दा आफ्नो गुटको वा आफ्नो मान्छे भन्ने खालको व्यवहार हुन थाल्यो भने गुटबन्दी झन् नयाँ ढंगले बढ्ने निश्चित छ । हरेक व्यक्तिलाई योग्यता, क्षमता, वरिष्ठताका आधारमा पार्टीको जिम्मेवारी प्रदान गरिनुपर्दछ र कमिटी पद्धतिबाट पार्टीका निर्णयहरू छलफल र संवाद गरेर संस्थागत ढंगले निर्णय गर्ने पद्धतिको विकास हुन सक्यो भने मात्र पार्टी सही ढंगले चल्ने र गुटगत गतिविधिको अन्त्य हुने आधार तयार हुने देखिन्छ ।
कार्यसम्पादनमा आधारित कार्यशैलीको अवलम्बन
पार्टीको सिंगो पद्धतिलाई विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र समाजवाद निर्माणको आधारको लक्ष्यतर्फ उन्मुख गराउन पार्टीभित्र योजनाबद्ध कामका आधारमा कार्यसम्पादनमा आधारित कार्यशैलीको अवलम्बन गर्नुपर्दछ । पार्टीका सबै तहका कमिटीहरू र जनसंगठनहरूमा आ–आफ्नो क्षेत्रको समस्या समाधान गर्ने योजना, विकास र समृद्धिको योजना, गरिबी, बेरोजगारीको न्यूनीकरणको योजना, भ्रष्टाचार नियन्त्रणका लागि अभियानको योजना, पार्टी संगठन विस्तारको योजना र वैचारिक अभियानको योजनाजस्ता कार्ययोजनाका आधारमा पार्टीभित्र कार्यसम्पादन गर्ने गराउने र त्यसको प्रभावकारी अनुगमन गर्ने पद्धतिको विकास गर्नुपर्दछ । उत्कृष्ट कार्य गर्ने कमिटी र व्यक्तिको सही ढंगले मूल्यांकन गर्ने र यसैका आधारमा नेतृत्व निर्माण गर्ने पद्धतिको विकास गर्नुपर्दछ । सरकारले गर्ने कामबाट बेरोजगार, गरिब, सीमान्तकृत जनताको जीवनस्तरमा सुधार हुने र दिगो र फलदायी रोजगारीका अवसर सिर्जना गरी आर्थिक वृद्धिलाई तीव्रता गर्ने गरी पार्टीले नीति र योजना तर्जुमा गर्नुपर्दछ । नेपाली अर्थ राजनीतिमा हुर्कंदै गएको दलाल पुँजीवाद वाम आन्दोलनभित्र पनि हुर्कंदै छ । अतः यसविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्नुपर्दछ । पार्टीभित्र पार्टीका नेता तथा कार्यकर्ताको आम्दानीको पारदर्शिता, राजकीय निकायबाट प्राप्त हुने आर्थिक सुविधाको पार्टीकरण र पार्टीबाट समन्यायिक ढंगले सम्वद्धलाई आर्थिक सुविधा वितरण गर्ने नीति अवलम्बन गर्नुपर्दछ ।
पार्टी र सरकारबीचको सुसम्बन्ध
पार्टीले सरकारको नेतृत्व गरेपछि दैनन्दिनका पार्टी काम कसरी व्यवस्थित ढंगले सम्पादन गर्ने भन्ने प्रश्न ज्वलन्त बन्दै गएको छ । अहिले पार्टी कार्यालयहरू बसाइँ हिँडेको मानिसका घरहरूभैंm भएको र पार्टी कार्यकर्ताहरू नेताका घरघरमा र सिंहदरबारतर्फ केन्द्रित हुन थालेको भनेर टिप्पणी हुने गरेको छ । वास्तवमा पार्टी काम र राज्य सञ्चालनको काम भिन्नभिन्न हुन् । पार्टी काम पार्टी–कार्यालयबाटै सञ्चालन हुनुपर्दछ । राज्य सञ्चालनको काममा जानेले पार्टी जिम्मेवारीबाट विदा लिने÷दिने र तदअनुरूप नै कार्य गर्दा कार्यसम्पादन गर्दा कार्यसम्पादन उत्कृष्ट बन्न पुग्दछ । पार्टीका नीति र निर्णयबाट सरकारका नीति र निर्णय हुने, सरकारले सम्पादन गरेका कामको नियमित र आवधिक ढंगले पार्टीभित्र रिपोर्टिङ र समीक्षा हुने, सरकारले गरेका कामको सिंगो पार्टी पंक्तिले अपनत्व लिने र तद्अनुरूप एड्भोकेसी गर्ने विधि र पद्धतिको विकास गर्नुपर्दछ । स्थानीय तहका सरकारमा जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध पातलिँदै गएमा यसले सकारात्मक सन्देश प्रवाह गर्दैन । स्थानीय तहमा सञ्चालन हुने विकास निर्माण, पूँजीगत खर्च र अनेकन आर्थिक सुविधाका विषयलाई लिएर टिप्पणी हुने गरेको छ । स्थानीय तहको योजनाका बारेमा पार्टीभित्र छलफल र योजना बन्ने गरी पार्टी संयन्त्र निर्माण गर्न आवश्यक छ । यसरी पार्टी र जनप्रतिनिधि बीचको काममा समन्वय नभएसम्म पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धमा दरार उत्पन्न हुने स्थिति उत्पन्न हुन्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा