22nd October 2018, Monday

E-budhabar

जो बाँचिरहेछन्, उत्साहपूर्ण जीवन



जो बाँचिरहेछन्, उत्साहपूर्ण जीवन

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य–लाभ प्राप्त गरेर केही दिनअघि नेपाल फर्किए । आन्तरिक रक्तश्राव नरोकिएपछि उपचारका निम्ति नयाँ दिल्ली लगिएका उनी केही दिनको उपचारपछि स्वदेश फर्किएका छन् । तर, जब राष्ट्रकवि बिरामी भएको खबर सतहमा आयो, सिंगो देश नै बिरामी भएजस्तो अनुभूत हुन पुगेको थियो । स्रष्टाहरुले त उनको स्वास्थ्य–लाभको कामना गर्ने नै भए, देशका राजनीतिज्ञ, कर्मचारी, बौद्धिक तप्काले समेत राष्ट्रकविको स्वास्थ्य कुशलताको कामना गरे । हरेक क्षेत्र र तप्काका मानिसहरुले राष्ट्रकविको स्वास्थ्यप्रति देखाएको चिन्ता र चासो गर्विलो थियो । राष्ट्रकविप्रतिको सम्मान, सद्भाव र स्वास्थ्य लाभको कामना समाजका हरेक मानिसहरुले एक विशिष्ट स्रष्टाप्रति देखाएको सद्भावको विशिष्ट नै उदाहरण मान्न सकिन्थ्यो ।
स्वदेश फर्किएपछि र दिल्लीमै उपचाररत रहँदै पनि राष्ट्रकविले आफू स्वस्थ भएर फर्किएपछि आफूले लेखिरहेको अपुरो महाकाव्य पूरा गर्ने संकल्प गरे । शतायूको रेखा छोइसकेका राष्ट्रकविको यस्तो संकल्पले उनमा अझै पनि अथाह उत्साह र संकल्प मौजूद रहेको गहकिलो झलक दिन्छ । आखिर, राष्ट्रकविले राष्ट्र र समाजबाट जुन सम्मान प्राप्त गरेका छन्, जसरी उनको लेखन–शक्तिलाई सबैले सलाम गर्छन्, ती सबै उनमा रहेको लेखन–उत्साह र दायित्वको परिणाम हो । उत्साहपूर्ण जीवन बाँच्ने सीमित स्रष्टाहरुको पंक्तिमा राष्ट्रकवि प्रथम लहरमा नै पर्छन् भन्नु मनासिव होला । राष्ट्रकविको उत्साहपूर्ण जीवन–यात्रा र सिर्जन कर्मले नै नेपाली साहित्य जगत् गहकिला रचनाहरु प्राप्त हुनबाट लाभान्वित हुँदै आएको छ ।
उत्साहपूर्ण जीवन बाँच्नेमा धेरै स्रष्टाहरु रहेका छन् । शतायुको छेउछाउ पुगेका सत्यमोहन जोशीलाई पनि राष्ट्रकविकै पंक्तिमा राखेर हेर्नु उचित होला । नेपाली संस्कृति र सम्पदाको उन्नयनमा आज पनि जोशीको पहलकदमीलाई सलाम गर्नुपर्ने हुन्छ । सिंगो जीवन नै नेपाली संस्कृतिको पालन–पोषणमा खर्चिएका जोशीले निरन्तर आफ्नो कर्म र दायित्वलाई बोध गर्दै आए ।
शतायुको सीमा नजिक पुग्दा पनि जोशीको उत्साहमा कुनै घटोत्तरी भएको देखिँदैन । आफूले जीवन–यात्रामा बटुलेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तासामु हस्तान्तरण गर्न सदैव रुचि राख्दै आएका छन् । स्वस्थ र उत्साहले भरिएको जीवन बाँचिरहेका जोशीले नेपाली कला, संस्कृतिको खोज–अनुसन्धानमा जति समय खर्चेका छन्, त्यो अनुकरणीय त छँदै छ । र, नयाँ पिढीलाई आफूले आर्जन गरेका ज्ञान बाँड्न आजपर्यन्त क्रियाशील देखिन्छन् ।
राष्ट्रकविले नेपाली सान, गौरव र राष्ट्रियतालाई आफ्नो सिर्जनकर्ममा सजाए । दसकौं पहिले ‘गाउँछ गीत नेपाली’ जस्ता वजनदार गीत लेखेर होस् वा अरु उच्च स्तरका काव्य सिर्जना गरेर होस्, राष्ट्रकविले नेपाली जनजीवनलाई सदैव मुग्ध तुल्याइरहे । जोशीले भने नेपाली संस्कृतिलाई विशिष्ट चिनारी गराउन चाहे । नेपाली कला र संस्कृतिको भित्री रहस्य लेखेर होस् वा नेपाली संस्कृतिलाई बाह्य देशहरुमा चिनारी गराउने अभियान चलाएर होस्, जोशीले सदैव योगदान दिइरहे । यी सबै प्रसंग आफ्नो ठाउँमा छँदै छ । र, शतायुकै छेउछाउ पुगेका मदनमणि दीक्षितको योगदानलाई पनि कुनै पनि कोणबाट कम आँक्न मिल्दैन । नेपाली साहित्यमा वैदिक ज्ञान र दर्शनलाई यथेष्ट स्थान दिने कार्यमा दीक्षितले जीवनभरि कलम घोटिरहे । र, आज पनि उनको लेखन कार्य सुस्ताएको छैन । ‘माधवी’ र ‘भूमिसूक्त’ जस्ता गहकिला रचना नेपाली साहित्यलाई अर्पेका उनले पूर्वीय दर्शनलाई साहित्यमार्फत् आम रुपमा फैलाउन अतुलनीय योगदान अर्पण गरेका छन् ।
भैरव रिसाल, जसलाई नेपाली पत्रकारिता जगत्ले कहिले बिर्सिन सक्ला र ? उनी पनि शतायु भेट्न लम्किँदै छन् । उत्साहपूर्ण जीवन बाँच्ने, बिताउनेको सूचिमा उनको नाम छुटाउनु अन्याय नै हुन्छ । अहिले पनि उनी सक्रिय पत्रकारितामै छन् र लेखन कर्मबाट पन्छिएका छैनन् । ‘बुढेसकाल’ लागे पनि स्वस्थ विचार, स्वस्थ मन र स्वस्थ तन बोकेर दौडिरहेका भेटिन्छन्, रिसाललाई ।
राष्ट्रकवि, संस्कृतिविद् जोशी, दीक्षित र रिसाल केही त्यस्ता प्रतिनिधि अनुहार मात्र हुन्, जसले सिंगो जीवन नै नेपाली कला, साहित्य, भाषा, संस्कृति र पत्रकारिताको उन्नयनमा सुम्पिए । अरु पनि थुप्रै स्रष्टाहरु छन्, जसले देशका निम्ति आफ्नो दक्षअनुरुप योगदान दिएका छन् । आखिर, यस्तै उत्साहपूर्ण जीवन बाँच्ने र देश र समाजका लागि आँखा चिम्लेर आफूलाई समर्पित गर्नेले नै देशको सान र गौरव बढाउने हुन् । र, त्यस्ता स्रष्टाहरु बिरामी हुँदा देश नै बिरामी भएजस्तो, देश नै बेडमा सुतेजस्तो महसुस हुनुमा यिनै पक्षहरुले भूमिका खेलेको हुनुपर्छ, सायद ।
कविता

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा