11th December 2018, Tuesday

E-budhabar

स्टन्टमा मात्र नरमाऔं, अवसरको ख्याल गरौं



स्टन्टमा मात्र नरमाऔं, अवसरको ख्याल गरौं

स्थापनाको केही वर्षको अन्तरालमा दर्जनौं टुक्रामा विभाजन भएर राजनीतिक परिवर्तनको आन्दोलनमा सोचेजति महŒवपूर्ण भूमिका खेल्न नसकेको कम्युनिस्ट पार्टी इतिहासमा लामो समयसम्म नेपाली कांग्रेसभन्दा पछाडिपछाडि घिस्रिन बाध्य थियो । २००७ सालको परिवर्तनमा सांकेतिक भूमिका निभाएको नेपाल कम्युनिस्ट पार्टीले परिवर्तनलाई संस्थागत गर्न र नेपाली जनताको पक्षमा पार्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेन । नेपाली कांग्रेसलाई सहकार्यमा ल्याएर २०१७ सालमा प्रतिगमनको खतरालाई टार्न सकेन । हारका बाबजुद नेपाली कांग्रेस इतिहासमा जहिले पनि नेपाली राष्ट्रिय राजनीतिको केन्द्र बन्न सफल रह्यो । तर, वामपन्थीहरू संकीर्णता, अल्पबुझक्कड, अतिबुझक्कड र गलत संस्कारका कारण वर्गसंघर्षभन्दा आत्मसंघर्ष र अन्तरसंघर्षमा बढी रुमलिए । जसका कारण आफू शक्तिशाली हुँदाहुँदै पनि २०४६ सालको आन्दोलनमा नेपाली वामपन्थी तेतृत्वले नेपाली कांग्रेसको नेतृत्व स्विकार्न बाध्य हुनुप¥यो । नेपालका वामपन्थीको नेतृत्वमा सबैखाले आन्दोलनहरू भए । शान्तिपूर्ण र सशस्त्र आन्दोलनहरू भए । तर, अन्तिम निर्धारित परिणाममा कोही पनि पुग्न सकेनन् । अन्तिम निर्धारित लक्ष्यमा पुग्न नसक्नुमा बाहिरी वस्तुगत कारणभन्दा पनि आन्तरिक कारण र कार्यनीति नै प्रमुख रहेको स्पष्टै देख्न सकिन्छ । तर, अहिले नेपालका वामपन्थीहरूको यो फुटपरस्त परिचय फेरिएको छ । समय बदलिएको छ ।
राजा र कांग्रेसको पछि लाग्दालाग्दा दिक्क भएको वामपन्थी आन्दोलन नेपालमा सञ्चालित जनयुद्ध र राजतन्त्रविरुद्ध भएको आन्दोलनका कारण आएको राजनीतिक सामाजिक परिवर्तनसँगै बदलिएको छ । वाम आन्दोलनले आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने, परिवर्तनसँगै विकास र राष्ट्रिय समृद्धिलाई दरोसँग आत्मसात् गरेर यसका लागि सबै वाम एकै ठाउँमा जुट्नुपर्ने आवश्यकता पानीको प्यासजत्तिकै महसुस गरेको छ । नेपालका वामपन्थी पार्टीहरूकै अग्रसरता र मूल पहलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भई कार्यान्वयनमा अघि बढेको छ । संयुक्त तालमेल गरेर चुनाव लडेका एमाले र माओवादी सरकार निर्माणदेखि अहिलेसम्म आइपुग्दा पार्टी एकतासम्म गर्न तयार सफल भएका छन् । मानिसहरू सधैं भन्ने गर्थे, नेपालमा दुई तिहाइ वामपन्थीहरूको मत छ, तर यिनीहरू दर्जनौं टुक्रामा फुटेकाले यिनीहरू सत्ताबाट आफ्नो एजेन्डा लागू गर्न कहिल्यै सफल भएनन् र राजा–कांग्रेसको पुच्छार बनिरहनुप¥यो । तर, अब यो गुनासोको अन्त्य हुने प्रक्रिया अघि बढेको छ । नेपालमा जनताको यो गुनासोलाई आत्मसात् गर्दै एमाले र माओवादी केन्द्रजस्ता पहिलो ठूलो र तेस्रो ठूलो पार्टीबीच पार्टी एकीकरण भएको छ । यसले नेपालको राजनीतिक कोर्सलाई नयाँ स्वरूप प्रदान गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको केन्द्रमा कम्युनिस्ट पार्टी पुगेको छ, ५२ प्रतिशतभन्दा बढी लोकप्रिय मतका साथ । सरकारमा झन्डै दुई तिहाइ मतका साथ अत्यधिक बहुमतको सरकार चलाइरहेको छ । प्रमुख प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेस अक्क न बक्क भएको छ । प्रतिस्पर्धीका हिसाबले अहिले नेपाली राजनीतिको मैदानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिस्पर्धीविहीन खेलाडीसरह भएको छ । नेपालको इतिहासमा यति सरल र शक्तिशाली वामपन्थी सरकार कहिल्यै बनेको थिएन । अहिलेको अवस्थामा यो सरकार र पार्टीले चाहेको खण्डमा गर्न नसक्ने कुनै विषय छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यही बताइरहेको छ । मधेसको ठूलो पार्टी राजपा यही बताइरहेको छ र छिमेकीहरू यही बताइरहेका छन् । सीधा भाषमा नेपाल अब राष्ट्रिय समृद्धिको यात्रामा सवार भयो । यसको चालक, सहचालक र अन्य मिस्त्रीहरूले कत्तिको यो यात्रालाई फलदायी बनाउन सक्नेछन्, त्यो नेपाली जनता र युगले प्रतीक्षा गरिरहेको छ । व्यवस्थापिका र कार्यपालिकामा अत्यधिक बहुमतका साथै न्यायपालिकामा समेत पुनःसंरचना हुँदै गरेको अवस्थामा यो सरकार र पार्टीको भविष्य असाध्यै उत्साहवद्र्धक रहेको विश्लेषकहरूको ठम्याइ छ । यति मात्रै नभएर सबै नेपाली जनताको आशा, सपना मात्रै नभएर साथ सहयोग पनि यो सरकारलाई रहेको स्पष्ट हुन्छ ।
अवसर अभूतपूर्व छ, शक्तिशाली पनि छ । तर, चुनौती कम संगीन छैन । सत्तरी वर्षदेखि जनताबीचमा राख्दै आएको कम्युनिस्ट पार्टीको सरकार बने यसरी राष्ट्रिय समृद्धि आउँछ, भोकानांगा जनताले यसरी मुक्ति पाउनेछन् भनेका कुरा व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हुनेछ । शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, विकास र समृद्धिका लागि पूर्वाधारका जग निर्माणमा यो सरकारले चाल्ने पहिलो कदमले यसको भविष्यको यात्रालाई निर्धारण गर्नेछ । यो वा त्यो बहाना र कारण देखाएर यो अत्यधिक बहुमतको सरकारलाई भाग्न सजिलो छैन । किनकि, यसलाई सबैखाले निर्णय गर्न सक्ने सुविधाजनक मत प्राप्त छ । अनावश्यक निरंकुश बन्न खोजे इतिहास साक्षी छ, जनताले घोडाबाट खसाउनेछन् । तर, जनताका पक्षमा गरिने हरेक सकारात्मक निर्णयलाई अवरोध पु¥याउन सक्ने शक्ति न त सदनमा छ, न त सरकारमा, न त सडकमा नै छ । अहिले यो सरकारका लागि सदन, सरकार र सडकसमेत खाली रहेको अवस्थामा दौड जित्न कुनै अवरोध छैन । मधेसको भावनासँग जोडिएका दलहरूसमेत सरकारमा सहभागी भएर सडक खाली गरिदिएका छन् । निर्वाचन आयोगले लगाएको थ्रेसहोल्डको व्यवस्थाले व्यक्ति नै पिच्छे खडा गरिएका दलहरू एक हदसम्म नियन्त्रण भएका थिए भने दुई ठूला पार्टीको एकताले बाँकी साना भुरे दलहरूको अस्तित्व अब सम्भव छैन भन्ने मनोविज्ञान सबैमा बनेको देखिन्छ । त्यसै कारण लगभग सबै सानातिना दल क्रमशः अब यिनै ठूला दलहरूसँग समाहित हुन लालायित र प्रक्रियारत देखिन्छन् । नेपालमा विकास कम, दल र नेता धेरै भए भन्ने आमजनताको गुनासोलाई पनि यसले हल गरेको छ । यसले नेपालमा पनि अब थोरै मात्रै राष्ट्रिय दलहरू जनताप्रति उत्तरदायी भएर मात्रै अस्तित्वमा रहन सक्छन् भन्ने सत्य स्थापित गर्न खोजेको छ । राजनीतिभन्दा बढी प्राविधिक ज्ञान र आर्थिक समृद्धिमा रमाउन चाहने नयाँ पुस्ता यो नयाँ राजनीतिक कोर्षबाट असाध्यै आशावादी रहेको छ । नयाँ पुस्ताको आशा र विश्वासलाई निराश हुन नदिने ढंगले काम गर्नु अहिलेको सरकारको मूल कार्यभार हुन सक्छ । नयाँ पुराना सबै पिँढीलाई उत्साहित बनाएर विकासका हरेक पहलुमा सबैलाई एकाकार र समाहित गर्न सके मात्र यो सरकारले छोटो समयमा विकास र राष्ट्रिय समृद्धिको ढोका उघार्न सक्नेछ । कमजोर प्रतिपक्षीका कटाक्षमा अल्झिने र आन्तरिक खिचातानीमा रुमलिने कुरामा मात्रै समय खर्चिने हो भने यो सरकार, शक्तिशाली वाम सरकारले पनि माखो मार्न नसक्ने निश्चित छ ।
अहिले मानिसहरूको सोच्ने तरिका फेरिएको छ । सपनाहरू फेरिएका छन् । हेर्ने नजरिया फेरिएको छ । अनुहारमा निराशाभन्दा बढी आशा, उत्साह, भरोसा र दृढता अलि बढी देखिन्छ । थोरै चिन्ताका रेखाहरू पनि कोरिएका देखिन्छन् । कतै यो सरकार र पार्टी फेरि उही पुरानै सत्ताको फन्को मात्रै लगाउने खेलमा रुमलिएरै पाँच वर्ष त बिताउने होइन ? यो एकता त केही दिनको रामछाया मात्रै त हुने होइन ? फेरि टुक्राटुक्रामा विभाजन भएर विकास र समृद्धिको सपना फगत सपनामै रहने त होइन ? व्यक्तिगत स्वार्थको टकरावमा, गुट र लाइनको टकरावमा फेरि जनताको आशामाथि बलात्कार त हुने होइन ? भनेर नेपाली जनता चिन्तित पनि छन् । तर, यो चिन्ताभन्दा कैयौं गुणा बढी आशा, भरोसा र दृढता देखिन्छ । नेकपा बिग्रिने खतरा देखे, यसले जनचाहनाविपरीत र राष्ट्रिय समृद्धिविपरीत काम गरे सिंहदरबारभित्रबाट थुतेर, पार्टी कार्यालयबाट तानेर सडकमा पछार्न र सिस्नुपानी लगाउन नेपाली जनता अभ्यस्त छन् । राजनीतिक दल र तिनका नेता–कार्यकर्ता फटाहा हुन्, काम नगर्ने, समाज बिगार्ने, बजेट खाने, कमिसन खाने, भ्रष्टाचार गर्ने, कालाबजारी गर्ने वा सघाउने काम मात्रै गर्छन् भन्ने जुन नकारात्मक भावना जनतामा फैलिएको छ, यो एकताले त्यो नजरियालाई फेर्न सुरु गरेको छ । फेर्न सक्नुपर्छ । दुईचारवटा लालबाबुवाला स्टन्ट गरेर वा सुनतस्करीका भरियाहरूलाई अध्याँरोमा छुरा हानेर मात्रै यो शक्तिशाली पार्टी र सरकारको शक्ति प्रमाणित हँुदैन । नेपाली जनताको जीवनस्तर उकास्न, आर्थिक सामाजिक विकाससँगै राष्ट्रिय समृद्धिको सुई कति माथि पुग्यो भन्ने कुराले मात्रै यो सरकारको वास्तविक शक्तिको मापन होला । नेपालका कम्युनिस्ट पार्टी खालि फुट्न, झगडा गर्न, चन्दा उठाउन, लम्पट जीवन जिउन, कुरा मात्रै ठूला गर्न, विभिन्न वादका जार्गनहरू भट्याउन र सबैभन्दा अब्बल दर्जाको क्रान्तिकारी आफूबाहेक यो दुनियाँमा कोही पनि नभएको दम्भ हरेक भट्टी र चियापसलमा भट्ट्याउन नछाड्ने स्वाभाविका हुन्छन् भन्ने परिचायक बिस्तारै फेरिँदै छ र फेरिन जरुरी छ । अबका दिनमा जनतामाझ व्यक्त हुने यो शक्तिशाली पार्टीका नेता–कार्यकर्ता र सरकार–सांसदको चरित्रले यसलाई प्रमाणित गर्नेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा